बालेनले विज्ञापन गरेको डीडीसीको अन्तर्य: ८० करोडको उत्पादन मौज्दात, किसानसँग ६५ करोड ऋण


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा सामान्य तस्बिरले दुग्ध उत्‍पादक संस्थान (डीडीसी) नेपाली डेरी उद्योग, स्वदेशी उत्पादन र किसानको भविष्यबारे नयाँ बहस जन्माएको छ।

तस्बिरमा उनी नेपाली याक चिजसँग देखिएका थिए। सतहमा हेर्दा त्यो एउटा साधारण प्रचारात्मक पोस्ट जस्तो लाग्थ्यो। तर केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी अर्थात् दुग्ध विकास संस्थान फेरि चर्चाको केन्द्र बन्यो।

कसैले त्यसलाई स्वदेशी उत्पादन प्रवर्द्धनको सकारात्मक संकेत माने। कतिले प्रश्न गरे, ‘डीडीसी अझै कति सक्षम छ ?’ धेरैले बाल्यकाल सम्झिए । स्कूल छुटेपछि खाइने डीडीसी आइसक्रिम, बिहानको दूध, गर्मीको मोही, घरमा पाक्ने घ्यू र चाडपर्वमा आउने रसबरीसहितका डीडीसीका उत्पादन ।

तर यो बहस केवल एउटा चिजको प्रचार वा फोटोको चर्चा थिएन। यो बहस थियो नेपाली किसानको भविष्य, सरकारी संस्थाको विश्वसनीयता र स्वदेशी उत्पादनप्रतिको नेपाली समाजको भरोसा पनि ।  

नेपालमा पछिल्ला वर्षहरूमा सरकारी संस्थाप्रतिको विश्वास कमजोर हुँदै गएको चर्चा भइरहेका बेला डीडीसीको नाम आउँदा धेरै नेपालीले अझै ‘शुद्धता’, ‘विश्वास’ र ‘गुणस्तरीयता’को विषय सम्झिन्छन्। यही कारण सामाजिक सञ्जालमा याक चिजको फोटोले भावनात्मक प्रतिक्रिया पनि उत्तिकै तान्यो।

डीडीसी : दूध बेच्ने कम्पनीभन्दा धेरै ठूलो संरचना

डीडीसी अर्थात् दुग्ध विकास संस्थान वि.सं. २०२१ को कर्पोरेशन ऐनअन्तर्गत स्थापना भएको पूर्ण सरकारी स्वामित्वको संस्था हो। यसको मूल उद्देश्य ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार उपलब्ध गराउने, शहरका उपभोक्तासम्म प्रशोधित दूध पुर्‍याउने र नेपालमा व्यवस्थित दुग्ध बजार निर्माण गर्नु थियो।

समयसँगै डीडीसी केवल डेरी कम्पनीमा सीमित रहेन। यो गाउँको अर्थतन्त्र, किसानको दैनिक आम्दानी र राज्यको उपस्थितिसँग जोडिएको एउटा विशाल संरचनामा रूपान्तरित भयो।

संस्थानले अहिले वार्षिक ६ करोड लिटरभन्दा बढी दूध संकलन गर्ने गरेको छ। यो दूध दुई लाखभन्दा बढी किसानबाट आउने गरेको संस्थानको तथ्यांक छ। ती किसान एक हजार २०० भन्दा बढी दुग्ध सहकारीमार्फत डीडीसीसँग आबद्ध छन्।

नेपालका ४५ जिल्लामा फैलिएको यो नेटवर्क सामान्य व्यापारिक संरचना होइन। काठमाडौंमा बिहान किनिएको दूधको मूल्य अन्ततः गाउँको किसानसम्म पुग्ने आर्थिक शृंखला हो।

यही कारण डीडीसीको अस्तित्वलाई धेरैले ‘किसानको सुरक्षा कवच’ का रूपमा पनि व्याख्या गर्छन्। निजी डेरी उद्योगले नपुग्ने गाउँसम्म अहिले पनि डीडीसी पुगिरहेको छ। दुर्गम क्षेत्रमा उत्पादन भएको दूधलाई बजारसँग जोड्ने काममा संस्थान अझै महत्वपूर्ण मानिन्छ।

दबाबमा परे पनि घाटामा छैन: डीडीसी

पछिल्ला वर्षहरूमा डीडीसी आर्थिक रूपमा संकटमा गएको चर्चा बेला–बेला उठ्ने गरेको छ। तर संस्थानका प्राविधिक व्यवस्थापन शाखा प्रमुख तथा सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार डीडीसी घाटामा गएको संस्था होइन।

उनका अनुसार संस्थानले वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको छ। अहिले डीडीसीको स्टकमा करिब ८० करोड रुपैयाँ बराबरका उत्पादन छन् भने किसानलाई करिब ६५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

गौतमका अनुसार किसानलाई भुक्तानी ढिलो हुनुको मुख्य कारण दूधको मौसमी उत्पादन चक्र हो। डीडीसीले कार्तिकदेखि चैतसम्मको अवधिलाई ‘सहज सिजन’ का रूपमा लिन्छ, जहाँ उत्पादन बढी हुन्छ तर खपत अपेक्षाकृत कम।

यस अवधिमा ‘मिल्क होलिडे’ नगर्ने नीति अनुसार संस्थानले किसानको दूध लिन छाड्दैन। बढी भएको दूधलाई ड्राइ गरेर विभिन्न उत्पादनमा रूपान्तरण गरी स्टक राखिन्छ। कतिपय उत्पादन ६ महिनासम्म स्टोरमै रहने अवस्था आउँछ।

यही कारण भुक्तानीमा ढिलाइ हुने गरेको संस्थानको दाबी छ। वैशाखदेखि असोजसम्म भने उत्पादन र खपतबीच तुलनात्मक सन्तुलन रहने बताइन्छ।

तर किसानको अनुभव भने फरक सुनिन्छ। धेरै किसान भुक्तानी ढिलो हुने समस्या अझै गम्भीर रहेको बताउँछन्। कतिपयले समयमै रकम नपाउँदा निजी डेरी उद्योगतर्फ जान थालेको गुनासो गर्छन्।

डीडीसीका उत्पादन : स्वादसँग जोडिएको सम्झना

डीडीसीका उत्पादन केवल उपभोगका सामग्री मात्र होइनन्, नेपालीहरूको सामूहिक स्मृतिसँग जोडिएका स्वाद पनि हुन्।

कुनै समय स्कूल छुटेपछि डीडीसी आइसक्रिम खानु धेरै बालबालिकाको उत्साह थियो। गर्मीमा मोही, बिहानको दूध, घरको घ्यू र चाडपर्वको रसबरीसँग धेरै परिवारको भावनात्मक सम्बन्ध बनेको छ।

अहिले पनि डीडीसीले दूध, दही, मोही, घ्यू, फ्लेभर्ड मिल्क, पनिर, मिठाइ र विभिन्न प्रकारका आइसक्रिम उत्पादन गर्दै आएको छ।

आइसक्रिममा भेनिला, बटरस्कच, चकलेट, चकलेट क्रन्च र स्ट्रबेरी फ्लेभर उपलब्ध छन्। १०० एमएल कपदेखि ४ लिटरसम्मका प्याक बजारमा पाइन्छन्। भेनिला कपको मूल्य ६५ रुपैयाँदेखि सुरु हुन्छ भने १ लिटर प्याक ४५५ रुपैयाँसम्म पर्ने गरेको छ।

संस्थानले निर्धारण गरेको मूल्य सूचीअनुसार मखन प्रतिकेजी १०५० रुपैयाँ, घ्यू ५०० मिलि पाउच ६२५ रुपैयाँ, ५०० मिलि बट्टा ६५० रुपैयाँ, लिटर पाउच १२५० रुपैयाँ र लिटर बट्टा १३०० रुपैयाँमा बिक्री हुँदै आएको छ।

गाईको घ्यू ५०० मिलि बट्टाको मूल्य ७०० रुपैयाँ तोकिएको छ। मिठाइमा लालमोहन रसबरी १० पिस बट्टाको ३१० रुपैयाँ, १५ पिस क्यानको ४६५ रुपैयाँ, पेडा २०० ग्रामको ३१० रुपैयाँ तथा पनिर प्रतिकेजी ४३० रुपैयाँ निर्धारण गरिएको छ। मोही प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गरेको संस्थानले जनाएको छ।

हिमालदेखि शहरसम्म दूधको यात्रा

दूध उत्पादन केवल कारखानाको प्रक्रिया होइन। यसको सुरुवात किसानको बिहान ४ बजेदेखि हुन्छ।

धनकुटाको हिले, तेह्रथुमको चित्रे, इलामको शान्तिडाँडा, बिब्लाँटे र फिक्कल तीनघरेलगायत स्थानमा डीडीसीका चिलिङ सेन्टर सञ्चालनमा छन्। किसानले बिहान दुहेको दूध त्यहीँ पुर्‍याउँछन्।

हिलेमा ६ हजार लिटर क्षमता भएको चिलिङ सेन्टर छ भने चित्रेमा ३ हजार लिटर र शान्तिडाँडामा ५ हजार लिटर क्षमताका केन्द्र छन्।

तर कतिपय चिलिङ सेन्टर अहिले बन्द अवस्थामा छन्। पुराना संरचना जोगाउने, आधुनिकीकरण गर्ने र सञ्चालन क्षमता बढाउने विषयमा किसानले प्रश्न उठाइरहेका छन्।

ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसानका लागि डीडीसी केवल बजार होइन, आम्दानीको नियमित स्रोत हो। यही कारण संस्थान कमजोर हुँदा त्यसको प्रभाव सिधै गाउँको अर्थतन्त्रमा पर्ने विश्लेषण गरिन्छ।

किन कमजोर बन्दै गइरहेको छ डीडीसी ?

एक समय नेपाली दुग्ध बजारमा डीडीसीको लगभग एकछत्र प्रभाव थियो। तर पछिल्ला वर्षहरूमा निजी डेरी उद्योग तीव्र रूपमा विस्तार भए।

निजी कम्पनीहरूले आकर्षक प्याकेजिङ, तीव्र वितरण प्रणाली, बजारमुखी रणनीति र आधुनिक ब्रान्डिङमा लगानी गरे। डीडीसी भने सरकारी संरचनाको ढिलो निर्णय प्रक्रिया, पुरानो प्रविधि र प्रशासनिक जटिलतामा अल्झिएको आलोचना हुँदै आएको छ।

किसानको गुनासो पनि उस्तै छ, भुक्तानीमा ढिलाइ, पुरानो संरचना र व्यवस्थापनको सुस्त शैलीले संस्थानप्रतिको आकर्षण घटाएको छ।

तर यथार्थ अर्को पनि छ। निजी क्षेत्रले नाफा नदेख्ने दुर्गम क्षेत्रमा पुगेर दूध संकलन गर्ने काम अहिले पनि मुख्यतः डीडीसीले गरिरहेको छ।

यही कारण डीडीसीको असली शक्ति केवल बजार प्रतिस्पर्धा होइन, किसान र उपभोक्ताबीच बनेको विश्वास मानिन्छ।

याक चिज : खाद्य सामग्री कि नेपालको पहिचान ?

डीडीसीसँग अहिले तीन प्रमुख प्रकारका चिज उत्पादन छन्: मोजरेला, कञ्चन चिज र याक चिज।

तीमध्ये याक चिज विशेष उत्पादनका रूपमा चिनिन्छ। यो हिमाली क्षेत्रमा पालिने याकको दूधबाट बनाइन्छ र वर्षभर उपलब्ध हुँदैन। चैतदेखि कार्तिकसम्म दूध संकलन गरिने भएकाले उत्पादन पनि मौसमी हुन्छ। मौसममी उत्पादन हुने भएकाले यसको सीमितता हुने भएकाले बढी खपत भए सटेजको अवस्था आउने डीडीसीका सूचना अधिकारी गौतमले बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यूको स्टाटसपछि मैले पनि यसको बिक्री वितरण बढेको सुनेको हुँ । तर हाम्रो कार्यालयसम्म यसको अभाव भएको वा सटेज भएको भन्ने सूचना आएको छैन । डीडीसीका आफ्नै बिक्री केन्द्र तथा काठमाडौंसहितका विभिन्न मार्टमा याक चिज राखिने भएकाले सीमित मार्टको स्टक सकिएको हुनसक्छ ।’

याक चिज विदेशी पर्यटकले ट्रेकिङका क्रममा खोज्ने नेपाली स्वादमध्ये एक हो। सही ब्रान्डिङ, गुणस्तर व्यवस्थापन र अन्तर्राष्ट्रिय बजार रणनीति अपनाउन सकिए यो उत्पादन नेपालका लागि कफी वा चियाजस्तै “नेशनल ब्रान्ड” बन्न सक्ने सम्भावना देखिन्छ।

नेपालको हिमाली पहिचान, अर्गानिक उत्पादन र स्थानीय स्वादलाई विश्वबजारसँग जोड्न सकियो भने याक चिज ठूलो निर्यात सम्भावना भएको उत्पादन बन्न सक्ने अपेक्षा डीडीसीले लिएको छ ।  

अब डीडीसीलाई कसरी बचाउने ?

प्रधानमन्त्रीको एउटा फोटोले फेरि एउटा पुरानो बहसलाई सतहमा ल्याएको छ । हामी स्वदेशी उत्पादनलाई कति महत्व दिन्छौं ? आफ्नै किसानसँग कति उभिन्छौं ? र राज्यले आफ्ना संस्थालाई कति आधुनिक बनाउन सक्छ ?

डीडीसीसँग अझै विशाल संरचना छ। किसानसँग जोडिएको विश्वास छ। नेपाली बजारमा दशकौं पुरानो भावनात्मक सम्बन्ध छ।

तर केवल पुरानो प्रतिष्ठाले भविष्य सुरक्षित हुँदैन। संस्थानलाई आधुनिक प्रविधि, प्रभावकारी व्यवस्थापन, समयमै भुक्तानी, नयाँ ब्रान्डिङ र प्रतिस्पर्धी बजार रणनीति आवश्यक छ।

डीडीसी बचाउनु भनेको केवल एउटा सरकारी कम्पनी बचाउनु होइन। यो किसानको आम्दानी जोगाउनु हो। ग्रामीण अर्थतन्त्र बचाउनु हो। र नेपाली उत्पादनमाथिको भरोसा कायम राख्नु हो।

राज्यले किसानको उत्पादनलाई प्राथमिकतामा राखेर उत्पादित सामानको प्रशोधनमा ध्यान दिँदै उचित बजार व्यवस्थापन गर्न सके डीडीसी फेरि मजबुद बनेर उठ्नेछ।

प्रकाशित: ३ जेष्ठ २०८३ १५:४२ आइतबार





Source link

Leave a Comment