प्रकाशित मिति : जेष्ठ ३, २०८२ शुक्रबार

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको न्यूयोर्क शाखाले आगामी मे १८, २०२५ आइतवारका दिन न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं सडक र म्याडिसन एभिन्यूमा “नेपाल डे परेड २०२५” को आयोजना गर्न लागेको छ।
यो कार्यक्रम नेपाली समुदायका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका सामु नेपाली कला, संस्कृति, पहिचान र गौरवलाई प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिँदैछ। यस परेडमा नेपालको विविध जातीयता, भेषभूषा, झण्डा, परम्परा, गीत, नृत्य प्रदर्शनी समावेश गरिनेछ। कार्यक्रमले विदेशमा रहेका नेपालीहरूको मनोबल उच्च पार्ने, एकताको सन्देश दिने, र नयाँ पुस्तालाई नेपाली सम्पदासँग परिचित गराउने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।
कार्यक्रमको सबै तयारी पूरा भएको बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित पत्रकार भेटघाटमा परेडकी कन्भेनर मनिता गुरुङले जानकारी दिइन् । परेड कार्यक्रममा नेपालका चर्चित कलाकारहरु दुर्गा गुरुङ, रामजी खाँड, स्टोरीटेलर साइग्रेस पोखरेलपनि सहभागी हुने तथा नेपालका पूर्वदेखि पश्चिमसम्मका संस्कृति झल्काउने प्रस्तुती र झाँकीहरु रहने उल्लेख गर्दै कन्भेनर गुरुङले सबैलाई परेडमा सहभागी हुन आव्हान गरिन् ।
त्यस्तै नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिङ शेर्पाले नेपालपन झल्काउने परेडमा सहभागिताका लागि सबैलाई आव्हान गर्दै एकताको सन्देश प्रवाह गर्न आव्हान गरेका छन् । परेड सफल पार्नका लागि झण्डै २८ हजार डलरको स्पोन्सर र सहयोग प्राप्त भइसकेको नेपाल डे परेड २०२५ का वित्त संयोजक कृष्ण आचार्यले जानकारी दिए । सहयोगहरु आउने क्रम जारी रहेको उल्लेख गर्दै उनले सबै सहयोगदाता र स्पोन्सरहरुलाई धन्यवाद समेत दिएका छन् ।
एनआरएनए न्यूयोर्क शाखाले विगतमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको भए तापनि “नेपाल डे परेड” बिस्तारै एउटा चिनारीमूलक वार्षिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको परेडलाई अझ भव्य र समावेशी बनाउने योजना गरिएको छ। कार्यक्रमको सुरुवात बिहान ११ बजेदेखि हुने र विभिन्न सांगीतिक, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर चल्नेछन्। परेडमा सहभागी हुनेहरूको लागि नेपाली भेषभूषामा सजिन प्रोत्साहन गरिएको छ, ताकि नेपाली संस्कृति र परम्पराको गौरव सम्पूर्ण न्यूयोर्क शहरमा उजागर गर्न सकियोस्।
यस परेडमा न्यूयोर्क तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी, कलाकार, विद्यार्थी, बालबालिका तथा विभिन्न पेशामा आबद्ध नेपालीहरू सहभागी हुनेछन्। कार्यक्रमले नेपाली समुदायको एकता, सहकार्य र संस्कृतिप्रतिको प्रेमलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
“नेपाल डे परेड २०२५” लाई सफल बनाउन तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ। नेपाली समुदायले प्रवासमा रहँदासमेत आफ्नो पहिचान जोगाउने, भाषा र संस्कृतिप्रतिको गर्व अभिव्यक्त गर्ने र भावी पुस्तामा पनि नेपालीपन हस्तान्तरण गर्ने प्रयासस्वरूप यो परेड एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

