न्यूयोर्कको समुद्री किनारमा शार्कको आक्रमण, पौडी खेल्न अस्थायी प्रतिबन्ध



प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

न्यूयोर्कको समुद्री किनारमा शार्कको आक्रमण, पौडी खेल्न अस्थायी प्रतिबन्ध

न्युयोर्कको वान्टागस्थित जोन्स बीच स्टेट पार्कमा बिहीबार, जुलाई ६, २०२३ का दिन शार्कको निगरानी गर्ने क्रममा जेट स्की चलाउँदै लाइफगार्डहरू। फोटोः एपी /जोहन मिन्चिलो, फाइल,रासस

न्यूयोर्क शहरको एक समुद्री किनारमा पौडी खेलिरहेका एक व्यक्तिलाई शार्कले खुट्टामा टोकेपछि अधिकारीहरूले उक्त बीचलाई अस्थायी रूपमा बन्द गरेका छन्।

जोन्स बीच स्टेट पार्कको ‘फिल्ड ६’ मा पौडी खेल्ने क्रममा ती व्यक्तिको खुट्टामा गहिरो चोट लागेको न्यूयोर्क सिटी पार्क विभागले जनाएको छ। घटनास्थलमा खटिएका लाइफगार्डहरूले तत्कालै उनको उद्धार गरेका थिए र एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाएका थिए। उनको चोट ज्यान जाने खालको नभएको बताइएको छ।

उक्त घटनालगत्तै अधिकारीहरूले शार्क र अन्य खतरनाक समुद्री जीवहरूको खोजीका लागि पौडी खेल्न प्रतिबन्ध लगाएका थिए। करिब एक घण्टाको खोजीपछि कुनै पनि शार्क नभेटिएपछि पौडी खेल्न पुनः अनुमति दिइएको थियो, तर सुरक्षित रहनका लागि कम्मरसम्म मात्र पानीमा पस्न पाउने नियम लागू गरिएको छ।

यसअघि बिहीबार मात्रै क्विन्सको रकावे बीचमा पनि पटक-पटक शार्क देखिएका कारण बीचहरू केही समयका लागि बन्द गरिएका थिए। न्यूयोर्क सिटी आपतकालीन व्यवस्थापन विभागले पनि एक चेतावनी जारी गर्दै सर्वसाधारणलाई लाइफगार्डहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ।

पछिल्लो समय अमेरिकाको पूर्वी क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण समुद्री किनारहरूमा मानिसहरूको ठूलो भीड लाग्ने गरेको छ। प्रविधिको विकाससँगै अधिकारीहरूले शार्कको खोजीका लागि ड्रोनको प्रयोग बढाएका छन्, जसका कारण शार्क देखिने घटनाहरू पहिलेभन्दा बढी रेकर्ड हुन थालेका छन्।

यद्यपि, विज्ञहरूका अनुसार अमेरिकी तटीय क्षेत्रमा शार्कहरू सामान्य रूपमा पाइने भए तापनि मानिसलाई टोक्ने घटनाहरू भने निकै दुर्लभ हुन्छन्। फ्लोरिडा म्युजियम अफ नेचुरल हिस्ट्रीको शार्क अनुसन्धान कार्यक्रमका निर्देशक गेभिन नेलरका अनुसार विश्वभर वर्षमा ६० देखि ८० वटा मात्रै शार्क आक्रमणका घटना दर्ता हुने गर्छन्। एकै ठाउँ वा नजिकैको क्षेत्रमा दुई वा सोभन्दा बढी व्यक्तिलाई शार्कले टोक्ने सम्भावना एकदमै न्यून हुन्छ।





Source link

Leave a Comment