पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा


कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका विश्व अधिकारी कुनैबेलाका ट्रेकिङ गाइड हुन्। उनले पर्यटन क्षेत्रमा स्थापित हुनका लागि के चाँही गरेनन्, विदेशी पर्यटकलाई गाइड गरेर हिमाली डाँडाकाँडा उकाल्नेदेखि ट्रेकिङ सप सम्म खोल्ने, त्यसले पनि नपुगेपछि ट्रेकिङ कम्पनि नै चलाए। अझ पनि नपुगेपछि अधिकारीले होटल भाडामा लिएर संचालन गरे।  

तर, ती सबै प्रयासले अधिकारीलाई उभो लगाएन, बरु ओरालो लगायो। पर्यटन क्षेत्रमा स्थापित हुन अधिकारीले अनेक जुक्ति निकाले। तर, केही उपाय लागेन। त्यसैमाथि कोरोना भाइरस संक्रमणले अत्याएपछि त अधिकारीको व्यावसायमाथि झनै सकस थपिदियो।  

अधिकारीले आफुलाई पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा स्थापित गराउने प्रयास गरिरहँदा बुबा शिवलाल अधिकारीले अस्तामस्थित पूख्र्याैली जग्गालाई कुन तरहले उपयोग गर्ने भनेर सोचिसकेका थिए। छोराहरुले पोखरामा सकसपूर्ण तरिकाले व्यवासाय संचालन गरेको देखेका बुबाले २०६३ मा अस्तामस्थित गाउँमा होटलको जग हालेका थिए। सुरुमा २ वटा कोठा बनाएर आक्कलझुक्कल पर्यटकलाई गाउँ पुर्याउने प्रयास बुबाले थालेका थिए।

बुबाको गाउँ फर्काउने प्रयास र छोराहरुको पोखरामै जुध्ने संघर्ष चलिरहँदा कोरोना भाइरस संक्रमण थपियो, त्यसपछि छोरा विश्वले पोखरामा संचालन गरिरहेको सबै व्यवासाय चटक्क छाडेर पोखराबाट करिब १५ किलोमिटर परको अस्तामको पूर्ख्यौली गाउँ फर्किए। छोराहरु गाउँ फर्किदै गर्दा गाउँले पनि केही स्वरुप फेरिसकेको थियो। त्यसैमाथि शिक्षण पेशाका बुबाले छोराहरुलाई गाउँ फर्काउने प्रयास स्वरुप अस्ताममा अन्नपूर्ण इको भिलेजको नाममा रिसोर्ट संचालन गरेर पाहुना उकाल्न थालिसकेका थिए। बुबाको प्रयासमा छोराहरुले धेरथोर साथ त दिएका थिए, तर, पर्यटकीय क्षेत्र लेकसाइडको व्यावसायको बिट मार्न भने आँटेका थिएनन। तर, कोरोनाले भने उनीहरुलाई गाउँ फर्किन बाध्य बनायो।

बुबाको प्रयासले उकासिँदै गएको रिसोर्ट, सहरमा कोरोनाको त्रासले व्यावसाय जोखिम, भीडभाडबाट मुक्त गाउँको बसाइलाई पर्यटकले रोज्न थालेपछि पोखराको सबै व्यवासाय त्यागेर अधिकारीका तीनभाई अस्ताम फर्किएर हातमा हात मिलाउँदै व्यवासायलाई गति दिन थाले। त्यो बीचमा पूर्वाधार पनि बढाउँदै लगे। त्यत्ति मात्र नभई पर्यटकलाई आतिथ्यता दिन थाले। यतिसम्म की सुरुका केही वर्ष वर्ष त आफैले खाना पकाएर पाहुनालाई खुवाए।

‘म सकस र अभावले पर्यटनमा लागेको व्यक्ति हुँ। पर्यटनमा स्थापित हुनका लागि भएभरको प्रयास गरियो। तर, अन्तिममा आफ्नै जन्मथलोले पत्यायो। अरु सबैतिर असफल भइरहँदा गाउँमा स्थापित हुन सके,’  अधिकारीले भने, ‘अभावै अभावमा हुर्केको म एसएलसी पास भएपछि पदयात्रामा हिड्न थालेको थिए। सबैखालका प्रयास गरेको पनि हुँ। तर, अहिले फरक पहिचानसहित स्थापित हुन सकेका छौं। यसमा परिवारका सबैको मेहनत उत्तिकै छ।’

अधिकारीले आफुलाई पर्यटनमा स्थापित गर्नका लागि सन् १९९२ देखि ट्रेकिङ गाइडबाट पर्यटनमा पाइला चालेका थिए। सन् १९९४ मा पदयात्रा कम्पनि नै खोलेका थिए। त्यसपछि उनले १९९८ मा ट्रेकिङ सप पनि संचालन गरे। त्यसले पनि नथामेपछि अधिकारीले सन् २००० मा भाडामा लिएर पोखरा लेकसाइडमा होटल नै संचालन गरेका थिए।

पर्यटनमा लागेको सबै प्रयास असफल भएपछि गाउँ फर्केका अधिकारीले अहिले अन्नपूर्ण इको भिलेजलाई पर्यटन क्षेत्रमा स्थापित बनाएका छन्। अहिले रिसोर्टमा २३ वटा कोठा छन। कोठा बाहेक योगाहल सहितका पूर्वाधार बनाएका छन। केही पूर्ख्यौली र पछि थपेको समेत गरेर अहिले २५ रोपनी क्षेत्रफलमा उनले रिसोर्ट संचालन गरेका छन। रिसोर्टमा आफु सहित तीनजना दाजुभाई र परिवारका सबै सदस्य खटिन्छन।

‘अरु सहरतिर स्थापित भए, म भने गाउँ फर्किए। बुबाले गाउँमा रोप्नुभएको पर्यटनको विरुवालाई हुर्काउन थालेका हौ, अहिले बल्ल विरुवाले फल दिन थालेको छ। गाउँ फर्किनुपर्दा सुरुमा केही अप्ठेरो लागेको थियो। तर, अहिले पछुतो होईन, उत्साह जागेको छ,’ अधिकारी भन्छन।

‘हाम्रो खानामा बजारको जस्तो पालिस त लाग्दैन, तर, स्वास्थ्यका हिसाबले अरु भन्दा कमजोर रहँदैन, बरु अब्बल हुन्छ,’ उनी भन्छन, ‘घरको उत्पादनले नधानेमा गाउँलेसँग खरिद गरेर भएपनि सकेसम्म स्थानीय स्वाद नै चखाउँछौ।’  

अधिकारीका अनुसार गाउँको उक्त रिसोर्ट अहिले यतिसम्म स्थापित भएको छ की हत्तपत्ति पाहुनाको अभाव खेप्नुपर्दैन, बरु पाहुना नअट्दा फिर्ता पठाउँदै क्षमा माग्नुपर्छ। अधिकारीको रिसोर्टमा महिनौ बस्ने पाहुना समेत आउँछन। योगाका लागि आउने ती पाहुनालाई छोरा र भाईले नै योगा सिकाउँछन।  

‘उत्तरतिर फर्किदा माछापुच्छ्रे सहितको हिमाली श्रृंखला, र पूर्व फर्किदा पोखरा सहर सहित हेम्जाको बस्ती सहितको नागबेली राजमार्ग देख्न सकिन्छ,’ उनले भने, ‘सहरतिरको तातो र प्रदूषण सहितको कोलाहलबाट केही राहत खोज्ने पाहुनाका लागि अहिले अन्नपूर्ण इको भिलेज गजबको गन्तव्य बनेको छ। रिसोर्टको एकैठाउँबाट दायाँबायाँ फर्किएर हेर्दा फरक फरक र लोभलाग्दो दृष्य देख्न सकिन्छ। त्यही दृष्यले धेरैको मन जितेको हो।’ यतिबेला सहरमा तातोको हपक्कले पोलिरहँदा अस्तामको उक्त डाँडाको रिसोर्टमा बस्ने पाहुनाले पंखा समेत खोज्नुनपर्ने उनले सुनाए। 

पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा

अधिकारीले अहिलेसम्म रिसोर्टमा करिब २५ करोड रुपैयाँ समेत लगानी गरिसकेका छन। अझै केही वातावरणमैत्री कोठा थप्ने सुरमा उनी छन। आफु र अरु दुई भाई समेत त्यही रिसोर्टमा काममा खटिन्छन। एकजना भाई योगामा खटिन्छन भने सिंगापुरबाट हस्पिटालिटी म्यानेजमेन्टमा मास्र्टर्स गरेर फर्केका भाई पनि यसैमा लागिपरेका छन।  

अधिकारी ब्रदर्शले संचालन गरेको यो रिसोर्टलाई सजाउने पाहुनाको स्वागतमा उनीहरु आफै खटिन्छन। त्यत्ति मात्र नभई खानपिनका लागि आवश्यक तरकारी र केही खाद्यान्नको जोहो पनि आफैले गर्छन। रिसोर्टमा भित्रिएका पाहुनालाई स्वागतार्थ पिलाउने चियादेखि खाना खाजासम्मका लागि स्थानीय उत्पादनलाई नै उनीहरुले प्राथमिकता दिने गरेका छन। सकेसम्म सहरीया खानाबाट रिसोर्टलाई टाढा राख्ने प्रयास गरेको उनीहरुको भनाई छ।  

अर्का भाइ पूर्णप्रसाद अधिकारी, जो सिंगापुरमा हस्पिटालिटी म्यानेजमेन्ट पढेर गाउँ फर्केका छन, रिसोर्टको खानाको गुणस्तर मापनको जिम्मा उनैले लिएका छन। उनका अनुसार रिसोर्टका लागि चाहिने खाद्यान्न, तरकारी र फलफूल सबै स्थानीय उत्पादनले त धान्दैन। तर, अधिकांश खाद्यान्न र तरकारी भने उनीहरुले गाउँकै उत्पादन खुवाउँछन। यतिसम्मकी रिसोर्टको वरिपरिको बारीमा सदावहार तरकारी रोप्छन। मौसम अनुसार उत्पादित तरकारीले रिसोर्टका लागि आवश्यक मागको धेरै अंश ओगट्टछ।

पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा

‘हाम्रो खानामा बजारको जस्तो पालिस त लाग्दैन, तर, स्वास्थ्यका हिसाबले अरु भन्दा कमजोर रहँदैन, बरु अब्बल हुन्छ,’ उनी भन्छन, ‘घरको उत्पादनले नधानेमा गाउँलेसँग खरिद गरेर भएपनि सकेसम्म स्थानीय स्वाद नै चखाउँछौ।’  

अर्का भाई बेदनिधी अधिकारीले रिसोर्टमा आएका गुरुमार्फत योगा सिके। अहिले आफैले पाहुनालाई योगा गराउँछन। ‘प्रकृतिसँग संवाद गर्दै योगा गर्न पाइने भएकोले होला, योगाको कोर्ष पुरा गर्ने गरि लामो समय बस्ने पाहुना पर्याप्त हुन्छन,’ उनले भने, ‘त्यसले गर्दा पनि सिजनको बेला आएजतिका सबै पाहुनालाई आतिथ्यता दिन सकिन्न।’

पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा

उनीहरुका अनुसार रिसोर्टका पाहुना विदेशी त छँदैछन, आन्तरिक पाहुनाको पनि उत्तिकै भीड हुन्छ। यातायातको सहज पहुँच, सुन्दर दृष्य, अनि हिउँदको बेला देखिने हिमाली श्रृंखलाको लोभलाग्दो दृष्य तथा वर्षायामको सितलताबाट लोभिएरै पाहुना अस्ताम पुग्ने गर्छन।  

‘वर्षायाम भएकोले यो बेला विदेशी पाहुना केही कम भएपनि आन्तरिक पाहुनाले साथ दिएका छन। व्यवासाय धान्न समस्या छैन। बरु सबै पाहुनालाई आतिथ्यता दिन नसक्दा दुख लाग्छ,’ संचालक विश्व भन्छन, ‘आन्तरिक पाहुनाले पनि ठूलो साथ दिएका छन। सहरको दिक्कलाग्दो बसोबासबाट एकरातका लागि भएपनि मुक्त हुन खोज्ने पाहुनाको गतिलो गन्तव्य अहिले अस्ताम बनेको छ ।’ सहरतिर बेलाबेला पाहुना अभाव हुँदा गाउँको उक्त रिसोर्टमा माग थेग्न मुस्किल हुने उनले बताए।

अन्नपूर्ण इको भिलेजले पर्यटनमा फड्को मार्न थालेपछि अहिले गाउँका अरु स्थानीयले पनि गाउँमै रिसोर्ट, होमस्टे, संचालन गर्न थालेका छन्। ‘अन्नपूर्ण क्षेत्रको प्रवेशमार्गमा पर्ने धम्पुस हुँदै पदयात्रामा जाने पाहुनाले पनि यही बाटो रोज्न थालेका छन। पर्यटनमा सिंगो गाउँ नै चलायमान बन्दै गएको छ,’ अस्तामकै अर्का पर्यटन व्यावासायी झवि अधिकारी भन्छन, ‘सिंगो गाउँ नै पर्यटनमय हुने अवस्था छ।’

प्रकाशित: १० श्रावण २०८२ १८:०५ शनिबार





Source link

Leave a Comment