बेवारिसे शवको शून्य कथा: लावारिस मरण, गुमनाम पहिचान र जीवन कथा


नेपालका सहर र गाउँ बस्तीमा कहिलेकाहीँ यस्ता खबरहरू आइपुग्छन्, जसको शब्दसँगै चिसो हावा पनि घुसपैठ गर्छ। न देखिएको न कल्पना गरिएको, तर कानमा परेपछि मनको कुनाकाप्चासम्म ठोक्किन्छ–बेवारिसे शवको खबर। कहिले बगैँचाको डिलमा, कहिले सुनसान सडकको छेउमा। कहिले खोलाको मुन्तिर बालुवामा तथा माटोमा आधा पुरिएको, अनि कहिले घना झाडीभित्र बाँसका पात हल्लाउँदै लुकेका लासहरू फेला पर्छन् । तिनीहरूको अनुहारमा समयको धुलो टाँसिएको हुन्छ, शरीरमा कहिले पानीको नीलो डाम, कहिले घामको कालो छाया, अनि वरिपरि मौनताको गहिरो घेरा। 

यी शवहरू भित्र लुकेको कथा अधुरो र अदृश्य हुन्छ। तिनीहरूको नाम पनि हावा जस्तै अदृश्य भइसकेको हुन्छ। नाम थर, घर, ठेगाना यतिका टाढा हराइसकेको हुन्छ कि कोही खोज्न समेत आउँदैन।

त्यो शवका लागि रोइदिने कोही हुन्न। अन्त्येष्टि गर्ने हात राज्यको प्रक्रियागत औपचारिकता मात्र सीमित हुन्छ–भावनाहीन। बाँकी रहन्छ, केवल मौनता, जसलाई भंग गर्ने कुनै स्वर हुँदैन।

बाँकेको पछिल्लो तथ्यांक पनि त्यस्तै मौन, तर गहिरो चीत्कार बोकेको छ। सहरका गल्लीदेखि नदीको किनारसम्म, जंगलको आभास दिने सडकछेउदेखि खेतका सिमसारसम्म गएको आर्थिक वर्ष २०८१/०८२ मा १७ वटा बेवारिसे शव भेटिएका छन्। त्यसमध्ये ९ जनाको मात्र पहिचान खुल्यो, बाँकी ८ जना अझै ‘अज्ञात’ को सूचीमै छन्। 

साउन २०८१ मा मात्र ७ शव भेटिएका थिए। भदौमा ५, अन्य महिनामा कहिले १ त कहिले २ वटा शव भेटिएका छन्। तर यो वर्षको सुरु भएको साउन महिनामा मात्र फेरि २ वटा नयाँ शव भेटिए। यी अंकहरू केवल संख्यात्मक तथ्य मात्र होइनन्, यो समाजमा फैलँदै गएको मौन संकटको संकेत हुन्। प्रत्येक शवसँग एउटा कथा अनुमान गर्न सकिन्छ–कसरी बाँचे, कसरी मरे र किन आफ्नो परिचय गुमाए ? तर त्यो कथा कसले खोजिदिने? कसले उधिनिदिने ? 

पोस्टमार्टम टेबलमा राखिएको एउटा शव बोल्दैन। तर उसले केही न केही संकेत छोडेको हुन्छ। छालामा चोटको दाग, कपडामा माटोको थोप्लो, जुत्तामा नदीको बालुवा, अनुहारमा समयको चिह्न। यी संकेतहरू कहिलेकाहीँ जाँच्ने प्रहरीको डायरीमा पुग्छन्, तर धेरै पटक तिनले कुनै उत्तर दिँदैनन्। न उत्तर खोजेर कोही प्रहरीको ढोका ढकढक्याउन आइपुग्छ। 

यी शवहरू सबैको मृत्युको कारण एउटै हुँदैन। कतिपय हत्या र अपराधको परिणाम हुन्छन्, जहाँ अपराधीले प्रमाण नष्ट गर्न शवलाई सुनसान ठाउँमा फालिदिएको हुनसक्छ। कतिपय दुर्घटनामा, सडकमा, नदीमा वा वनमा मृत्यु हुन्छ । तर तत्काल पहिचान हुँदैन।

बेवारिसे शव भेटिनु भनेको केवल मृत शरीर फेला पार्नु मात्र होइन, त्यो एउटा असफल खोज बनिदिन्छ। यसले राज्यको उपस्थितिलाई पनि नजिकै आँखामा पु¥याइदिन्छ । र, असुरक्षितताको आभास फैलाइदिन्छ।

बेवारिसे शव फेला परेपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गर्छ। तस्बिर खिचिन्छ, मिडियामा सूचना पठाइन्छ, डिएनए नमुना संकलन हुन्छ र पहिचान नभए अन्त्येष्टि गरिन्छ। तर प्रश्न के हो भने, यो प्रक्रिया यति मात्रमै किन सीमित हुन्छ? अज्ञात शवको पहिचानका लागि व्यापक खोजी गर्ने, राष्ट्रिय स्तरमा हराएका व्यक्तिहरूको डाटाबेससँग मिलाउने वा प्रदेश–जिल्ला–स्थानीय तहबिच समन्वय गर्ने प्रयास प्रायः नगण्य हुन्छ। राज्यको मौनता र प्रशासनिक ढिलासुस्तीले शव मात्र होइन, कथाहरू पनि अनायास दफनिन्छन्।

यी शवहरू सबैको मृत्युको कारण एउटै हुँदैन। कतिपय हत्या र अपराधको परिणाम हुन्छन्, जहाँ अपराधीले प्रमाण नष्ट गर्न शवलाई सुनसान ठाउँमा फालिदिएको हुनसक्छ। कतिपय दुर्घटनामा, सडकमा, नदीमा वा वनमा मृत्यु हुन्छ । तर तत्काल पहिचान हुँदैन। कसैले मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या गर्छन्, कसैले नशा खोरी र भोकमरीबिच जीवन गुमाउँछ। तर जसरी भए पनि जब शवको पहिचान हुँदैन, त्यसको अर्थ हुन्छ कसैको मृत्यु समाजको आँखा र कानबाट हरायो।

वैशाख २४ गते बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ बाले गाउँदेखि हिरमुनिया जाने सडक खण्डको उत्तरतर्फ करिब ४०/४५ वर्षीया महिलाको शव बेवारिसे अवस्थामा भेटिन्छ । उनको मुख रगताम्मे छ। शव घोप्टो अवस्थामा भेटिन्छ । लाग्छ, ‘यो हत्या हो ।’ भलै अनुसन्धान नहुँदै हत्या भन्न नमिल्ला। तर, प्रकृति त्यस्तो देखिन्छ। यस्ता शवले मृत्यु मात्र होइन, राज्य समाजमा छ या छैन भन्ने भन्ने सन्देश दिने स्थानीय बताउँछन् । उनीहरू भन्छन्, ‘यस्ता शवले राज्यको सुरक्षा नीतिलाई चुनौती दिएको छ ।’

हराएको सदस्यको खोजीमा निस्केको परिवारको कथा बेवारिसे शवसँग गाँसिएको हुन्छ। पहिलो दिनहरूमा खोजीको जोस हुन्छ । थानामा उजुरी, साथी सम्बन्धीलाई सोधपुछ, अस्पतालमा चक्कर। हप्तौँ बित्दै जान्छ, आशा र निराशाबिच मन दोधारमा रहन्छ। कहिलेकाहीँ, मृत्युको खबर आउँछ तर, शवको पहिचान नखुल्दा, त्यो खबर पनि अधुरो रहन्छ। शव पत्ता लागे पनि ‘यो हाम्रो हो’ भन्न नपाउँदा, परिवार अनन्त शून्यतामा बाँधिन्छ। बेवारिसे शव भेटिनु केवल एक व्यक्तिको अन्तिम यात्रा होइन, यो सामूहिक मानसिकतामा असर पार्ने घटना हो ।

– नागरिकमा डर र असुरक्षा फैलिन्छ ।

– अपराधीहरूमा सजायबाट उम्कने भरोसा बढ्छ ।

– राज्यप्रति जनविश्वास घट्छ ।

– जब नागरिक आफ्नो सुरक्षामा भरोसा गर्न छाड्छ, तब समाजको नैतिक संरचना कमजोर हुन्छ ।

समाधान र बाटो

यो समस्या समाधान गर्न केवल शव व्यवस्थापनको कानुनी प्रक्रिया पर्याप्त छैन। राष्ट्रिय स्तरमा हराएका व्यक्तिहरू र अज्ञात शवहरूको एकीकृत डाटाबेस आवश्यक छ।

सुरक्षाकर्मीको तालिम, डिएनए परीक्षण प्रयोगशालाको क्षमता बिस्तार र स्थानीय तहबिच सूचनाको आदान–प्रदान अनिवार्य हुनुपर्छ। साथै मानसिक स्वास्थ्य र नशा मुक्ति कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्छ, किनकि धेरै बेवारिसे शव यिनै कारणले उत्पन्न हुन्छन्।

१७ जनाको मृत्यु, ८ जनाको पहिचान अझै अज्ञात, अनि नयाँ आर्थिक वर्षको पहिलो महिनामै २ नयाँ शव यो केवल तथ्यांक होइन, यो हाम्रो समाजको स्वास्थ्य परीक्षण हो । ‘मृत्युको मूल्य छैन’ भन्ने वाक्य केवल कविता होइन, यो राज्य र समाजको संवेदनशीलताको मापन हो । जति दिनसम्म यी शवहरू मौन रहन्छन् र पहिचानका पर्खाइमा माटोमा हराउँछन्, उति नै हाम्रो सामूहिक असफलताको इतिहास लम्बिँदै जान्छ ।

‘कहाँ–कहाँबाट आएर मानिसको यहाँ (बाँके)मा मृत्यु हुन्छ । न नाम थाहा हुन्छ, न ठेगाना । यसैमा प्रहरीको टिम लाग्दा अन्य अनुसन्धान प्रक्रियामा समेत असर पर्छ ।’

बेवारिसे शव प्रहरीका लागि केवल एउटा कानुनी प्रक्रिया मात्र होइन, बारम्बार दोहोरिने टाउको दुखाइ पनि हो । बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रामप्रसाद घर्ती भन्छन्, ‘यस्ता शवको पहिचानमै प्रहरीलाई समस्या हुन्छ । धेरैजसो केसहरू फिरन्ते, घुमन्ते, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूका हुन्छन् । कतिपयमा त भारतीय नागरिकहरू पनि भेटिन्छन् ।’ उनका अनुसार जिल्लामै घर भएका शवको पहिचान गर्न सजिलो हुन्छ, तर बाहिर जिल्ला वा बाहिर देशका मानिसहरूको शव भेटिँदा पहिचान गर्न निकै कठिन हुन्छ । ‘कतिपय भारतीय नागरिकको समेत बेवारिसे शव भेटिँदा समस्या भएको छ,’ उनले थपे ।

बेवारिसे शव उठाउनेदेखि पहिचान गर्ने र अनुसन्धान गर्ने काममा प्रहरीले पर्याप्त समय र जनशक्ति खर्च गर्नुपर्छ। ती शवहरूको भेरी अस्पतालमा पोस्टमार्टम गरिन्छ, तर लामो समयसम्म राख्दा ठाउँको अभाव मात्र होइन, दुर्गन्ध पनि फैलिन्छ । ‘यो प्रहरीका लागि अनावश्यक टाउको दुखाइ जस्तै नै हो,’ घर्ती भन्छन्, ‘कहाँ–कहाँबाट आएर मानिसको यहाँ (बाँके)मा मृत्यु हुन्छ । न नाम थाहा हुन्छ, न ठेगाना । यसैमा प्रहरीको टिम लाग्दा अन्य अनुसन्धान प्रक्रियामा समेत असर पर्छ ।’

प्रकाशित: २८ श्रावण २०८२ १३:१९ बुधबार





Source link

Leave a Comment