बाइडेनले अटो-पेनमार्फत हस्ताक्षर गरेका कार्यकारी आदेश रद्द गर्ने ट्रम्पको घोषणा 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनले अटो–पेन प्रयोग गरी हस्ताक्षर गरेका कार्यकारी आदेशहरू र अन्य आधिकारिक कागजातहरू रद्द गर्ने घोषणा गरेका छन्।

शुक्रबार ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बाइडेनले करिब ९२ प्रतिशत कागजात अटो–पेनमार्फत हस्ताक्षर गरेको दाबी गरेका छन् । । उनले अटो–पेनमार्फत हस्ताक्षर गरिएका ती कागजात अबदेखि कुनै कानुनी प्रभावमा नरहने बताए । साथै, उनले अटो–पेन सञ्चालन गर्नेहरूले अवैध रूपमा हस्ताक्षर गराएको आरोप पनि लगाए।

अटो–पेन अमेरिकी राष्ट्रपतिहरूले यात्रा, बिरामीपना वा व्यस्तताका कारण शारीरिक रूपमा हस्ताक्षर गर्न नसक्ने अवस्थामा प्रयोग गर्ने उपकरण हो। बाइडेनसहित उनका पूर्ववर्ती राष्ट्रपतिहरूले पनि यसको प्रयोग गरेका थिए। तर, केही रिपब्लिकन नेताहरूले बाइडेनको मानसिक क्षमतामाथि प्रश्न उठाउँदै अटो–पेनको प्रयोगलाई विवादित बनाउँदै आएका छन्।

बाइडेनको टोलीले ट्रम्पको दाबीबारे तुरुन्त प्रतिक्रिया दिएको छैन। तर, बाइडेनले यसअघि आफ्नो कार्यकालमा भएका सबै निर्णय (कार्यकारी आदेश, क्षमादान र विधायी कदम लगायत) स्वयं आफैले गरेको बताएका थिए ।

बाइडेनको कार्यकालमा कति कागजात अटो–पेनले हस्ताक्षर गरियो भन्ने आधिकारिक तथ्याङ्क सार्वजनिक छैन। ओबामा अमेरिकी इतिहासमा अटो–पेन प्रयोग गर्ने पहिलो राष्ट्रपति मानिन्छन् । बाइडेनले पनि यात्रा क्रममा यसै उपकरणमार्फत केही कागजातमा हस्ताक्षर गरेको अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूमा उल्लेख छ।



Source link

Leave a Comment