फेरि सुरु भयो चन्दाको धन्दा, कुरा नमिल्दा आफ्नै नेताको हत्या


१८ मंसिर, काठमाडौं । मंसिर १३ गते इलाका प्रहरी कार्यालय बौनिया, कैलालीको टोलीले चन्दा उठाउने गरेको आरोपमा दुई जनालाई पक्राउ गर्‍यो ।

त्यतिबेला अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरे पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट श्रमिक कम्युनिष्ट पार्टीको पर्चा–पम्प्लेट र नगद रसिद बरामद गरेको थियो ।

पक्राउ परेका बयक श्रमिक कम्युनिष्ट पार्टी नेपालको कैलाली जिल्ला संयोजक हुन् भने गैरे राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्र बोहराका अनुसार उनीहरूले बर्दगोरिया गाउँपालिकाको कार्यालयमा गएर सहयोग रसिद देखाउँदै चन्दा मागेका थिए । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कैलालीमा जस्तै पर्सा प्रहरीको हिरासतमा रहेकामध्ये दुई व्यक्ति चन्दा कसुरमै पक्राउ परेकाहरू छन् । आफूलाई गौरव सापकोटा बताउने ३६ वर्षीय युवा र समर्पण भट्टराई बताउने दुई व्यक्ति जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।

तनहुँ घर भएका गौरबको खास नाम अमृत सापकोटा हो । उनीमाथि भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर चन्दा उठाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी) को महासचिव बताउने गर्छन् । समर्पणको खास नाम दिलिप हो । खोटाङ घर भएका उनी सोही पार्टीका सचिव हुन् ।

पर्सा प्रहरीले उनीहरूबाट चन्दा उठाउने रसिद र केही चन्दा उठाएको विवरण समेत बरामद गरेको जानकारी दिएको छ । पर्सा प्रहरीका एक अधिकृतका अनुसार उनीहरू सुरुमै माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनीहरूबाट केही राजनीतिक दस्तावेजहरू समेत बरामद भएको र भूमिगत रूपमा सशस्त्र संघर्ष गर्ने तयारीसम्म रहेको पर्सा प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

कतिसम्म भने उनीहरूले आफूसँग हतियार समेत रहेको बयान प्रहरीलाई दिएका छन् । ‘तनहुँमा हतियार राखेको भन्ने बताएपछि त्यहाँ रेड हान्न लगाइएको थियो तर, हतियार फेला परेन । सशस्त्र संघर्ष गर्ने भन्दै उनीहरूले धम्की दिएर चन्दा उठाउने गरेको खुलेको छ,’ पर्सा प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने ।

पर्साका एसपी कुमोध ढुंगेल पनि उनीहरू चन्दा उठाउने काममा सक्रिय रहेको बताउँछन् । पर्साको अनुसन्धान सकिएपछि कैलाली र झापामा अनुसन्धानका लागि पठाउने पर्सा प्रहरीको तयारी छ ।

झापाको गिरीबन्धु टी–स्टेट अगाडि विस्फोटक पदार्थ राख्दै नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड लेटरप्याण्डमा ‘गिरिबन्धु टी–स्टेट कब्जा किन ?’ लेखिएको पर्चा छाडिएको थियो ।

गत २८ भदौमा उक्त पर्चा राखिएको आरोपमा यता झापा प्रहरीले पनि नेकपा (माओवादी) का नेता–कार्यकर्ताहरूलाई अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल घर भएका २० वर्षीय धिरज माझी पक्राउ परेका छन् ।

१२ मंसिरमा इलाका प्रहरी कार्यालय अनारमनीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङ र झापामा पक्राउ परेका व्यक्ति एकै समूह नेकपा (माओवादी)का हुन् । उनीहरूले व्यवसायीलाई आतंकित पार्दै चन्दा उठाउने गरेको आरोप छ ।

पछिल्लो समय विभिन्न समूहका नाममा चन्दा उठाउन थालिएको प्रहरीको रिपोर्ट छ । नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारीका अनुसार विशेषगरी ‘जनयुद्ध’ लडेका माओवादीका नेता–कार्यकर्ताहरूले विभिन्न समूहले खोलेर चन्दा उठाउने काम सुरु गरेका छन् ।

‘विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि विस्फोटक पदार्थ र चन्दा उठाउने काम बन्द भएको थियो । तर पछिल्लो ६÷८ महिनामा फेरि माओवादीकै विभिन्न समूहको नाममा चन्दा उठाउने काम भएको देखिन्छ,’ विशेष ब्यूरोको एक उच्च अधिकारी बताउँछन् ।

ती अधिकारीले भनेजस्तै अहिले प्रहरीले जति व्यक्तिलाई चन्दा उठाएको आरोपमा पक्राउ गरेको छ, ती सबै पूर्वमाओवादीहरू नै रहेको देखिन्छ । चन्दा उठाउने क्रममा रकम लेनदनेमा नमिल्दा आफ्नै नेताको समेत हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

४ कात्तिकको राति पौने ९ बजेतिर कपिलवस्तुको विजयनगर गाउँपालिका–२, खडैचा भैंसीघास्थित चिरई खोलाको किनारमा एउटा शव फेला परेको भन्दै कपिलवस्तु प्रहरीलाई खबर आएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट डीएस्पी मोहनमणि अधिकारी र इलाका प्रहरी कार्यालय गणेशपुरबाट इन्सपेक्टर हर्षबहादुर चन्दको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढायो ।

कम्मरदेखि माथिको भाग बालुवाले छोपिएको, खैरो रंगको ट्राउजर र जुत्ता लगाएको, गाढा निलो रंगको धर्का भएको बटनवाला सट लगाएको अधवैंशे पुरुषको शव भेटिएको थियो । शव सड्न सुरु गरेकाले केही दिनअघि नै हत्या गरेर फालेको हुनसक्ने आशंका प्रहरीको थियो । पछि अनुसन्धानका क्रममा खुल्यो, मृत भेटिएका ती व्यक्ति दिनेश भनिने जयप्रकाश यादव रहेछन् ।

कपिलवस्तु नगरपालिका–१०, तेनुवाका ४५ वर्षीय यादव नेकपा माओवादीको महावीर समूहमा आबद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । उनी महावीर समूहको कपिलवस्तु जिल्लाको इलाका नं. १० विजयनगर गाउँपालिकाका इन्चार्ज समेत थिए । पार्टीमा भने उनी कमरेड परिवर्तन नामले चिनिन्थे ।

अनुसन्धानको क्रममा उनको हत्यामा आफ्नै पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता खुलेपछि प्रहरी नै झस्किएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा महावीर समूहकै कपिलवस्तु जिल्ला इन्चार्ज भूमि भनिने रमेश श्रेष्ठ र कपिलवस्तुकै महिला विभाग प्रमुख गीता भनिने मनकला थारु पक्राउ परेका थिए ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ सेरनाका ४६ वर्षीय भूमी र कपिलवस्तुकै वाणगंगा नगरपालिका–२ तिनैयाकी ४६ वर्षीया गीतासहित पछि कपिलवस्तु प्रहरीले महाविर समूहकै ६ जनालाई पक्राउ गर्‍यो । पक्राउ ६ र २ फरार प्रतिवादी गरी ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा भएको थियो ।

पक्राउ परेका ६ जना नै पुर्पक्षका लागि कारागार चलान भइसकेको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए । एसपी भट्टका अनुसार जयप्रकाश हत्याको मुख्य कारण चन्दा विवाद रहेको खुल्यो ।

‘व्यवसायीबाट उठाएको चन्दाको रकम लेनदेन हुँदा आफ्नै पार्टीका नेता कार्यकर्ताबाट हत्या भएको देखियो’ एसपी भट्टले अनलाइनखबरसँग भने, ‘चन्दा संकलनकै लागि विभिन्न नाम दिएर भूमिगत समूह खोल्ने प्रवृत्ति यो घटनाले देखाएको छ ।’

पछिल्लो समय पार्टी बाहेक व्यक्तिगत रूपमा वा कसैको निर्देशनमा पनि धम्क्याउँदै चन्दा असुली गर्ने शैली देखिएको छ । चन्दा असुलीमा पक्राउ परेकाहरूको पृष्ठभूमि र उनीहरूको धम्कीपूर्ण क्रियाकलापले आपराधिक मनोवृत्ति समेत देखिएको प्रहरी निष्कर्ष छ ।

 

पछिल्लो समय पार्टी बाहेक व्यक्तिगत रूपमा वा कसैको निर्देशनमा पनि धम्क्याउँदै चन्दा असुली गर्ने शैली देखिएको छ । चन्दा असुलीमा पक्राउ परेकाहरूको पृष्ठभूमि र उनीहरूको धम्कीपूर्ण क्रियाकलापले आपराधिक मनोवृत्ति समेत देखिएको प्रहरी निष्कर्ष छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अहिले धम्क्याएर रकम माग गरेको आरोपमा झापाका हरिचन्द्र फुँयाल नाम गरेका युवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतीय चर्चित गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीदेखि नेपाल राष्ट्र बैंकसम्मका कर्मचारीलाई धम्की दिने गरेको समेत खुलेको छ ।

नवीन प्रधानको नाममा भारतीय आधारकार्ड बनाएर सोही आधारमा सीम निकालेर भारतीय नम्बरबाट फोन गर्दै फुँयालले धम्की दिएको सीआईबी अनुसन्धानबाट खुलेको छ । फुँयालले झापाकै विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा काम गरेको खुलेको छ ।

प्रसाईं र फुँयालबीचको कनेक्सन प्रमाणित हुने फोन र म्यासेज समेत बरामद भएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटी बताउँछन् । फुँयालले ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै चार जनाले प्रहरीमा उजुरी दिएका थिए । अहिले उनीमाथि आपराधिक लाभको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

चन्दाकै लागि आफ्नै कम्पनीका कामदारले समेत म्यानेजरलाई बम हानेर उडाउनेसम्मको धम्की दिएको खुलेको छ । कागेश्वरी मनहरा नगरपालिका–८ मा रहेको सिचुवान याङ टेक्टटायल प्रालि नामको कपडा उद्योगका म्यानेजरलाई चन्दा नदिए बम हान्ने धम्की आएको थियो ।

चन्दा आरोपमै सीआईबीको हिरासतमा रहेका हरिचन्द्र फुयाँल र कारागार चलान भएका आकाश तामाङ

चिनियाँ नागरिकले सञ्चालन गरेको उक्त कम्पनीकी म्यानेजर नेपालकी मिङवुती शेर्पा थिइन् । ‘हाम्रो पार्टीलाई डेढदेखि २ लाख सहयोग गर्नुस् । रकम लिएर नुवाकोटमा भेट्न आउनु । नत्र बम बिस्फोट गरेर कम्पनी उडाइदिन्छु’ उल्लेख गर्दै शेर्पालाई म्यासेज आएको थियो ।

पछि प्रहरी अनुसन्धान गर्दा २ लाख चन्दा माग गर्ने व्यक्ति अरु कोही नभएर सोही कम्पनीका कामदार पदम भनिने आकाश तामाङ रहेको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ५ कात्तिक २०८१ मा सोही कम्पनीबाट पक्राउ गरेको थियो ।

आपराधिक लाभको कसुरमा मुद्दा चलाइएका तामाङलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

रकमको अभाव भएकाले छिटो र सजिलो तरिकाले पैसा आर्जन गर्न उनले पार्टीको नाम लिएर चन्दा नदिए बम हान्ने धम्की दिएको खुलेको अनुसन्धान अधिकृत रोशन खड्का बताउँछन् ।

पछिल्लो एक महिनाका यस्ता घटनाहरूले विभिन्न भूमिगत समूहको नाममा चन्दा असुलीको धन्दा सुरु भएको र त्यसैलाई भजाउँदै केही व्यक्तिले लाभ समेत लिन खाजेको देखिन्छ । ५ कात्तिकदेखि यता चन्दाकै आरोपमा १४ जनालाई पक्राउ परेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ भने अझै २ फरार छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School