काठमाडौं । फ्रान्स र पाराग्वेबीचको ‘राउन्ड अफ १६’को स्कोरबोर्डमा फ्रान्सले १–० को जित निकालेर क्वार्टरफाइनल यात्रा तय गरेसँगै विश्वभरका फुटबल समर्थकका ध्यान नतिजाभन्दा बढी फ्रान्सका कप्तान केलियन एमबाप्पे र पाराग्वेका गोलकिपर ओर्लान्डो गिलबीच भएको तनावपूर्ण घटनाले तानेको छ ।
खेलभर दुवै टोलीका खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो । पाराग्वेले सुरुदेखि नै फ्रान्सका आक्रमणकारीलाई खुलारूपमा खेल्न नदिने रणनीति अपनाएको थियो भने फ्रान्सले बल नियन्त्रणमा राख्दै अवसर सिर्जना गर्ने प्रयास गरिरह्यो । मैदानमा हुने प्रत्येक ट्याकल, बल प्रतिस्पर्धा र निर्णयमा खेलाडीको भावनात्मक प्रतिक्रिया स्पष्ट देखियो । खेल जति अन्त्यतिर पुग्दै गयो, तनावस्तर त्यति नै बढ्दै गयो ।
पहिलो हाफदेखि नै पाराग्वेका खेलाडीले एमबाप्पेलाई विशेष निगरानीमा राखे । उनी बल लिएर अघि बढ्नेबित्तिकै दुई वा तीन रक्षकले घेरिहाल्ने रणनीति अपनाइयो । यसले फ्रान्सका कप्तानलाई स्वतन्त्ररूपमा खेल्न कठिन बनायो । कतिपय अवस्थामा शारीरिक चुनौती यति कडा थियो कि रेफ्रीले खेल रोक्नुपर्ने अवस्थासमेत आयो । एमबाप्पे पनि विपक्षीको कडा रक्षात्मक शैलीबाट असन्तुष्ट देखिए । दोस्रो हाफ सुरुवातपछि खेलको गति अझ तीव्र बन्यो । दुवै टोली जितका लागि आक्रामक बने । यसैक्रममा एमबाप्पे र पाराग्वेका मिडफिल्डर डिएगो गोमेजबीच भनाभनै भयो । सामान्य धकेलाधकेलबाट सुरु विवादमा केहीबेरमै दुवै टोलीका अन्य खेलाडी पनि मिसिए । केही क्षणका लागि मैदान तनावग्रस्त बन्यो । रेफ्री र अन्य खेलाडीले हस्तक्षेप गरेपछि अवस्था सामान्य बनाइयो, तर त्यसपछि पनि खेलभरि मनोवैज्ञानिक दबाब कायमै रह्यो ।
पाराग्वेको रक्षापंक्तिले फ्रान्सका आक्रमणकारीलाई लामो समयसम्म रोकिराख्यो । विश्व फुटबलका चर्चित खेलाडीले भरिएको फ्रान्सेली टोलीले पनि स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्नुपरिरहेको थियो । यही कारण खेल गोलरहित अवस्थामा ७०औं मिनेटसम्म पुग्यो । फ्रान्सका डेसिरी डुए पेनाल्टी क्षेत्रभित्र लडाइएपछि सुरुमा रेफ्रीले खेल जारी राखे । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले घटना समीक्षा गर्न सुझाव दिएपछि निर्णय फेरियो र फ्रान्सले पेनाल्टी पायो । पाराग्वेका खेलाडीले निर्णयप्रति असन्तुष्टि जनाए पनि अन्ततः पेनाल्टी कायम गरियो ।
निर्णायक जिम्मेवारी कप्तान एमबाप्पेको काँधमा आयो । अत्यधिक दबाबबीच उनले आत्मविश्वाससाथ पेनाल्टी प्रहार गर्दै बललाई जाली चुमाए । त्यो गोल नै खेलको निर्णायक गोल बन्यो । प्रतियोगितामा उनको सातौं तथा विश्वकप करियरको १९औं गोलका रूपमा यो उपलब्धि पनि महइभ्वपूर्ण रह्यो । गोल गरेपछि एमबाप्पेले आफ्ना समर्थकतर्फ दौडिँदै उत्सव मनाए भने पाराग्वेका खेलाडी निराश बने । वास्तविक नाटक भने खेल सकिएपछि सुरु भयो । अन्तिम सिट्टी बज्नासाथ पाराग्वेका गोलकिपर ओर्लान्डो गिल एमबाप्पेसम्म पुगे । खेल सकिएपछि खेलाडीले एकअर्कालाई बधाई दिने परम्पराअनुसार उनले हात अघि बढाए । तर, एमबाप्पेले उनको हात समाउन अस्वीकार गरे । उनले कुनै प्रतिक्रिया नदिई अगाडि बढे र आफ्ना टोलीका खेलाडीसँग विजय उत्सव मनाउनतिर लागे ।
एमबाप्पेको यस व्यवहारले गिललाई निकै आहत बनायो । आवेगमा आएका उनले बल उठाएर एमबाप्पेको पछाडितर्फ फ्याँकिदिए । बल उनको पछाडिबाट गए पनि एमबाप्पेले त्यसमा कुनै प्रतिक्रिया जनाएनन् । उनी पछाडि फर्किएनन्, न कुनै विवादमा उत्रिए । यही कारण सम्भावित ठूलो झगडा तत्काल ट¥यो । यद्यपि, केही खेलाडीबीच फेरि सामान्य धकेलाधकेल भएको दृश्य देखियो । यो घटना केही मिनेटमै सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो । समर्थक दुई पक्षमा विभाजित भए । कतिपयले एमबाप्पेले खेलभावना देखाउन नसकेको टिप्पणी गरे भने अर्का पक्षले खेलभर लगातार उक्साइएका कारण उनले प्रतिक्रिया नदिनु नै परिपक्व निर्णय भएको बताए । खेलपछिका अधिकांश विश्लेषणमा पनि यही विषय प्रमुख बहसको केन्द्र बन्यो ।
खेलपछि पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो टोलीले कठिन परिस्थितिमा पनि संयम गुमाउन नदिएको बताए । ‘हामीलाई सुरुदेखि नै यो सजिलो खेल हुने छैन भन्ने थाहा थियो । आवश्यक परे हामी सुन्दरमात्र होइन, कठोर फुटबल पनि खेल्न सक्छौं,’ उनले भने, ‘धेरैले हामी आकर्षक फुटबल खेल्ने टोली हौं भन्ने सोच्छन्, तर परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्न जान्नु नै ठूलो टोलीको विशेषता हो । फुटबल खेल्ने एउटै सही शैली हुँदैन । आज हामीले उनीहरूको शैलीमा पनि प्रतिस्पर्धा गर्नसक्ने प्रमाणित गरेका छौं ।’
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले पनि पाराग्वेको प्रशंसा गरे । उनका अनुसार दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्नु जहिल्यै कठिन हुन्छ, ’cause उनीहरू शारीरिकरूपमा बलिया, मानसिकरूपमा आक्रामक र अन्तिम मिनेटसम्म लडिरहने स्वभावका हुन्छन् । उनले आफ्ना खेलाडीले धैर्य नगुमाएकै कारण जित सम्भव भएको बताए ।
उता, विवादमा तानिएका गोलकिपर ओर्लान्डो गिलले खेलपछि आफ्नो व्यवहारप्रति पछुतो व्यक्त गरे । ‘मैले उनलाई सम्मानसाथ बधाई दिन हात बढाएको थिएँ । तर उनले मलाई त्यहाँ नभएको जस्तै व्यवहार गरे,’ उनले भने, ‘त्यस क्षणमा म निकै भावुक बनेँ । हारको पीडा र निराशाले मलाई नियन्त्रण गर्न दिएन । त्यसैले मैले आवेगमा त्यस्तो प्रतिक्रिया दिएँ । पछि म शान्त भएँ र उनलाई शुभकामना पनि दिएँ ।’ उनको यो अभिव्यक्तिले खेलको दबाब र भावनात्मक अवस्थाले कहिलेकाहीँ खेलाडीलाई अस्वाभाविक प्रतिक्रिया दिन बाध्य बनाउने वास्तविकता पनि उजागर ग¥यो । अब फ्रान्सको लक्ष्य क्वार्टरफाइनलमा मोरक्कोलाई पराजित गर्दै उपाधितर्फको यात्रा अघि बढाउने हुनेछ ।
यता, पाराग्वेको विश्वकप यात्रा भने समाप्त भएको छ । यद्यपि उनीहरूले प्रतियोगिताभर देखाएको अनुशासित र संघर्षशील प्रदर्शनले फुटबल समर्थकको मन जितेको छ ।
ओनाहीको दोहोरो प्रहारसँगै क्वार्टरफाइनलमा मोरक्को
‘फिफा विश्वकप २०२६’अन्तर्गत ‘राउन्ड अफ १६’को प्रतिस्पर्धामा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै क्यानडालाई ३–० ले पराजित गरेको छ । टेक्सास राज्यको ह्युस्टनस्थित एनआरजी स्टेडियममा ६८ हजारभन्दा बढी दर्शकमाझ इंग्ल्यान्डका अन्तर्राष्ट्रिय रेफ्री माइकल ओलिभरले सञ्चालन गरेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले खेलको लय पूर्णरूपमा आफ्नो पक्षमा पार्दै लगातार तीन गोल ग¥यो ।
स्टार मिडफिल्डर एजेदिन ओनाहीले ५० औं र ८२औं मिनेटमा व्यक्तिगत दुई गोल गरे भने इन्जुरी समयको ९०+८औं मिनेटमा सौफियान रहिमीले अर्को गोल थप्दै मोरक्कोको प्रभावशाली जित दिलाए । यस खेलमा एजेदिन ओनाही निर्विवादरूपमा मोरक्कोका ‘सर्वोत्कृष्ट खेलाडी’ बने । दुई महइभ्वपूर्ण गोल गर्नुका साथै मिडफिल्डमा खेलको गति नियन्त्रण गर्दै टोलीको आक्रमण निर्माणमा महइभ्वपूर्ण भूमिका खेले ।
सौफियान रहिमीले पनि अन्तिम समयमा गोल गर्दै टोलीको जितलाई अझ आकर्षक बनाए । मोरक्कोका रक्षकले पूरै खेलभर अनुशासित प्रदर्शन गर्दै क्यानडाका आक्रमणकारी खेलाडीलाई प्रभाव जमाउन दिएनन् । टोलीगत समन्वय, बल नियन्त्रण र अवसर सदुपयोग नै मोरक्कोको जितको मुख्य आधार बन्यो ।
खेल अवधिभर दुवै टोलीको बल नियन्त्रण बराबरी अर्थात् ५०–५० प्रतिशत रहे पनि निर्णायक क्षणमा मोरक्कोले अवसर गोलमा परिणत गर्न सफल भयो । यही पक्षले दुई टोलीबीचको मुख्य अन्तर सिर्जना ग¥यो । पहिलो हाफमा धैर्यपूर्वक खेलेको मोरक्कोले दोस्रो हाफमा रणनीतिकरूपमा खेलको गति बढाउँदै क्यानडाको रक्षापंक्तिलाई बारम्बार दबाबमा राखेको थियो ।
समूह चरणमा प्रशंसनीय प्रदर्शन गर्दै ‘नकआउट’ चरणसम्म पुगेको क्यानडाको यात्रा भने ‘अन्तिम १६’मै टुंगिएको छ । केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्नु र दोस्रो हाफमा रक्षात्मकरूपमा कमजोर देखिनु टोलीको हारको प्रमुख कारण बन्यो । यद्यपि, युवा खेलाडीले देखाएको सम्भावनाले भविष्यका ठूला प्रतियोगितामा क्यानडा अझ बलियो टोलीका रूपमा फर्किने देखिएको छ ।
(Visited 667 times, 1 visits today)
