प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

photo: U.S. Department of Defense
फ्रान्समा आयोजित डि-डेको वार्षिकोत्सव समारोहमा बोल्दै अमेरिकी रक्षा मन्त्री पिट हेटसेथले युरोपेली देशहरूमा भइरहेको आप्रवासनलाई आक्रमण को संज्ञा दिँदै तीव्र आलोचना गरेका छन्।
सन् १९४४ मा नाजीको कब्जामा रहेको उत्तर-पश्चिमी युरोपलाई मुक्त गराउन मित्र राष्ट्रका सेनाले फ्रान्सेली तटमा ऐतिहासिक उत्रन गरेको ८२ वर्ष पुगेको अवसरमा हेटसेथले नर्मन्डीबाट सो वक्तव्य दिएका हुन्।
हेटसेथले भने, दुःखको कुरा, आज युरोपका विभिन्न समुद्र तटहरूमा फरक प्रकृतिका खतरनाक विचारधाराहरूले आक्रमण गरिरहेका छन्। स्पेन, इटाली, ग्रीस र बुल्गेरियाका तटहरूमा निरन्तर डुङ्गा र मानिसहरू ओर्लिरहेका छन्। युरोपेली देशका राजधानीहरूले यो आक्रमणविरुद्ध कहिले कदम चाल्नेछन्?
हाल युरोपभरि आप्रवासन एक प्रमुख राजनीतिक मुद्दा बनेको छ र कडा आप्रवासन नीतिको वकालत गर्ने दलहरूको लोकप्रियता मत सर्वेक्षणहरूमा निकै बढिरहेको छ। हेटसेथको यो टिप्पणीले ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू युरोपको आप्रवासन नीतिप्रति कति आक्रामक छन् भन्ने कुरालाई थप प्रष्ट पारेको छ।
यसअघि गत शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत वर्ष साउथेम्प्टनमा विक्रम डिग्वाको छुरा प्रहारबाट मारिएका १८ वर्षीय बेलायती विद्यार्थी हेनरी नोवाकको हत्याको कारण प्रवासीहरूको व्यापक घुसपैठनै भएको दाबी गरेका थिए। उनले यसको एकमात्र जवाफ आक्रोश मात्रै भएको टिप्पणी गरे।
भान्सको उक्त टिप्पणीप्रति बेलायती प्रधानमन्त्रीको कार्यालयले कडा आपत्ति जनाउँदै बाहिरी मानिसहरूले आफ्नो लोकतन्त्रमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार मृतक नोवाकको परिवारले कसैको मृत्युलाई समाजमा थप विभाजन ल्याउने माध्यम नबनाइयोस् भन्ने चाहना राखेका छन्। यसैबीच बेलायतको सरकारी वकिल कार्यालयले आरोपी विक्रम डिग्वा जन्मजात बेलायती नागरिक नै भएको पुष्टि गरिसकेको छ।
