प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

फोटो : रासस
एमसिए नेपालले नयाँ बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले एक कार्यक्रमको आयोजना गरी नयाँ बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माणको शुभारम्भ गरेको घोषणा गरेको हो।
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन्।
अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा यो परियोजनाको निर्माणले सहयोग पुर्याउने बताए।
उनले सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको उल्लेख गरे। एमसिसी र एमसिए नेपालको सहयोगबाट राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्ने अर्थमन्त्री खनालले त्यस अवसरमा बताए।
अमेरिकी राजदूत थम्प्सनले दुई वर्षदेखिको निरन्तर प्रयासपछि मात्रै यो सम्भव भएको बताए। उनले निर्माणपछि नेपालका लागि आर्थिक वृद्धिका साथै खुला व्यापारमा पनि वृद्धि हुने बताए।
प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै मुलुकभर व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सिर्जना गर्नेछ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्त गर्नुका साथै नेपाल र भारतबीच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ।
अर्थमन्त्री खनाल, नेपालका लागि अमेरिकी राजदूत थम्प्सन, एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो।
निर्माण सुरु भएको १८ किमि प्रसारण लाइनले ४०० केभी नयाँ बुटवल सवस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ।
करिब पाँच करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्याउनेछ। परियोजनाको दुई वर्ष समयावधि सकिएको र आगामी तीन वर्षभित्र एमसिए अन्तर्गतका सबै आयोजना सम्पन्न गर्नुपर्ने छ।
पछिल्लो समय, एमसिए–नेपाल अन्तर्गत रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी ४०० केभी प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ। कुल १८० किलोमिटर लामो प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण र सञ्चालन गर्ने काम तय भएको छ।
त्यसैगरी, प्रसारण लाइनका अतिरिक्त, सबस्टेसन निर्माणलगायत पूर्वाधार विकासका कामहरू हुँदै आएका छन्।
असारमा अमेरिकी सरकारले नेपालको लागि एमसिसी परियोजना फुकुवा गर्ने निर्णय गरेपछि, एमसिसी नेपालका कामहरू पुनः सुरु भएका हुन्। त्यसपछि एमसिए–नेपालले पुनः सक्रिय भएर काम अगाडि बढाएको छ।
विशेष गरी, बुटवल–दमौली–रातमाटे लगायत मध्य–पश्चिम र पश्चिम नेपाल जोडिने विद्युतीय सञ्जालले क्षेत्रीय विकास र रोजगारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। (राससको सहयोगमा)
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
