परम्परागत प्रविधिमा ध्यान दिने कि?


नेपालले विश्वको कूल क्षेत्रफलको जम्मा ०.०१ प्रतिशत भूभाग मात्र ओगटेको  छ। तथापि जैविक विविधताको दृष्टिले भने नेपाल सम्पन्न मुलुककै रूपमा चिनिन्छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वको २६ औं स्थानमा पर्दछ। त्यसो त तराईदेखि हिमाल र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको भौगोलिक बनावट, भू–स्वरूप तथा उचाइमा ठूलो अन्तर भएकाले पनि नेपाल जैविक विविधताको हिसावले सम्पन्न मुलुकको रूपमा चिनिन पुगेको हो। यसबाहेक पनि नेपाली किसानहरूले १,८०० भन्दा बढी जातका धान खेती गरेको पाइन्छ। तीमध्ये कतिपय त लोप पनि भइसकेको बताइन्छ। यसका साथै नेपालमा ७०० भन्दा बढी प्रजातिका जडीबुटीहरू आयुर्वेद तथा अन्य औषधोपचारमा प्रयोग हुँदै आएको देखिन्छ। यसबाहेक प्रशोधन तथा अन्य प्रयोजनका लागि थुप्रै कृषि तथा वनस्पतिहरूको प्रयोग हुँदै आएको पाइन्छ।

तथापि बढ्दो पश्चिमी रहनसहन र आधुनिकताको नाममा यस्ता जैविक विविधतासँग सम्बन्धित परम्परागत ज्ञान क्रमशः ओझेलमा पर्दै गएको महसुस हुन थालेको छ। यस्ता परम्परागत ज्ञान र प्रविधिको संरक्षण सम्वर्द्धनको कुरा छाडौं नयाँ पुस्ताले यस किसिमको ज्ञान र प्रविधिप्रति एक किसिमको नकारात्मक धारणा राख्ने गरेको पाइन्छ।

यसरी परम्परागत रूपमा  नै एक पुस्ताबाट अर्को पुस्ता गरी सर्दै आएका यस्ता परम्परागत ज्ञान र प्रविधिप्रति बढ्दै गएको नकारात्मक धारणाले हाम्रा स्थानीय जातका अन्नबाली, फलफूल, तरकारी तथा वस्तुभाउ हिजोआज नौलो र विकासे जाति प्रजातिले क्रमिक रूपमा लोप हुन थालेका छन्। यो ज्यादै दुखलाग्दो कुरा हो।

वास्तवमा भन्ने हो भने वर्तमान विश्व परिप्रेक्ष्यमा हाम्रो विकासको अधिकतम स्रोत भन्नु हाम्रो आफ्नो परम्परागत ज्ञान र प्रविधि नै हो। जस्तो कोदालोले काटेको घाउ घोडताप्रेको रस निचोर्दा ठीक हुन्छ भन्ने ज्ञान हाम्रो पुर्खाकै हो। शरीरलाई शीतल राख्न र स्मरण शक्ति बढाउन समेत यो जडीबुटी प्रयोग गरिन्छ अनि त्यस्ता जडीबुटीमा केके तत्त्व छन् भन्ने परीक्षण गरेपछि त्यसैको आधारमा आधुनिक खालका एलोपेथिक औषधि बनेका हुन्। घोडताप्रेको औषधियुक्त रसायन एसियाटिकोसाइट प्रयोग गरेर अहिले आधुनिक मलम, इन्जेक्सन आदिको नाममा युरोपियन बजारहरूमा समेत आउन थालेका छन्।

साँच्चै भन्ने हो भने आज जति पनि एलोपेथिक औषधिहरू बनेका छन् तीमध्ये धेरैजसो विभिन्न देशका परम्परागत औषधि उपचार गर्ने प्रविधि र जडीबुटीको आधारमा नै बनेका छन्। त्यति मात्र नभई कतिपय उन्नत कृषि विउवीजनको आविष्कार पनि परम्परागत ज्ञान र सीपमा आधारित हुन्छन्।

जस्तो हाम्रो क्षेत्र वरपर पाइने लुइँचेकै कुरा गरौ न। लुइँचे कुखुरा पाल्ने प्रचलन परम्परादेखि नै चलिआएको हो। यही परम्परा कालान्तरमा विकसित हुँदै गएर आज विश्वभरका मानिसले कुखुराको मासु र अण्डा खान पाएका हुन्। ती सबैको वंशाणुगत स्रोत लुइँचे हो।

यसरी परम्परागत ज्ञान र प्रविधिबाट नयाँनयाँ औषधि, नयाँ खाद्यवस्तु, नयाँ घरपालुवा पशुपंक्षी र तीसँग सम्बन्धित कतिपय नयाँ प्रविधिको आविष्कार हुन्छन्। कुरा यति मात्र हो कि त्यसबाट हामीले अधिकतम लाभ लिन सक्नुपर्दछ।

परम्परागत ज्ञानको कुरा गर्दा कुन च्याउ खान हुन्छ र कुन हुँदैन भन्ने कुरा यसै ज्ञानको आधारमा निर्धारण गरिएको हुन्छ। त्यस्तै कुन कन्दमूल खानुहुन्छ र त्यस्ता कन्दमूल कसरी खानुपर्छ भन्ने ज्ञान पनि हाम्रा पुर्खाले सिकाएर गएकै कारण अहिलेसम्म जीवित रहेको छ।

त्यस्तै घरछेउमा तुलसी रोप्ने कुरा पनि हाम्रै पुर्खाले आर्जेको ज्ञान हो। जुन वनस्पतिको बहुउपयोगिता अहिले वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ। हाम्रो पुर्खालाई तुलसीको उपयोगिताबारे धेरै अगाडिदेखि नै थाहा थियो। वैज्ञानिक अध्ययनअनुसन्धानबाट यसको पुष्टि त धेरै पछि मात्र भएको हो।

त्यस्तै विभिन्न प्रकारले माछा मार्ने सीप पनि परम्परागत रूपबाट नै सर्दै आएको ज्ञान र प्रविधि हो। त्यस्तै आफ्नो स्वास्थ्यस्थिति सन्तुलित तुल्याई राख्न चाहिने ध्यान, योग र प्राणायाम, वातावरण संरक्षण तथा नदी, कुवा, इनार, वनजंगल आदिको संरक्षण, सम्वर्द्धन अनि भिन्न प्रजातिका विरुवाका जात उत्पादन गर्दा चाहिने ज्ञान वा प्रविधि परम्परागत ज्ञानमै आधारित पाइन्छ। दुःखलाग्दो कुरा यस्तो महत्त्वपूर्ण प्रविधिको कुनै अभिलेख वा रेकर्ड  हुँदैन। न त यसको कुनै तस्वीर, फोटो वा स्वरांकन नै रेकर्ड गरिएको हुन्छ। एक पुस्ताबाट अर्को पुस्तामा अर्थात् जेनरेशन टु जेनरेशन मौखिक रूपमा वा व्यवहारिक क्रियाकलापको आधारमा मात्र हस्तान्तरण गरिँदै आएको हुन्छ।

नेपालमा खासगरी बढ्दो शहरीकरण, गाउँबाट शहरतिरको बसाइसराइ, वन तथा प्राकृतिक स्रोतमाथि भएको अनियन्त्रित दोहन जस्ता कारणले विद्यमान परम्परागत ज्ञान र प्रविधि क्रमिक रूपमा लोप हुँदै छ। यसले गर्दा परम्परागत ज्ञान र प्रविधि प्रयोगमा ल्याएर आफ्नो जीविकोपार्जन गर्ने समुदाय समेत संकटमा पर्न थालेका छन्। यसका साथै त्यस्ता ज्ञान र प्रविध हाम्रो आफ्नै हो भन्ने चिनारी पनि हराउन थालेको छ।

त्यसो त पश्चिमी रहनसहनको शैलीले गर्दा वर्तमान नयाँ पुस्ताका कतिपय शिक्षित युवायुवतीहरू आफ्नो परम्परागत इलम र पेशा चटक्कै छाडी अन्य पेशा वा व्यवसायतर्फ उन्मुख हुन थालेका छन्। जसले गर्दा हाम्रा कतिपय महत्त्वपूर्ण ज्ञान र प्रविधि क्रमशः लोप हुँदै छन्।

निश्चय पनि गाउँ नै गाउँले भरिएको र बहुसंख्यक जनता कृषिमा आस्रित रहेको हाम्रो जस्तो मुलुकमा परम्परागत ज्ञानको संरक्षण, सम्वर्द्धन र आधुनिकीकरणबाट नै जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्न जाने देखिन्छ। यसका साथै त्यस्ता परम्परागत ज्ञान र सीपहरूको उपयोगबाट स्थानीय जनता वा समुदायको जीविकोपार्जनमा टेवा पुग्नुका साथै आफ्नो मौलिक राष्ट्रिय पहिचान कायम राख्न पनि महत्त्वपूर्ण योगदान पुग्न जान्छ। त्यसकारण स्थानीय रूपमा उपलव्ध यस्ता प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग र सोसँग सम्बन्धित विभिन्न ज्ञान, प्रविधि र सीपको संरक्षण, सम्वर्द्धन र आधुनिकीकरणद्धारा कृषि तथा घरेलु उत्पादनमा अभिवृद्धि ल्याउनु वर्तमान सन्दर्भमा टड्कारो आवश्यकता देखिन्छ।

त्यति मात्र नभई नेपाल अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धिको सदस्य समेत भएको नाताले पनि जैविक विविधता संरक्षण, त्यसको दिगो उपयोग र त्यसबाट स्थानीय तहसम्म समुचित अवसर र फाइदा पुग्ने व्यवस्था जस्ता मूलभूत कुराबाट लाभ उठाउन सकिन्छ।

समग्रमा भन्नुपर्दा परम्परागत ज्ञान र प्रविधि लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ। त्यसो त हाम्रो प्राकृतिक तथा बौद्धिक सम्पदाको प्याटेन्ट राइट अरूले दावी गर्न नपावस् भन्न पनि त्यस्ता ज्ञान र प्रविधिको हक दावी लाग्ने अभिलेखीकरण हुनु अति नै जरुरी देखिन्छ। साथै यस किसिमको अभिलेखीकरणको माध्यमबाट एक ठाउँको परम्परागत ज्ञान र प्रविधि अरू समुदायमा लैजान पनि सहयोग मिल्दछ। यसबाट हाम्रो कृषि र घरेलु उत्पादनमा मौलिक र गुणात्मक अभिवृद्धि हुन गई स्थानीय समुदायलाई दूरगामी फाइदा पुग्नुका साथै नेपालका विभिन्न जिल्लामा हाल प्रमुख समस्याको रूपमा देखापरिरहेको खाद्य संकट र गरीवी निवारणमा समेत टेवा पुग्न जाने देखिन्छ।

प्रकाशित: २० फाल्गुन २०८२ १०:१८ बुधबार





Source link

Leave a Comment