पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल


१४ जेठ, पोखरा । छिप्पिँदो साँझ । शान्त वातावरणमा फेवा तालको डिलमा ठोक्किएका छालसँगै बहिरहेको हावाको चिसो झोंका ।

पोखराको फेवा किनारमा धेरै देखिने दृश्य हो, कुम जोडेर गफिंदै बसेका प्रेमिल जोडीहरु । फूट ट्रयाकमा बच्चालाई डोर्‍याउँदै हिँडेका बाबुआमा र विभिन्न उमेर समूहका मान्छेहरुको ओहोरदोहोर ।

कोही ताल किनारमा ‘स्ट्रिट फुड’को स्वाद चाखिरहेका छन् त कोही भाउ सोधेरै टाउको बंग्याएर हिँड्दैछन् । २८ वैशाखको साँझ फेवाताल किनार लेकसाइडमा अनलाइनखरको रिपोर्टिङ टिम पुग्दा घाम डुबेको धेरै बेर भइसकेको थिएन । तर, लेकसाइड आनन्दमा रम्ने तरखरमा देखिन्थ्यो ।

झम्के साँझमा कोही रेस्टुरेन्टमा चिसो बियर समातेर पिउन बसेका थिए, कोही स्न्याक्ससँग सफ्ट र हार्ड ड्रिंक्सको मज्जा लिंदैछन् ।

क्याफेमा कफी पिउनेको संख्या पातलिंदो भएपनि चिसोेको चुस्कीसहित पोखरेली स्वाद र आतिथ्यतामा मन्त्रमुग्ध छन् ।

लेकसाइडकै एक रेस्टुरेन्टमा लाइभ ब्यान्ड म्युजिकमा सञ्जीव प्रधानको गीत गाइँदै छ, ‘देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को…’ । कतै गजल लाइभमा शिव परियारको गीत पनि बज्दै छ,‘पागल बनायौ प्रिय, यो दिल हारेर पागल…।’

लेकसाइड घुम्दै गर्दा गर्दा कतै चर्को स्पिकरमा बजेका पप, झ्याउरे र लोक भाका त कतै हिन्दी र अंग्रजी हेभी मेटल गीतहरु पनि सुनिन्छन् ।

ताल किनारका प्रायः बिश्राम कुर्सी र प्रतिक्षालयहरु भरिएका छन् । कोही ताल हेरेरै एकोहोरिएका छन् त कोही फुटपाथ कुनातिर बसेर निस्फिक्री चुरोटको धुँवा उडाइरहेका छन् ।

ताल किनारमै सुनिन्छ, ‘तिम्रो नै माया लाग्दछ साइँली, सम्झन्छु दिन दिन…’, गितार बजाएर गुन्गुनाइरहेको युवाको एउटा समूह झलकराम गन्धर्वको गीत फेरि–फेरि गाइरहेको छ,‘खाउँ त भने सुन्तला पानी, नखाम भने दुबैको ज्यान जाने, जाल जालैमा, मै माछी मारुम कि फेवा तालैमा…।

यहाँ दृश्य एकथरी मात्रै छैनन् ।

थर्मसमा चिया बोकेकी युवती चिच्याइरहेकी छिन्, ‘चिया लिनुस्  हजुर तातो–तातो ।’ क्यामेरा भिरेर लेकसाइड बजारतिर लम्किएका केही तन्नेरी उनीसँग जिस्कंदै छन्,‘सित्तैमा दिने हो भने खाने ।’ ‘मट्का हैन, मुड्किी चिया खुवाउँछु, नजिस्क है !’ उनी पनि जिस्किएरै जवाफ फर्काउँछिन् ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

फुटपाथमा पानीपुरी खाएकाहरु सुँघ्दैछन्,‘कति मिठो पानीपुरी, पल्सीको अमिलो हो ?’ बाकसमै पान बेचिरहेका एक युवक भन्दैछन्, ‘फायर पान–फायर पान ।’

शरीरभरि ट्याटु खोपेका अधबैंशे विदेशीहरु तालको किनारमा भुईँमा बेच्न राखिएका ‘लकेटहरु’ किन्न खोज्दैछन् । रातमै पनि लेकसाइडमै चलेको रोटे पिंङमा चढ्नेहरुको भीड छ भने कोही स्केटिङ स्टुडियोमा रमाइरहेका छन् । पिङ चढेकाहरुको चिच्याहटले ताल परिसरको शान्त वातावरण छिन–छिनमा भंग गरिरहेको छ ।

लेकसाइडका रेष्टुराँ, पव, बार एवम् डिस्को रंगीचंगी बत्तीमा भिन्न रंगहरुले चम्किएका छन् । यही मौका पारेर ‘डीएसएलआर’मा फोटो खिचेर म्यासेन्जरमा हालिदिनेहरु सोध्छन्, ‘ह्वाटसएपमा हालिहाल्ने गरी फोटो खिच्ने हो ? एउटाको २० रुपैयाँ, ५ वटा त खिच्नैपर्छ ।’

पोखराको रात्रिकालीन जीवनको सबैभन्दा साझा दृश्य तालको छेउछाउमा बसेर सुस्ताउने, रमाउने र थकान मेटाउनेहरुको भीडभाड हो ।

पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

विगतमा जस्तो प्रहरीले रातको ११ नबज्दै सिठ्ठी बजाउँदै पर्यटकहरूलाई लखेट्ने समस्या अहिले छैन । यहाँ साँझमा परिवार, आफन्तजन, साथीहरुसँग घुम्न आउनेको संख्या बाक्लो हुन्छ । फुट ट्रयाक, कुर्सी र तालको डिलमा बसेर धेरैले आनन्दको सास फेर्छन् ।

फोटो, भिडियो खिच्नेदेखि टिकटक बनाउनेहरूसम्म यहाँ राति १२ बजेसम्म नै हुन्छन् । तालबाराही मन्दिर लक्षित गरी साँझमा यहाँ धार्मिक गतिविधि गर्नेहरू पनि आउँछन् । बाराही घाटमा साँझमा हुने आरती पनि धेरैको आकर्षणको केन्द्रमा हुन्छ । बढी भारतीय पर्यटकहरु त्यसमा सहभागी हुन्छन् ।

साँझको समयमा यहाँको प्राकृतिक सौन्दर्य र जनजीवन नियाल्न आउने पर्यटकहरू पनि उत्तिकै हुन्छन् । कतिलाई यहाँको चटपटे, फास्टफुडदेखि चिया, चिसो, पान खान मन पर्छ त कसैलाई यहाँ बसेर गीत र भजन गाउन ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

धेरै स्थानीय बासिन्दाका लागि त यो क्षेत्र हप्तामा पटक–पटक पुग्नैपर्ने ठाउँजस्तो बनेको छ । यही लेकसाइडमा ठूला होटलदेखि भुईं मान्छेहरुसम्मले आ–आफ्नै स्तरका व्यपार व्यवसायहरु पनि गरिरहेका छन् ।

स्थानीय बासिन्दा तथा कपडा व्यापारी प्रेम दनैलाई साँझको खाना खाएपछि एकपटक लेकसाइड आएर सुस्ताउने बानी परेको छ । प्रायः परिवारका सदस्य र साथीहरु लिएर आउँछन् ।

‘पर्यटकहरु यहाँ आएर रमाएको देख्दा खुशी त लाग्छ, तर यहाँ पर्यटकलाई खुवाइने खानेकुराको गुणस्तर र मूल्यको अनुगमन हुनुपर्ने देखिन्छ’ उनी भन्छन्,‘पर्यटकहरुलाई कतिले यहाँ गुणस्तरहीन र अस्वस्थकर खानेकुरा बेचिरहेका छन्, कसैको मूल्य नै अत्याशलाग्दो छ, यसले लेकसाइडको इज्जत बिग्रिंदै गयो ।’

रात जति गहिरिँदै जान्छ, लेकसाइडको मादकताको पारो पनि चढ्दै जान्छ ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

१२ बजेपछि लेकसाइडका क्लब र दोहोरी साँझहरुको गानाबजानाको आवाज बाहिरसम्म सुनिन्छ । भित्र नाचगान गर्नेहरुको होहल्ला सुनिन्छ ।

दोहोरी साँझमा गाउने र नाच्नेहरु मस्त हुँदा गुन्यू–चोली ठाँटिएका युवतीहरु आतिथ्यतामा कमी हुन दिँदैनन् । स्टेजमा गीत गाइरहेकाहरु अतिथिको नाम लिएरै गीत गाउँदैछन्,‘सँगै जाउँला बुटवल खाउँला बाँडीचुँडी, बिराज राईले चाहे मै नि बन्छु कान्छी बुडी.. झ्यालैमा ऐना… ’  ।

यस्ता क्लब र दोहोरी साँझका बाहिर ट्याक्सीहरु लाइन लागेका हुन्छन् । रात चढ्दै जान्छ, भिड र रौनक पातलिंदै जान्छ । करिब १ बजेपछि त लेकसाइडमा मदिराले मस्तहरु मात्रै भेटिन थाल्छन् ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

…र पनि दुःख छ

लेकसाइडको ‘नाइट लाइफ’का यी ‘ककटेल सिन’हरुले धेरैलाई आनन्दित र रोमाञ्चित बनाउन सक्छन् । तर, पोखरामै रातको समयमा पर्यटकहरु कतिपय सेवाहरु नपाएर हैरान पनि हुन्छन् । राति ट्याक्सीको मनपरी बार्गेनिङ र भाडाले धेरै पीडित हुन्छन् ।

काठमाडौंका विशाल बञ्जारा र उनका साथीहरु बेगनास ताल घुमेर राति ११ बजेतिर लेकसाइड फर्किए । विहान ८ बजेको विमानबाट काठमाडौं फर्किने हुनाले उनीहरुले अघिल्लो दिन नै परिवारका लागि केही उपहार किन्न खोजे । तर, लेकसाइड पुरै घुम्दा पनि ‘पोखराको चिनो’ किन्ने पसल फेला पारेनन् ।

बन्जाराले अनलाइनखबरसँग भने, ‘पोखराको अरु बजार त ९ बजे नै बन्द हुने रहेछ, लेकसाइडमा पनि रातिसम्म खुल्ने त होटल, रेस्टुरेन्ट, बार र क्लबमात्रै रहेछ ।’

पोखरा घुम्न आएका बेला साँझपख लेकसाइड घुम्न निस्केकी गोरखाकी प्रजिना श्रेष्ठलाई ९ बजे उनी बस्ने होटलबाट फोन आयो । फोनमा खाना खाने भए १० बजे अगाडि नै आउनुहोला, नभए किचन बन्द हुन्छ भन्ने जानकारी थियो । राति १० बजे लेकसाइडमा साथीहरुसँग घुमिरहेकी श्रेष्ठले भनिन्, ‘लेकसाइड हेर्दा त पोखरा राति सुत्दैन कि जस्तो छ, तर बेलैमा सोचिएन भने भात खान चाहिँ नपाइने रहेछ ।’

पोखरामा राति लेकसाइड र फेवा किनारमा सुस्ताउनेहरुको संख्या धेरै हुन्छ । लेकसाइडका कतिपय रेस्टुरेन्टहरु १२ बजे पनि खुलै हुन्छन् । लेकसाइडबाहेक अन्यत्र भने ८ बजेपछि नै बजार लगभग बन्द हुन्छ ।

फेवा किनारमा क्लब, डिस्को, दोहोरी रेस्टुरेन्टहरु दुई बजेसम्म खोल्न पाइन्छ, तर अन्य ठाउँमा भने प्रहरीले १० बजेपछि पसल बन्द गराउँछ । लेकसाइड बाहेक अन्यत्रका होटल, रेस्टुरेन्ट १० बजेपछि बन्द गर्न लगाउँछ ।

वीरगञ्जबाट पोखरा घुम्न आएका रामनन्दन श्रीवास्तव पोखरामा पनि रातको शीतलमा रमाइलो गर्ने र सुस्ताउने वातावरण अझै तयार नभइसकेको बताउँछन् । ‘हाम्रो वीरगञ्ज त ८ बज नै सुत्छ, यहाँ १२ बजेसम्म त लेकसाइड खुला नै हुने रहेछ’, उनले भने, ‘खाएर र नाचेर रमाइलो गर्नेलाई त केही भयो, धेरैलाई चाहिँ यहाँ पनि ८ बजे नै होटल छिर्नुपर्ने अवस्था रहेछ ।’ पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

पोखरामा पर्यटक आकर्षित गर्ने रात्रिकालीन गतिविधि नै कम छन् भने रात्रिकालीन जनजीवनलाई सहयोगी सेवा तथा व्यवसाय पनि चाँडै नै बन्द गरिन्छन् ।

पोखरामा राति ८ बजेपछि सार्वजनिक यातायातका साधन भेटिंदैनन् । त्यसपछि ट्याक्सी भेटिन्छ, तर उनीहरु मिटरमा उठेअनुसार पैसा तिरेर चल्न मान्दैनन् । मनपरी भाडा असुल्छन् ।

गृह मन्त्रालयले २५ फागुन २०७८ मा काठमाडौंको ठमेल र पोखराको लेकसाइडसहितका पर्यटकीय स्थलहरु रातभर सञ्चालन हुन दिने निर्णय गरेको थियो । यो निर्णयले पोखरा लेकसाइडका व्यवसायीले आर्थिक गतिविधि चलायमान हुने आशा गरेका थिए ।

तर, त्यसो हुन सकेन । व्यवसायीहरु माग गर्ने र तर सरकार त्यसका लागि तयार नहुने भइरह्यो । गत २२ कात्तिकमा पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चौबिसै घण्टा व्यापार व्यवसाय खोल्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको थियो । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चौबिसै घण्टा खुला राख्न आदेश दिएको थियो ।

गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ । अदालतले त्यही कार्ययोजना अनुसार कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न नरोक्न भनेको थियो ।

त्यसपछि पोखराको लेकसाइडमा रात्रिकालीन व्यवसाय खोल्न केही सहज वातावरण बन्दै गयो । तर, काठमाडौंमा जस्तै पोखरामा पनि रात्रिकालीन व्यवसायहरु होटल–रेस्टुरेन्ट, दोहोरी–डान्स क्लब, लाउन्ज बारमा सीमित हुन पुगेका छन् ।

सुरक्षा संवेदनशील मानिने व्यवसायहरुमा प्रहरीले सुरक्षा त दिन खोजेको छ । तर लेकसाइडमा साँझदेखि नै मापसे जाँचका नाममा  गाडी रोकेर पर्यटकलाई दुःख दिने गरेको गुनासो गर्ने व्यपारीहरु पनि प्रशस्तै छन् ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लेकसाइड, न्यूरोड–चिप्लेढुंगा र विरौटामा २ बजेसम्म सबै व्यवसाय खुला राख्न पाइने बताउँछन् । नाइट क्लब, डिस्को, दोहोरी लगागतका व्यसाय भने रातभरि नै चलाउन पाइने उनले बताए । ‘लेकसाइड, न्यूरोड–चिप्लेढुंगा र विरौटा नाइट क्लब, डिस्को, डान्सबार लगायत तोकिएका व्यवसायहरु रातभर खोल्न पाइन्छ, अरु २ बजे बन्द गर्नुपर्छ’, उनले भने, ‘यसबाट पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहयोग पुगेको छ ।’

पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल
फोटो- क्लब सिक्सटिन

तर, प्रशासनले गरेको व्यवस्थाअनुसार व्यवहार नगरेको कतिपय व्यवसायीको गुनासो छ । पोखराका सबै व्यवसायलाई नियमभित्र राखेर रातभर खुला रहन दिनुपर्ने मत उनीहरुको छ । यस्तो व्यवस्थाले सुरुमा लेकसाइडले लाभ पाउने र क्रमशः सिंगो पोखरा नै रात्रिकालीन शहरका रुपमा चलायमान हुने आधार तयार हुने व्यवसायीहरुको मत छ ।

अरु क्षेत्र सम्साँझै सुत्छ

रात्रिकालीन सहर प्रवर्द्धनन गर्ने मामिलामा कतिपय स्थानीय र होटल व्यवसायी फरक मत राखिरहेका छन् । होहल्ला र उत्तेजक क्रियाकलापले लेकसाइडवासीलाई गम्भीर असर गरिरहेको उनीहरुको तर्क छ । राति चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रंगीविरंगी बत्तीले जनजीवन अस्तव्यस्त बनाउने उनीहरुको गुनासो छ ।

घरमा विद्यार्थीले पढ्ने वातावरण नभएको, शान्त वातावरण खोज्ने पर्यटकहरु पनि प्रभावित भएको तर्क गर्नेहरु पनि छन् । आवाज र झिलिमिली बत्तीले प्रदूषण बढेको, फेवाताल, सीमसार र जंगलका पशुपन्छीलाई समेत असर पारेको भन्दै आवाज उठ्ने गरेका छन् ।

तर, यसका लागि व्यवसायिक आचारसिंहता पालना गराउँदै समाधान खोज्नुपर्ने मत पर्यटन व्यवसायीहरुको छ ।  व्यवसायी दनै सबै किसिमबाट रातभर ढुक्कसँग पर्यटक आउने, घुम्ने र रम्ने वातावरण बनाउनुपर्ने मत राख्छन् । होहल्लाले स्थानीयलाई समस्या भएको सत्य हो भन्दै उनले लेकसाइडलाई विशुद्ध व्यावसायिक क्षेत्र नै घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

‘व्यावसायिक क्षेत्र घोषणा गरियो भने आवासीय रुपमा बसेकाहरुले समस्या भयो भन्न पाउँदैनन्’, दनैले भने, ‘तर, व्यावसायिक क्षेत्र तोक्नुअघि रातमा सबै खालका व्यवसाय खोल्ने गरी प्रवर्द्धनात्मक र प्रोत्साहनमूलक नीति र कार्यक्रम र आचारसंहिता महानगरपालिकाले ल्याउनुपर्छ ।’

पोखरामा औसतमा २ रात बस्ने पर्यटकहरु धेरै पुग्छन् । त्यसमा पनि अधिकतम् रातमा पोखरा शहरमै लेकसाइड र आसपास आइपुग्छन् । लेकसाइडको रात्रिकालीन बजार अन्य भागमा सर्दै जाने हो भने पोखरा पुग्ने पर्यटकहरुबाट थप लाभ लिन सकिने व्यवसायीले पनि बुझेका छन् ।तर, राति ग्राहक नै नहुने र निन्द्रा माया मारेर व्यापार गर्न बस्दा पनि खासै आय नहुने व्यवसायीहरु बताउँछन् । लेकसाइड बाहेकका क्षेत्रमा त अझै पनि १० बजेपछि प्रहरी पसल बन्द गराउन सिठ्ठी बजाउँदै पुग्छ । त्यसले पनि पोखरालाई रातमा जागा नै राख्ने व्यवसायीहरुको विगतको योजनाले अपेक्षित लाभ दिन सकेको छैन ।

काठमाडौंबाट सडक मार्ग भएर पोखरा घुम्न आउनेहरु पृथ्वीचोक हुँदै पोखरा प्रवेश गर्छन् । पोखरामा हुने प्राय ठूला कार्यक्रम पृथ्वीचोक, सिर्जनाचोक, सभागृह बुद्धचोक लगायत ठाउँमै हुन्छन् ।

तर बास बस्न भने धेरैजसो लेकसाइड नै पुग्छन् । लेकसाइडबाहेक अन्यत्रका होटल व्यवसायमा राम्रो व्यापार नभएको व्यवसायीहरु बताउँछन् । पोखराको पर्यटन क्षेत्रको विषयमा हुने छलफल र गोष्ठीमा लेकसाइडबाहेक अन्य बजार क्षेत्रका व्यवसायीले उपस्थित हुन पाउँदैनन् । यसले पनि पोखरामा रात्रिकालीन व्यवसाय खुला राख्ने बहस लेकसाइडको सेरोफेरोबाट बाहिर निस्कन पाएको छैन ।

लेकसाइड बाहिरका बजार क्षेत्रलाई पनि निरन्तर खुला राख्ने विषयमा सरकार पनि तयार छैन । यसले पोखराको पर्यटन लेकसाइडमै बढी केन्द्रित छ , तर लेकसाइडले पनि रात्रिकालीन व्यवसायबाट ठूलो लाभ उठाउन सकेको छैन ।

पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल
फोटो : कमल प्रसाइँ

पोखरा नगर रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेवान) पूर्व अध्यक्ष केपी पाध्या शर्माले पहिलेजस्तो प्रहरीले १० बजे नै बन्द गर नभनेको तर मान्छे नै नहुँदा सुनसान हुने गरेको बताउँछन् ।

‘बाहिरबाट आउने पनि पर्यटक सिधै लेकसाइड जाने, रात्रीकालीन व्यवसाय पनि त्यतै धेरै हुने हुँदा अन्यत्र सुनसानजस्तै बन्छ, अन्य क्षेत्रमा कम रोजाइ हुँदा व्यवसायीले नै पनि बेलैमा बन्द गर्छन्, मान्छे नै नआउने भएपछि किन किर्ने ?’ पाध्याले भने, ‘रात्री बस आइपुग्ने पृथ्वीचोक आसपासमा पनि ग्राहक कुर्ने मान्छे राखेरै व्यवसाय खोलिरहने जानकारी छ । अन्य अन्य क्षेत्रमा प्रशासनले भन्दा पनि व्यवसायीले नै बन्द गर्छन् ।’

पोखराका अन्य भागमा समेत स्ट्रिट फुड, लाइभ कन्सर्ट, विविध जातीय–सामुदायिक सांस्कृतिक प्रदर्शनी, सपिङ, नाइट वाकिङ, डिस्को, क्यासिनो लगायत रात्रिपर्यटन गतिविधि हुन सक्ने अवस्था छन् । आवश्यक सुरक्षा व्यवस्थासहित सेवाको मूल्यलाई नियन्त्रणमा सिंगो पोखरामा रात्रिकालीन पर्यटन व्यवसाय प्रवर्द्धन गर्न सके अर्थिक गतिविधि बढ्ने व्यवसायीहरु बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीय वासिन्दाले पनि रातको समयमा आरामदायी घुमाइसँगै विविध सेवा लिन सक्ने वातावरण बन्ने पोखराकै होटल व्यवसायी शालिकराम सापकोटा बताउँछन् ।

पछिल्ला दिनमा पोखरा भित्रिरहेका पर्यटक सोझै कुश्मा र मुस्ताङतर्फ गइरहेकाले रात्रिकालीन व्यवसाय प्रवर्द्धन गर्न नसके पोखरामा पर्यटकको बसाइ लम्ब्याउन नसकिने उनको मत छ ।

पोखरा महानगर पनि पोखरालाई जुनसुकै बेला खुला राख्नुपर्ने पक्षमा छ । त्यसका लागि प्रशासनसँग समन्वय गरेर व्यासायीहरुसँग राति व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउने काम भइरहेको मेयर धनराज आचार्यले बताए ।

‘पर्यटकीय प्रोडक्टहरु बढाउन सकियो भने पोखरामा पर्यटकको बसाईं लम्ब्याउन सकिन्छ,’ उनले भने, ‘पोखरालाई रातमा पनि चलायमान गराउन हामीले विभिन्न पहल र प्रयत्न गरिरहेका छौं ।’

तस्वीर : सरोज अधिकारी/अनलाइनखबर

पोखराको पदचाप-१

पोखराको पदचाप-२

पोखराको पदचाप-३

पोखराको पदचाप-४





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School