पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो।
पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ। यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो। त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ।
यसबिचमा महानगरले डोजर चलाउने हल्ला धेरै चलिसकेको छ। सुकुमबासी बस्तीमा आजै डोजर चल्ने, भोलि नै चल्ने भनेर सामाजिक सञ्जालमा हल्ला फैलाउने काम पनि भइरहेको छ।
जसले स्थानियमा त्रास र आतंक सिर्जना गरेको छ। तर जति नै हल्ला चलाएर आतंक र त्रास सिर्जना गरे पनि महानगरपालिकाले तत्काल सुकुमबासी बस्तीमा डोजर नचलाउने भएको छ।
बरु बसपार्कमा रहेका सुकुमबासीका नाममा हुकुमबासीले ओगटेका सटरहरुमा भने डोजर चलाउने तयारीमा महानगर रहेको स्रोत बताउँछ। जहाँ अधिकांश व्यवसायीले सटर खाली गरिसकेका छन्।
महानगर स्रोत भन्छ, ‘खाली भएका सटर हटाउने तयारी हो। त्यसले सुकुमबासीलाई मनोवैज्ञानिक रुपमा घर खाली गर्न दवाब पुगोस् भन्ने पनि महानगरको देखिन्छ।’
स्थानिय सुकुमबासी पनि तत्काल डोजर नचल्नेमा ढुक्क छन्। त्यहि भएर अहिलेसम्म सुकुमबासी बस्तीका एकाधबाहेक अरु कसैले पनि घर खाली गरेका छैनन्। र उनीहरु तत्काल घर खाली गर्न तयार पनि छैनन्। सामाजिक सञ्जालमा हल्ला चलेजस्तो त्यहाँ न सामान सार्नेको चटारो छ नत घर खाली गरेर बसाईं सर्नेहरु नै देखिन्छ।
यसबिचमा केहि घरका सामानहरु सारेको भने पाइएको छ। तर घरधनीले नभई घर भाडामा बस्नेले सामान सारेको स्थानियको दाबी छ। हुन पनि सुकुमबासी बस्तीमा गएर हेर्ने हो भने अधिकांश सुकुमबासीहरु घर खाली नगर्ने मूडमा भेटिन्छन्।
उनीहरु महानगरले वैकल्पिक व्यवस्था गरेपछि मात्रै घर खाली गर्न तयार हुने बताउँछन्। त्यसमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि तयार रहेको स्थानिय सुकुमबासी बुद्धिबहादुर विकले बताए।
‘मेयरले पनि वैकल्पिक व्यवस्था नगरी नहटाउने भनेर वचन दिनुभएको छ’, उनले भने, ‘सायद उहाँ वचनमा पक्का हुनुहुन्छ भन्ने लागेको छ। हामी त्यत्तिकैचाहिं छाडेरचाहिं जाँदैनौं।’
तर, वैकल्पिक व्यवस्था भएको खण्डमा भने राजीखुसी घर खाली गर्ने उनको भनाइ छ। ‘वैकल्पिक व्यवस्था हुने हो भने महानगरले भनेको भोलिपल्टै घर खाली गर्छौं’, उनले भने, ‘महानगरले छानविन गर्छ भने गरोस् तर बास्तविक सुकुमबासीलाई जग्गा र घर बनाएर मात्रै सार्नुपर्छ।’
अर्का स्थानिय खलील मियाले मेयरसँग वैकल्पिक व्यवस्था गर्ने र त्यसपछि मात्रै घर खाली गर्ने सहमती भइसकेकाले आफूहरु ढुक्क रहेको बताए।
‘हल्ला त आजै डोजर चल्छ, भोलि नै डोजर चल्छ भनेर हल्ला सुनिन्छ’, उनले भने, ‘तर हामीलाई सहमती तोडेर डोजर चल्छ भन्ने लाग्दैन। हामी डोजर चल्नुअघि वैकल्पिक व्यवस्था हुन्छ भन्ने विश्वासमा छौं, बरु त्यो चाँडै हुन्छ भन्ने प्रतिक्षामा छौं।’
उनले वैकल्पिक व्यवस्था नगरी डोजर चलाए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिए। भने, ‘बरु हामी सडकमै सुत्छौं तर घर भत्काउन दिन्नौं। घर भत्काउनुअघि हामीमाथि डोजर चलाएर कत्लेआम गरोस्।’
सुकुमबासीहरु घर खाली गर्न तयार नभइरहँदा सुकुमबासीका नाममा हुकुमवासीले ओगटेका सटरहरु भने धमाधम खाली भइरहेका छन्। हालको २६ रोपनी क्षेत्रफलमै रहेको बसपार्कको पूर्व र पश्चिमतर्फका अधिकाशं सटरहरु भने खाली भइसकेका छन्।
त्यहाँ हुकुमबासीले सटरहरु बनाएर पसल, होटल, ग्यारेजलगायत सञ्चालनका लागि भाडामा लगाएका थिए। कतिसम्म भने एउटै मोहडाबाट छिरेर पछाडी १२/१५ वटासम्म कोठाहरु बनाएर भाडामा लगाएको पाइन्छ।
स्थानिय सागर भट्टराईले एकडेढ सय सटरले सामान हटाएर सटर खाली गरिसकेको बताए। ‘डोजर चल्छ भनेपछि सबैले डराएर सटर खाली गरे’,उनले भने, ‘अहिले कोहि डराएर छाडिरहेका छन् त कोहि पहिल्यै प्रशस्त कमाएकाहरु राज्यलाई सहयोग पनि हुने र छाड्ने बहाना पनि मिलेकाले छाडिरहेका छन्।’
पोखरा बसपार्कको उत्तरतर्फका पेट्रोल पम्प लाइनका जग्गाधनीहरू सो ठाउँ खाली गर्न तयार भएका छन्। सो क्षेत्रमा रहेका जग्गाधनी र महानगरपालिकाबीच लामो समयदेखिको विवाद र सम्वादहिनता तोडिदै सोमबार सो क्षेत्र खाली गर्ने सहमती भएको हो।
यसअघि सो क्षेत्रका जग्गाधनीहरुले महानगरबिरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। सो रिटको सुनुवाई गर्दै तत्कालका लागि सो क्षेत्रमा डोजर नचलाउन र २६ गते जवाफसहित छलफलका लागि अदालतमा उपस्थित हुन अल्पकालीन आदेश आएको थियो।
तर सोमबार भएको सहमती अनुसार अब स्थानियले मुद्धा फिर्ता लिनेछन्। पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बसपार्क बनाउन स्थानियले सहयोग गर्ने सहमती भएको जानकारी दिए। उनले भने, ‘७ दिन भित्रमा त्यहाँ रहेका सटर तथा कवलहरु हटाउने सहमती भएको छ। त्यसपछि त्यस क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा महानगरको मापदण्ड अनुसार बनाउने भनिएको छ।’
जग्गा खोजी समितिले बुझायो प्रतिवेदन
पोखरा बसपार्कका सुकुमबासीको वैकल्पिक व्यवस्थापन गर्न बनेको जग्गा खोजी समितिले महानगरलाई प्रतिवेदन बुझाईसकेको छ।
पोखरा–१७ की वडाध्यक्ष राधिकाकुमारी शाहीको संयोजकत्वमा बनेको पोखरा बसपार्कका सुकुमबासीका लागि जग्गा खोजी तथा सिफारिस समितिले ६ वडाका ६ ठाउँमा सुकुमबासीलाई वैकल्पिक व्यवस्थापन गर्न सकिने प्रस्तावसहितको प्रतिवेदन बुझाएको हो। समितिले बसपार्कका सुकुमबासी सार्न वडा नम्बर ११, १४, १५, १७, २१ र २५ मा प्रस्ताव गरेको हो।
यसैबीच, महानगरले प्रस्तावित ठाउँहरुको प्राविधिक पक्ष अध्ययन गर्ने भएको छ। महानगरले प्रस्तावित ठाउँहरुमा प्राविधिक पक्ष अध्ययन गर्न महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा ५ सदस्यीय प्राविधिक उपसमिति गठन गरेको हो।
समितिलाई प्रस्तावित जग्गाको कुल क्षेत्रफल निर्धारण गरि त्यहाँ कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी ७ दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए।
उनले भने,‘प्रस्तावित जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक क्षेत्र सुनिश्चित गर्दै ७ दिनभित्र राय, सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।’
उनले प्राविधिक समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरि सुकुमबासी बस्ती व्यवस्थापन कार्य अघि बढ्ने बताए।
२०३२ सालमा पोखरा बसपार्क बनाउन २०५ रोपनी जमिन अधिग्रहण गरिए पनि अहिले २६ रोपनीमा खुम्चिएको छ। पृथ्वी राजमार्गको मापदण्ड, सेती नदी किनारको मापदण्डलगायत कटाउँदा १८७ रोपनी जमिन बाँकी रहनुपर्ने हो।
तर, केहि व्यक्ति र संस्थाले सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर ३९ रोपनी जमिन हडपेर लालपूर्जासमेत लिइसकेका छन्। बाँकी जमिनमा सुकुमबासी बस्दै आएका छन्। बसपार्क क्षेत्रमा बसोबास गर्ने ५७२ घर परिवारले वैकल्पिक व्यवस्थापनका लागि निस्सा बुझाएका छन्।
महानगरले निस्साको छानविन गरिरहेको जनाएको छ। ५७२ मध्ये आधा भन्दा बढी हुकुमबासी रहेको आशंकामा महानगरले छानविन गरिरहेको हो। छानविनपश्चात सुकुमबासी भएको पुष्टि भएमा उनीहरुलाई व्यवस्थापन गर्ने महानगरको तयारी छ।
प्रकाशित: २५ जेष्ठ २०८३ १९:४६ सोमबार
