प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार

फोटो :एपी/रासस
फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इङ्गल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान सुरक्षित गरेको छ।
अमेरिकाको मियामी रङ्गशालामा सम्पन्न खेलको पहिलो हाफमै इङ्गल्यान्डले ४–० को बलियो अग्रता बनाएको थियो। दोस्रो हाफमा फ्रान्सले सशक्त पुनरागमनको प्रयास गरे पनि हार टार्न सकेन।
इङ्गल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले हेडमार्फत गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए।
३७औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अन्तर ३–० बनाए भने पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड ४–० को आरामदायी अग्रतासहित विश्राममा गयो।
दोस्रो हाफमा भने फ्रान्सले आक्रामक खेल प्रदर्शन गर्दै लगातार गोल फर्कायो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीको पुनरागमनको सुरुआत गरे। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे भने ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा ल्याए।
तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बुकायो साकाले आफ्नो ह्याट्रिक पूरा गरे र इङ्गल्यान्डलाई ५–३ को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे पनि खेलको अन्तिम क्षणमा जुड बेलिङ्घमले गोल थप्दै इङ्गल्यान्डलाई ६–४ को शानदार जित दिलाए।
बुकायो साकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इङ्गल्यान्डका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९६६ को विश्वकप फाइनलमा सर जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए। सन् २०२२ मा कतारमा भएको विश्वकपको उपविजेता बनेको फ्रान्स २०२६ मा भने तेस्रोसमेत बन्न सकेन।
प्रतियोगिताको सुरुआतदेखि नै उपाधिको प्रमुख दाबेदारका रूपमा फ्रान्सलाई हेरिएको थियो। स्पेनसँग सेमिफाइनलमा पराजित भएको फ्रान्स र अर्जेन्टिनासँग पराजित भएको इङ्गल्यान्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए।