प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार
घुम्ने, आफन्त भेट्ने वा व्यावसायिक कामका लागि अमेरिका जाने सपना धेरैको हुन्छ। तर व्यावसायिक वा पर्यटन (बी-१/बी-२) भिसामा अमेरिका जानेहरूले आफूले के गर्न पाइन्छ भन्ने जानकारी नहुँदा भिसा रद्द हुने र जीवनभर अमेरिका जाने मौका गुमाउने जोखिम हुन्छ। बी-१/बी-२ भिसा के हो? के गर्न पाइन्छ, के गर्न पाइँदैन? यसबारे अमेरिकी दूतावास काठमाडौंले सूचना जारी गरेको छ।
बी-१/बी-२ एक अस्थायी भिसा हो, जसले विदेशी नागरिकलाई अमेरिकामा छोटो समयका लागि बस्न अनुमति दिन्छ। बी-१ भिसा व्यावसायिक प्रयोजनका लागि हुन्छ भने बी-२ भिसा घुमफिर तथा परिवार भेटघाटका लागि जारी हुन्छ। प्रायः दुवैलाई बी-१/बी-२ संयुक्त भिसा दिइन्छ।
यी भिसाको अवधि देशअनुसार अधिकतम १० वर्षसम्मको हुन्छ भने एक पटकमा बढीमा करिब १८० दिन (६ महिना) सम्म अमेरिकामा बस्न पाइन्छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार बी-१/बी-२ भिसा लिएर अमेरिका जानेहरूले घुमफिर, छुट्टी मनाउने, किनमेल गर्ने, साथीभाइ तथा आफन्तलाई भेट्ने काम गर्न पाउँछन्। साथै, व्यावसायिक भेटघाट र सम्मेलन वा कार्यक्रममा सहभागी हुन पनि यो भिसाले अनुमति दिन्छ।
दूतावासका अनुसार बी-१/बी-२ भिसावाहकले अमेरिकी कम्पनी वा व्यवसायबाट पैसा कमाउने गरी काम गर्न, डिग्री वा शैक्षिक क्रेडिटका लागि पढ्न, र पारिश्रमिक लिएर प्रस्तुति वा कार्यक्रम गर्न पाउँदैनन्। यस्तै, बच्चा जन्माउने मुख्य उद्देश्यले अमेरिका जान पनि यो भिसाले अनुमति दिँदैन।
