प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित निवासबाट ओलीलाई शनिबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोली बिहान ५:०० बजे गुण्डु पुगेको थियो। ओलीलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ लगिएको छ।
‘जेनजी’ आन्दोलनका बखत प्रधानमन्त्री रहेका ओलीलाई सोही घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो।
यसैबीच, पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गरिनु ‘प्रतिशोधपूर्ण’ भएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनामा आफूलाई दोषी देखाइनु राजनीतिक पूर्वाग्रह भएको उनको तर्क छ।
यस्तै, प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि बिहान निवासबाटै पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। जेनजी आन्दोलन भएको समय (गत भदौ २३ गते) लेखक गृहमन्त्रीको पदमा बहाल थिए।
