पूर्वराष्ट्रपति विद्या भण्डारीवरिपरि दुई वाम दल


‘ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। यसलाई ढिला गरे गल्ती हुन्छ,’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिको एक अंश हो यो।

मदन भण्डारी फाउन्डेसनले आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक अन्तक्रियाको आयोजना गरेको थियो। सोही क्रममा भण्डारी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दायाँ–बायाँ बसेका दाहालसहित दुई वामपन्ती दलका चार शीर्ष नेताहरूले पार्टी एकताका लागि जोड दिएका हुन्।

पटकपटक एकता र विभाजनको चक्रमा फस्दै आएका उनीहरू व्यक्तिगत लाभहानिकै आधारमा जुट्ने र फुट्ने गर्दै आएका छन्। २०७४ सालको आमनिर्वाचनअघि एक ठाउँमा उभिएका उनीहरूको व्यक्तिगत स्वार्थ टकराउँदा पार्टी एकताको काम पूरा नहुँदै तीन टुक्रामा विभाजित हुन पुगेका थिए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हुँदै फागुन २१ गतेको आमनिर्वाचनसम्म पुग्दा सत्ता राजनीतिको किनारामा पुगेका दुई दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिएर एकता र सहकार्यको कुरा गरेका छन्। केही समयअघिसम्म एकले अर्काको मुख हेर्न पनि नचाहने बताउँदै एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतामा जोड दिएका छन्।

सात वर्षभन्दा बढी राष्ट्रध्यक्षको भूमिकामा रहेर पनि एमालेको सक्रिय राजनीति गर्न लालायित भण्डारीलाई प्रमुख अतिथि रहेको कार्यक्रममा नेतृत्व छाड्न दबाबमा रहेका नेताहरूले एकताको आवश्यकता औंल्याएका छन्।

निकटहरूले नै साथ छाड्दा ओली, दाहालसहितका शीर्ष नेताहरू अहिले पार्टीभित्रै अप्ठेरोमा पर्दै आएका छन्। भण्डारीलाई एकीकृत पार्टीको नेतृत्वमा अघि सार्दै ओली, दाहाल, नेपाल, खनालसहितका नेताहरूलाई संरक्षकमा राख्नुपर्ने प्रस्ताव यसअघि पनि दुवै पार्टीका नेताहरूले गर्दै आएका थिए। अहिले पनि त्यसकै सेरोफेरोमा छलफल चलिरहेको दाबी गर्दै एक नेताले भने, ‘पुस्तान्तरण र रूपान्तरणसहित सबैको सम्मानजनक निकासको बाटो यही नै हो।’

आइतबारको कार्यक्रमलाई त्यसकै सुरुवातका रूपमा व्याख्या गर्दै भण्डारीनिकट एक नेताले थपे, ‘सबै नेता उहाँलाई प्रमुख अतिथि मात्र होइन, नयाँ नेतृत्व स्वीकार गर्न तयार देखिनुहुन्छ।’ केही महिनाअघिसम्म एमाले अध्यक्ष ओली भण्डारीलाई पार्टीको सदस्यतासमेत दिन तयार नभएको प्रसंग उल्लेख गर्दै उनले थपे, ‘पार्टी सदस्यता नवीकरण गर्दै कार्यक्रममा उहाँ सहभागी हुनुले त्यही संकेत गर्छ।’

भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका ओलीले वामपन्थी मात्र नभएर सबै लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। मुलुकमा प्रतिगमन मौलाउँदै गएको जनाउँदै ओलीले भने, ‘प्रतिगमन पराजित गर्नु मुख्य काम हो। त्यसका लागि सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ।’

वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको जनाउँदै ओलीले थपे, ‘एमाले हाम्रा नीति सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन। हाम्रा नीति एकदमै सही छन्।’

नेकपा संयोजक दाहालले भने वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्न नहुने धारणा राखे। आजको भोलि नै पार्टी एकता गर्न नभए पनि कार्यगत एकताका लागि ढिला गर्न नहुने बताए। ‘मैले आजभोलि नै पार्टी एकता गरौं भनेको छैन। सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ उनले भने।

सरकारले संविधानका आधारभूत कुरामा प्रहार गर्न थालेको आरोप लगाउँदै दाहालले भने, ‘सबैको लक्ष्य मूल कुरा कम्युनिस्ट आन्दोलन कसरी सकाउने भन्नेतिर छ। विचार मिल्नेहरूको एकता गर्न ढिला गर्दा ठुलो दुर्भाग्य हुन सक्छ।’

नेकपाका सहसंयोजक नेपालले कम्युनिस्टहरूले गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। नेपालका सबै कम्युनिस्ट पार्टीहरूले आत्ममन्थन गर्ने समय आएको औंल्याए। ‘त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं,’ उनले भने।

मिल्न सक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपालले एउटा उचाइ हासिल गरेको कम्युनिस्ट पार्टी आजको अवस्थामा आउनुको कारबारे सबैले आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए। कारणहरू खोज्नुपर्नेमा जोड दिँदै उनले भने, ‘विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादिताले हो वा मै हुँ भन्ने प्रवृत्तिले ? के कारण हो, त्यो हामीले खोज्नुपर्छ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको औंल्याए। पार्टी संयोजक दाहाललाई नेतृत्व छाड्न ३६ बुँदे प्रस्ताव खनालले अघि सारेका छन्। उनै खनालले वामपन्थी एकतामा जोड दिए। आज मात्रै होइन, अनेकन कालखण्डबाट वामपन्थी एकता आवश्यक थियो भन्दै उनले भने, ‘तर बिचको कालखण्डमा हामीमा कहिले सिङ पलायो, कहिले जुरो पलायो। त्यसकारण हामी एक हुन सकेनौं। अब समयले हामीलाई हिर्काउन थालेको छ। बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ। यसले गर्दा हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दै छौं।’

उनले आजैबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बनाउन थाल्न प्रस्ताव गरे।

‘एउटा निर्वाचनका आधारमा जबजको भविष्यबारे निर्णय गर्नु हतार हुन्छ’

पूर्वराष्ट्रपति विद्या भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलन वा जबजको भविष्यबारे निर्णय गर्नु हतार हुने बताएकी छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जबजको सान्दर्भिकता आज पनि उत्तिकै रहेको पनि उनले बताइन्। नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरूलाई एकै मञ्चमा उपस्थित गराई भण्डारीले जबजले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक आधारमा स्थापित गर्दै बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरणलाई सम्भव बनाउने बताइन्।

कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको यथार्थलाई ध्यानमा राखेर जबजको मौलिक अवधारणा अघि सारेको स्पष्ट पारिन्। बदलिँदो पुस्ता, डिजिटल युग, प्रविधिको विकास र युवाका नयाँ आकांक्षाअनुसार आफ्नो नीति, कार्यशैली र संगठनात्मक अभ्यास गरी कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा उनले जोड दिइन्।

गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यावहारिक नीति विकास गर्न सके मात्रै कम्युनिस्ट आन्दोलन थप सुदृढ र लोकप्रिय बन्ने विश्वास व्यक्त गरिन्। प्रसंग बदल्दै उनले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने बताइन्। ‘मूलभूत मूल्यमान्यता र अन्तरवस्तुलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न हुन्न,’ उनले भनिन्, ‘प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि उपयुक्त हुन्न।’

प्रकाशित: १५ असार २०८३ ०७:१६ सोमबार





Source link

Leave a Comment