प्लास्टिक छाडेर किन रोज्ने पञ्चकन्या एसएस ट्यांकी ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पञ्चकन्या ग्रुपले सन् २०१३ मा नेपालमा पहिलो पटक स्टेनलेस स्टिल ट्यांकी भित्र्याएर पानी भण्डारण क्षेत्रमा नयाँ प्रविधि सुरु गरेको छ।
  • स्टिल ट्यांकीले स्वास्थ्य, वातावरण, भूकम्प प्रतिरोधी र दीर्घकालीनताको संयोजन प्रदान गर्ने पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले बताए।
  • कम्पनीले ३०४ र ३१६ ग्रेडका ट्यांकी उत्पादन गर्दै आएको र १ हजार लिटरको ट्यांकी सबैभन्दा बढी मागमा रहेको उल्लेख गरिएको छ।

१५ माघ, काठमाडौं । निर्माण क्षेत्रमा विश्वासिलो नाम कमाएको व्यावसायिक घराना पञ्चकन्या ग्रुपले पानी भण्डारण क्षेत्रमा एउटा ‘मौन क्रान्ति’ नै ल्याएको छ ।

करिब १३ वर्षअघि अर्थात् सन् २०१३ मा जब पञ्चकन्याले नेपालमा पहिलो पटक स्टेनलेस स्टिल (एसएस) ट्यांकी भित्र्यायो, तब धेरैका लागि यो नितान्त नौलो प्रविधि थियो ।

तत्कालीन समयमा बजारमा प्लास्टिकका ट्यांकीहरूको एकछत्र राज थियो । तर, प्लास्टिकको विकल्पमा स्वास्थ्यवर्धक, टिकाउ र वातावरणमैत्री उत्पादन खोजिरहेका उपभोक्ताका लागि पञ्चकन्याको यो प्रयास एउटा कोशेढुंगा सावित भयो ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठका अनुसार यो प्रविधि युरोपमा सन् १९०० को दशक र जापानमा सन् १९५० देखि नै प्रयोगमा आइसकेको भए पनि नेपालमा भने ढिलो गरी भित्रिएको हो ।

नेपालमा दीर्घकालीन र गुणस्तरीय ‘सस्टेनेबल’ उत्पादन अभाव खड्किएपछि आफूहरूले यो जोखिम मोलेरै स्टिल ट्यांकी उत्पादन सुरु गरेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

उज्ज्वलकुमार श्रेष्ठ, कार्यकारी निर्देशक, पञ्चकन्या ग्रुप

पञ्चकन्याको स्टिल ट्यांकीको विशेषतालाई उनी ‘हिल’ (एचईईएल) अर्थात् स्वास्थ्य, वातावरण, भूकम्प प्रतिरोधी र दीर्घकालीनताको संयोजनका रूपमा व्याख्या गर्छन् ।

‘नेपालका धारामा नियमित पानी नआउने भएकाले भण्डारण अनिवार्य छ, तर प्लास्टिकको ट्यांकीमा लामो समय पानी राख्दा लेउ लाग्ने, गन्ध आउने र फोहोर जम्ने समस्या हुन्छ,’ उनी भन्छन्, ‘यसको ठिक विपरीत फुड ग्रेड मेटरियलबाट बनेको स्टिल ट्यांकीमा पानी सुरक्षित रहन्छ ।’

अझ यसको पिँध घुमाउरो बनाइएको र ‘फ्लसिङ सिस्टम’ जडान गरिएकाले ट्यांकी सफा गर्न मान्छे भित्र पस्नु नपर्ने उनी बताउँछन् ।

उनका अनुसार यसलाई बाहिरबाटै सजिलै सफा गर्न सकिन्छ । स्वास्थ्य र सरसफाइको यो पाटोले गर्दा नै आजका आधुनिक घरहरूमा स्टिल ट्यांकी पहिलो रोजाइमा पर्न थालेको छ ।

‘हाम्रोमा यसको तल्लो भाग घुमेको हुनाले (फोहोर) सबै तल जम्छ र त्यसको तलपट्टी हामीले एउटा प्वाल बनाइदिएका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘त्यसमा फ्लसिङ सिस्टम छ, ताकि माथिबाट एउटा ‘मप’ (पुछ्ने साधन) जस्तोले सरर पुछ्ने बित्तिकै त्यो फोहोर तल आएपछि सट्ट फ्लस गर्नासाथ सबै पानी जाने सुविधा छ, प्लास्टिक ट्यांकीमा जस्तो मान्छे भित्र पस्नुपर्ने, सुकाउनुपर्ने र पुछ्नुपर्ने झन्झट यसमा हुँदैन ।’

प्लास्टिक छाडेर किन रोज्ने पञ्चकन्या एसएस ट्यांकी ?

यसका साथै भूकम्पीय जोखिमका हिसाबले पनि स्टिल ट्यांकी प्लास्टिकभन्दा कयौँ गुणा सुरक्षित रहेको श्रेष्ठको अनुभव छ । उनी प्लास्टिकको ट्यांकीलाई सिसा र स्टिलको ट्यांकीलाई स्प्रिङसँग तुलना गर्छन् ।

‘भूकम्प आउँदा वा हल्लिँदा कडा प्लास्टिक फुट्ने सम्भावना हुन्छ भने स्टिलमा लचकता हुने भएकाले यो फुट्दैन,’ उनी भन्छन्, ‘इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा पनि स्टिल ट्यांकीले कम्पन थेग्न सक्ने भएकाले यो सुरक्षित मानिन्छ ।’

पञ्चकन्याले स्टिल ट्यांकी खरिद गर्दा त्यसलाई अड्याउन आवश्यक पर्ने स्ट्यान्ड पनि सँगै उपलब्ध गराउँछ, जुन ट्यांकीजस्तै पूर्णरूपमा ‘स्टेनलेस स्टिल’ बाटै बनेको हुन्छ ।

ट्यांकीको पिँध सरसफाइका लागि सहज होस् भनेर घुमाउरो बनाइएको हुँदा यसलाई प्लास्टिकको ट्यांकीजस्तो सिधै भुइँमा राख्न मिल्दैन, त्यसैले यसका लागि स्ट्यान्ड अनिवार्य हुन्छ ।

बजारमा पञ्चकन्याले मात्रै ट्यांकी र स्ट्यान्ड दुवै स्टेनलेस स्टिलको दिने गरेको र यसमा खिया नलाग्ने श्रेष्ठको दाबी छ । यद्यपि, कम्पनीले दिने यो स्ट्यान्ड ट्यांकी अड्याउनका लागिमात्र हो ।

नेपालका धेरैजसो घरका माथिल्लो तलामा पानीको बहाव (प्रेसर) कम हुने भएकाले यदि ट्यांकीलाई ३ देखि ५ फिट थप उचाइमा राख्नुपरे ग्राहक आफैंले फलाम (माइल्ड स्टिल) को छुट्टै संरचना बनाएर अग्लो बनाउनुपर्ने उनी बताउँछन् ।

प्लास्टिक छाडेर किन रोज्ने पञ्चकन्या एसएस ट्यांकी ?

साथै, वातावरणको कुरा गर्दा प्लास्टिकबाट हानिकारक रसायन पानीमा मिसिने (लिचिङ) जोखिम हुन्छ, जुन स्टिलमा हुँदैन । मूल्यका हिसाबले प्लास्टिकभन्दा सुरुमा केही महँगो देखिए पनि यसको आयु ३ देखि ५ गुणा बढी हुने र भविष्यमा बिक्री गर्दा पनि राम्रो मूल्य पाइने भएकाले यो आर्थिक रूपमा पनि फाइदाजनक रहेको श्रेष्ठको दाबी छ ।

बजारमा स्टिलको ट्यांकीमा पानी तातो हुन्छ भन्ने भ्रम चिर्न पञ्चकन्याले निकै मिहिनेत गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार ट्यांकी निर्माणमा ‘मिरर फिनिस’ अर्थात् ऐना जस्तै टल्किने प्रविधि प्रयोग गरिएको छ ।

यो प्रविधिले सूर्यको किरण सोस्नुको सट्टा परावर्तन (रिफ्लेक्ट) गर्छ । कम्पनीले भैरहवा र काठमाडौंमा एक महिनासम्म थर्मोमिटर राखेर गरेको परीक्षणमा चर्को घाममा पनि प्लास्टिकको तुलनामा स्टिल ट्यांकीको पानी २ देखि ३ डिग्री कम तातो भएको पाइएको थियो ।

‘प्लास्टिक सेलाउन लामो समय लाग्छ तर धातु भएकाले साँझ पर्नासाथ स्टिल ट्यांकी छिटो चिसिन्छ,’ उनी भन्छन्, ‘त्यसैले पानी तातो हुन्छ भन्ने धारणा केवल भ्रममात्र हो ।’

उपभोक्ताको आवश्यकता ध्यानमा राखेर पञ्चकन्याले ३०४ र ३१६ गरी दुई ग्रेडका ट्यांकी उत्पादन गर्दै आएको छ । ३०४ ग्रेडको ट्यांकी सामान्य घरायसी प्रयोजनका लागि हो, जुन भान्सामा प्रयोग हुने स्टिलका भाँडाकुँडा जस्तै ‘फुड ग्रेड’ हो ।

तर अस्पताल, औषधि उद्योग, वाइन, दूध र तेल उद्योगका लागि भने ३१६ ग्रेडको ‘मेडिकल वा मरिन ग्रेड’ को ट्यांकी उत्पादन गरिन्छ ।

३१६ ग्रेडमा निकल र क्रोमियमको मात्रा बढी हुने भएकाले यसमा खिया लाग्ने सम्भावना नगन्य हुन्छ । बजारमा २ सय ५० देखि १० हजार लिटरसम्मका ट्यांकी उपलब्ध भए पनि उपभोक्तामाझ १ हजार लिटरको ट्यांकीको माग सर्वाधिक छ ।

प्लास्टिक छाडेर किन रोज्ने पञ्चकन्या एसएस ट्यांकी ?

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कम्पनीको कुल बिक्रीको करिब ८० प्रतिशत हिस्सा १ हजार लिटरको ट्यांकीले ओगटेको छ, जसको बजार मूल्य करिब २७ हजार ५ सय रुपैयाँ तोकिएको छ । यद्यपि, बजारमा डिलर तथा विक्रेताहरूबाट छुटसहित यो ट्यांकी २५ हजार ५ सय देखि २६ हजार रुपैयाँ हाराहारीमा उपभोक्ताले खरिद गर्न सक्छन् ।

अहिले काठमाडौं उपत्यकाका नयाँ घरहरूमा स्टिल ट्यांकी राख्ने चलन बढ्दो छ भने बाहिरी जिल्लामा पनि यसको माग उत्साहजनक रहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

‘कुनै समय शतप्रतिशत प्लास्टिक ट्यांकीको कब्जामा रहेको बजारमा अहिले स्टिल ट्यांकीले करिब १० प्रतिशत हिस्सा ओगटेको छ,’ उनी भन्छन्,  ‘व्यापारिक हिसाबले मात्र नभई उपभोक्तालाई सुरक्षित पानी खुवाउने उद्देश्यले पनि यो व्यवसायलाई अघि बढाइयो ।’

कम्पनीले ट्यांकीसँगै दिने स्ट्यान्ड पनि स्टिलकै हुने भएकाले खिया लाग्ने समस्या हुँदैन । कथंकदाचित ट्यांकीमा समस्या आए वा प्वाल परे कम्पनीले एक वर्षको ‘फ्रि रिप्लेसमेन्ट’ वारेन्टी दिने गरेको छ भने त्यसपछि पनि ‘आर्गन वेल्डिङ’ मार्फत सजिलै मर्मत गर्न सकिने सुविधा छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले पञ्चकन्याले भारतको उत्तर प्रदेश लगायत क्षेत्रमा ट्यांकी निर्यात सुरु गरेको थियो । तर, पछिल्लो समय भारत सरकारले ‘बीआईएस’ सर्टिफिकेसन अनिवार्य गरेपछि निर्यातमा केही प्राविधिक कठिनाइ देखिएको छ ।

प्लास्टिक छाडेर किन रोज्ने पञ्चकन्या एसएस ट्यांकी ?

‘विडम्बनापूर्ण कुरा के छ भने भारतमा स्टिल ट्यांकीका लागि बीआईएसको मापदण्ड नै बनेको छैन, तर निर्यातका लागि प्रमाणपत्र मागिएको छ,’ उनी भन्छन्, ‘यद्यपि, यो समस्या समाधानका लागि पहल भइरहेको छ ।’

हाल काठमाडौं र भैरहवामा रहेका दुई फ्याक्ट्रीबाट मासिक साढे ३ हजार ट्यांकी उत्पादन भइरहेको र बजारको माग अनुसार क्षमता विस्तार गर्न सकिने उनी बताउँछन् ।

बजारमा अन्य प्रतिस्पर्धीहरू आउनुलाई स्वस्थ प्रतिस्पर्धाका रूपमा लिँदै श्रेष्ठले यसले अन्तत: उपभोक्तालाई नै गुणस्तरीय सामान छनोट गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

तस्वीर/भिडियाे : श‌कर गिरी/अनलाइनखबर





Source link

Leave a Comment