प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्ट गार्डकी रियर एडमिरल एरिका श्वार्ट्जलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा नियुक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनी उप-सर्जन जनरलको रूपमा कार्यरत थिइन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, “अत्यन्त प्रतिभाशाली डा. एरिका श्वार्ट्जलाई सीडीसीको निर्देशकका रूपमा मनोनयन गर्न पाउँदा म खुसी छु। उनी एक उत्कृष्ट व्यक्तित्व हुन्।”
सीडीसी केही महिनादेखि निर्देशक विना नै सञ्चालन भइरहेको थियो। अघिल्लो प्रमुख सुसन मोनारेजलाई पदबाट हटाइएपछि उक्त पद रिक्त थियो। हाल राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक जय भट्टाचार्यले अस्थायी रूपमा सीडीसीको जिम्मेवारी सम्हालिरहेका छन्।
मोनारेजलाई सेप्टेम्बरमा हटाइएको थियो। स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरसँग खोप नीतिका विषयमा विवाद भएपछि उनलाई पदबाट हटाइएको हो।
मोनारेजले वाल स्ट्रिट जर्नलमा प्रकाशित लेखमा नयाँ सल्लाहकार समूहबाट आएका खोपसम्बन्धी सिफारिसहरू विना जाँच स्वीकृत गर्न अस्वीकार गरेपछि आफूलाई बर्खास्त गरिएको उल्लेख गरेकी थिइन्।
श्वार्ट्जले अमेरिकी सार्वजनिक स्वास्थ्य सेवामा २४ वर्ष सेवा गरेकी छन्। उनले ब्राउन विश्वविद्यालयबाट चिकित्सा र मेरिल्याण्ड विश्वविद्यालयबाट कानुनमा डिग्री प्राप्त गरेकी छन्। ट्रम्पको पहिलो कार्यकालपछि उनले सरकारी सेवा छोडेकी थिइन्, किनकि बाइडेन प्रशासनले उनलाई कार्यवाहक सर्जन जनरलको रूपमा चयन गरेको थिएन।
स्वास्थ्य मन्त्री केनेडीको नेतृत्वमा सीडीसीमा व्यापक परिवर्तनहरू गरिएका छन्। यसमा ठूलो संख्यामा कर्मचारी हटाउने र पुनर्संरचना गर्ने काम समावेश छन्।
खोप नीतिमा गरिएका केही विवादास्पद परिवर्तनहरूले वैज्ञानिक तथा पूर्व कर्मचारीहरूलाई चिन्तित बनाएको छ। मार्च महिनामा एक न्यायाधीशले केनेडीका धेरै खोपसम्बन्धी परिवर्तनहरू लागू हुनबाट रोक लगाएका थिए।