प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार
भारतको कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । चालकसहित ५ जना घाइते भएका छन । दुर्घटनामा रुपन्देहीका ३ जना तिर्थालुको मृत्यु भएको हो ।
देवदह नगरपालिका ९ का ४५ बर्षीय गणेश खनाल,उहाँकी श्रीमती ३५ बर्षीया दिपा खनाल र ४० बर्षीया गीता शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा सोमबार भारतको उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा गाडी ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गाडी चालकसहित ५ जना घाइते भएका छन । घाइते देवदह ९ भलुहीका आविष्कार पराजुली , यमकलादेवी मगर , कोपिला पोखरेल उहाँका छोरा शुभम पोखरेल तथा गाडी चालक भारतीय नागरिक रितेश दुबेको गोरखपुरमा उपचार भइरहेको छ ।
फागुनको ३ गते ५ वटा गाडी रिजर्व गरेर देवदहका ३५ जना कुम्भ मेलामा स्नान गर्न त्यस तर्फ गएका थिए ।
पूपी ५३ एफ डी ४२८८ नम्वरको दुर्घनाग्रस्त गाडीमा ८ जना सवार थिए । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।