प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार

तस्वीर : रायन मर्फी/एपी-रासस
आइतबार राति (स्थानीय समयअनुसार) अमेरिकाको न्यूयोर्कस्थित लागार्डिया विमानस्थलमा अवतरण गर्दै गरेको एयर क्यानडा एक्सप्रेसको सीआरजे-९०० जेट विमान एक फायर ट्रकसँग ठोक्किएको छ।
उक्त घटनामा दुबै पाइलटको मृत्यु भएको छ भने दर्जनौं यात्रु र चालक दल घाइते भएका छन्। घटना पछि विमानस्थल बन्द गरिएको छ । विमान क्यानडाको मोंट्रियलबाट ७२ जना यात्रु र ४ जना चालक दलसहित उडिरहेको थियो।
न्यूयोर्क र न्यु जर्सी पोर्ट अथोरिटीकी कार्यकारी निर्देशक क्याथ्रिन गार्सियाका अनुसार ४१ जना घाइतेमध्ये ३२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ९ जना अझै “गम्भीर” घाइते अवस्थामा छन्। फायर ट्रकमा रहेका दुई अधिकारी पनि घाइते भए उनीहरु खतरामुक्त छन् ।
गार्सियाले फायर ट्रक अर्को युनाइटेड एयरलाइन्सको विमानमा गन्धको समस्या रिपोर्ट भएपछि त्यसको प्रतिक्रिया स्वरूप त्यहाँ पुगेको थियो। घटना समय एयर ट्राफिक कन्ट्रोल अडियो अनुसार फायर ट्रकलाई रनवे ४ क्रस गर्न अनुमति दिइएको थियो।
फ्लाइटराडार२४ अनुसार विमान लगभग २४ माइल प्रति घण्टा (३९ किलोमिटर प्रति घण्टा) गतिमा फायर ट्रकसँग ठोक्किएको थियो। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धानका लागि प्राविधिक विशेषज्ञ टोली पठाएको छ । यस्तै, अमेरिकी संघीय उड्डयन प्रशासनले विमानस्थल सोमबार दिउँसो २ बजेसम्म बन्द रहने जनाएको छ।