प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आजै बिहान उनलाई नेपालको संविधानको धारा, ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
को हुन् बालेन शाह ?
नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उनले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन् । उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुख्र्यौली घर महोत्तरीको एकडारा हो ।
‘¥याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिए ।
सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उनको योगदान छ । महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापन गर्न उनले योगदान दिएका थिए ।
शाहले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा सक्रिय सहभागिता जनाएका थिथए । पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिएका छन् ।
दुई दर्जनभन्दा बढी ¥याप कम्पोज गरेका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उनका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।
संविधानसभाको दोस्रो निर्वाचनपछि नै शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दैै परिवर्तनको चाहनालाई उनले पूरा गर्नुपर्नेछ ।
