मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकीदै गर्दा दल तथा नेताहरुमा चुनावको माहोल ह्वात्तै बढेको छ । सबै ठिकठाक भएको भए यतिखेर प्रतिनिधि सभामा जनताको सवालमा बहसमा व्यस्त हुने सांसदहरु नवयुवा आन्दोलपछि फुर्सदीला भएका छन् ।
विघटीत प्रतिनिधि सभाका सदस्यहरु अहिले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको चिया गफमा भेटिन्छन् । पार्टीले प्रतिनिधि सभामा टिकट सुनिश्चित गरेसँगै उनीहरु आफ्नो मतदाताको भेटमा व्यस्त हुन थालेका छन् । यसो त प्रतिनिधि सभाबाट छुट्टी पाएकाहरु मात्रै हैन गत निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएर हाल बाहालवाला रहेका प्रदेश सभा सांसदहरु पनि प्रतिनिधि सभा निर्वाचनको मैदानमा होमिन हौसिएका देखिन्छन् ।
जसमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीको जिम्मेवारी सम्हालिरहेकाहरु देखि सभामुख समेत छन् । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि बागमती प्रदेश सभाका सदस्यहरुको चुनावी दौडको तयारीमा रहेका हुन् । जबकी प्रदेश सभाको लागि अझै २ वर्षे कार्यकाल बाँकी नै छ । उनीहरु प्रदेश सभातर्फबाट राजिनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा होमिन लागेका हुन् ।
एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौं–७ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनको तयारीमा छन् । उनको नाम काठमाडौं–७ बाट सिफारिसमा परेको छ । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । दुई कार्यकाल प्रदेशमा रहेका श्रेष्ठ हाल कायम रहेको पदबाट राजीनामा दिएर संघीय संसद जानेको तयारीमा जुटेका हुन् । उनी उम्मेदवार सिफारिसमा परेको क्षेत्रबाट एमालेका ११ जनाको नाम सिफारिसमा परेको छ ।
२०७९ को निर्वाचनमा काठमाडौं–६ (ख) बाट निर्वाचित भएका प्रदेश सभा सदस्य अमन कुमार मास्के फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । काठमाडौं–६ बाट चुनावी मैदानमा होमिने तयारीमा रहेका उनीसहित १२ जनाको नाम सिफारिसमा परेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा एक वर्ष कार्यभार सम्हालेका उनले कामको अझै पनि प्रशंसा हुने गरेको छ । हालै सम्पन्न एमाले महाधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा जितेका आर्किटेक इन्जिनियर मास्के एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका छन् ।
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मकवानपुरका दुवै क्षेत्रका उम्मेदवारको नाम घोषणा गरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर–१ मा एमालेका नेता रामेश्वर रानाको उम्मेदवारी टुङ्गीएको हो । एमालेका मकवानपुरका इन्चार्जसमेत रहेका रानालाई मकवानपुर–१ बाट उम्मेदवारी दिन टिकट दिएको छ। राना २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका उम्मेदवार कुमारी मोक्तानबाट पराजित भएका थिए। त्यसपछि उम्मेदवार बन्न पाएको रानाको यो पहिलो हो।
२०७९ सालको प्रतिनिधिसभाको एमालेका उम्मेदवार राप्रपा नेपालका नेता कमल थापा पराजित भएका थिए । यसैगरी एमालेले मकवानपुर–२ नम्बर क्षेत्रमा निवर्तमान सांसद एवं एमालेका पूर्व सचेतक महेश बर्तौलालाई उम्मेदवारी दिनका लागि टिकट दिएको छ। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बर्तौलाले यसअघि साबिकको एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार दिएका विरोध खतिवडालाई पराजित गरेका थिए। उक्त निर्वाचनमा खतिवडालाई कांग्रेस र एकीकृत माओवादीले समर्थन गरेका थिए। उक्त निर्वाचनमा एमालेका महेश बर्तौलाले ३४ हजार ९१६ मत ल्याएर विजयी बनेका थिए भने विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए। राना बर्तौला दुबैले आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
राना र बर्तौला मात्रै हैन हाल प्रदेश सभा सदस्य रहेकाहरु पनि चुनावी दौडमा तयार छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज दुलाल शरद प्रदेशबाट राजीनामा दिएर प्रतिनिधि सभामा होमिने तयारीमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुपाल्चोक–२ बाट एकल सिफारिसमा परेका दुलाल प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा जुटेका हुन् । सिन्धुपाल्चोक–२ (क) बाट दुई पटक चुनाव जितेर बागमती प्रदेश सभा सदस्य बनेका दुलालको लामो समय सरकारमा रहे । प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी निर्वाचन क्षेत्रमा सक्रिय भइसकेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका बागमती प्रदेशका पूर्वसभामुख भुवन कुमार पाठकले पनि प्रदेश सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारी गरेका छन् । उनको नाम राप्रपाले काठमाडौं–४ बाट पहिलो नम्बरमा सिफारिस गरेको छ । २०७९ को आम निर्वाचनमा काठमाडौंबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका पाठक २९ पुस २०७९ मा बागमती प्रदेश सभा सभामुखमा निर्वाचित भएका थिए । नवयुवा आन्दोलनपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए ।
एमालेका पूर्वमन्त्री समेत रहेका कृष्णप्रसाद सिलवाल पनि प्रतिनिधि सभाको निर्वाचनको दौडमा छन् । उनी बागमती प्रदेशका पूर्व वन मन्त्री हुन् । यसैगरी राप्रपाकी कुमारी तामाङ, नेकपाका प्रेमबहादुर पुलामी, कुमारी मोक्तानलगायत प्रदेश सभा सदस्यहरुको नाम सिफारिस भएको छ । उनीहरु पनि आन्तरिक तयारीमा लागेको बुझिएको छ ।
नुवाकोट–२ बाट आफ्नो नाम सिफारिस भएपछि प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बहादुर सिंह लामाको दौडधुप बढेको छ । उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री बनेका लामा टिकट लिने तयारीमा रहेका छन् । लामा २०८० साउन ९ देखि २०८१ साउन २० सम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका थिए भने २०७९ चैतदेखि २०८० फागुनसम्म प्रदेशको अर्थमन्त्री बनेका थिए । लामाले २०७९ मा नुवाकोट २ (ख) बाट प्रदेश सभा सदस्य जितेका थिए ।
काँग्रेसका अर्का सांसद पनि प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि दौडमा छन् । उनी हुन् दोलखाबाट प्रदेश सभा सदस्य बनेका कुन्दन काफ्ले । उनी पनि गगन थापा पक्षका नेता हुन् । उनी कुनै पनि अवस्थामा संघीय संसदको चुनाव लड्ने योजनामा छन् । प्रदेशबाट राजीनामा गरेर उनी प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशका अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी दोलखाबाट उम्मेदवार सिफारिस भएका छन् ।
काँग्रेसका अर्का नेता बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार पनि प्रतिनिधि सभा निर्वाचनको तयारीमा छन् । ललितपुर–२ बाट चुनाव लड्ने गरी उनको नाम सिफारिस भएको छ । २०७९ भदौदेखि २०८० फागुनसम्म प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी पुरा गरेका व्यक्ति हुन् ।
कांग्रेस केन्द्रको निर्देशन विपरित उम्मेदवार सिफारिस भएका उनीहरुको उम्मेदवारी ’bout भने निर्णय हुन बाँकी रहेको छ । कांग्रेसले लिएको जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने निर्णय संशोधन भएको खण्डमा उनीहरुको लागि बाटो खुल्ला हुनेछ ।
निर्वाचनको कार्य प्रारम्भ
निर्वाचन कार्य सम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । यसको लागि हेटौंडा ११ मा रहेको प्रादेशिक तरकारी तथा थोक बजारको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र २ मा आचार्यलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । निर्वाचन सम्बन्धि सबै कामको लागि आफूहरुले सबै तयारी पुरा गरेको श्रेष्ठले बताइन् ।
निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । निर्वाचनको समयमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनबाट जोगिन र जिम्मेवारपूर्ण पत्रकारिता गर्न उनले आग्रह गरिन् । निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह, शान्ति–सुरक्षा लगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढंले समाचार सम्प्रेषण कार्यालयले अनुरोध समेत गरेको छ ।
मकवानपुरमा ३ लाख १५ हजार ३३४ जना मतदाता
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुर जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको हो ।
निर्वाचन कार्यालयका सूचना अधिकारी तारा प्रसाद आचार्यका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता हेटौँडा उपमहानगरपालिकामा ७ हजार १६३ मतदाता थप भएका छन् ।
मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिएका छन् भने बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इद्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ ।
मतदान स्थल भने साविककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन् ।
अद्यावधिक तथा दाबी–विरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८८४ नाम हटाएको छ । मृत्यु भएका २१ जना मतदाता तथा दोहोरो नाम रहेका ६८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ ।
१९ वटा अति संवेदनशील
प्रतिनिधिसभा अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि जिल्लामा ३६४ मतदान केन्द्र रहेका थिए । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।
जिल्लाको १९ मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।
जिल्लाभर रहेका कुल १६७ मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशील मानिएको छ ।
यसैगरी, जिल्लामा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौँडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् ।
निर्वाचन प्रहरीमा आकर्षण
मकवानपुरमा निर्वाचनको सुरक्षाका लागि भर्ना गर्न खुल्ला गरिएपछि निर्वाचन प्रहरीमा युवाहरूको आकर्षण देखिएको छ।
मकवानपुरमा आवश्यक संख्याभन्दा बढीले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार २ हजार २६६ जनाले आवेदन दिएका छन्। जसमा १ हजार ६०२ पुरुष र ६६४ महिला छन् । जिल्लामा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको योजना छ ।
(Visited 4 times, 1 visits today)
