हरेक वर्ष एसईईको नतिजा आएसँगै उत्तीर्ण-अनुत्तीर्ण प्रतिशत, कुन विद्यालयको नतिजा कस्तो भन्नेमा सामुदायिक-संस्थागतको तुलना गर्दै विश्लेषण र चर्चा भइरहेको हुन्छ । कसरी नतिजालाई सुधार गर्न सकिन्छ, किन यस्तो खराब नतिजा आयो भनेर अनुसन्धान र बहसको विषय बनिरहेकै हुन्छ । हरेक बहसको निष्कर्ष ‘सुधारको लागि पहल राष्ट्रिय तवरबाटै हुन जरूरी छ’ भन्ने पाइन्छ । यस वर्षको नतिजापश्चात् अनुत्तीर्ण झन्डै २ लाख ४५ हजार विद्यार्थी मौका परीक्षाको तयारीमा जुटिरहेका छन् ।
अब उनीहरूले मौका परीक्षाबाट उत्तीर्ण भएपछि के पढ्ने भन्ने सोच्ने समय बाँकी छ । उत्तीर्ण विद्यार्थी तथा तिनका अभिभावक यतिबेला विद्यालय र संकाय छनोट गरी भर्ना भइसकेको अवस्था छ । विद्यालय र संकाय छनोटभन्दा कुन संकाय अन्तर्गत कुन-कुन विषयहरूको छनोट गर्ने भन्नेले भविष्यमा बढी महत्व राख्दछ । कक्षा ११ मा भर्ना भएर पढाइ सुरु गर्दै गरेका भाइ-बहिनीहरूले धेरै कुरामा विचार पुर्याउनुपर्दछ ।
सबैभन्दा पहिले जसले म भविष्यमा यो विषय लिएर पढ्ने हो भनेर निर्धारण गरिसकेका छन्, त्यसको लागि मैले कक्षा ११ मा यो संकायमा जानुपर्छ भनेर थाहा भएकाहरूले पनि विषय छनोट गर्दा विचार पुर्याउनुपर्छ । संकाय नै पनि सबैले निर्धारण गर्न सकेका हुँदैनन् । कक्षा ११/१२ को वर्तमान पाठ्यक्रम अनुसार विद्यार्थीले संकायमा मात्रै छनोट गरेर पुग्दैन ।
हरेक संकाय अन्तर्गत पनि विभिन्न ऐच्छिक विषय छन् । ती सबै ऐच्छिक विषयहरूको अध्ययन गरेर छनोट गर्न सक्ने उमेर, अनुभव एसईई उत्तीर्ण विद्यार्थीसँग भइसक्दैन र सबैका लागि सही मार्गदर्शन दिनसक्ने अभिभावक पनि नहुन सक्छन् । यस्तो बेलामा विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ-आफ्नो जिम्मेवारी बहन गरेर परामर्श दिने र लिने गर्नुपर्छ ।
सबैभन्दा पहिला विद्यार्थी आफैंले पछि समस्या नआओस् भनेर केही तयारी गर्नुपर्छ । आफूले पढ्न चाहेको विषय पढ्दै गरेका सिनियरहरूसँग बुझ्न सकिन्छ । आफूलाई पढाउनुभएका शिक्षक, अब पढाउनुहुने, साथै विश्वविद्यालय, क्याम्पस, कलेजमा पढाउनुहुने शिक्षकहरूसँग सल्लाह लिन सकिन्छ । अहिले पास गर्न सजिलो विषय लिंदा भोलि पढ्न चाहेको विषयको लागि आधार तयार हुन्छ कि हुँदैन विचार गर्नुपर्छ । सिंगो जीवन सजिलो हुन्छ कि हुन्न, बुझ्नुपर्छ ।
अहिलेको पाठ्यक्रमले दिएका विकल्पहरूमध्ये कतिपय विषयले भोलि विश्वविद्यालय तहको पढाइको लागि योग्य त मानिन्छ तर विद्यार्थीसँग आवश्यक पूर्वाधार विषय ज्ञानको अभाव हुन्छ । जसले गर्दा भविष्यमा सोचे जस्तो नतिजा आउँदैन । उदाहरणको लागि व्यवस्थापन संकाय अन्तर्गत कक्षा १२ उत्तीर्ण विद्यार्थीले विश्वविद्यालय तहको व्यवस्थापन अन्तर्गतको जुनसुकै विषय पढे पनि अनिवार्य विषयहरूको अधार तयार हुने गरी छनोट गर्नुपर्छ । मानिलिनोस् तपाईं बीबीए, बीआईएम, बीसीआईएस आदि मध्ये जुन कुनै विषय पढ्ने सोचमा हुनुहुन्छ भने त्यसको लागि अनिवार्य विषयहरूको आधार तयार हुने गरी विषय छनोट गर्नुपर्छ ।
राम्रो नम्बर ल्याएर १२ उत्तीर्ण गराउने उद्देश्यले गाह्रो विषय स्कुलले हटाउँदै जाने हो भने भोलि गणितीय ज्ञानको अभावमा भौतिकशास्त्र, रसायनशास्त्र, लेखा सिद्धान्त, अर्थशास्त्र, वित्तशास्त्र जस्ता विषयमा पनि अनुत्तीर्ण हुने विद्यार्थी संख्या बढ्दै नजाला भन्न सकिन्न
स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गत लेखा सिद्धान्त, अर्थशास्त्र, गणित अनिवार्य विषय हुन्, जसमा २०० पूर्णाङ्कको लेखा सिद्धान्त र २०० पूर्णाङ्ककै अर्थशास्त्र पढ्नै पर्छ । कक्षा ११/१२ मा व्यवस्थापन संकाय अन्तर्गत अध्ययन गर्दा लेखा सिद्धान्त र अर्थशास्त्र अनिवार्य छन्, छनोटको विकल्प छैन । तर स्नातक तहमा पहिलो र दोस्रो वर्षमा गरी ४०० पूर्णाङ्कको गणित र तथ्यांकशास्त्र अनिवार्य पढ्नुपर्छ । त्यसको लागि ११/१२ मा आधार विषय व्यापार गणित (बिजिनेस म्याथम्याटिक्स) हो । यसमा विद्यार्थीले छनोट गर्न पाउँछन् ।
सामान्यतः व्यापार अध्ययन, कम्प्युटर, व्यापार गणित मध्ये एक छनोट गर्ने, गराउने व्यवस्था छ । अब अहिले गाह्रो मानेर र विकल्प उपलब्ध छ भनेर भागिहिंड्दा त्यसको प्रत्यक्ष असर ४०० पूर्णाङ्कको गणित र तथ्यांकशास्त्रमा त पर्छ नै अरू अनिवार्य विषयहरू लेखा सिद्धान्त, अर्थशास्त्र, वित्तशास्त्र, अनुसन्धान विधि जस्ता विषयमा पनि अप्रत्यक्ष रूपमा असर पर्दछ ।
त्यस्तै विज्ञान पढ्ने सोचमा हुनुहुन्छ भने वर्तमान पाठ्यक्रम अनुसार अरू सबै विषय अनिवार्य छन्, गणित र सामाजिक तथा जीवविज्ञान र कम्प्युटरमध्ये एक-एक विषय छान्नुपर्ने हुन्छ । कतिपय विद्यालयले विज्ञान संकायमा सामाजिक र गणितमध्ये सामाजिकलाई विकल्पको रूपमा पढ्न पाउने व्यवस्था गरेका छन् ।
गणितलाई विज्ञानको भाषा भनिन्छ । अब गणित नै नपढिकन अरू विषय जस्तै भौतिकशास्त्र, रसायनशास्त्र पढ्नु भनेको नेपाली बाह्रखरी नपढी नेपाली साहित्य पढ्नु जस्तै होइन र ? के गणित विनाको विज्ञानलाई विज्ञान भनिरहन मिल्ला ? मेडिकल काउन्सिल अन्तर्गतका कार्यक्रममा पढ्नको लागि गणित विनाको विज्ञानमा १२ पासलाई योग्य मानिए पनि काउन्सिलले लिने एमबीबीएस, नर्सिङ, फार्मेसी, दन्त चिकित्सा आदिको प्रवेश परीक्षाको पाठ्यक्रममा ‘भर्बल रिजनिङ्, न्युमेरिकल रिजनिङ्, लजिकल रिजनिङ्, अब्स्ट्राक्ट रिजनिङ्’ अन्तर्गत सोधिने प्रश्नहरू सीधै गणितसँग सम्बन्धित हुन्छन् ।
अब सँगै प्रतिस्पर्धा गरेको साथीले गणित पढेको छ भने उसले धेरै नम्बर ल्याउने सम्भावना पक्कै बढी हुन्छ होला, गणित नपढ्नेको तुलनामा । मेडिकल या पारा-मेडिकल अन्तर्गत चाहेको कार्यक्रममा जान नसकेको अवस्थामा पनि सामाजिकको सट्टामा गणित पढेको छ भने विज्ञान, सूचना-प्रविधि, इन्जिनियरिङ, गणित लगायत जुनसुकै कार्यक्रममा पढ्न योग्यता पुग्दछ । सामाजिक पढेको छ भने स्नातक तहमा पढ्नको लागि विषय/कार्यक्रम छनोटको दायरा अलि साँघुरो हुन जान्छ ।
नेपालमै होस् या जुनसुकै देशमा गएर होस्, कम्तीमा स्नातक तहसम्म मात्रै पनि पढ्ने सोचमा हुनुहुन्छ भने धेरैजसो कार्यक्रममा कुनै न कुनै स्वरूपमा गणित अनिवार्य नै हुन्छ । सैद्धान्तिक विषयहरूमा केही वर्ष अन्तर भए पनि पछि समेट्न सकिन्छ । सोच्नोस् त, कक्षा १० सम्म बल्ल-बल्ल पास गरेको गणित दुई वर्ष हेर्दै नहेरी स्नातक तहमा अनिवार्य पढ्नुपर्दा कुन हालत होला ? त्यसैले कक्षा ९/१० मा ऐच्छिक गणित पढेको छैन भने पनि अहिले नै गणित छनोट गरी सुरुबाटै निरन्तर प्रयास गर्दा सफलतासँगै गणितमा निरन्तरता र स्नातक तहको लागि बलियो आधार तयार हुन्छ ।
माध्यमिक तह उत्तीर्ण विद्यार्थीसँग आफ्नै देशको विश्वविद्यालय तह अध्ययनको लागि बलियो आधार हुँदैन र विज्ञान संकाय अन्तर्गत पढेको विद्यार्थीले गणित नै पढेको छैन भने कुन देशानुसार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी, विश्वस्तरीय जनशक्ति उत्पादन हुँदैछ ?
कक्षा १२ पछाडि कुन विषय पढ्ने भन्ने निर्णय गर्न नसकेका भाइ-बहिनीहरूलाई पनि अहिले व्यवस्थापन पढ्ने हो भने व्यापार गणित (बिजिनेस म्याथम्याटिक्स) पढ्दा भोलि स्नातक तहमा व्यवस्थापन अन्तर्गत जुनसुकै कार्यक्रम पढे पनि र कार्यक्रम/संकाय परिवर्तन गर्न चाहेको खण्डमा सहज हुन्छ । त्यसैले आफूले पढ्न चाहेको विषयको बारेमा सोचेर सकेसम्म धेरै जानकारी राख्नुपर्दछ ।
कतिपय विद्यालयमा सयौंको संख्यामा व्यवस्थापन संकायमा पढ्ने विद्यार्थी हुँदा पनि गणित छनोट गर्ने विकल्प नै छैन, त्यसको पछाडिको कारण गणित विद्यार्थीले गाह्रो मान्छन्, पढ्न चाहँदैनन्, नतिजा राम्रो आउँदैन भन्ने नै हो । कतिपयमा केही विद्यार्थीले गणित पढ्न चाहे पनि शिक्षक लगायत अन्य स्रोत-सामग्रीको अभावमा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुन्छन् । यसको प्रभाव विद्यार्थीलाई त पर्छ नै, दीर्घकालीन असर पूरै परिवार र समाजलाई पर्न जान्छ ।
कसरी ? भन्नुहोला । स्नातक तहसम्म पढेको बा-आमा, या पढ्दै गरेको दाइ-दिदी घरमै हुनुहुन्छ तर कक्षा ४/५ पढ्ने छोरा-छोरी, भाइ-बहिनीलाई गृहकार्यमा सघाउन सक्नुहुन्न र ट्युसन कक्षा राखिदिनुहुन्छ । यसले पैसाको बर्बादी मात्रै हुँदैन बच्चाले यातना पनि खेपिरहेको हुन्छ । उज्यालो भएदेखि स्कुल, ट्युसन, गृहकार्य भन्दै दिन बित्छ । न परिवारसँग बिताउने समय पाउँछ, न त खेल्ने, रमाउने समय नै पाउँछ ।
यस्तो अवस्थामा बच्चा राम्रो नम्बर ल्याएर पास त हुन्छन् तर पारिवारिक, व्यावहारिक तथा सामाजिक परिवेशबाट पूरै अनभिज्ञ हुन जान्छन् । अर्कोतिर सबैले चाहेर पनि ट्युसन राख्न सम्भव नहोला, अनि ती बच्चा सानो कक्षादेखि नै गाह्रो मानिने १/२ विषयमा अनुत्तीर्ण हुँदै कक्षा चढ्दै जान्छन् । अन्त्यमा एसईईमा बल्ल समीक्षा हुन्छ, कुन विषयमा कति अनुत्तीर्ण भए भन्ने । अनि पाठ्यक्रम र विद्यालय शिक्षाको उद्देश्यमा भनिरहेका हुन्छौं कि बच्चाको चौतर्फी विकासलाई ध्यान दिन्छौं । बच्चाले धेरै नम्बर ल्याएर पास हुनुले मात्रै बच्चाको भविष्य निर्धारण गर्ने हो ? धेरै नम्बर ल्याउनु भनेको नै चौतर्फी विकास हुनु हो ?
राम्रो नम्बर ल्याएर १२ उत्तीर्ण गराउने उद्देश्यले विद्यार्थीले गाह्रो मान्छन्, उत्तीर्ण हुँदैनन् भनी पाठ्यक्रममा विकल्प दिनु र विद्यार्थी अनुत्तीर्ण भएकै कारण समग्र विद्यालयको स्तर घट्छ भन्दै गाह्रो विषय स्कुलले हटाउँदै जाने हो भने भोलि गणितीय ज्ञानको अभावमा भौतिकशास्त्र, रसायनशास्त्र, लेखा सिद्धान्त, अर्थशास्त्र, वित्तशास्त्र जस्ता विषयमा पनि अनुत्तीर्ण हुने विद्यार्थी संख्या बढ्दै नजाला भन्न सकिन्न ।
अनि के त्यतिबेला पनि विस्तारै विषयहरू हटाउँदै जाने ? विद्यालय शिक्षाको उद्देश्य हरेक विधामा योग्य जनशक्ति विकासको लागि उच्चतह अध्ययनको आधार विकास गर्नु, राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, आधुनिक सूचना-सञ्चार प्रविधि प्रयोग गर्न सक्ने, विश्वस्तरीय कुशल श्रमशक्ति सिर्जना गर्ने, वैज्ञानिक रूपमा जानकार र अनुसन्धान उन्मुख जनशक्तिको विकास गर्ने आदि रहेको छ । अब माध्यमिक तह उत्तीर्ण विद्यार्थीसँग आफ्नै देशको विश्वविद्यालय तह अध्ययनको लागि बलियो आधार हुँदैन र विज्ञान संकाय अन्तर्गत पढेको विद्यार्थीले गणित नै पढेको छैन भने कुन देशानुसार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी, विश्वस्तरीय जनशक्ति उत्पादन हुँदैछ ?
शिक्षक तथा विद्यालय प्रशासनले परामर्श दिने क्रममा विद्यार्थीको अहिलेको मनोभावनालाई बुझेर गाह्रो मान्छन् भन्दै सजिला-सजिला विषय छनोट गर्न लगाउँदा कक्षा १२ को नतिजा त राम्रो आउला तर यसले विद्यार्थीमा पर्न जाने दीर्घकालीन असर, जनशक्ति विकासमा समाजलाई पर्ने असरप्रति पनि ध्यान दिन जरूरी छ ।