बागमती प्रदेश सभामा फेरि किचलो : RajdhaniDaily.com


मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राती १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो । प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको उनले जानकारी दिए ।

– बाटो छेकेर हिउँदे अधिवेश अन्त्य गरियोः प्रतिपक्षी दल

– सभा सञ्चालनको लागि बसेको ७ दलको छलफल १० घण्टाचल्दा पनि निष्कर्ष विहीन

संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद प्रभावित भएको थियो । प्रदेश सभाको हिउँदे अधिवेशन गत १८ माघमा आव्हान गरिएको थियो । २६ माघमा बसेर अनिश्चित कालको लागि स्थगित भएको बैठक २ महिना पछि मंगलबारको लागि आव्हान गरिएको भए पनि दलहरु बीच सहमति जुट्न नसक्दा सञ्चालन हुन सकेन । बुधबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको भए पनि तोकिएको समय अगावै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

बुधबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिस बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । उनले बुधबार दिउँसो प्रदेश सभाको पन्ध्रौ अधिवेशन नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्य भएको जानकारी सभामुख भुवनकुमार पाठकलाई गराएका छन् ।

दुई महिनापछि मंगलबारको लागि बोलाइएको बैठक ४ घण्टासम्म सुरु नभएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिपक्ष र सत्तापक्ष दलहरुबीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि स्थगित गरिएको थियो ।

मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरुबीच सहमती हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । तर त्यो समयमा पनि बैठक बस्न सकेन । त्यसपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक तथा कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको थियो । बुधबार बैठक तोकिएको समय अगावै हिउँदे अधिवेश नै स्थागित गरियो ।

सभा सञ्चालनको लागि बसेको ७ दलको छलफल निष्कर्ष विहीन
बागमती प्रदेशसभा सञ्चालनको लागि मंगलबार सभामुख भुवन कुमार पाठकले आह्वान गरेको ७ दलको छलफल निष्कर्षविहीन भएको थियो । मंगलबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म १० घण्टा चलेको दलहरुको छलफलमा कुनै निष्कर्ष निस्किएन ।

सर्वदलीय बैठकमा विगतको सहमतिअनुसार बजेट उपलब्ध गराउने विषयमा सरकार र प्रतिपक्ष दलबिच छलफल भए पनि निचोड आउन नसक्दा त्यसको असर प्रदेश सभामा परेको छ । सरकारले विजनेश दिन नसकेर प्रदेश सभाको बैठक नियमित हुन सकेको छैन् । बजेटमा भएका सन्तुलन मिलाउन आह्वान भएको सर्वदलीय बैठक दुई चरणमा गरिए पनि निष्कर्ष निकाल्न नसकिए पछि प्रदेश सभाको हिउँदे अधिवेशन जम्मा ५ वटा बैठक बसेर अन्त्य गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सभा संचालन गर्न सरकार नै अनिच्छुक रहेको आरोप लगाएको छ । पार्टीका प्रमुख सचेतक रत्नप्रसाद ढकालले मंगलबार बसेको सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले सहमति जुटाउने भन्दा पनि प्रतिपक्षलाई चिढ्याएर संसद् बैठक धकेल्न लागेको आरोप समेत लगाएका थिए ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका अनुसार सरकारले प्रतिपक्षलाई समेट्ने र हाउस चलाउने विषयमा गम्भिरता नदेखाउँदा सहमति जुट्न नसकेको हो । सर्वदलीय बैठकमा प्रदेश सभा चलाउने वातावरण तयार गर्न प्रतिपक्षले माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ ।

प्रतिपक्षका तर्फबाट विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको छानविन समिति गठनका विषयमा उठान भएको थियो । सो विषयमा सरकारले उचित जवाफ र सकारात्मक प्रतिक्रिया नजनाएपछि सर्वदलीय बैठक बिना निश्कर्ष टुंगिएको नेता जम्कट्टेलको भनाई छ ।

नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकमा प्रतिपक्षी दलले उठाएको माग र मुद्दामा सरकारले सकारात्मक संकेत नदेखाएपछि निश्कर्ष निस्कन सकेन । विगतका सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको छानविन समिति गठनका विषयमा सरकार सकारात्मक नरहेको उनले जानकारी दिए ।

मंगलबारको छलफलका क्रममा सरकारले यसअघी गरेका प्रतिबद्धता अनुसार प्रक्रिया अघि नबढे बुधबारको प्रदेशसभा बैठक चल्न नसक्ने चेतावनी दिएका थिए । त्यस लगतै संसद अवरोध भइरहे हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा प्रदेश सरकार पुगेको बताइन्छ ।

बुधबार सामान्य ढंगले संसद् चले कार्यसूची अघि बढाउने नत्र प्रदेशसभा अधिवेशन अन्त्य हुन सक्ने मंगलबार नै प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले बताएका थिए । प्रतिपक्ष दलसँग विगतमा भएका सहमति क्रमशः कार्यान्वयनको चरणमा रहेका र केही दिनमा सबै विषय मिलान हुने लामाले विश्वस्त पार्न खोजेका थिए ।

विगतको सहमतिअनुसार प्रतिपक्ष र सत्तापक्षका सांसदहरूको छुटेका आयोजनाको बजेट १ अर्ब २) करोड रुपैयाँ रहेको उनले जानकारी दिए । त्यसमध्ये ८) करोड बजेट व्यवस्थापन गर्न बाँकी रहेको र सो कार्य प्रक्रियामा रहेको पनि उनले बताका थिए ।

हिउँदे अधिवेशनमा के के भए ?
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघबाट सुरु भएको थियो । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत २३ माघमा २ वटा, २३ माघमा १ वटा र २६ माघमा २ वटा बैठकहरु संचालन भएको छ । सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि मंगलबारको लागि बोलाइएकोमा सभा चल्दै नचली स्थगित गरियो ।

२६ माघको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यसैगरी अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो । प्रदेश सभा सचिवालयका अनुसार बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश गरिएको थियो ।

यस्तै प्रदेश प्रमुखबाट फिर्ता आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि २६ माघको बैठकमा संशोधन सहित पेश गरिएको थियो ।

मंगलबारको बैठकमा गत माघ मै संसदमा पेश भएका संसोधन विधेयकहरु पेश गरिने कार्यसुची रहेको थियो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठक दलहरु बीच विगतको बजेट माथिको सहमतिका विषयहरु समेट्ने सहमति बनेको र सोही अनुसार बैठक आह्वान गरिएको बताउँछन् ।

उक्त विधेयकका प्रतिवेदनहरुलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूचि राखेर बैठक संचालन गरिने गरी बैठक आव्हान गरिएको पाठक बताउँछन् । ११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ जना सदस्य छन् ।

प्रतिपक्षको कटाक्ष
बागमती प्रदेशका प्रतिपक्ष दलहरूले सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।

बुधबार प्रदेशसभा सचिवालय हेटौैंडामा पत्रकार भेटघाट गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे । प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको आरोप लगाए ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्व स्थिति निम्तिन सक्ने सम्भावना देखिएको बताए । “सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ,यसरीसरकार प्रदेशसभाबाट भागेर गैर जिम्मेवार ढंगबाट प्रस्तुत भयो” उनले भने “दलहरू बिच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको दम्भ तथा निरङ्कुश शैली र अपरिपक्कता एकैपटक बाहिरिएको छ ।”

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरू विच भएको सहमति, गत असोजको ११ र १२ गतेको अविरल वर्षापछि राहत उद्धार र पुनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए । उनका अनुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ । दलहरू बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैर जिम्मेवार हर्कत छोडेर वार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment