प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार

तस्वीर : आइस
डोनाल्ड ट्रम्पका कडा नीतिका हिमायती सीमा प्रमुख टम होमानले न्यूयोर्क सिटीमा ठुलो सङ्ख्यामा अध्यागमन एजेन्टहरू परिचालन गर्ने चेतावनी पुनः दोहोर्याएका छन्। ट्रम्प प्रशासनले आफ्नो विवादास्पद आप्रवासन कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता जनाएसँगै यो चेतावनी आएको हो।
सोमबार अन्तर्वार्ता दिँदै होमानले न्यूयोर्कमा आइसको अपरेसन विस्तार गर्ने योजनाको समीक्षा गरिसकेको र सहरमा तपाईँले अहिलेसम्म देख्नुभएको भन्दा बढी आइस एजेन्टहरू परिचालन गरिने बताए।
होमानले न्यूयोर्ककी गभर्नर क्याथी होचुललाई दिएको वचन पूरा गर्न लागेको दाबी गरे। न्यूयोर्कका जेलहरूमा स्थानीय सुरक्षा निकायले सङ्घीय अध्यागमन अधिकारीहरूलाई सहयोग गर्न नपाउने गरी राज्यले कानुन पारित गरेमा आफूले आइसको उपस्थिति बढाउने बाचा गभर्नरसँग गरेको उनले उल्लेख गरे। गभर्नर होचुलले गत महिनाको अन्त्यमा उक्त विधेयकमा हस्ताक्षर गरी कानुनको रूप दिएकी थिइन्।
मैले उनलाई बाचा गरेको थिएँ: तपाईँले न्यूयोर्क सिटीमा अहिलेसम्मकै धेरै आइस एजेन्टहरू देख्नुहुनेछ, र त्यो समय आउँदैछ,होमानले भने, मैले भर्खरै एउटा कार्ययोजनाको समीक्षा गरेको छु।
होमानले न्यूयोर्कका साथै डेमोक्र्याटहरूद्वारा सञ्चालित अन्य शरणार्थी मैत्री सहरहरूमा पनि थप एजेन्टहरू पठाउने धम्की पटक-पटक दिँदै आएका छन्, जहाँ स्थानीय निकाय र सङ्घीय अध्यागमन अधिकारीहरूबीचको सहयोग सीमित पारिएको छ। यद्यपि, न्यूयोर्कमा यस्तो कदम अझै पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको भने छैन।
होमानको यो पछिल्लो चेतावनी यस्तो समयमा आएको छ, जब एनबीए फाइनलमा न्यूयोर्क निक्सको जित मनाउन र नजिकैको न्युजर्सीमा आयोजना हुन लागेको फिफा विश्वकप फाइनलका लागि लाखौँ मानिस यस क्षेत्रमा ओइरिने अपेक्षा गरिएको छ।
विश्वकपका लागि अमेरिका भ्रमण गर्ने अनुमानित १ करोड पर्यटकहरूका लागि आप्रवासी अधिकारवादीहरूले यात्रा चेतावनी जारी गरेका छन्। वर्तमान राजनीतिक वातावरणमा उनीहरूले अधिकारको गम्भीर उल्लङ्घन भोग्नुपर्ने, जसमा मनपरी ढङ्गले प्रवेश निषेध, पक्राउ, हिरासत वा देश निकालाको जोखिम हुन सक्ने अधिकारवादीहरूको भनाइ छ।
यस वर्ष मात्र आइसको हिरासतमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ। गत जनवरीमा मिनियापोलिसमा भएको एक कडा कारबाहीका क्रममा अध्यागमन अधिकारीहरूले केही हप्ताको अन्तरालमै रेने निकोल गुड र एलेक्स प्रेट्टी नामका दुई अमेरिकी नागरिकको ज्यान लिएका थिए।
न्यूयोर्क सिटीका मेयर जोहरान मामदानीले यस विषयमा टिप्पणी गर्दै भने,आप्रवासीहरू बिना फुटबलको अस्तित्व नै सम्भव छैन। आप्रवासीहरू नै यो खेल खेल्छन्, कोचिङ गर्छन्, रङ्गशालामा काम गर्छन् र प्यारापिट भर्छन्। उनीहरूकै कारण विश्वकप जस्ता उत्सवहरू सम्भव भएका हुन्। अमेरिकी पुरुष राष्ट्रिय टोलीका ६ जना खेलाडी आफैँ आप्रवासी हुन्।
उनले थपे, हामी आइस वा अरू कसैलाई पनि हाम्रा समुदायमा त्रास फैलाउन दिने छैनौँ, विशेष गरी यो घडीमा। विश्वका मानिसहरू हाम्रो सहरमा आउँदै गर्दा हामी हाम्रा आप्रवासी छिमेकीहरूको साथमा गर्वका साथ उभिनेछौँ र यी आक्रमणहरूलाई हामीलाई विभाजित गर्ने प्रयासका रूपमा बुझेर अस्वीकार गर्नेछौँ।
