बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो


बेलायती प्रधानमन्त्री किर स्टार्मरले राजीनामा दिएसँगै बेलायत नयाँ प्रधानमन्त्री छान्‍ने तरखरमा छ । बेलायतको मुख्य प्रशासनिक केन्द्र १० डाउनिङ स्ट्रिटको कुर्सीले नयाँ नेतृत्व पाउँदै छ । प्रधानमन्त्रीको कुर्सीमा विगत १५ वर्षमा ७ जना बसे ।

नयाँ प्रधानमन्त्री को बन्छ भन्दा पनि  प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको चर्चा चुलिएको छ ।  जुन कर्मचारी प्रधानमन्त्री कार्यालय अगाडिको सिँडीमा बस्छ । ऊ मान्छे हैन, सेतो खेरौ रंगको बिरालो हो । प्रधानमन्त्री कार्यालयका अनुसार यो बिरालो ‘ल्यारी द क्याट’ हो । बेलायतमा सत्ता बदलिने अनिश्चित माहौलमा यो बिरालोको पद भने बदलिने छैन ।

ल्यारी प्रधानमन्त्री कार्यालयको ‘चिफ माउसर’ पदमा कार्यरत छ । १० डाउनिङ स्ट्रिटमा जो सुकै प्रधानमन्त्री भएर आओस् मुसा मार्ने प्रमुख कमान्डर भने ल्यारी नै रहनेछ ।

अमेरिकामा राष्ट्रपतिहरूले प्रयोग गर्ने कलमलगायत विविध सामग्रीहरू ऐतिहासिक मानक बन्छन् । बेलायतको यो साधरण ट्याबी जातको भाले बिरालो त्यहाँको राज्यसंयन्त्रको सफ्ट पावरको प्रतिक बनेको छ ।

सन् २०११ को फेब्रअरी १५ मा ल्यारीलाई त्यहाँको प्रधानमन्त्री कार्यालयमा लगिएको रहेछ । डमस्टिकसर्ट हेयर जातको यो बिरालो  लन्डनको ब्याटरसी डग्स एन्ड क्याट्स होम बाट प्रधानमन्त्री कार्यालयमा पुर्‍याउँदा ४ वर्षको मात्रै थियो ।

यी वर्षहरूमा ल्यारीले बेलायती प्रधानमन्त्रीहरू डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस, ऋषि सुनाक र किर स्टार्मर गरी ७ जना प्रधानमन्त्रीको कार्यकाललाई नजिकबाट नियालिसकेको छ । अब ऊ उसको ८ औँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारी गर्दैछ ।

ल्यारी द क्याट बिरालो। तस्बिर स्रोत: यूकेको प्रधानमन्त्री कार्यालयको वेबसाइट

ल्यारीलाई कसैले चिनाइराख्‍नु नै पर्दैन । बेलायती प्रधानमन्त्रीको आधिकारिक वेबसाइटमै उसको विवरण सम्मानका साथ राखिएको छ । जहाँ उसले गर्ने मुख्य कार्यहरू छन् । कार्यालयमा आउने पाहुनाहरूको स्वागत गर्ने र  सुरक्षाको जाँच गर्ने उसका काम हुन् । ल्यारीले पुराना फर्निचरहरू सुत्‍नका लागि कत्तिको उपयुक्त छन् भनी परीक्षण गर्ने काम पनि गर्छ । उसले गर्ने कामका बारेमा प्रधानमन्त्री कार्यालयले सम्मानका साथ वेभसाइटमा प्रस्तुत गरेको छ ।

ल्यारीलाई सडकबाट उद्धार गरेर क्याट्स होममा राखिएको थियो । त्यही बेला उसको भ्यासेक्टोनमी पनि गरिएको थियो । पछि प्रधानमन्त्री कार्यालयमा पुर्‍याउँदा उसका सुरुवाती दिनमा मुसा समात्‍न सकेन । ल्यारीलाई अल्छी गरेको भन्दै चर्चा भएको थियो । त्यसबेला उसलाई मिडियाले ‘लेजी ल्यारी’ समेत भनेका थिए । विस्तारै उसले आफ्नो कार्यक्षमतालाई प्रमाणित गर्‍यो । ल्यारीले मुसा मार्न थाल्यो ।

बेलायतमा बिरालो राख्‍ने चलन

बेलायती राजनीति र कूटनीतिमा बिरालो राख्‍ने चलन सौखका लागि मात्रै सिमित छैन । लामो इतिहास जोडिएको छ । बेलायती शासन सत्तामा बिरालो शताब्दियौँ पुरानो राजकीय विरासतसँग जोडिएको देखिन्छ । यसका लागि सन् १५१४  तिर फर्कनुपर्छ । कार्डिनल थोमस वोल्सेलाई राजा हेनरी आठौँले ‘लर्ड भाइसचान्सलर’ मा नियुक्त गरेपछि आफूँसगै बिरालोहरू ल्याएका थिए । ग्रेट ब्रिटेनको सत्ता हाँक्दा वोल्सेले हेनरी आठौँको दरबारमा आफूसँगै बिरालाहरूको एउटा ठूलो लावलस्कर नै लिएर कार्यालय प्रवेश गरेका थिए ।

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो
इप्सविचमा रहेको कार्डिनल वोल्सेको शालिक र उनको सालिक पछाडिबाट चियाइरहेको बिरालो । तस्बिरः  एटलस अब्सकुरा

त्यतिबेलाको समाजमा बिरालाहरू प्रतिको दृष्टिकोण नकरात्मक थियो । बिरालाहरूविरुद्ध विषवमन नै चलाइएको थियो । जसका कारण बिरालोहरूलाई अपसगुनको रूपमा लिइन्थ्यो । बिरालोप्रति भूतप्रेतको प्रतीक लिँदै घरबाट लखेट्ने गरिन्थ्यो । यो भ्रम अहिले पनि उत्तिकै छ ।

ल्यारी प्रधानमन्त्री कार्यालयको ‘चिफ माउसर’ पदमा कार्यरत छ । १० डाउनिङ स्ट्रिटमा जो सुकै प्रधानमन्त्री भएर आओस् मुसा मार्ने प्रमुख कमान्डर भने ल्यारी नै रहनेछ ।

सुधारकको छवि बनाएका कार्डिनले त्यो बेला एक किसिमको विद्रोह नै गरे । नकारात्मक हल्लाबाट विचलित नभई वोल्सेले हरेक कार्यक्रममा बिरालोहरूलाई साथमै राखे । शाही सवारी होस् या आइतबारको प्रार्थनासम्म उनले आफ्ना बिरालाहरूलाई साथमै राखेर राज्य सञ्चालन गरे । र, बिरालोको महत्व स्थापित गर्ने कोसिस गरे । लन्डनको इप्सविचमा रहेको उनको जन्मस्थानमा सन् २०११मा प्रतिस्थापन गरिएको उनको शालिकमा पनि बिरालो छ । उक्त शालिकमा वोल्सेको पछाडिबाट बिरालोले टाउको निकालेर चियाइरहेको देखिन्छ ।

हुलाक सेवा विभागको परम्परा

बेलायतमा बिरालोलाई सरकारी बजेटसहित पद नै दिएर कर्मचारी राखिएको लिखित इतिहास चाहिँ औद्योगिक क्रान्तिपछि देखिन्छ । सरकारी कर्मचारीका रूपमा राख्‍न थालिएको लिखित इतिहास चाहिँ सन् १८६९ को मे महिनाबाट सुरु हुन्छ ।

बेलायतको शाही हुलाक सेवा विभागको लन्डन मनी अर्डर कार्यालयमा मुसाहरूले निकै नै दुःख दिए । मुसाले महत्वपूर्ण चिठ्ठीपत्र र कागजातहरू काटेर दुःख दिएपछि बिरालो राखियो । त्यतिबेला ३ वटा बिरालाहरूलाई ६ महिनाको परीक्षणकालमा मुसा मार्न राखिएको थियो । त्यसबेला उनीहरूलाई प्रति हप्ता १ शिलिङ तलब तोकिएको थियो । उक्त तलबबाट उनीहरूको दूध र खानाको व्यवस्था हुन्थ्यो ।

शाही हुलाक सेवाको परीक्षण सफल भएपछि सन् १८७३ मा बिरालाहरूको तलब बढ्यो । हप्तामा १ शिलिङ ६ पेन्स पुग्यो । बेलायतमा दशमलव प्रणाली लागु हुनुअघि त्यहाँको मौद्रिक प्रणाली पाउण्ड, शिलिङ र पेन्समा आधरित थियो । उक्त प्रणाली अनुसार १ पाउण्ड बराबर २४० पेन्स हुन्थ्यो भने १ शिलिङ बराबर १२ पेन्स हुन्थ्यो ।

देशभरका हुलाक कार्यालयहरूमा ‘चारखुट्टे कर्मचारी’ का लागि दरबन्दी नै सिर्जना भयो । यो परम्परामा समान कामको समान ज्यालाको नीति अवलम्बन गरियो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकासित लेखका अनुसार शाही हुलाक सेवाका बिरालाहरूमध्ये सबैभन्दा बढी ‘टिब्स द ग्रेट’ चर्चित थियो । उसले आफ्नो १४ वर्षे कार्यकालमा हुलाक सेवाको केन्द्रीय कार्यालयलाई मुसाबाट पूर्ण रूपमा मुक्त राख्यो । उसलाई प्रति हप्ता २ शिलिङ ६ पेन्स तलब दिइन्थ्यो । सन् १९६४ मा उसको मृत्यु हुँदा उसका बारेमा ओबिच्युरी नै प्रकासित भएका थिए ।

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो
पोस्ट अफिस म्यागजिन, जनवरी १९६५मा टिब्स मृत्युको समाचार । तस्बिरः अनलाइन

यही १८६९ को सफल मानकलाई पछ्याउँदै सन् १९२९ देखि प्रधानमन्त्री निवास (१० डाउनिङ स्ट्रिट) मा पनि मुसा समात्ने बिरालोका लागि सरकारी कोषबाट बजेट छुट्याउन थालियो । यही मानकलाई पछ्याउँदै सन् १९२९ देखि १० डाउनिङ स्ट्रिटमा मुसा समात्ने बिरालोका लागि बजेट छुट्याउन थालियो । ‘चिफ माउसर’ नै पद प्राप्त गर्ने पहिलो बिरालो चाँही ल्यारी हो ।

ल्यारी जस्तै बेलायती सरकारका अन्य मन्त्रालयहरूमा पनि आधिकारिक रूपमा बिरालाहरूलाई जिम्मेवारी दिइएका घटनाहरू छन् । बेलायतको अर्थ मन्त्रालयले पनि ‘चिफ माउसर’ का रूपमा ग्लाडस्टोन नाम गरेको बिरालो राखेको छ । उसले जुन २०१६ देखि पद सम्हालेको हो । यो बिरालोलाई चिफ माउसरको रूपमा राखिएको घोषणा ब्रेक्जिटका कारण ढिलो घोषणा गरिएको थियो । घोषणा गरेर कार्यालय प्रवेश गरेको ४८ घण्टाभित्रै पहिलो मुसा समातेर मन्त्रालयमा चर्चा बटुलेको बेलायती मिडियाहरूले उल्लेख गरेका छन् । यो बिरालोले अहिले इन्सटाग्राममा २१ हजार फलोअर्स कमाएको छ । कुशल सिकारी मात्र नभएर जनसम्पर्कको काममा पनि  खप्पिस रहेको भन्दै बेलायती सञ्चारमाध्यमहरूमा पढ्न पाइन्छ ।

त्यहाँको परराष्ट्र मन्त्रालयमा पनि चिफ माउसरको रूपमा पार्मरस्टोन बिरालो राखिएको थियो । उक्त कालो र सेतो रङको बिरालो परराष्ट्रमा चिफ माउसरको पद पाउने प्राप्त गर्ने पहिलो बिरालो हो । डाउनिङ स्ट्रिटमा यसको र ल्यारीबीचको झगडाले निकै चर्चा पायो । कतिसम्म भने पार्मरस्टोनलाई प्रहरीको सुरक्षा घेरामा बाहिर निकालिएको घटना बाहिरिएको थियो । बेलायतले यी बिरालाहरूलाई आफ्नो देशको ‘सफ्ट पावर’का साथै कूटनीतिक ब्रान्डिङका रूपमा प्रयोग गर्दै आएको देखिन्छ ।

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो
पार्मरस्टोन बिरालो जु परराष्ट्र मन्त्रालयको प्रमुख माउसरको रूपमा कार्यरत थियो ।

१० डाउनिङ स्ट्रिटमा ल्यारीसँग अमेरिकी पूर्व राष्ट्रपति बारक ओबामा, डोनाल्ड ट्रम्पदेखि विश्वका धेरै राष्ट्रप्रमुखहरूको तस्बिर  अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुँदा बेलायती कूटनीतिको पनि चर्चा हुन्छ । प्रधानमन्त्री कार्यालयको कर्मचारीको रूपमा कार्यरत ल्यारीको खर्च सरकारी ढुकुटीबाट छैन । प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट चल्छ ।

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो
तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन सन् २०११ मा १० डाउनिङ स्ट्रिटमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिफ माउसर ल्यारीसँग परिचय गराउँदै। (तस्बिरः वाइट हाउस)

अरूले जे गर्छ हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन । तर, बेलायतले एउटा घर पालुवा जीवलाई गरेको व्यवहार र सार्वजनिक वृत्तमा ल्याउने चर्चाको प्रभाव निकै नै हुन्छ । हाम्रो देशमा पनि यस्ता केही सफ्ट पावर झल्कने विषय वस्तुहरू हुँदा त्यसले हाम्रा कार्यालयहरूको ओझ र महत्व बढाउन सक्छन् ।  हामीले पनि राजनीतिक र प्रशासनिक क्षेत्रमा न्यूनतम मानकहरू जोगाउन सके सकरात्मक प्रभावहरू देखिन सक्छ । जसले गर्दा मुलुकको कूटनीति एवं प्रशासन क्षेत्रमा इमोसनल पीआर पनि झल्कन सक्छ ।

हामीले मनाउने विविध पर्वमा गरिने जीवजन्तुप्रतिको सम्मानले हाम्रो मुलुकको राजकीय र सांस्कृतिक पाटो पनि झल्काउँछ । गाई, सर्प, काग, कुकुर, गाई र गोरुलाई सांस्कृतिक उत्सवका रूपमा सम्मान गर्दै पूजा गर्ने गरिन्छ । कूटनीतिमा पनि नेपालले विभिन्न देशलाई एकसिंगे गैँडा र हात्ती उपहार दिएर वन्यजन्तु कूटनीति मार्फत आफ्नो पहिचान बनाएको छ । विदेशी राष्ट्रप्रमुख आउँदा हामीले दिने मिथिला कला,काठका कलात्मक मूर्तिहरू वा हिमाली पहिचान हाम्रा मानक हुन् ।

कुनै पनि संस्थाको साख, इतिहास र शासकीय मानकहरू व्यक्ति वा शासकको अनुहारसँगै बदलिने कुरा हुनु हुँदैन । बरु प्रणाली बलियो हुनुपर्छ । प्रणाली यति बलियो होस् कि त्यसले भूगोल र समयको सीमालाई समेत नाघ्‍न सकोस् । जब राज्यको प्रणाली र मानक बलियो हुन्छ तब त्यसको प्रभाव दूरगामी हुन्छ ।





Source link

Leave a Comment