पुनर्व्याख्या खोजिरहेको गुरुकुलीय शिक्षण पद्धति 

पुनर्व्याख्या खोजिरहेको गुरुकुलीय शिक्षण पद्धति 


शाब्दिक रूपमा जहाँ गुरुको परिवार वा कुल बस्ने गर्दछन् त्यसलाई गुरुकुल भनिन्छ। प्राचीन पूर्वीय शिक्षा प्रणालीमा शिक्षकलाई नै गुरु भनिन्थ्यो। गुरुसँग शिक्षा लिन आउने विद्यार्थीलाई नै गुरुकुल भनिन्थ्यो। गुरुकुलमा बस्ने सबै एक परिवार हुन्थे। उनीहरूले यस अवधिमा ब्रह्मचर्यको पालना अनिवार्य गर्नुपर्थ्यो। त्यसैले यस आश्रमलाई ब्रह्मचर्याश्रम पनि भनिन्थ्यो। गुरुकुल शिक्षा प्रणालीको शुरूआत वैदिककालमा नै भइसकेको थियो। वैदिककाल भन्नाले आजभन्दा करीब ४ हजार इसापूर्व मानिएको छ।

गुरुकुल शिक्षा प्रणाली आवासीय थियो। विद्यार्थीहरू गुरुकै घरमा बस्थे। गुरुको घर नै शिक्षाको केन्द्र हुन्थ्यो। यसको मुख्य आधार अनुशासन र मिहिनेत थियो। शिक्षार्थी र गुरु बीचमा पवित्र नाता हुन्थ्यो। गुरुको इच्छा कसरी आफ्ना शिष्यलाई सक्षम र उत्कृष्ट बनाउने भन्ने हुन्थ्यो। त्यसैगरी कसरी गुरुलाई खुसी पारेर धेरैभन्दा धेरै ज्ञान लिने र आफ्नो जीवनमा उपयोग गर्ने भन्ने शिष्यको ध्येय हुन्थ्यो। शिक्षार्थीलाई सीपमूलक शिक्षा र वेद, पुराण, उपनिषद आदिको शिक्षा सँगसँगै दिइन्थ्यो।

शिक्षाको मूल उद्देश्य ज्ञान नै थियो। हरेक शिक्षार्थीमा समान व्यवहार हुन्थ्यो। यहाँ जे–जति निर्देशन हुन्थ्यो र त्यसको पालना गर्नु उनीहरूको कर्तव्य मानिन्थ्यो। जसले उनीहरूको जीवन जिउने पद्धतिको विकास गर्दथ्यो। गुरुकुल शिक्षा सर्वाङ्गीण शिक्षा प्रणाली भित्र पर्दथ्यो। व्यक्तित्व विकास, आध्यात्मिक जागरण, प्रकृति र समाजप्रति जागरूक, जीवनको स्वव्यवस्थापन, अनुशासन, इतिहासको सम्मान र भविष्यको लागि सक्षम नागरिक तयार गर्नु शिक्षाको ध्येय थियो।

ज्ञानलाई अघि बढाउने कुरामा यसले जोड दिन्थ्यो। यहाँ हरेक शिक्षार्थीले हरेक काम सिकेर निपुण हुन्थे। शिक्षा पूरा भएपछि मात्र उनीहरूले आफ्नो गुण अनुसारको कार्यस्थलमा फर्कने अनुमति पाउँथे। शिक्षा पूरा भएपछि दीक्षान्तमा चार वाक्य सिकाइन्थ्यो। मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः भन्न लगाइन्थ्यो। गुरुकुलमा रहँदा सर्वोपरि गुरु मानिए तापनि दीक्षान्त पछि घर फर्केपछि मातापिता पछि मात्र गुरुको स्थान आउँथ्यो। त्यसपछि अतिथिलाई पनि देवताकै स्वरूपमा भनिएको छ।

गुरुकुलमा शिक्षण विधि

पुनर्व्याख्या खोजिरहेको गुरुकुलीय शिक्षण पद्धति 

गुरुकुल शिक्षा पद्धतिमा गुरु वा आचार्यको बस्ने ठाउँ उच्च हुन्थ्यो। अरू शिक्षार्थी भन्दा गुरु अलि अग्लो स्थानमा बसेर शिक्षा प्रदान गर्थे। गुरु र शिष्य आमनेसामने भएरै शास्त्र अध्ययन गराइन्थ्यो। गुरुको प्रत्यक्ष निगरानीमा शिक्षा दिने चलन थियो। चेलाका हरेक क्रियाकलापलाई नजिकैबाट गुरुले नियालिरहेका हुन्थे। त्यस समय चौताराको माथिपट्टि वा कुनै चौको माथि नै गुरुको सम्माननीय आसनी हुन्थ्यो।

अरू चेलाहरू अलिकति होचो र सबैले गुरुको अनुहार देख्ने गरी बसाइ व्यवस्थापन गरिएको हुन्थ्यो। बस्ने आसनी गुरुकुलको क्षमता र उपलब्धता अनुसार हुन्थ्यो। मुख्य पढाइ श्रवण, मुखाग्री वाचन, भावार्थ प्रवचन र व्यवहारमा प्रयोग हुन्थ्यो। अनुशासन र ब्रह्मचर्य पालन त छँदैथियो। यसैका आधारमा शिक्षार्थीको तहनोन्नति गरिन्थ्यो। सीपमूलक शिक्षाका लागि व्यावहारिक प्रयोगात्मक शिक्षा दिइन्थ्यो। धनुर्वेद, आयुर्वेद, योग साधना र शिल्प सम्बन्धी शिक्षाका लागि पनि शिल्पहस्तद्वारा परीक्षण गरिन्थ्यो।

शास्त्र शिक्षण गर्दा गुरुले पहिले श्लोक वाचन गरेर सुनाउँथे। त्यसपछि शिक्षार्थी र गुरुले त्यो श्लोक सँगसँगै उच्चारण गर्दथे। छात्रहरूले यसलाई दिनभरिमा कण्ठस्थ गर्नुपर्दथ्यो। अब शिक्षार्थीले त्यो श्लोक स्वतन्त्र रूपमा कुनै पुस्तक नहेरी उच्चारण गरेर गुरुलाई सुनाउनुपर्दथ्यो। उच्चारण गर्दा श्लोकको गति, लय र शुद्धता सबै मिलाउनुपर्दथ्यो। अहिले पनि गुरुकुल विद्यालयहरूमा वेदवेदाङ्ग शास्त्र अध्यापनको शैली यही रहिआएको छ। पहिलो काम नै गुरुले भनेको सुन्ने र त्यसलाई मस्तिष्कमा राख्ने, कण्ठस्थ उच्चारण गर्ने गर्नुपर्छ। शिक्षार्थीले कण्ठस्थ गरी सुनाएपछि गुरुले पुन श्लोकको भाव/अर्थ बताउने, उपमाहरू प्रस्तुत गर्ने गर्दथे। यसलाई पुनः शिक्षार्थीहरूले गुरुले बताएको भावार्थलाई पछ्याउँदै आफ्नो तरिकाले भावार्थ बताउँथे। उपमाहरू जोड्ने र गुरुलाई सुनाउने गर्दथे।

उनीहरूले कण्ठस्थ गरी सुनाएको, शाब्दिक अर्थ, भावार्थ, उपमा चित्तबुझ्दो छ वा उपयुक्त छ भन्ने लागेमा मात्र गुरुले अर्को पाठ अगाडि बढाउने गर्दथे। शिक्षार्थीको श्लोक उच्चारण, अर्थ, भावार्थ व्याख्या चित्तबुझ्दो नभएमा पाठ अगाडि बढ्दैनथ्यो। गुरुले पटक–पटक त्यही पाठलाई दोहोर्‍याइदिन्थे। गुरु नमूनाको रूपमा प्रस्तुत हुन्थे। सबैले गुरुले गरेको नमूनालाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्दथ्यो।

आयुर्वेद र धनुर्वेद तथा सीपयुक्त कला शिक्षणमा पनि त्यही कुरा लागू हुन्थ्यो। गुरुको स्थान सर्वोपरि मानिन्थ्यो। गुरुसँगै बसेर, गुरुको सामीप्यतामा गुरुले गरेको नमूनालाई अभ्यासद्वारा उजिल्याउने कार्य चेलाले गर्नुपर्दथ्यो। शिष्यको क्षमता, अनुशासन, अभ्यास र कार्यशैलीलाई आधार मानेर स्तरोन्नति गुरुबाटै हुन्थ्यो। त्यस हिसाबले शिष्य गुरुप्रति पूर्ण उत्तरदायी हुन्थे। यी भए पूर्वीय गुरुकुल शिक्षण पद्धतिका कुरा। अलिकति पाश्चात्य शिक्षण पद्धतिका कुरा पनि गरौं।

क्रमिक सिकाइ स्थानान्तरणको सिद्धान्त

अलिकति अहिले अभ्यासमा आएको पश्चिमी शिक्षण पद्धतिका कुरा गर्दा उपयुक्त हुन्छ होला। पाश्चात्य शिक्षण पद्धतिमा पनि घुमीफिरी पूर्वीय गुरुकुलीय पद्धतिका तत्वहरू समावेश हुन थालेका छन्। पियर्सन र ग्यालेगरले सन् १९८३ मा एउटा अध्ययन मार्फत एउटा लेख प्रकाशन गरे। उनीहरूको लेखको मुख्य सार कक्षाकोठाको शिक्षण पद्धतिमा सुधार नै थियो। उनीहरूले असल शिक्षणमा विद्यार्थीलाई विस्तारै सिकाउँदै पूर्णतिर अगाडि बढाउनुपर्दछ भन्ने सिद्धान्त अगाडि ल्याए। यसैलाई क्रमिक सिकाइको सिद्धान्त भनियो।

यस शिक्षण विधिमा सिकाइ प्रक्रिया शिक्षकमा नै केन्द्रित रहन्छ। पहिलो शिक्षकले गर्ने नमूना प्रदर्शन गरेर देखाउने, सीप प्रदर्शन र अपनाउने रणनीतिले सिकारूको सिकाइको सुरूआत हुन्छ। त्यसपछि मात्र सिकारूले स्वतन्त्र रूपले गर्न सक्दछन्। विद्यार्थी विस्तारै अभ्यासद्वारा पूर्ण हुँदै जान्छन्।

त्यसका लागि उसले कति समय खर्च गर्‍यो भन्ने कुरा पनि साथै आउँछ। सिकाइ विद्यार्थीमा शिक्षकबाट नै प्रसारित भएर जान्छ भन्नु अत्युक्ति नहोला। त्यसलाई शिक्षार्थीले विभिन्न समय, परिवेश र अवस्थामा प्रयोग गर्न सक्दछ भन्ने थियो।

डोग्लस फिसर एण्ड न्यान्सी फ्रेले पनि क्रमिक सिकाइ स्थानान्तरणको ढाँचामा धेरै काम गरे र यसलाई शिक्षण सिकाइमा कसरी ल्याउन सकिन्छ भनी पुन: परीक्षण गरे। उनीहरूले प्रथमत: विद्यार्थीलाई केही कुराको पनि जानकारी हुँदैन। उनीहरू सबै कुरामा अनभिज्ञ हुन्छन्। यस अवस्थामा शिक्षकले नमूना गर्नुपर्दछ। उनीहरूले केवल हेर्छन्, सुन्छन् मात्र।

यस अवस्थामा उनीहरूको मस्तिष्क मात्र चलिरहेको हुन्छ। दोस्रो अवस्थामा उनीहरू सचेत रहन्छन्। सचेत रहेर शिक्षककै सहयोगमा केही गर्दछन् वा गर्ने कोशिश गर्छन्। तेस्रो अवस्थामा आइपुग्दा उनीहरू शिक्षकको निगरानीमा गर्न सक्छन्। उनीहरूलाई अझै शिक्षकको सहयोग आवश्यक पर्दछ। चौथो अवस्थामा स्वतन्त्र रूपमा गर्न सक्छन्। अब एउटा विषयवस्तुको सिकाइ वा कार्य सीप हासिलका लागि चार चरणमा शिक्षणलाई अगाडि बढाउनुपर्ने हुन्छ।

डोग्लस फिसर एण्ड न्यान्सी फ्रेले प्रतिपादन गरेको सिद्धान्त अनुसार शिक्षकले गरेर देखाउने नमूनालाई म गर्छु, सिकारू सँगसँगै शिक्षकले पनि गर्ने तहलाई हामी यो गरौं, यसैलाई दोहोर्‍याउँदै फेरि हामी गरौं, र सिकारूले शिक्षकको सहयोग विना नै स्वतन्त्र भएर आफैं गर्ने प्रक्रियालाई तिमी गर भनी छाडिदिनुपर्ने हुन्छ। फिसर र फेरेको सिकाइ हस्तान्तरणको नमूना ग्राफ अनुसार छ।

पुनर्व्याख्या खोजिरहेको गुरुकुलीय शिक्षण पद्धति 

अब कुरा आउँछ गुरुकुल पद्धति र क्रमिक सिकाइको सिद्धान्तमा के फरक छ ? गुरुकुलीय शिक्षण पद्धतिमा गुरुले पढेर वा गरेर नमूना प्रस्तुत गर्ने र शिष्यहरूले त्यसलाई ध्यान दिएर सुन्ने तथा हेर्ने विधि क्रमिक सिकाइको सिद्धान्तमा म गर्छु प्रणाली हो। त्यसैगरी गुरु र चेलाले एकै आवाजमा उच्चारण गर्ने वा भन्ने प्रणाली वा यदि सीप शिक्षणको क्रममा गुरु र चेलाले सँगसँगै अभ्यास गर्ने प्रणाली क्रमिक सिकाइको सिद्धान्तमा हामी गरौं विधि हो। अब गुरुलाई पाठ बुझाउने बेला शिष्यले स्वतन्त्र/मुखाग्री वाचन, व्याख्या वा सीपको प्रदर्शन गर्नु क्रमिक सिकाइको सिद्धान्त अनुसार तिमी गरको तह हो।

प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं। विदेशी प्रयोगलाई धेरै महत्व दिनाले हामी हिजो कुन अवस्थामा थियौं भन्ने बिर्सिएका छौं। पूर्वीय गुरुकुलीय शिक्षण प्रणालीमा हाम्रा पुर्खाले चार हजार वर्ष पहिले नै प्रयोगमा ल्याएको पद्धति अहिले विदेशीको भन्दै प्रयोग गरिरहेका छौं। गुरुकुलीय शिक्षण प्रणालीको आधुनिक वैचारिक परिवेशमा पुनर्व्याख्या आजको आवश्यकता भइसकेको छ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School