बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य


नेपाल जस्तो पहाडी मुलुकमा ‘हाइकिङ’ पर्यटन प्रवर्द्धनको राम्रो माध्यम पनि हो । उदाहरणका लागि, बराहक्षेत्र–१ अहिले हाइकिङ गन्तव्यका रूपमा चर्चित बन्दैछ । स्थानीयमाझ हाइकिङ लोकप्रिय बन्दैछ । कहिलेकाहीँ बाहिरबाट पनि हाइकिङ प्रेमीहरू यहाँ आउने गरेका छन् ।

बराहक्षेत्र नगरपालिका–१, सुनसरीको पहाडी भूगोल प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो।

त्यसैले त पछिल्लो समय यो क्षेत्र हाइकिङ प्रेमीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि यहाँको पहाडमा नियमित हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाइकिङ के हो ?

हाइकिङ भनेको प्राकृतिक क्षेत्रमा, पहाड, जंगल वा खुला स्थानमा पैदल यात्रा गर्ने गतिविधि हो । यसलाई नेपालीमा पदयात्रा भन्ने गरिन्छ । सामान्यतया, यो मनोरञ्जन, स्वास्थ्य, शिक्षा, अन्वेषण र प्राकृतिक सौन्दर्यको अनुभवका लागि गरिन्छ । यसले कुनै पनि व्यक्तिलाई मनको शान्ति प्रदान गर्नुका साथै तनलाई पनि स्वस्थ्य रहन मद्दत गर्दछ ।

हाइकिङ गर्दा प्रकृतिसँग नजिक हुने अवसर हुन्छ । यसरी पदयात्रा गर्ने कार्यले हाम्रो शारीरिक स्वास्थ्य र फिटनेसका लागि लाभदायक मानिन्छ । यो एउटा साहसिक तथा मनोरञ्जनात्मक गतिविधि पनि हो ।

धेरै जना ट्रेकिङ र हाइकिङमा झुक्किने गरेका छन् । हाइकिङ छोटो दूरीको हल्का पैदल यात्रा हो, जुन केही घण्टादेखि एक दिनसम्म गर्न सकिन्छ । ट्रेकिङ भने लामो दूरीको कठिन यात्रा हो, जुन धेरै दिनसम्म गर्नुपर्छ ।

हाइकिङ किन जाने ?

स्वास्थ्य र फिटनेसका लागि : हाइकिङ गर्दा शारीरिक व्यायाम हुन्छ । मुटु स्वस्थ रहन्छ । मानसिक तनाव कम हुन्छ ।

प्रकृतिको आनन्द लिन : हरियो जंगल, हिमाल, खोला–नाला, चराचुरुङ्गी, सूर्योदयको अवलोकन, शुद्ध हावाको अनुभव लिन सकिन्छ ।

ऐतिहासिक सम्पदा अवलोकन : लालकोट गढी, हिन्दूपती दरबार, झाक्री गुफाजस्ता ऐतिहासिक स्थलहरूको भ्रमण तथा अवलोकन । स्थानीय जनजीवन, संस्कृति र परम्पराको अध्ययन गर्न सकिन्छ।

सामाजिक मेलमिलाप र मनोरञ्जन : साथीभाइ, परिवार वा समूहमा घुमघाम गर्न रमाइलो हुन्छ । समूहमा गफगाफ, भिडियो तथा फोटोग्राफी गर्न र नयाँ अनुभव लिन हाइकिङ जान सकिन्छ ।

स्थानीय खानाको स्वाद : लोकल परिकारहरू चाख्न पाइन्छ । लोकल कुखुरा, मकै, रोटी, गुन्द्रुक, ढिँडोको स्वाद लिन पाइन्छ । गाउँको ताजा मह र सुकुटी चाख्न पनि पाइन्छ।

किन बराहक्षेत्र–१  हाइकिङका लागि उपयुक्त छ ?

हाइकिङ जानका लागि त्यस स्थानको केही विशेषताहरू आवश्यक पर्दछन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण हुनुपर्दछ । त्यहाँ आउनेले ग्रामीण जनजीवन र संस्कृतिको अनुभव गर्न सकोस् । लामो तथा छोटो र सजिलोदेखि कठिन स्तरसम्मका रुटहरू उपलब्ध हुनुपर्दछ ।

हाइकिङ जाँदा हरियाली जंगल, हिमश्रृङ्खला र मन लोभ्याउने दृश्यहरू हुँदा निकै रमाइलो हुन्छ । जसले उनीहरूलाई थप रमाइलो होस् । हाइकिङ जाँदा स्वास्थ्य र मनोरञ्जन दुवैका लागि उत्कृष्ट हुने खालको वातावरण हुनुपर्छ ।

यी सबै विशेषता बराहक्षेत्र-१ मा रहेको पहाडी भूभागमा पाउन सकिन्छ । त्यसैले यो स्थल हाइकिङका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना छ ।

यहाँका हाइकिङ रुटहरू :

बराहक्षेत्र–१ भित्र विभिन्न आठवटा हाइकिङ रुटहरू पहिचान गरी सञ्चालनमा ल्याइएको छ । हाइकिङ लभर्सहरू छानी-छानी यो रुटमा हिँड्न सक्छन् । यी रुटहरूमा हिँड्दा ऐतिहासिक स्थलहरू, हिमश्रृङ्खला, सप्तकोशी नदीको मनमोहक दृश्य र हरिया जंगलहरूको अवलोकन गर्न पाइन्छ ।

आठवटै रुटको अन्तिम विन्दु बराहक्षेत्र नगरको सबैभन्दा उचाईमा रहेको अग्लो स्थान लालकोट गढीलाई मानिएको छ । जुन समुद्री सतहबाट ९४० मिटरको उचाईमा अवस्थित छ।

रुटहरू यसप्रकार रहेका छन् ।

१. खारखोला कटहरे–चियाबारी–सूर्यकुन्ड–लालकोट गढी (दूरी ८ किलोमिटर) 

यो रुटबाट हाइकिङ गर्दा बाटोमा धर्मद्वार-पापद्वार देख्न सकिन्छ । जुन माटोका ढिस्कोहरूले बनेको रमणीयस्थल हो । यो प्राकृतिक रुपमा माटोले बनेको सुन्दर आकृति हो । अलिकति माथि उक्लिएपछि कटहरे गाउँमा खेतबारी देखिन्छ । माथि उक्लिएपछि चियाबारी हुँदै ऐतिहासिक सूर्यकुण्ड र लालकोट गढीसम्म पुग्न सकिन्छ ।

बाटोमा पाण्डव र कौरवले जुवा खेलेको स्थान र स्ट्रबेरी फार्मको अवलोकन गर्न सकिन्छ । यहाँ कुलुङ राईहरूको बस्ती छन् । अलिक पर सूर्यकुण्ड मन्दिर जीर्ण अवस्थामा देखिन्छ।

धार्मिक हिसाबले पवित्र मानिएको यस मन्दिरको जीर्णद्वार गर्नुपर्ने अवस्था छ । अन्तिममा भवानीथान मन्दिर हुँदै लालकोट गढी पुग्न सकिन्छ । लालकोट गढी ऐतिहासिक महत्व बोकेको किल्ला हो।

२. झण्डा चोक–बान्द्रे चौरी–अर्चले–लालकोट गढी (दूरी ५ किलोमिटर)

यो रुटमा मदन भण्डारी राजमार्गअन्तर्गत झण्डा चोकमा भेला भएर हाइकिङ सुरु गरिन्छ । यहाँबाट जङ्गलको बाटो हुँदै बान्द्रे चौरी गाउँ पुग्न सकिन्छ । यो ग्रामीण बस्तीमा राई जातिको बस्ती छ । त्यहाँबाट साँझको बेला सप्तकोशीमा सूर्यको छायाँ निकै मनमोहक देख्न सकिन्छ । यहाँबाट बाघ खोलाको शीर पनि देखिन्छ । अर्चलेडाँडा पार गरेर लालकोट गढी पुग्न सकिन्छ । त्यसअघि एसियाको सबैभन्दा ठूलो मानिएको लिचीको रुख बाटोमा देख्न सकिन्छ ।

३. मिलन चोक–फूलबारी–अर्चले–लालकोट गढी (दूरी ४.५ किलोमिटर) 

मुख्य बजार बयरवनमा रहेको मिलन चोकमा भेला भएर यो हाइकिङ सुरु गर्न सकिन्छ। मदन भण्डारी हाइवेदेखि उकालो लागेपछि फूलबारी क्षेत्र पुगिन्छ। यस क्रममा हाइकर्सले जंगलको शीतलतासँगै विभिन्न चराचुरुङ्गीको आवाज सुन्न पाउँछन्।

बाग्दलबारी पुगेपछि सप्तकोशी नदी र नेपालको सबैभन्दा ठूलो चतरा नहर सर्लक्कै देखिन्छ। यहाँ आइपुग्दा लगभग आधा बाटो सकिन्छ भने आधा बाटो बाँकी हुन्छ । अर्चलेमा रहेको लिचीको रुखको अवलोकन गर्दै अमलिसो घारी छिचोल्दै ठाडो उकालो काटेपछि लालकोट गढी पुग्न सकिन्छ ।

४. औंलिया मठ–छिन्नमस्ता–हिन्दूपती दरबार–बागदलबारी–अर्चले–लालकोट गढी (दूरी ४ किलोमिटर)

यो लोकप्रिय रुट हो। यहाँ हाइकिङ आउनेहरू पुरातात्विक महत्व बोकेको चतरास्थित औलिया मठमा भेला हुन्छन् । लगत्तै मदन भण्डारी हाइवेलाई क्रस गरेर उत्तरतर्फ रहेको छिन्नमस्ता देवीको मन्दिरलाई एक फन्को लगाएर उकालो बाटो सुरु हुन्छ।

निकै उकालो यो रुट सुरुमा त निकै कठिन लाग्न सक्छ । औलिया मठ र छिन्नमस्ताजस्ता धार्मिक र ऐतिहासिक स्थलहरू पार गर्दै हिँड्ने यो रुटमा हिन्दुपती दरबारको ऐतिहासिक अवशेष हेर्न सकिन्छ। करिब एक किलोमिटर दूरीमा हिन्दुपती दरबारको भग्नावशेष भएको स्थान पुगिन्छ।

बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य

 

त्यहाँ इटाका टुक्रा, झिगटीका टुक्रा, फलामका टुक्रा र दरबारका ठूला-ठूला कटिङ गरिएका ढुङ्गाका खाबाहरू देख्न सकिन्छ। यसलाई उत्खनन् गर्न सके त्यसको ऐतिहासिक महत्व बुझ्न सकिन्थ्यो। यहाँको यात्राका क्रममा चराचुरुङ्गीको मधुर आवाज र रुखका सुशेली सुन्न सकिन्छ। किरात राई जातिका उत्पत्तिको विन्दु मानिने धमिराका देवलहरू पनि यहाँ देख्न सकिन्छ।

अब भने बाग्दलबारी उक्लिँदा मिलन चोकबाट आएको मोटर बाटो भेटिन्छ। तर हाइकर्सहरू मोटरबाटो छोडेर हाइकिङकै साँगुरो बाटो समाएर अर्चलेदेखि लालकोट गढीको उकालो हानिन्छन् । किनकी हाइकर्सहरू सडकबाटो भन्दा ग्रामीण गोरेटो बाटो हिँड्न रुचाउँछन् ।

५. भण्डारी टार–चिहान डाँडा–चावाचा–खप्तपुर–झाक्री गुफा–जुगपाख्री–लालकोट गढी (दूरी ५.५ किलोमिटर)

पहिले यो ठाउँलाई भलायोटार भनिन्थ्यो तर अहिले यसलाई भण्डारीटार भनेर लेख्ने गरिएको छ। यहीँबाट यो हाइकिङ सुरु हुन्छ । भण्डारीटार बजारमा खाजा खाएपछि अलिक पर उत्तरतर्फबाट चावाचा जाने बाटो नै यो रुटको प्रस्थान विन्दु हो । यो बाटो जाँदा रानी खोलाको शीर पुगिन्छ ।

अब भने यो बाटो अर्चले जाने उकालो छाडेर देब्रेतर्फ दूधपानी खोलातर्फ बढ्छ । अलिक बाटो प्रष्ट नभएकाले बाटो खोज्दै जानुपर्ने हुन्छ । एक जना गाइड आवश्यक पर्दछ ।
बाटो खोज्दै हिड्नु पर्ने यो रुटले खप्तपुर डाँडा हुँदै ऐतिहासिक झाँक्री गुफा र जुगपाख्री पुर्‍याउँछ । जुगपाख्रीबाट सप्तकोशी नदीको छटा आकर्षक देखिन्छ । यहाँ रहेको देउरालीमा सबैले पाती चढाउन भुल्दैनन् । यहाँबाट सजिलै लालकोट पुग्न सकिन्छ । यो रुटबाट हिमाल र सप्तकोशीको दृश्य अद्भुत देखिन्छ । त्यो मज्जा त्यहाँ पुग्नेलाई मात्र थाहा हुन्छ। जुन अहिले यहाँ जति बयान गरेपनि कम हुन्छ ।

६. कोशी पुल–खप्तपुर–झाँक्री गुफा–जुगपाख्री–लालकोट गढी (दूरी ३ किलोमिटर)

पर्यटकीय स्थल कोशी पुलबाट यो रुट सुरु हुन्छ । पुलको मुखैबाट उत्तर तर्फको खोल्सीबाट हाईकिङ आउनेहरू उकालो लाग्छन् । अहिले बाटो खुलेको छैन । पहिल्याउँदै जानुपर्ने अवस्था छ । बराहक्षेत्र नगर–१ वडाले यसको रेखाङ्कन गर्न पहल गरिरहेको छ ।

यो बाटो सुरुमा निकै उकालो लाग्न सक्छ । सिधै उकालो चढ्दै जाँदा ९०० मिटर माथि धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले कोकाहबाट धरान पानी लगेका जोडी पाईपहरू विच्छ्याइको देख्न सकिन्छ।

यहाँ साना-साना थुम्कीहरू छन् । घरी उकालो घरी तेर्सो बाटो भेटिन्छन् । निकै माथि पुगेपछि तल हेर्दा मनमोहक कोशी पुल र आसपासका होटलहरू मज्जाले देख्न सकिन्छ। पारीपटी बोप्ताङबाट आकाशमा उडिरहेका प्याराग्लाइडिङहरू देख्न सकिन्छ।

बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य

सप्तकोशीनदीमा जेटबोटहरू चिप्लिएर दौडिएको देख्न सकिन्छ । मोटरगाडीहरू सडकमा सलाइका बट्टा जस्ता देखिन्छन् । जङ्गलमा सखुवाका ठूला-ठूला रूखहरू प्रशस्त छन् । यो जंगल चावाचा र चतराघाटबासीका लागि सालको पात टिप्ने स्थल भएको उनीहरू बताउँछन् ।

माथि जङ्गलमा मान्छेले रोपेका जस्ता ढुङ्गाका लहर देख्न सकिन्छ । अब भने बाटो पहिल्याउन सहज हुन्छ । किनकी माथि जुगपाख्री गाउँबाट घास दाउरा गर्ने बाटाहरू तलतिर देख्न सकिन्छ ।

यसलाई पच्छ्याउँदै जाँदा बाटोमै झाक्री गुफा भेटिन्छ । जुन तपाईंलाई अचम्म लाग्न सक्छ । लगत्तै जुगपाख्री गाउँ हुँदै लालकोट गढीमा पुग्न सकिन्छ । नयाँ भएकाले यो रुटमा तत्काल अहिले हाइकिङ लभर्सहरूका लागि तत्काल दिशानिर्देश बोर्डहरू राख्न जरुरी छ ।

७. बराहक्षेत्र मन्दिर–सिन्दुर पुच्छर गाउँ–जुगपाख्री–लालकोट गढी (दूरी ३.५ किलोमिटर)

प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिरबाट पनि हाइकिङ रुट विस्तार गरिएको छ । बराहक्षेत्र मन्दिरनजिकै रहेको बसपार्कबाट सुरु हुने यो रुटले बराहक्षेत्र मन्दिरको एरियल भ्यू र प्राकृतिक सौन्दर्य दुवैको अनुभव दिन्छ ।

पश्चिमतर्फको डाँडा उक्लिएपछि सिन्दुर पुच्छर गाउँ पुगिन्छ । त्यहाँ डेढ दर्जन राई जातिको परिवारको बस्ती छ ।धनकुटा र भोजपुरबाट बसाई सरी आएको उनीहरू बताउँछन्। यो बस्तीमा बेसार, अदुवा र अम्लिसोको खेती गरेको देख्न सकिन्छ ।

केही समयपछि सिन्दुर पुच्छरबाट माथि उक्लिएपछि तेर्सो बाटो आउँछ । सप्तकोशी नदीको नीलो पानी देखिन्छ । यहाँबाट पहाडका तरेली खेतहरू मनग्गे देख्न सकिन्छ । उदयपुर, धनकुटा र भोजपुर जिल्लाका केही भागहरू देख्न सकिन्छ । लगत्तै जुगपाख्रीबाट लालकोट पुगिन्छ ।

८. बराहक्षेत्र मन्दिर–सलामे झरना–सिलपाखा–चौडण्डा–भवानीथान–लालकोट गढी (दूरी ४ किलोमिटर )

झरना हेर्न मनपराउनेलाई यो रुट छान्नुपर्ने हुन्छ । बराहक्षेत्र मन्दिर हुँदै यहाँ पुग्न सकिन्छ । मन्दिरदेखि दुई किलोमिटर पर अहिलेको तमोर करिडोरको बाटोमा यो सलामे झरना पर्दछ ।

यो झरनाको शीतलतामा आहा नभन्ने कोही हुँदैनन्। गर्मीको समयमा यहाँ नुहाउनेहरूको भीड लाग्छ । यहाँबाट उकालो हिँड्दै जाँदा सिलपाखा गाउँ पुगिन्छ । बाटो उकालो र भिरालो छ । निकै जोगिएर हिँड्नुपर्छ । जंगलको बाटो छ ।

बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य

गाउँलेहरूले जंगलभरी बेसार खेती लगाएको देख्न सकिन्छ । अब भने चौदण्डा गाउँ पुगिन्छ । यहाँ तीन दर्जन बढी राई परिवार छन् । यहाँको हरियाली र चौडण्डाको ऐतिहासिक महत्वले यो रुट निकै लोकप्रिय बन्दै गएको छ । अब भने देउराली, भवानीथान मन्दिर हुँदै लालकोट गढी पुगिन्छ । सुन्दर झरना, स्थानीय जीवनशैली, शक्तिपीठ र ऐतिहासिक स्थल हेर्न रूचाउनेहरूका लागि यो रुट आकर्षक बन्न सक्छ ।

हाइकिङका आकर्षणहरू

१. प्राकृतिक सौन्दर्यको अवलोकन : बराहक्षेत्र–१ को हाइकिङ रुटबाट हिमालका सुन्दर दृश्य, सप्तकोशी नदीको दृश्य र तराईका हरिया फाँटहरू देख्न सकिन्छ ।

२. ऐतिहासिक स्थलहरूको अवलोकन : लालकोट गढी, हिन्दूपती दरबार, झाक्री गुफा, सूर्यकुण्ड जस्ता ऐतिहासिक स्थलहरूको अवलोकन गर्दा इतिहास प्रेमीहरूका लागि यो यात्रा अविस्मरणीय बन्दछ ।

३. स्थानीय जनजीवनको अनुभव : हाइकिङको क्रममा कुलुङ राई लगायत अन्य जातजातिको संस्कृति र रहनसहनको अनुभव गर्न पाइन्छ ।

४. स्थानीय खानाको स्वाद : हाइकिङ जाँदा लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुक, सुकुटी जस्ता परम्परागत नेपाली खानाको स्वाद लिन सकिन्छ । यहाँ मौसमले साथ दिए स्ट्रवेरी फल पनि चाख्न पाइन्छ।

को-को जान्छन् हाइकिङ?

हाइकिङ सुरु भए यता यस क्षेत्रमा हाइकिङ गर्नेको संख्या १० हजार नाघेको छ । पछिल्लो वर्ष मात्र करिब पाँच हजारभन्दा बढी हाइकिङ प्रेमीहरूले बराहक्षेत्रका विभिन्न रुटहरूमा हाइकिङ गरेका छन्।

यहाँ विद्यालयका विद्यार्थीहरू शैक्षिक भ्रमणको रूपमा, साथीभाइ समूहमा, विदाको समयमा सरकारी कर्मचारीहरू, सामाजिक संघ-संस्था, क्लब र स्थानीय पर्यटनप्रेमीहरू हाइकिङ आउने गरेका छन् । हाइकिङमार्फत युवाहरूले स्वास्थ्यका लागि लाभदायक शारीरिक व्यायामसँगै मनोरञ्जन लिइरहेका छन् । साथै, स्थानीय संस्कृति, पहाडी जनजीवन र इतिहाससँग परिचित भइरहेका छन् ।

स्थानीय तहले हाइकिङ प्रवर्द्धनका लागि ल्याउनुपर्ने कार्यक्रमहरू

–हाइकिङ रुटहरूको म्यापिङ र साइनबोर्ड प्रत्येक रुटमा स्पष्ट संकेतसहित राख्ने ।

–स्थानीय गाइड उत्पादन गर्ने ।

–पर्यटकीय होमस्टे सञ्चालन गर्ने ।

–जोखिमपूर्ण स्थानमा सुरक्षित बाटो निर्माण गर्ने ।

–बिसाउने स्थान, पानी खाने धारा र शौचालयजस्ता आधारभूत सुविधाहरू विकास गर्ने ।

–बराहक्षेत्रलाई हाइकिङ गन्तव्यको रुपमा प्रचार-प्रसार गर्ने ।

–यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने।

–डिजिटल प्रचार-प्रसार र रुट बताउने मोबाइल एप विकास गर्ने।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School