नेपाली साहित्यिक फाँटमा समयसापेक्ष हलोले सामाजिक विकृति, विसङ्गति, बेथिति, ढिलासुस्ती आदि बाँझो फोर्दै स्वच्छ भावना, उम्दा विचार, सकारात्मक सोचको खेती गर्दै सामाजिक सचेतनाको जग बलियो बनाउँदै आएका कर्मठ तथा इमानदार स्रष्टा हुन् काभ्रेपलाञ्चोक जिल्लाको प्राचीन तथा ऐतिहासिक नगरी पनौतीका सूर्यप्रसाद लाकोजू। आफ्नो झण्डै अठ्चालीस वर्षको जीवनमा आफूले अनेक गोडमेल मलजल गरी फुलाएका सैंतीस कृतिका फूलमध्ये ‘घामको पर्खाल’ उनको सैतीऔँं पुष्प हो। साहित्यलाई नै आराध्यदेव मान्दै आएका लाकोजू राष्ट्रियता, देशभक्ति, विकृति, विसङ्गति, बेथिति, ढिलासुस्ती, आर्थिक अनियमितता, भ्रष्टाचार, अन्याय, सामाजिक भेदभाव धर्म, संस्कृति, कला, जीवनी, नियात्रा, बालसाहित्य जस्ता अनेकौं विषय र विद्यामा अवछिन्न कलम चलाउने बहुमुखी प्रतिभाका कलमदास हुन्।
कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ कवितासङ्ग्रहमा छन्दमङ्ग र छन्दोवद्ध गरी अठ्चालीस कविता सङ्ग्रहित छन्। ‘घामको पर्खाल’ को शाब्दिक अर्थ खोज्नतिर लागे निश्चय पनि अलमलमा पर्छौ। साङ्केतिक प्रतीकात्मक वा लाक्षणिक अर्थ पर्गेल्नेले भने यसको अत्यन्त सशक्त्त अर्थ पाउन सक्छौ। घाम–उज्यालो, पर्खाल–छेकवार। अब प्रश्न उठ्छ घामको पनि कहीँ पर्खाल हुन्छ? अरूले थाहा पाउन कठिन परे पनि कवि लाकोजू योसँग भलिभाँती परिचित छन्।
घाम र त्यसको पर्खाल प्रकृतिको नियमित आकस्मिकताबाट बाहिर छैन। पर्खाल भन्नेबित्तिकै बाधा, अड्चन, अवरोध, अज्ञान, परस्पर विरोध, रोक्ने, छेक्ने आदि भन्ने बुझिन्छ।
त्यस्तै घामको पर्याय पनिः उज्यालो, प्रकाश, ज्ञान, सकारात्मक भावना जस्ता अनेक हुन सक्छन्। संसारमा निर्वाध कोही छैन, केही छैन। निष्कन्टक निर्धक्क पनि कोही छैन। अनुशासन र कर्तव्यको पर्खालले नघेरेको कोही छैन। त्यसैले घाम र त्यसका पर्याय सबका अगाडि बाधाहरू छन्। सबैले ती विघ्नबाधाको सामना गर्नैपर्छ। त्यही त हो सङ्घर्ष। त्यही त हो परिस्थितिसँगको युद्ध।
यसरी अर्थको गुजुल्टो फुकाउँदै जाँदा हामी सबको बाटामा अनेक विघ्नबाधाका पर्खाल ठडिएकै पाउँछौँ। अँध्यारो घामको पर्खाल हो। उज्यालोको पर्खाल अँध्यारो हो। ज्ञानको पर्खाल अज्ञानता हो। दिनको पर्खाल रात हो। त्यस्तै उन्नतिको पर्खाल अवनति, प्रगतिको पर्खाल दुर्गति, समानताको पर्खाल असमानता, निर्भेदको पर्खाल भेदभाव।
घाम सत्वगुण र रजगुणको मिश्रित रूप हो भने त्यसको असीमित गति रोक्ने पर्खाल तमगुण हो। सत्ता, शक्ति, सम्पत्ति, सम्मान आदिले हात्ती मताइ बनेका नेताको अहंकार रोक्ने पर्खाल जनताको मत हो। पर्खाल विध्न बाधा मात्र नभई पदीय उन्मादको ढाल पनि हो। घामको अविरल गतिलाई रातको पर्खालले नरोके जीवन र जगतको अस्तित्व रहने थिएन।
आज घामरूपी सकारात्मक सोचविचार, भावना, व्यवहार आदिलाई राजनीतिरूपी पर्खालले छेकेका कारण नै उन्नति, प्रगति, अमनचैन आदि साराको गति मन्द भएको हो। प्रकृतिका पाँच तत्त्व आगो, पानी, माटो, वायु, प्रकाश (शब्द) मध्ये तेज तत्त्व वा अग्नितत्त्व वा ब्रह्माण्डकै सबैभन्दा ठूलो शक्ति विद्युतीय तत्त्व हो। यसले न्यानो दिने, प्राणीको शरीरलाई आवश्यक ताप दिने मात्र नभई पोल्ने काम पनि गर्दछ। त्यसैले यसलाई पनि रातको पर्खालले छेक्न आवश्यक छ।
हाम्रो सिङ्गो समाज नै विभिन्न पर्खालै पर्खालको घेराभित्र हुन्छ। कतै जातीय भेदभावको पर्खाल, कतै गरिबीको पर्खाल, कतै असमानताको पर्खाल, कतै अधिकारविहीनताको पर्खाल, विकासमा कमिसनको पर्खाल, न्यायमा दण्डहीनताको पर्खाल, प्रशासनमा पजनी र ढिलासुस्तीको पर्खाल, गरिबीमा शोषणको पर्खाल, शिक्षामा अव्यावहारिकताको पर्खाल।
यस्ता पर्खाल कति छन् कति, जता हे¥यो उतै पर्खाल। पर्खाल भत्किनेभन्दा पनि झन्झन् थपिँदै पो जान्छ। सकारात्मक पक्षका सबै विध्नबाधा पर्खाल नै हो। घाम सकारात्मक पक्ष भएकाले यसका पनि पर्खाल हुनु अस्वाभाविक होइन।
साँच्चै पुस्तकमा राखिने शीर्षक ‘घामको पर्खाल’ अनौठो मात्र नभई नौलो पनि हो। यस सन्दर्भ नेपाली २÷३ सय साहित्यकार एवम् कविका पुस्कहरूको शीर्षक खोज्दो ‘घाम’ बाट सुरु भएको शीर्षक ध्रुवचन्द्र गौतमको ‘घामको पइला’ विष्णुकुमारी वाइवा (पारिजात) को घामछाया र सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ अझ सूर्यप्रसाद लाकोजूका त एक मात्र नभई ‘घामको पर्खाल’ कवितासङ्ग्रह, ‘घामको चुम्बन’ कवितासङ्ग्रह, ‘मेरो घाम’ कवितासङ्ग्रह, ‘घामको फूल्ने याम’ कवितासङ्ग्रह र ‘घाम उदायो’ बालकवितासङ्ग्रह गरी पाँच पुस्तक प्रकाशित छन्। यसरी हेर्दा लाकोजू कलमदास मात्र नभई घामप्रिय पनि हुन्।
प्रसङ्ग बदल्ने क्रममा लाकोजूको ‘घामको पर्खाल’ भित्रका सम्पूर्ण सन्देशमूलक कविता सामाग्रीहरूको समष्ठिगत रुपमा ‘घामको पर्खाल’ भित्रका लाकोजू शीर्षकमा पुस्तकको परिचयात्मक चर्चा गर्नु यस लेखको उद्देश्य रहेको छ।
‘घामको पर्खाल’ कवितासङ्ग्रहमा कवि लाकोजू हाम्रो समाजमा विद्यमान अनेक भेदभावको विरोधमा देखिएका छन्। प्रकृतिले कसैमाथि कुनै पनि किसिमको भेदभाव राख्दैन। उसले सबैको समान अस्तित्वको कदर गर्छ तर त्यही प्रकृतिले नै उब्जाएको धरतीको सबैभन्दा बुद्धिमान प्राणी भएर पनि मानिस भने मानिसलाई नै विभेदको व्यूह रचेर छुवाछुत, पानी नचल्ने, तल्लो जात, स्त्रीपुरुष जस्ता टुक्रामा विभाजित गरी मानिसले मानिसकै हेला, तिरस्कार, अपमान, उचनिच यतिसम्म कि ज्यानै जोखिमको जालभित्र अल्झाएको छ।
समानता, समता, सहअस्तित्व, सदाचार, आदिको व्युत्पत्ति नभएसम्म समाज समान गतिमा गतिशील बन्न सक्दैन। आज जसले देशको विकास, राष्ट्रको उन्नति र जनताको अमन चैनको कसम खायो, आश्वासन बिछ्यायो, प्रण, प्रतिज्ञा र प्रतिबद्धता जनायो त्यसैले जनतालाई पिरोलेको छ, देशदोहन गरेको छ अनि राष्ट्रको हुर्मत लिएरो छ भन्ने तथ्यमाथि पनि प्रकाश पारिएको छ।
संसारमा जहिले पनि अन्धकार र प्रकाश बीच द्वन्द्व चलिरहेकै छ। नयाँ सोच, विचार, भावना, जोस, जाँगर, साहस, धारणा बोकेर झुल्कने पारिलो घामलाई पनि अकर्तव्यरूपी रातको पर्खालले छेकिदिन्छ। दिनका कल्पना अन्धकारको सपनामा बिलाउँछ। समाज जबसम्म अज्ञानताको अन्धकारमाथि ज्ञानको प्रकाशले जित्दैन तबसम्म समाजको गति रोकिन्छ भन्ने तथ्यतिर पनि कविको ध्यान पुगेको देखिन्छ।
हाम्रो समाजमा हुदाँ खानेका जीवनपथमा हुनेखाने पर्खाल बनी ठडिएको छ। अल्पसङ्ख्यक हुनेखानेले बहुसङ्ख्यक हुँदा खानेलाई सत्य, न्याय, धर्म, विकास र जीविकाको भुलभुलैमा भुलाएर आफ्नै स्वार्थको बाटो फराकिलो पार्दछन्। गरिबको गरिबीमाथि लात्ती बजार्छन्। गरिबकै उत्थानका नाममा अनेकौ वाद ल्याउँछन्, तन्त्र पल्टाउँछन्, व्यवस्था बदल्छन्, सत्ता बदल्छन् तर जे गरे पनि आफ्नो निहीत स्वार्थ पूर्तिका लागि मात्र गर्छन्।
आफ्नै मोजमस्ती, सत्ता, शक्ति, सम्पत्ति, सम्मान, पदपदक, पुरस्कार तथा पंजनीका लागि गर्छन् तर गरिबको गरिबी कुनै बदलाव आँउदैन जस्ताको तस्तै हुन्छ। समाजका जति पनि, निमुखा, गरिब, निरीह छन्। तिनीहरू जीवनभर हुनेखाने ठूला नेता र तिनका कार्यकर्ताहरूकै धाकरवाफ, शोषण, उँचोनिचो आदिको सिकार बनी तिनकै कठपुतली भएर बाँच्नुको कुनै विकल्प हुँदैन जस्तो जनविवशताको पनि कविले मार्मिक ढङ्गले उजागर गरेका छन्।
मानवीय जीवनमा असल मित्र भनेकै पति र पत्नी हुन्। पति पत्नीको समपर्णको संरक्षक हो भने पत्नी त्यागकी प्रतिमूर्ति हुन्। असल पति पत्नी जस्तोसुकै कठिन मार्गमा पनि सँगै हिँड्न तर्सँदैनन्। एक अर्काको अस्तित्वका निम्ति ज्यानको बाजी लगाउन कहिल्यै पछि पर्दैनन्। जस्तोसुकै अभावमा पनि भावकै व्यवहार गर्छन्। आफूले अनुभूत गरेका सबै दुःखकष्ट, पिरव्यथा, वेदनापीडा आदिलाई भित्रभित्रै लुकाएर पनि ओठमा प्रेमको हाँसो मुस्काइनै रहन्छन् भन्ने जस्तो आत्मीयको परिचय पनि कविले दिएका छन्।
देश, राष्ट्र र जनताको उज्ज्वल भविष्यको जिम्मेवारी बोके अगुवाहरू नै नमच्चिने पिङको सय झट्का भनेझैँ ठुलाठुला भाषणले ढ्वाङ फुक्छन्, प्रण, प्रतिज्ञा र प्रतिबद्धता जनाँउछन् तर कामका नाममा जनता होइन आफू मात्र बन्ने प्रयत्नमा लीन रहन्छन्। उनीहरू माथिको जनताको आशा, भरोसा र विश्वास जलेर खाक हुन्छ। आफ्ना नेताको सकारात्मक नियतमा नभई नियतिमा बाँच्नुपर्छ। हामीले देश, राष्ट्र र जनताको उज्यालो घामको वाहकका रूपमा छानेका प्रतिनिधिहरू नै विकासको बाटामा पर्खाल बनेपछि , जनताको सेवक नभई शासक बनेपछि विवशतापूर्वक सबै जनता उनको इसारामा मदारीले बाँदर नचाएझैँ, सपेराले सर्प खेलाएझैँ, कठपुतली नाचेझैँ नहुने कुरै आँउदैन भन्ने जस्ता विवशताको पनि कवि लाकोजूले पर्दाफास गरेका छन्।
जसरी ऋतु चक्रअनुसार वसन्तको आगमनलाई कठोर शिशिरको पर्खाल पार गर्नुपर्छ, वसन्तको आगमन पछि सारा प्रकृतिजगतमा नयाँ जीवनको थलानी भई भाग्य खुलेजस्तै हामीमा पनि भ्रमको पर्दा च्यातिएर ज्ञानको प्रव्युत्न भएपछि शिशिररूपी दुःखको सामना गर्नुपर्दैन भन्ने तथ्यलाई पनि कविले प्रष्ट पारेका छन्।
मानिसको सक्रियताको अविरल गति रोक्न निद्राको पर्खाल अपरिहार्य छ। त्यसैले निद्रा आरामको निश्चित अवधि हो त्यसपछि त ब्युँझनै पर्छ। ब्युँझनुको निद्रा भङ्ग हुनु मात्र नभई कुनै नयाँ रचनात्मक कार्ममा जुट्नु हो, सकारात्मक उपलब्धिको मार्ग तय गर्न क्रियाशील बन्नु हो, एक दुई होइन सबैजना आआफ्नो कर्तव्य पथमा व्यस्त हुनु हो। हामीले आफ्नो भाग्य आफैँ बनाउनुपर्छ, कसैले बनाइदिँदैन । बुद्धले ‘अप्पदीको भव’ भनेझैं आफ्नो प्रकाश आफैं बन्नुपर्छ। पखेटा नचलाई जुनकिरी पनि चम्कँदैन त्यसैले भाग्यशाली बन्न परिश्रमको मार्ग प्रशस्त पार्नै पर्छ।
आफू दुःख, कष्ट, पीडा, आदिमा छटपटिनु परे पनि त्यसको समाधान आफू स्वयमले गर्नुपर्छ, सङ्घर्षको मार्ग छाड्नु हुन्न। अरू न हाम्रो सुखमा हाँस्छन् न दुःखमा नै रुन्छन्। जे गर्नु छ आफैंले गर्नुपर्छ भन्ने जस्ता स्वावलम्बनका कुरा पनि कविले व्यक्त गरेका छन्।
यहाँ कसैको पीडामा कोही पीडित हुँदैन, दुःखमा कोही दुःखी हुँदैँन। यहाँ दयासिवाय माया दिन अन्याय सिवाय न्याय दिन कसैले जानेकै छैन। आँसु कमजोरीको परिचायक हो। त्यसलाई आफैंले सुधार्नुपर्छ। यहाँ आँसुको होइन मासुको मोल हुन्छ। बलेको आगो ताप्ने धेरै हुन्छन्। निभेको आगो ताप्ने औंलामा गने पनि पाइँदैन। आफ्नो दुःख कसैलाई देखाउनु व्यर्थ हुन्छ। त्यसैले विवशताको प्रदर्शन कदापि उचित हुँदैन जस्ता व्यवहारजन्य तथ्य कविले व्यक्त गरेका छन्।
जस्तोसुकै दुःखमा पनि सुखको अनुभव गर्न सिक्नुपर्छ, जस्तोसुकै अभावमा पनि भावको अनुभूति गर्न सक्नुपर्छ। आफूभन्दा माथिकोसँग होइन आफू समानसँग दौडिनुपर्छ। कहिल्यै निराशावादी होइन सधैँ आशावादी बन्नुपर्छ, जस्तोसुकै पीडा पनि लुकाएर ओठमा गुराँस फुलाउनुपर्छ।
हामीकहाँ पहिले नारायणहिटीका राजाले देश लुट्यो भन्थे अब सिंहदरबारका राजाहरूले गाउँगाउँ सिंहदरबार पु¥याएर सिङ्गो देश लुटिरहेछन्। चाचुचाको जाल बुन्दै सबैले आआफ्नो स्वार्थ पूरा गरिरहेका छन्।
जुन जोगी आए पनि कानै चिरेका भनेझैँ जुन राजा आए पनि जनताको सास्ती झन्झन् बढिरहेकै छ। वसन्तको आगमनपछि सम्पूर्ण प्रकृति जगतको अनुहार फेरिएझैँ हाम्रो जीवनमा पनि एक दिन बिहानीको सुनौलो घाम झुल्कने छ। हामी दयाको भिख होइन मायाको आलिङ्गनमा बेरिने छौँ भन्ने जस्ता आशावादीता पनि कविले कविता सङ्ग्रहमा व्यक्त गरेका छन्।
हामीसँग केही छैन, भन्ने निराशावादी नास्तिक हो। हामीसँग जे पनि छ। हाम्रा सेता हिमाल छन्। हरिया वन, पाखा, झरना तथा उर्वर फाँट छन् तर पनि हाम्रो मन सदा पीडाले पीडित छ। प्रकाशको मुहान हामी कहाँ भए पनि हामी अन्धकारमै छौँ । कला संस्कृति, प्राकृतिक सौन्दर्य , उपत्यका छन्। हामीमा अदम्य साहस छ अथक परिश्रम छ, अदम्य जोस जाँगर छ तर अरु देशसँग नमागी बाँच्न सक्दैनौँ। अवसरको अभावमाहामी सब बेकार छौँ। आफ्नो श्रममाथि श्रद्धा र विश्वास राख्ने राष्ट्रवादी नेता कोही छैन जस्ता खेद पनि कविले प्रकट गरेका छन्।
हाम्रो श्रमले उर्लँदो बजारभाउ छुन सकेको छैन। बजार सधैँ महँगिदै छ तर हाम्रो श्रमको मूल्य सदा खस्कँदो छ। हामी सधैँ राजनैतिक चक्रव्यूहमा महाभारत कथाका अभिमन्यूजस्तै बाहिर निस्कनै नसक्ने गरी फसेका छौँ। हामीकहाँ जहिले पनि सत्यलाई असत्यको पर्खालले छेकेको छ। सत्य भित्रभित्रै गुम्से पनि असत्यको पर्खाल फोरेर बाहिर निस्कँन सक्दैन। यहाँ बलेको आगो ताप्नेको बाहुल्य छ। निमुखा निरीह, गरिब, दुःखी, पीडितहरूको लाज ढाक्ने सम्मको साधन छैन, पेटको आगो निभाउँने उर्जा छैन, ओत लाग्ने छहारी छैन। जीवनको गति सहज बनाउने कुनै साहारा छैन। जो पनि बलेकै आगो ताप्छन्। कसैले कसैलाई मुखले सिवाय कामले सहयोग गर्दैनन्।
आज सिङ्गो समाज ठूलाबडा, ठालू, धनीमानी, राजा, मन्त्री, नेता र तिनका कार्यकर्ता जस्ता देशको उडुस र उपियाँहरूको गाथा गाउने बेला छैन। देश, राष्ट्र र जनताका लागि छाती फर्काएर देशको सपना पूरा गर्नुपर्छ। आज हामीकहाँ कोही वेदनाले व्याकुल भई रोइरहेछन्। कोही वैभवले लादिएर हाँसिरहेको छ। कोही अभावले छट्पटिरहेका छन्। कोही भावले मात्तिएका छन्।
कतै विरहको स्वर गुञ्जिरहेको छ। देश र जनताका हितका लागि आएको गणतन्त्रमा जनता नेताका कठपुतली भई नाचिरहेका छन्। देशको मालिक जनता हुन् भनिए तापनि राजनीतिक व्यूहभित्र सबैले दासत्वबोध गर्नुपरेकै छ। यहाँ जे बोल्छन् त्यो गर्दैनन्, जे गर्छन् त्यो बोल्दैनन्। गराई र भलाई बिच कुनै तालमेल नै छैन। देश कुनै राजनैतिक वाद र नीतिले होइन सत्ताधारीको नियतले चलेको छ। तिनका आश्वासन डुबे। प्रतिज्ञा चर्के। प्रतिबद्धता विलाए। वाचा, कसम तुहिए। देश भ्रष्टाचार, राजनैतिक प्रतिशोध, बदला र स्वार्थमा डुबेर गन्हाएको छ। जस्तोसुकै विसङ्गति, विकृति, बेथिति जस्ता नकारात्मकतालाई आँखाले देखे पनि मन थामेर बस्नुपर्छ।
आफ्ना परिचय, पहिचान, बिसर्जन गरी खोक्रो मानसिकता बोकेर इज्जत कमाउनु के कमाउनु? जसलाई पनि आफ्नै धरती प्यारो हुन्छ। आफ्नै मौलिकता प्यारो हुन्छ। आफ्नैपन, परिचय, पहिचान, परिवेश र स्वाभिमान प्यारो हुन्छ। विदेशी सपनामा होइन स्वदेशी विपना नै रमाउन मन लाग्छ। एक पाइला पनि आफ्नै देशको माटामा हिँड्न मन लाग्छ। आफ्नै मित्र परिवारजनसँग हातेमालो गरी हाँसेर बाँच्न मन लाग्छ। यदि हाम्रा प्रतिनिधिहरू आलुबारीमा ठ्डयाएको बुख्याचा जति मात्र इमान्दर र कर्तव्यपरायण भैदिए पनि त्यसलाई हामी भाग्यको सङ्केत मान्थ्यौँ तर त्यो पनि भएन भन्ने जस्ता मर्मस्पर्शी धारणाहरू कविको कवितासङ्ग्रहमा पाइन्छन्।
ज्यादै सोझो हुनुभन्दा टेढिनु छ फलाधिक भने कवि शिरोमणि लेखनाथ पौड्यालको भनाइझैँ आज सोझो भएर बाँच्न गाह्रो छ। सोझालाई सबैले हेप्छन्। सोझाकै शोषण गर्छन्। सोझा जनावरकै बलि दिइन्छ। बलिया बदमास, गुन्डाहरूसँग जो पनि डराउँछन्। जहाँ विश्वासमा अविश्वासको पर्खालले छेक्छ, त्यहाँ सबै कुरा भएर पनि नभएझैँ भान हुन्छ भन्दै समाजका बहुसङ्ख्यक सिधासिधा जनताको जीवनप्रति आह प्रकट गर्दछन्। बाहिरी होलीले त बाहिरी शरीर मात्र रङ्गाँउने हो भित्री मन रङ्गाउँन त प्रेमको रङ लिएको होली चाहिन्छ। भित्री मन रङ्गिनु भनेको सोच, विचार र भावनात्मक स्वच्छता हो। त्यो प्रेमको रङले मात्र हुन सक्छ। सत्ता शक्ति, सम्पति नाशिए खासै फरक पर्दैन, तर आफ्नो जन्मदिने आमा नहुनु सर्वस्व गुम्नु हो भने मातृस्नेहको अभिव्यक्ति पनि कविका कवितासङ्ग्रहभित्र पाइन्छ।
मानिसले सबै कुरा भरे पनि कहिल्यै नभरिने भाँडो उसको पेट हो। त्यो पेट भर्न धनभन्दा पनि धान नै चाहिन्छ। जस्को आफूसँग केही छैन जहिले पनि अरूकै खटनपटन, दया र इसारामा चल्नुपर्छ, शरीर आफ्नो भए पनि सास अरुले नै फेरिदिनुपर्छ। त्यसले के अहङ्कार गर्नु? जन्मदैमा त्यो छोरा वा छोरी नै हुँदैँन। आकार मात्रले केही गर्दैन। जे गर्छ त्यो ज्ञान, बुद्धि, विवेक, क्षमताले गर्छ। सङ्घर्षले नै उसले आफूलाई चिनाउनुपर्छ, सङ्घर्षकै पर्याय बन्न सक्नुपर्छ।
मानिसलाई सबैभन्दा मिठो भोक हो। भोकले नै मानिसलाई क्रियाशील बनाँउछ। भोकले नै मानिसले सङ्घर्षको बाटो समात्छ। समाजका हुनेखानेहरू भोकभन्दा पनि तृष्णाले पीडित हुन्छन्। तिनीहरू खानका निम्ति बाँच्छन् भने भोका, गरिब, दरिद्र आदि बाँच्नका निम्ति खान्छन्। मानिसको जिन्दगी एउटा जूवा हो। यस जूवामा अरू केही हारे पनि फरक पर्दैन तर विश्वासको हार हुन्छ भने त्यसपछि हार्न केही बाँकी रहँदैन भन्दै मानव जीवनमा विश्वासको ठूलो महङ्खव हुन्छ भन्ने अभिव्यक्ति पनि कवितासङ्ग्रहभित्र पाइन्छ।
मानव जीवन स्वयम्मा एउटा युद्ध हो। जन्मेदेखि नमरेसम्म मानिसको जीवन युद्धमै बित्छ। युद्ध जहिले हिम्मत, साहस, बुद्धि र विवेकले जितिन्छ। ठुलो उद्देश्यले जितिन्छ तर युद्ध जित्न प्रेरणाको स्रोत चाहिन्छ। काँधमा काँध मिलाउँने आत्मीय साथी चाहिन्छ। एकअर्कामा आत्मीयता नभए मानिस हुनुको कुनै अर्थ छैन। जहिले पनि एकअर्कासँग वैरभाव रहनु पाशविकता हो।
मानव जीवनमा दयाले होइन मायाले सर्वाधिक महत्त्व राख्छ। दुःखको अन्धकारबाट सुखको मार्ग भेट्न आत्मीय चाहिन्छ। दया करुणा सहानुभूति, कृपा, निगाह आदि सब दुःखका विवशता हुन् भने सुखमा पनि स्नेहको खाँचो पर्छ भन्ने सत्य विचार कविको कवितासङ्ग्रहमा पाइन्छ।
अहिले अग्रगामी विचार र यथास्थिति वादीका बिच वैचारिक द्वन्द्व चलिरहेको छ। जीवन मात्र सत्य होइन मरण पनि सत्य हो। आजको सत्य भोलि असत्य पनि हुन सक्छ। अज्ञानता सत्यको पर्खाल हो। असत्यको पर्खाल नभत्केसम्मको अवस्थालाई ज्ञान र विज्ञानबिचको सैद्धान्तिक, वैचारिक एवम् भावनात्मक द्वन्द्व बुझ्नुपर्छ। मानव जीवनमा पतिपत्नी बिचको विश्वास ज्यादै महत्त्वपूर्ण हुन्छ।
पतिपत्नीको सम्बन्धका बिचमा पनि अविश्वासको पर्खाल ठडिएको छ, आत्मीयमा धमिरो लागेको छ। परिवारको अनुहार हँसिलो पार्न हत्केलामा प्राणको बाजी लगाएर विदेशिएका कतिपय पति घर फर्केर आउनुभन्दा पहिले नै दाम्पत्य विश्वासले अनुहार फेरिसकेको घटना आज प्रशस्तै भेटिएका छन्। यो सरल एवम् आत्मीय दाम्पत्य जीवनमा ठूलो बिडम्बना हो भने तथ्य कविले उल्लेख गरेका छन्।
देश निमार्णको राजकीय प्रक्रिया अनुसार हरेका पाँच वर्षमा नेताहरूले जनतालाई अनेक प्रकारका, बाचाकसम, प्रण, प्रतिज्ञा, प्रतिवद्धताको रातो कार्पेट बिछ्याएर जनतासामु अनुनयविनय गर्दै भिख माग्छन्। चुनाव जितेपछि आफू मात्र बन्ने ध्याउन्नमा जनताको विश्वासलाई अरिङ्गाल पोलेझै पोलेर फेरि अर्काे चुनावमा जीतको भाका फेरेर आउने भरोसाले जनता पिरोलिन्छन्। जो छैन, जो कसै गरे पनि आफ्नो हुँदैन। त्यसका पछि लाग्नु व्यर्थ छ। सक्कली नचिनी हिरामा किरा देख्नेहरू मृगतृष्णा बोकेर जिन्दगीभर भौतारिइरहन्छन्।
हामी संसारको जहाँ गए पनि आफ्नो भूमिजस्तो प्यारो भूमि कतै पाइँदैन। नेपालजस्तो प्राकृतिक सौन्दर्यको खानी, अनेकतामा एकता भएको, सुन्दर पहाड, रमणीय हिमाल, सुन फल्ने फाँट, धार्मिक सहिष्णुता, वीरभूमि, झरना, छाँगा, छहरा, तालतलैया, वन जङ्गलले सजिएको भूस्वर्ग अन्त कही पाइँदैन। हामीले यसै भूमि स्वर्ग बनाउनुपर्छ, यहीको माटामा पसिना बगाउनुपर्छ, यही देशको रक्षा खातिर छातीलाई ढाल बनाएर रगत बगाउनुपर्छ। पूर्खाको सपना साकार पार्नुपर्छ भन्ने जस्ता देशप्रेमका अभिव्यक्ति कवितासङ्ग्रहमा छन्।
जहाँ बसे पनि आफूलाई आफ्नै घर प्यारो हुन्छ। आफ्नो घर भनेको मायाममता, आस्था र विश्वासको केन्द्र हो। आफ्नो घरलाई जति सिङ्गारे पनि चित्त बुझ्दैन। नेपाल गरिब नै गरिबले भरिएको धनी देश हो। नेपाली गरिब नै भए पनि अर्काको भारी बोक्छन्, नाङ्गा खुट्टालाई ढुङ्गामा ठेस्छन्, नाम्लाको पाताले तालु खुइल्याँउछन्, आधा पेट खाएर पनि कर्तव्य गर्न कहिल्यै चुक्दैनन्, स्वाभिमानी भई बाँच्छन् तर कसैका सामु भिख माग्दैनन् तर बिडम्बना हुने खाने, ठूला ठालु, नेता, कार्यकर्ता, साहुमहाजन साराको शोषणको तारो तिनै गरिब छन्, समानताको नाममा विभेदको सिकार तिनै छन्।
काम जनता गर्छन्, नाम नेताको चल्छ। हातका दश नङ्ग्रा खियाएर जनता काम गर्छन्, सुविधा, मिठो गाँस, न्यानो नाना, आलिसान आवास, आन, वान, सान सबै नेताकै किस्मतमा हुन्छ। जे भए पनि हामी आपसमा फुटेर सुखको अनुभूत गर्न सक्दैनौँ। मनमा, माया, स्नेह, आत्मीय सहयोग एक अर्कालाई बाँडेर मात्र हामी सुखी जीवनको कल्पना गर्न सक्छौँ।
‘नेपाल’ नाम लिँदा नै हाम्रो छाती, गर्वले फुल्छ, स्वाभिमानले माथि उठ्छ। नेपाली भन्नेबित्तिकै पारिवारिक मान हुन्छ। यहाँ के छैन? सबथोक छ। शिवको समाधि सगरमाथाबाट हमेशा अमृत धारा बगिरहेको छ। यहाँ गुराँस फुल्ने पाखा छन्, सुन फल्ने फाँट छन्। यहीँ बुद्धका शान्तिरूपी नयनदीप बलिरहेछन्। सीताको कान्ति, भृकुटीको त्याग चुलिएको छ। आकाशको कालो बादल देखेर मयुर नाच्छ। हिमालको काखमा डाँफे वेग मार्छ। आफ्नै सुगन्ध खोज्दैमा कस्तुरी व्यस्त छ। यो आकारले सानो भए पनि हिरामोती, आँखाको नानी जस्तै विशाल छ। तसर्थ हामी सबै नेपाली एकआपसमा फुटेर होइन जुटेर यस देशको मुहार फेर्नु छ। सानो, ठूलो, धनी, गरिब, छुत, अछुत जस्ता सामाजिक कालो दाग पुछेर एउटै मानवजातिलाई टल्काउनुपर्छ।
हामीले कुरा र भाषणले होइन सत्कर्मले देश सजाउनुपर्छ। आफ्नै जोस, जाँगर, सिप र पौरखले वैभव भित्र्याएर गुराँस हाँसेझैँ हाँस्नुछ। फूलजस्तै कोमल हृदय लिएर एकअर्कासँग प्रेमले अङ्कमाल गर्नुछ। अज्ञानताको पर्खाल फोरी ज्ञानको घाम झुल्काउनु छ। आकाश जस्तै फराकिलो छाती लिएर संसारको रङ्गमञ्चमा हामी देखिनु छ।
आज हाम्रो देश युवाविहीन बन्दै छ। दिदीबहिनीका दाजुभाइविहीन बन्दैछ। आफ्नो देशमा बाँच्ने आधार नपाएर नै विदेशिएका दाजुभाइका लागि दिदीबहिनी कल्पन्छन्, आमाबाबुको छाती भक्कानिन्छ। सिङ्गो देश निराश भई शून्यमा शेलाइरहन्छ। विवशताले गर्दा मनको नाता बिर्सेर धनको नाता जोड्न विदेश गएर अर्काको दास बन्नुपरेको छ।
देशको कुनै पनि नागरिकलाई आफ्नो देश छाड्नु रहर होइन बाध्यता हो। देशमा असल व्यवस्था र सरकार भए यस्तो अवस्था आँउने नै थिएन। त्यस्तै जहाँ शान्ति हुदैँन त्यहाँ सुख छैन। जहाँ सुख छैन त्यहाँ उन्नति छैन, न्याय छैन। देशमा अशान्ति बदेपछि हाम्रो गन्तव्य रोकिन्छ। पुर्खाको सपना मेटिन्छ। पाब्ला पिकासोका शान्तिका प्रतीक सेता परेवा अशान्ति बाजको पञ्जामा जकडिन्छ।
अशान्तिको अवस्था भन्नु नै देशमा ग्रहण लागेको अवस्था हो। त्यसैले नियतिले विदेशिएकाहरू फेरि फर्केर आफ्नै देशमा आउने शान्ति चाहिन्छ। विकासका पूर्वाधार बन्नुपर्छ। रोजगारी र अवसरका बाटा फराकिलो पार्नुपर्छ। अशान्तिको अवस्थामा न्याउलीको विरह मात्र सुनिन्छ। परेवाको पिरती देखिँदैन, ढुकुरका जोडीको उमङ्ग हराँउछ। आशाको दियो निभ्छ। त्यसैले सबैको चाहना शान्ति हो। अब फेरि कहिले पनि हाम्रो देशमा अशान्तिको कालो बादल नमडारियोस् जस्ता विशिष्ट भाव कवि लाकोजूको ‘घामको पर्खाल’ कवितासङ्ग्रहभित्र समेटिएका छन्।
लाकोजूका कविताहरू झन्झन् बढी परिस्कृत झन्झन् सशक्त, झन्झन् गहन सन्देशमूलक झन्झन् बढी प्रेरक बन्दै गएका छन्। भविष्यमा झनै उम्दा साहित्यले नेपाली साहित्य फाँट ढाकोस् यही शुभकामना छ।
