प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्नै–प्रश्न : RajdhaniDaily.com


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ–जहाँ सरकार त्यहीँ भ्रष्टाचार र बेथिति रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीले चलाएको कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका मन्त्रीहरूले खुलमखुला भ्रष्टाचार गरिरहेको बताउँदै उनले प्रधानमन्त्रीले सुशासनको कुरा गरेर मात्रै नहुने जनाएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलको दुई तिहाइको सरकारका मन्त्रीहरूले खुलमखुला भ्रष्टाचार गरिरहेको बताए । प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै भने, ‘तपाईंका मन्त्रीहरू खुलमखुला लाखौंको डिल गरिरहेका छन् । प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

संसद्लाई सम्बोधन गर्दै विगतमा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ, चित्रगुप्तलाई समेत बयान दिन तयार छु,’ भनेका थिए । सोही विषयमा प्रचण्डले अहिले सरकारकै मन्त्रीहरूको भ्रष्टाचारको विषय उल्लेख गर्दै यस्तो भनेका हुन् ।

सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतीकरण र बिचौलियाको संरचना सिर्जना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोपसमेत उनले लगाए । ‘जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति’ भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।

‘गत वर्ष नै मैले भनेको थिएँ, सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन, सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो, आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्,’ प्रचण्डले भने ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडोजस्तो भएको बताउँदै उनले भने, ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ ।’

बजेटलाई संख्याको दम्भमा दोहन
प्रचण्डले सरकारले ल्याएको बजेट र आर्थिक नीतिमाथि कडा आलोचनासमेत गरे । सरकारको बजेटलाई ‘संख्याको दम्भमा दोहन गरिएको दस्तावेज’ भन्दै लोकतान्त्रिक मूल्यको ‘सर्भिसिङ’ गर्ने अवसर गुमाएको उनले आरोप लगाए ।

‘अहिले सार्वजनिक ऋण करिब २७ खर्ब रुपैयाँ पुगेको छ, जुन कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)को ४३ प्रतिशत नाघ्न लागिसकेको छ, अब ऋण तिर्न ऋण लिने प्रवृत्तिले देश कति दिन टिक्ने ?’ उनले प्रधानमन्त्री ओलीसँग प्रश्न गरे ।

बजेटको संरचना र प्राथमिकताप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले भने, ‘बजेटमा न त सपना छन्, न आशा, प्राथमिकतामा सिमेन्ट, गिट्टी–बालुवा र टावर राख्नुभयो, तर जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईंहरूको हात काप्यो ।’

प्रचण्डले बजेटलाई प्रतिनिधित्वविहीन, पक्षपाती र जनताको समस्यासँग विमुख भएको आरोप लगाउँदै भने, ‘बजेटमा थारू देखिएनन्, मधेशी देखिएनन्, आदिवासी, जनजाति, मुस्लिम, महिला, दलित, मजदुर, किसान देखिएनन्, न त कर्णाली, सुदूरपश्चिम र मधेश नै अटायो, दुई दलको सत्ताउन्मादको दस्तावेज मात्र बनाइयो बजेट ।’

उनले वर्तमान सरकारमाथि केही मुठीभर नवधनाढ्य, दलाल र पहुँचवालाहरूको सेवा र हितका लागि बजेट बनाएको आरोप लगाए ।

३ सय दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?
यस्तै, प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति समेत प्रश्न उठाएका छन् । ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो तर त्यसैबीच हामी सरकारबाट बाहिरियौं,’ प्रचण्डले भने, ‘त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३ सय दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

तर, आज १ वर्ष अर्थात् ३ सय ६५ दिन बितिसक्दासमेत सो घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाए । ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औंल्याए ।

संसद् बिचौलियाको खेलमैदान
संसद् र संसदीय समितिमा भइरहेका भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै आलोचना गरेका छन् ।

प्रचण्डले दुई ठूला दलको मिलेमतोले संसद्लाई ‘बिचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे । लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा बताउँदै उनले गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्नसक्ने चेतावनी दिए ।

अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष
यस्तै, उनले अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाएका छन् । यस वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको टिप्पणी गर्दै प्रचण्डले भने, ‘रोजगारीको अवसर सिर्जना नभएकाले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैकारण रेमिट्यान्स बढेको देखिएको हो, तर सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ ।’

प्रचण्डले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना र दिगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रित गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने बताए ।

कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करको पासोमा
प्रचण्डले सत्तारूढ कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्नेगरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साक्षी बन्न पुगेको आरोप लगाए ।

‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस, एकपछि अर्को स्वेच्छाचारिता शृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ,’ प्रचण्डले भने ।

गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।

सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफूले मिहिनेत गरेको स्मरण गर्दै उनले आफूले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भूमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मल र बिजुली कहाँ गयो ?
प्रचण्डले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको आरोपसमेत लगाए । रोपाइँको मध्य समयमा समेत किसानलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरबाही गरेको उनले बताए ।

‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालू आवका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो तर असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन,’ प्रचण्डले भने ।

उनले हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न प्रश्न गरे, ‘आयात भएको भनिएको मल कहाँ गयो ?’ प्रचण्डले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे ।

यस्तै, उनले उखु किसानको बक्यौता त अझै नदिएको, अनुदानसमेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए । तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै प्रचण्डले भने, ‘धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्, यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ ।’

सत्तारूढ दलकै कार्यकर्तासमेत असन्तुष्ट हुनेगरी १ वर्षमा कसको विश्वास जित्नुभयो ?

प्रचण्डले वर्तमान सरकारको कामले कांग्रेस–एमालेकै नेता कार्यकर्ता खुसी बन्न नसकेको टिप्पणी गरेका छन् । अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गरे ।

‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उनले ५०औं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरू कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनुपरेको, सहकारी र मिटर ब्याजपीडितको समस्या झन् जटिल बन्दै गएको बताए ।

सरकारको गतिविधिबाट आमजनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्तासमेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्री ओलीलाई उनले प्रश्न गरे, ‘१ वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भए ?’

(Visited 11 times, 1 visits today)





Source link

Leave a Comment