‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’

‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’


एमाले उपाध्यक्ष विष्णु पौडेलसँग अनलाइनखबरले गरेको यो अन्तर्वार्ता पछिल्लो सत्ता-समीकरणका सम्भावित संकटबारे केन्द्रित छ । कांग्रेस-माओवादीको गठबन्धन ढालेर एमाले–माओवादीको गठबन्धन पुनर्स्थापित गर्न लाग्ने नेतामध्ये पौडेल एमालेतर्फका महत्वपूर्ण पात्र हुन् । के फेरि प्रधानमन्त्री प्रचण्डको सत्ता नेतृत्व संकटतर्फ धकेलिन खोजेको हो ? यदि हो भने त्यसको आधार के हो ? यिनै प्रश्नमा आधारित रही बसन्त बस्नेतले बिहीबार दिउँसो गरेको अन्तर्वार्ता :

एमालेमाओवादी समीकरणको दुई महिना नबित्दै फेरि सरकार फेरिने व्यापक हल्ला चल्न थाल्यो, खासमा के भइरहेको हो ?

हल्लाहरू उत्पादन हुनु नेपाली राजनीतिको विशेषता भएको छ । तर जति तोड्न, भत्काउन कोसिस भए पनि ती प्रयासहरू सफल हुँदैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा र तपाईंहरूका अध्यक्ष केपी शर्मा ओलीको बीचमा अबको प्रधानमन्त्री को बनाउने भनेर छलफल सुरु भएको गाइँगुइँ व्यापक छ त !

एमाले आफ्नो पहलमा निर्माण भएको सहयात्रा अघि बढाउन छाडेर अर्को बाटो लिने भुल गर्दैन । हामी कुनै पनि प्रयासलाई त्यसको कोर्स पूरा हुन दिन्छौं । दायाँ-बायाँ लाग्दैनौं ।

उसोभए प्रधानमन्त्री प्रचण्डले गोदावरीको नेकपा हीरक महोत्सवमा किन ओलीजीलाई म विश्वास गर्न चाहन्छु भनेर पटकपटक दोहोर्‍याउनुपरेको ?

विगतमा हाम्रो अध्यक्ष र प्रचण्डजीको बीचमा आरोह–अवरोहपूर्ण सम्बन्ध रह्यो । कतिपय अवस्थामा तिक्तता कटुता बढ्दै निषेधको तहमा पनि पुग्यो । फेरि विश्वासको जगमा फर्काउने ठूलो प्रयास भएको छ । त्यसले गर्दा उहाँहरूले एक-अर्कालाई विश्वस्त तुल्याउनका लागि त्यस्तो अभिव्यक्ति दिनु अन्यथा होइन । त्यो सामान्य हो ।

अझ प्रचण्डले यो गठबन्धन हो, एकतासम्म पुर्‍याउँछौं भन्दै गर्दा ओलीले ‘यो समीकरण मात्रै हो, गठबन्धन र पार्टी एकताको कुरा गर्न आवश्यक छैन किन भन्नुभएको ?

नेकपा एमालेले आयोजना गरेको गोदावरीको कार्यक्रममा दुई नेताले दिएका अभिव्यक्तिको भाव समान थियो । यो सरकारलाई वाम सरकार भनेर ब्रान्डिङ गर्नुहुँदैन । यहाँ लिवरल, देशभक्त, जनपक्षीय अरू शक्ति पनि सामेल छन् ।

अहिले देशलाई वाम एकता होइन, स्थायित्व, सुशासन र समृद्धि चाहिएको हो । अहिले वाम एकता बोकेर यी लक्ष्यमा जान सकिंदैन । यो सहयात्रालाई बलियो बनाउँदै जानु बुद्धिमत्तापूर्ण हुन्छ ।

तपाईंहरूलाई कांग्रेसबाट कुनै प्रस्ताव आएको छैन ?

प्रस्ताव आयो भनेर सार्वजनिक अभिव्यक्ति आएका छन् । सरकारबाट बाहिरिनुपर्दाको पीडामा कांग्रेस छ । आफूले सक्दाखेरि धोका दिने, कमजोर परेपछि त्यस्ता आग्रहपूर्ण अभिव्यक्ति दिनु कांग्रेसको बानी हो । कांग्रेससँग हामी यो सरकारको विकल्पमा कुनै अर्को सरकार बनाउने कोणबाट छलफल गरेका छैनौं । छलफल गर्नुपर्ने खाँचो पनि छैन । यही सरकारबाट प्रभावकारी डेलिभरी सुनिश्चित गर्ने हो ।

अहिले देशलाई वाम एकता होइन, स्थायित्व, सुशासन र समृद्धि चाहिएको हो । अहिले वाम एकता बोकेर यी लक्ष्यमा जान सकिंदैन । यो सहयात्रालाई बलियो बनाउँदै जानु बुद्धिमत्तापूर्ण हुन्छ ।

प्रचण्ड सरकार कति लामो जान्छ ?

संसद्को बाँकी अवधिसम्म यो सहयात्रा जान्छ ।

सहयात्रा त होला, सरकार चाहिं कहिलेसम्म जान्छ ?

हामी प्रधानमन्त्री वा कुनै मन्त्रीको जिम्मेवारीलाई केन्द्रभागमा राखेर सोचिरहेका छैनौं । पश्चगामी र यथास्थितिमा रहेको गठबन्धन भत्काएर राष्ट्रिय हितको काम गर्ने सरकार बनाउनु अपरिहार्य थियो । जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर नयाँ सहयात्रासाथ निर्माण भएको यो सरकार अगाडि बढ्छ ।

यसको मतलब पाँच वर्षसम्मै प्रचण्ड जान सक्नुहुन्छ ?

हामी वर्षको हिसाब गरिरहेका छैनौं । सहकार्यमा दरार नआओस् भन्नेमा ध्यान छ । अरू तपसिल हुन् ।

गृहमन्त्री र केही मन्त्रीका विषयमा असन्तोष छ भन्ने सुनिएको छ नि !

यो संयुक्त सरकार हो । एउटा–दुइटा मन्त्रीका बारेमा उठ्ने कुराले त्यस्तो भिन्नता हुँदैन । हरेक मन्त्रालयले राम्रो काम गरून् भनेर एकले अर्कालाई सहयोग पुर्‍याउँछौं ।

उसोभए निःसन्देह रूपमा गठबन्धन बलियो छ ?

बलियो जगमा खडा छ । एकाध अभिव्यक्ति गौण हुन् । मूलभूत रूपमा सहयात्रा बलियो छ । कसैले भत्काउन, हल्लाउन सक्दैन । भत्काउन कोसिस गर्नेले अरू कुनै काममा समय दिए हुन्छ ।

पार्टी नै भत्काउँदै जोड्दै संसद्मा १३८ सिटको बहुमत पुर्‍याउने खेल नचल्ला भन्ने के छ र ?

यो अब पुरानो किसिमको शैली भयो । दाउपेच, छलछाम, विभाजन, प्रलोभनको फोटोकपी गरेर आज पनि राष्ट्रिय राजनीतिमा स्पेस बनाउन सकिन्छ भनेर ठान्नु व्यर्थको कुरा हो ।

तर गठबन्धनकै अर्का महत्वपूर्ण नेता माधव नेपालले सरकार र सत्ता–समीकरण बारेका असन्तोष छरपष्ट पार्नुभयो नि !

उहाँ यो समीकरणमा सहयात्रामा सामेल हुनुहुन्छ । सहयात्राका निष्कर्ष बोकेर हिंड्नु उहाँको कर्तव्य हो । म यति मात्रै भन्न चाहन्छु ।

उपचुनावमा सहकार्य गर्न एकीकृत समाजवादी तयार भएको देखिएन, किन ?

एमाले आजको राष्ट्रिय राजनीतिको मियो हो । नीति, कार्यक्षमता प्रदर्शन र देशको दिशानिर्देश गर्न एमालेले बढ्ता भूमिका खेल्छ । अरूले के गर्दैछन् भन्नेमा धेरै चाख छैन ।

आज तपाईं यो अन्तर्वार्तामा बस्नुअघि स्वर्गीय नेता मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी भएर आउनुभयो । त्यहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । केही दिनअघि पनि नेकपा हीरक जयन्तीमा भण्डारीलाई गणतन्त्र गौरव सम्मान दिइएको छ । उहाँलाई विस्तारै पार्टी नेतृत्वमा उदय गराउन खोजिएको हो ?

नेपालको राष्ट्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्या भण्डारीज्यूको योगदान विशिष्ट छ । खासगरी महिला आन्दोलनको सन्दर्भमा, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको सन्दर्भमा धेरै महत्वपूर्ण योगदान उहाँले निर्वाह गर्नुभएको छ ।

उहाँले नयाँ संविधानपछिको दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको व्यक्तित्व हो । यो जिम्मेवारी सम्हाल्दा पनि उहाँले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेर अत्यन्त उत्कृष्ट योगदान मुलुक र जनताको पक्षमा गर्नुभएको छ । त्यसकारणले उहाँ सिंगो राष्ट्रले सम्मान गरेको सम्मानित व्यक्तित्व हो ।

सिंगो राष्ट्रको सम्मानलाई पार्टीको ७५औं वर्षगाँठको सन्दर्भमा आयोजना गरेको हीरक महोत्सवको सन्दर्भमा उहाँलाई हामीले सम्मानित गरेको हो । हामीले मात्र सम्मानित गरेको होइन, सिंगो राष्ट्रले सम्मान गरेको छ । त्यसलाई हामीले मुखरित गरेको हो ।

दोस्रो कुरा उहाँ पूर्वराष्ट्रपति भए पनि राजनीतिक व्यक्तित्व हो । उहाँको व्यक्तित्वको मुख्य पक्ष नै राजनीतिक हो । अहिले चाहिं भोलि उहाँ सक्रिय राजनीतिमा आउने-नआउने यस विषयमा हामी छलफलमा पनि छैनौं, अब हामीले पनि केही भनेका छैनौं, उहाँले पनि केही भन्नुभएको छैन । त्यस विषयमा हामी छलफलमा छैनौं ।

अहिले त्यो छलफल गर्नुपर्ने आवश्यकता पनि महसुस गरेका छैनौं । हामीले उहाँले गर्नुभएको योगदानलाई उच्च सम्मान र कदर पनि गरेका छौं । उहाँ सामाजिक गतिविधिमा यस प्रकारका फोरमहरूमा उपस्थित हुनुहुन्छ । आफ्नो विचार, अनुभवहरू सम्प्रेषण गर्नुहुन्छ । कुरा यत्ति नै हो ।

‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’

 पार्टी जोडिएका संस्थाहरूले गरेका कार्यक्रममा नै उहाँ बढी सक्रिय देखिन थाल्नुको त केही अर्थ होला नि !

आज मनमोहन अधिकारीको २५औं स्मृति दिवस हो । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा अत्यन्तै विशिष्ट योगदान गर्नुभएको आदरणीय नेताको स्मृतिमा मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति सहभागी हुनुलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

केही दिनअघि पार्टीको महिला संगठनले गरेको कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो नि ! त्यसलाई कसरी बुझ्ने ? त्यो स्वाभाविकै हो । कहींनेर केही राजनीति मिसिएको छ भन्दैमा अलग रहनुपर्छ र ? राजनीति नमिसिएको के चिज हुन्छ र !

 राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई भोलि गएर कुनै न कुनै हिसाबले पार्टी नेतृत्वमा फर्काउन खोजिएको हो कि ?

अहिले हामी यो विषयमा छलफलमै छैनौं । बीचमा त्यतातिर हाम्रो ध्यान अलि तान्ने प्रयास विभिन्न सञ्चारमाध्यममा भएको थियो, जुन अहिले सेलाएको पनि छ ।

 एमालेमा अहिले नेतृत्वलाई लिएर कुनै चिन्ता छ ?

छैन ।

अध्यक्ष केपी ओलीले अस्ति कास्कीमा दाबी गर्नुभएको जस्तो अब १० वर्ष मात्रै होइन, २० वर्ष नै उहाँले नेतृत्व गर्ने अवस्था आउन सक्छ ?

अध्यक्षले २० वर्ष म सक्रिय राजनीतिमा रहन्छु भन्नुभएको छ । यो स्वाभाविकै हो । उहाँको स्वास्थ्य, अनुभव, ऊर्जा, योगदान र योग्यताबाट समाज लाभान्वित हुन पाउनुपर्छ । कम्युनिस्ट आन्दोलन र एमाले पनि लाभान्वित हुन पाउनुपर्‍यो ।

नयाँ पार्टीहरू आइरहेका छन् । नयाँनयाँ उमेर समूहका नेतृत्व आइरहेका छन् । तपार्ईंहरू चाहिं अहिलेकै अवस्थासँग चित्त बुझाएर बस्नुभएको ?

नयाँ भनेको उमेर हो कि, विचार हो कि विश्लेषण हो ? कामकारबाही हो कि ? नतिजा हो कि परिणाम हो ? नयाँको पनि नयाँ ढंगले नै परिभाषित गर्नुपर्ने आवश्यकता महसुस हुन थालेको छ ।

अध्यक्षले २० वर्ष म सक्रिय राजनीतिमा रहन्छु भन्नुभएको छ । यो स्वाभाविकै हो । उहाँको स्वास्थ्य, अनुभव, ऊर्जा, योगदान र योग्यताबाट समाज लाभान्वित हुन पाउनुपर्छ । कम्युनिस्ट आन्दोलन र एमाले पनि लाभान्वित हुन पाउनुपर्‍यो ।

अलिअलि त उमेर पनि हो नि ?

उमेरबाट मात्रै नयाँ र पुरानो भनेर मापन गर्न मिल्दैन । उमेर सहायक कुरा हो । धेरै नयाँ भनिएकाहरूमा पनि पुरातनपन्थी विचार विश्लेषण हामी देख्छौं ।

उमेरका हिसाबले परिपक्व नेताहरूमा नवीनता, सिर्जनशीलता हामी देख्छौं । हाम्रो अध्यक्षलाई विचार, विश्लेषण, गतिविधि र कामकारबाहीका दृष्टिकोणले कुन चाहिं नयाँले भेट्टाउन सक्छ त ? उहाँलाई भेट्टाउन सक्ने कोही नयाँ छ ?

तपाईं ओलीले नै २० वर्ष नेतृत्व गर्न सक्नुहुन्छ भनेर त्यति धेरै विश्वस्त हो ?

उहाँले २० वर्ष नै नेतृत्व गर्नुहुन्छ कि हुँदैन त्यो अलग कुरा भयो । उहाँले पोखरामा चाहिं म अझै २० वर्ष सक्रिय रहन्छु भन्नुभएको हो ।

‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’

पार्टी पंक्ति पनि त्यो कुराको लागि तयार छ ?

स्वाभाविक रूपमा ।

यो बीचमा नेतृत्व पंक्तिमा जति पनि नेताहरू छन्, उनीहरूले अब म आगामी १० वर्षमा यहाँ हुन्छु, २० वर्षमा यहाँ हुन्छु भनेर धेरै कल्पना नगर्दा हुन्छ ?

कम्युनिस्ट आन्दोलनमा व्यक्तिले म कहाँ हुन्छु भनेर परिकल्पना गर्ने कुरा नै गलत हो । उसले हाम्रो आन्दोलन कहाँ हुन्छ, त्यो आन्दोलनलाई त्यहाँ पुर्‍याउन मैले आफ्नो जिम्मेवारीबाट के योगदान गर्न सक्छु भनेर सोच्नुपर्छ ।

मेरो भूमिका आज, भोलि र पर्सि के हुन्छ भनेर सोच्ने कुराले आन्दोलनको हितमा बल पुर्‍याउँदैन ।

उहाँ नेतृत्वमै भएको बेला पार्टीले झन्डै झन्डै दुई तिहाइ बहुमत ल्याएर २०७४ को चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर उहाँले पाउनुभयो । जेसुकै कारण भए पनि त्यो एकता बचाएर राख्न सक्नुभएन नि !

अध्यक्षको नेतृत्वमा २०७४ को निर्वाचन, पार्टी एकता, झन्डै दुई तिहाइ बहुमतको सरकारको स्थिति निर्माण गर्नुमा सर्वाधिक निर्णायक योगदान हाम्रो अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो ।

यसमा कुनै द्विविधा छैन । जहाँसम्म विभाजनमा उहाँ जिम्मेवार हुनुहुन्न । उहाँले एकता जोगाउन अन्तिम र हरसम्भव सबै प्रयास गर्नुभएको हो । कुनै पनि कसर बाँकी राख्नुभएन । एकता र शक्तिशाली कम्युनिस्ट आन्दोलनको निर्णायक पहलकर्ता उहाँ नै हो ।

कतिपय नेताहरू अहिले पनि पार्टीभन्दा बाहिर छन् । तपाईं त पार्टीपार्टीहरूका बीच सहजकर्ताको रूपमा चिनिनुहुन्छ । तपाईंले अहिले उहाँहरूसँग संवाद गरिरहनुभएको छ ?

भड्किएर दायाँ-बायाँ लागेका साथीहरू हुनुहुन्छ, उहाँहरू अब निःसंकोच एमालेमा फर्कनुस् । यसको कुनै विकल्प नै छैन । हिजो एमालेमा रहेका साथीहरू जे-जे कारण अलग भए पनि उहाँहरू फर्कनुपर्छ । फर्कने साथीलाई हामी स्वागत र सम्मान गर्छौं र काममा लगाउँछौं । पूर्वाग्रह राख्दैनौं । आउनुस्, ढोका खुलै छ !

च्यासलको पार्टी अफिसमा ढोका खुलै छ तर कुर्सी व्यवस्थापन गर्नुभएको छैन भन्ने छ नि !

एमालेरूपी पार्टीमा हामी सबै चौरमा बस्न पनि तयार छौं भनेपछि कुर्सीको प्रश्नै आउँदैन । अमूक कुर्सी र पद भनेर सोच्ने कुराले राम्रो गर्दैन ।

माधवकुमार नेपाल जीलगायत सरकारमा बस्नेले सरकारका कामकारबाहीका बारे सार्वजनिक रूपमा नकारात्मक टिप्पणी गर्नु शोभनीय हुँदैन । त्यस्तो नहोस् भन्ने म चाहन्छु ।

माधवकुमार नेपाल, झलनाथ खनालहरू सरकारी गठबन्धनमै हुनुहुन्छ, उहाँहरूसँग कुरा भइरहेको होला नि ?

सरकारमा सहभागी भएको नाताले कुरा त हुने नै भयो, भइरहेकै छ । सरकार निर्माण, जिम्मेवारी बाँडफाँट र कामका बारे कुरा हुने भयो । त्यस बाहेक एकता आदित्यादि बारे केही कुरा भएको छैन । उहाँहरू अनुभव आर्जन गर्दै हुनुहुन्छ ।

इलाम२को उपचुनावमा माओवादीदेखि विप्लवसम्म एमालेलाई सघाउन तयार भए । तर एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठायो । अनि जुनसुकै बेला गठबन्धन टुट्न सक्छ भन्ने हल्ला भइरहेको छ नि !

म त्यसलाई अतिरिक्त अभिव्यक्ति भन्छु । त्यसरी प्रस्तुत हुन म त्यति उचित मान्दिनँ । सरकारमा बस्नेले सरकारका कामकारबाहीका बारे सार्वजनिक रूपमा नकारात्मक टिप्पणी गर्नु शोभनीय हुँदैन । त्यस्तो नहोस् भन्ने म चाहन्छु ।

अहिले प्रधानमन्त्रीको कामकारबाही ठिकै चलिरहेको छ ?

ठिक छ ।

अलि अस्तिसम्म ठिक थिएन, अचानक कसरी ठिक लाग्न थाल्यो तपाईंहरूलाई ?

अचानक होइन । हिजोको यात्राको समीक्षा पछि, हिजोको यात्राबाट मुलुक अगाडि बढ्न नसक्ने रहेछ भन्ने महसुस पछि यो सहयात्रा आरम्भ भएको हो ।

प्रचण्डलाई पनि महसुस भयो ?

स्वाभाविक रूपमा । महसुस नभएको भए हिजोको गठबन्धन टुट्छ त ? त्यो गठबन्धन ठिक बाटोमा जाँदैछैन, त्यसबाट मुलुकलाई ठिक ठाउँमा लैजान सकिन्न भन्ने सत्यबोधपछि यो नयाँ सहयात्रा आरम्भ भएको हो । नयाँ सहयात्रा नयाँ मूल्य-मान्यता, विश्लेषण र निष्कर्षको जगमा खडा भएर अगाडि बढेको छ ।

पहिला पहिला कांग्रेस–एमाले बीच एकले अर्कालाई आरोप लगाए पुग्थ्यो वा माओवादीलाई आलोचना गरे पुग्थ्यो । अब चाहिं नयाँ–नयाँ शक्तिहरूले दबाब दिन थालेको हो ? उनीहरूसँग सहकार्य र वैचारिक प्रतिरोध सँगसँगै जाने हो ?

दुइटा कुरा सँगै हुन्छ । हामी अलग छौं किनभने हाम्रा मूल्यमान्यता अलग छन् । हामी सँगै छौं किनभने हाम्रा केही साझा सरोकार र निष्कर्ष छन् । यी दुइटा पक्षलाई जोडेर बुझ्नुपर्छ ।

त्यस्तै, हामीले निर्माण गरेको व्यवस्थामा हर कसैले संविधान र कानुनको सीमाभित्र रहेर दल खोल्न पाउँछन् । जनताकोमा गएर प्रतिस्पर्धा गर्न पाउँछन् । चुनाव जित्न, बहुमत ल्याउन र सरकार बनाउन पाउँछन् ।

यो व्यवस्था हामीले नै लडेर ल्याएको हो । यसले दिएको अधिकारलाई कुनै पनि नागरिकले सदुपयोग गरेर राजनीतिमा आउँछ भने त्यसलाई हामीले स्वागत नै गर्छौं ।

‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’

स्वागत त गर्नुभएको छ तर तपाईंहरूको चिन्ता चुनाव सकिनासाथ मिसन–८४ भन्न थाल्नुभएको छ । अघिल्लो चुनाव सकिनासाथ नयाँ चुनावको तयारी गर्न थालेको पहिलो पटक नै होला हैन त ?

तपाईंले ठिकै भन्नुभयो । यो हङपार्लियामेन्टबाट जनताको अपेक्षालाई ठिक ढंगले सम्बोधन गर्न सकिन्न । त्यसैले एकल बहुमतको सरकार चाहिन्छ । हामी एमाले भएकोले एमालेकै चाहिन्छ भन्ने हिसाबले हामीले मिसन–८४ भनेको हो ।

एमाले आफैंमा एउटा राष्ट्रिय शक्ति हो जसलाई हामी निर्णायक राष्ट्रिय शक्तिमा विकसित गर्न चाहन्छौं । यसका लागि एमालेसँग एकल बहुमतको सरकार निर्माण गर्ने हैसियत निर्माण हुनुपर्छ । तब मात्र एमालेको नीति राष्ट्रिय नीतिको रूपमा अनूदित हुन्छ । यो कुनै लुकेको कुरा होइन कि हामी त्यहाँ जान चाहन्छौं ।

सँगसँगै हामी के कुरामा होसियार छौं भने अहिलेको सत्ता सहयात्रामा पनि कुनै प्रकारको दरार वा समस्या सिर्जना नहोस् ।हामी चाहन्छौं २०८४ को निर्वाचन पछि पनि यही सहयात्रामा सहभागी राजनीतिक दलहरूसँग त्यसबेला एमालेले बहुमत ल्याए पनि सहकार्य गर्दै अगाडि बढ्छौं ।

विगतमा पनि यस्तै अवसर पाउँदा सदुपयोग गर्न सक्नुभएन नि ?

एमाले नेतृत्वको सरकारको पालाको कुरा गर्नुहुन्छ भने ग्राफमा हेर्नुस् । डेटामा हेर्नुस् । देश बन्छ, मेरो पालामा देश बन्छ भन्ने विश्वास थियो । पछिल्लो दिनमा जब एमाले सरकारबाट बाहिरियो, त्यसपछि निराशा फैलिएको अवस्था हो ।

एमालेले पनि गर्न सकेन भन्ने चार्ज त आयो !

नेकपा विभाजित भएपछि, एमाले बाहिर धपाइएपछि एकढंगले निराशा चाहिं फैलियो ।

अब फेरि नेकपा बनाएर जनतालाई कहिले आशाको सञ्चार गर्ने त ?

अहिले फेरि नेकपा बनाउने हाम्रो प्राथमिकताको कार्यसूची होइन । हामीले यसमा कुनै गृहकार्य पनि गरेका छैनौं । त्यसमा ध्यान पनि छैन ।

हाम्रो ध्यान सम्पूर्ण रूपले यो सहयात्रालाई जोगाउने र यस मार्फत सकेसम्म सकारात्मक नतिजा दिनका लागि पहल गर्नेतिर केन्द्रित छौं ।

अहिले वाम गठबन्धन, समाजवादी गठबन्धन, पार्टी एकता हाम्रो कार्यसूची होइन । हामी त्यतातिर लागेका छैनौं । लाग्नुपर्ने अवस्था छैन ।

यो खुला घोषणा नै हो ?

खुला गोप्य सबै यही हो । दुईथरी कुरा छैन ।

यो प्रक्रियामा भाँजो होला भनेर भित्रभित्रै सबै गृहकार्य गर्ने, अनि अन्तिममा खुलाउने त होला नि ?

प्रयासहरू लुक्दैनन् नि !

अहिले वाम गठबन्धन, समाजवादी गठबन्धन, पार्टी एकता हाम्रो कार्यसूची होइन । हामी त्यतातिर लागेका छैनौं । लाग्नुपर्ने अवस्था छैन ।

तर, राजनीतिज्ञहरू लुकाउनमा पनि माहिर हुन्छन्, कहिलेकाहीं !

तर, यो मैले भनिहालें । हामी अहिले वामपन्थी एकता, पार्टी एकता के के भन्ने झञ्झटमा छैनौं । अहिले वामपन्थी र गैरवामपन्थी देशभक्त, लोकतान्त्रिक र जनपक्षीय शक्तिहरूबीचको सहयात्रा आरम्भ भएको छ ।

यसलाई जोगाउने, टिकाउने यस मार्फत राम्रो डेलिभरी दिने र जनतामा आशा, विश्वास सञ्चार गर्ने र केही न केही राम्रो काम गर्दै मुलुकलाई अगाडि बढाउने विषयमा केन्द्रित छौं ।

अन्तिममा, तपाईं पूर्व अर्थमन्त्री भइसकेको नेता । मान्छेमा जुन बेचैनी र छटपटाहट छ, त्यसलाई कसरी सम्बोधन गर्न सक्नुहुन्छ ? स्वदेशमै कसरी आशा देखाउन सक्नुहुन्छ ?

पछिल्ला दिनहरूमा देशको अर्थतन्त्रमा केही नकारात्मक परिसूचकहरू हाबी र प्रभावी बन्दै गएको कुरा तथ्य हो । तर समस्या समाधान निराशा होइन । भएका समस्यालाई चिन्ने साहस हुनुपर्छ । समाधान गरेर अगाडि बढ्ने हो ।

तपाईंले अर्थमन्त्री वर्षमान पुनलाई हजारौं आयोजना कटौती गरेर अघि बढ्न सुझाव दिनुभएछ, किन ?

विगतमा हजारौं योजना विना तयारीमा बनाउने, अपेक्षित प्रतिफल नदिने अभ्यास भयो । बजेट विनियोजन गर्ने, स्रोत दुरुपयोग गर्ने काम भयो । अहिले त्यसो गरेर कार्यान्वयन गर्न सम्भव छैन । त्यसैले कि त कटौती, कि पुनः प्राथमिकीकरण गर्नुपर्‍यो ।

अनगिन्ती आयोजनामा लागेर राष्ट्रको सम्पत्ति खेर जान दिनुभएन । राष्ट्रिय गौरवका योजना, प्रतिफल दिने आयोजनामा बजेट लोड गर्ने ढाँचामा जानुभयो ।

कांग्रेसले पहिले तपाईंहरूलाई साना टुक्रे योजनामा बजेट कनिका झैं छर्ने गरेको आरोप लगाउने गर्थ्यो । अब चाहिं तपाईंहरूको ध्यान ठूला योजनामा जान थालेछ, होइन ?

कांग्रेसले लगाएको आरोप आधारहीन हो । कुनै पनि तथ्यले उसको दाबी पुष्टि हुँदैन । हामीले २०५१ सालमा सामाजिक सुरक्षा सुरु गर्‍यौं । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिऊँ भन्दा बाँड्यो भन्थे ।

अचेल कांग्रेस नै सामाजिक सुरक्षामा पैसा दिनुपर्छ भन्न थाल्यो । हामीले गाउँमा बजेट पठाउन थाल्यौं । ३ लाख रुपैयाँबाट थालेका थियौं । अहिले कांग्रेसले विरोध गर्न सक्छ त ? त्यसैले उसको दाबी गलत छ । हामी संघीयतामा गएका छौं । संघीय सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्‍यो । कतिपय बजेट प्रदेश र स्थानीय तहले विनियोजन गर्न सक्छन् । संघीय सरकारले के गर्ने भन्ने संवैधानिक प्रबन्धन नै छ ।

आर्थिक वृद्धिको दृष्टिले आयोजना पहिचान र कार्यान्वयनमा कांग्रेस सरकार र हाम्रो तुलना गर्दा बेग्लै नतिजा आउँछ ।

‘प्रचण्डसँगको सहयात्रा बलियो छ, यसलाई बोक्नु माधवजीको कर्तव्य हो’

अहिले कांग्रेस र एमालेलाई नीति निर्माण र कार्यान्वयनमा उस्तै भएको टिप्पणी हुने गर्छ नि !

हामी जुनबेला सरकारमा गएका छौं, मनमोहन अधिकारीको सरकारदेखि केपी शर्मा ओलीको सरकारसम्म आइपुग्दासम्म हाम्रो क्षमता प्रदर्शन सधैं अब्बल छ ।

नेकपालाई नै विभाजित गर्ने, त्यसपछि एमालेलाई ओली विनाको एमाले बनाउने भनेर गरिएका जालझेल चिर्दै अगाडि बढ्नुपर्ने विशेष परिस्थिति थियो । कतिपय बेला हामी प्रतिपक्षमा बसेर काम गर्नुपर्‍यो । तर हाम्रो सरकारका ग्राफ हेर्नुस् । तुलनात्मक रूपमा जनतामा देश बन्छ भन्ने आशा जाग्ने गरेको छ ।

तस्वीर र भिडियो : आर्यन धिमाल





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School