News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौंको सुकेधारामा महिला लुटेर फरार भएका पूर्वप्रहरी गणेश कार्कीलाई प्रहरीले गोली प्रहार गरी जडीबुटीबाट पक्राउ गरेको छ ।
- प्रहरीले कार्कीको साथबाट लुटिएको सुनको सिक्री, मोबाइल र खुकुरी बरामद गर्नुका साथै उनका सहयोगी विष्णु गुरुङलाई पनि पक्राउ गरेको छ ।
- कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा सजाय पाएका कार्की गत भदौमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए ।
१७ जेठ, काठमाडौं । शनिबार दिउँसो १:२३ बजे दिउँसो सुकेधारामा एक महिला लुटिइन् । बाटो हिँड्दै गरेकी ती महिलाको आँखामा एक्कासी कसैले केही वस्तु हालिदियो । पिरोले ती महिला आँखा माड्न थालिन् ।
त्यति नै बेला दुई युवाले उनको शरीर खानतलासी गरे । अनि गलाको एक तोलाको सुनको सिक्री र मोबाइल थुतेर फरार भए । लुटिएपछि महिलाले थाहा पाइन्- आँखामा खुर्सानीको धुलो छर्केर लुटिएछ ।
त्यसपछि महिलाले घटनाबारे प्रहरीमा जानकारी गराइन् । सीसीटीभी फुटेजसहित प्राविधिक विश्लेषणबाट प्रहरीले अनुसन्धान अघि बढायो । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्राविधिक अनुसन्धानपछि लुटपाटमा संलग्न भएको व्यक्तिको पहिचान गर्न सफल भयो ।
उनी थिए- बुढानीलकण्ठ नगरपालिका-३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की । कार्कीको पृष्ठभूमि केलाउँदा प्रहरी अधिकारी नै चकित परे ।
खोजीमा खटिएको प्रहरीले घटनाको ८ घण्टापछि शनिबार राति ९:२५ बजे काठमाडौं महानगरपालिका-३२ जडिबुटी मनोहरा खोला करिडोरमा उनलाई फेला पार्यो । परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार नियन्त्रणमा लिने बेला प्रहरी कर्मचारीकै आँखामा कार्कीले खुर्सानीको धुलो फ्याँके ।
‘सुरुमा प्रहरीलाई खुर्सानीको धुलो फ्याँके, त्यसपछि खुकुरी आक्रमण गर्न खाजे । अनि प्रहरीले जवाफी कारबाही गर्दै गोली चलाएर पक्राउ गरेको हो,’ एसपी भट्टराईले भने ।
परिसरका सादा पोशाकको प्रहरी टोलीले बायाँ खुट्टाको पिँडुलामा एक राउन्ड गोली प्रहार गरी कार्कीलाई नियन्त्रण लियो । गोली प्रहारबाट घाइते उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले कार्कीको साथबाट दिउँसो सुकेधारामा लुटिएको एक तोलाको सुनको सिक्री, मोबाइल १ थान र खुकुरीसमेत बरामद गरेको छ ।
सुकेधाराकै घटनामा कार्कीको सहयोगी भएर काम गरेका इलाम घर भई धर्मशालामा बस्ने ३१ वर्षीय विष्णु गुरुङ पनि पक्राउ परेका छन् । गुरुङलाई भने दिउँसै प्रहरीले पक्राउ गरेको थियो । उनी पनि साढे तीन वर्ष कैदमा बसेर निस्केको व्यक्ति रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध लागु औषध मुद्दामा पर्साबाट मुद्दा चलेको थियो ।
खुर्सानीको धुलो गोजीमा हालेर लुटपाट
अहिले गोली हानेर समातिएका कार्की यस्ता व्यक्ति हुन् जो सधैं खुर्सानीको धुलो गोजीमा राखेर हिँड्छन् । प्रहरीले गोली हानेर पक्राउ गर्दा पनि उनको साथबाट खुर्सानीको धुलो बरामद भएको थियो ।
सुकेधारामा शनिबार लुटिएको महिलाको आँखामा पनि कार्कीले खुर्सानीको धुलो छर्केका थिए ।
यसभन्दा अघि जेनजी आन्दोलनको बेला कारागारबाट भागेपछि पक्राउ गर्न खोज्दा प्रहरीको आँखामा खुर्सानीकै धुलो छर्केर उनी फरार हुन सफल भएका थिए ।
‘उनको शैली नै यस्तो छ । खुर्सानीको धुलो गोजीमा छुट्दैन । प्रहरीले पक्राउ गर्ने बेला होस् कि लुटपाट गर्ने बेला होस् उनले खुर्सानीको धुलो छर्कने गरेको देखिन्छ,’ एसपी भट्टराईले भने ।
यसअघि कार्कीले कपनमा पनि प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर आक्रमण गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
८ महिनामा ९ अपराधका घटना
गोली हानेर समातिएका कार्की गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा केन्द्रीय कारागार सुन्धारामा थिए । आन्दोलनको मौकामा उनी कारागारबाट फरार भए ।
त्यस यताका ८ महिनामा उनले शृंखलाबद्ध अपराधका घटनाहरू गराएको प्रहरीको रेकर्डमा देखिन्छ । कारागारबाट भागेपछि प्रहरीले पहिचान गरी उनलाई पक्राउ गर्न खोजेको थियो । त्यसपछि कपनमा प्रहरीकै आँखामा खुर्सानीको धुलो फ्याँकेर फरार भएका थिए ।
त्यसपछि ७ असोजमा गौशालामा रहेको एक बिजुली पसलमा उनले चोरी तथा लुटपाट गरे । यसको चार महिनापछि ११ माघमा फेरि गौशालामै एक व्यक्तिलाई लुटपाट गरे । विदेश जान लागेका व्यक्तिको नगद ५ हजार र मोबाइल कार्कीले त्यतिबेला लुटेको एसपी भट्टराई बताउँछन् ।
यसको एक महिनापछि फागुनमा तिलगंगामा प्रहरी हुँ भन्दै लागुऔषध र नगद लुटपाट गरेको प्रहरीको रेकर्डमा छ । चैतमा शान्तिनगरमा मोबाइल लुटपाटमा पनि संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
कार्की विशेषगरी पशुपति, गौशाला क्षेत्र केन्द्रित हुँदै आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरी अधिकारीहरू बताउँछन् । पशुपति मन्दिर आसपास उनले प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई लुटपाट गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, जोरपाटीमा पनि प्रहरी हुँ भन्दै लागुऔषध लुटेको, सुन्दरीजलबाट स्कुटर चोरी गरेको, आफू प्रहरी भएको बताउँदै लागुऔषध दुर्व्यसनीहरूलाई लुटपाट गर्ने गरेको र विदेश जान लागेका व्यक्तिलाई एअरपोर्ट आसपास लुटपाट गर्ने गरेको परिसर काठमाडौंका एसएसपी रमेश थापा बताउँछन् ।
प्रहरी छाडेर अपराधको दुनियाँमा प्रवेश
गोली हानेर समातिएका कार्की कुनै समय आफैं प्रहरी थिए । जो प्रहरी छाडेको करिब दुई दशकपछि प्रहरी हुँ भन्दै लुटपाट गर्दै आएका छन् ।
उनी २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । ९ महिनाको तालिम पूरा गरे । अनि दुई वर्षजति जागिर खाएर २०६४ सालमा प्रहरीबाट भागे । देश र समाजको सेवा गर्छु भनेर प्रहरीमा भर्ती भएका कार्की त्यहाँबाट सबै ज्ञान लिएर अपराधको दुनियाँमा सक्रिय भए । कतिसम्म भने, सामान्य चोरी, लुटपाटदेखि व्यक्ति हत्यासम्म गर्न उनी पछि परेनन् ।
जागिर छाडे लगत्तै उनी अभद्र व्यवहारको कसुरमा पक्राउ परे । ९ मंसिर २०६४ मा प्रहरी वृत्त गौशालाले पक्राउ गरेर उनलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
यसको एक महिनापछि नै उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा चल्यो । प्रहरी वृत्त बालाजुले ८ पुस २०६४ मा हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा चलाएको थियो ।
यसअघि उनी व्यक्ति हत्या गरेको कसुरमा समेत दोषी ठहर भएका थिए ।
प्रहरीको जागिर छाडेर आपराधिक दुनियाँमा प्रवेश गरेका उनी हत्या असुली गर्न थालेका थिए । सोही क्रममा उनले गौशालास्थित पशुपति भिजनसँग हप्ता असुली माग गरेका थिए । तर त्यसमा कुरा नमिलेपछि विवाद भएको जानकार प्रहरी अधिकारीहरू सुनाउँछन् । यही विवादले उग्र रूप दिँदा उमेश सिंह नाम गरेका व्यक्तिलाई खुकुरी प्रहार गरी हत्या गरिएको एक प्रहरी अधिकारीले बताए ।
यो घटनामा कार्की २ वैशाख २०६८ मा पक्राउ परेर प्रहरी वृत्त बौद्धबाट मुद्दा चल्यो । व्यक्ति हत्यामा उनी दोषी ठहर भए ।
संविधान दिवसमा कारागार मुक्त, फेरि अपराध
व्यक्ति हत्यामा दोषी ठहर भएका कार्की १० वर्षपछि कारागार मुक्त भए । संविधान दिवसको अवसरमा राम्रो चालचलन भएको भन्दै कैद मिनाहा भएपछि उनी ३ असोज २०७८ मा कैद मुक्त भएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर छुटेका उनै कार्की त्यसपछि पनि अपराधको दुनियाँमा सक्रिय रहे । कारागारबाट छुटे लगत्तै उनी चोरीमा सक्रिय रहे । ३ फागुन २०७८ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई चोरीको कसुरमा मुद्दा चलायो ।
त्यति नै बेला अर्थात् २६ फागुन २०७८ मा प्रहरी वृत्त गौशालाबाट डाँका चोरीको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो । डाँका चोरीको कसुरमा अदालतले कार्कीलाई ६ वर्षको कैद सजाय सुनायो ।
२०७९ सालदेखि उनी सुन्धारा कारागारमा थिए । गत भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट भागेका थिए । डाँका चोरीको कसुरमा उनले अझै तीन वर्ष कैद भुक्तान गर्न बाँकी नै रहेको छ ।
कारागारबाट भागेपछि कार्की प्रहरीले पक्राउ गर्न खोज्दा खोर्सानी छर्केर भागेका थिए । त्यसपछि भने पक्राउ पर्ने डरले भारत पुगेको प्रहरी अधिकारीहरू बताउँछन् । केही समय भारत बसेपछि फेरि काठमाडौं आएर उनी चोरी धन्दामा सक्रिय भएका थिए ।
