प्रकाशित मिति : ११ असार २०८३, बिहिबार

Photo: Michael Discenza/ Unsplash
न्यूयोर्कको इतिहासमै पहिलोपटक त्यहाँको ‘रेन्ट गाइडलाइन्स बोर्ड’ ले शहरका करिब १० लाख रैथाने तथा नियमन गरिएका अपार्टमेन्टहरूको एक-वर्षीय र दुई-वर्षीय दुवै बहाल अवधिका लागि भाडा वृद्धि नगर्ने पक्षमा ऐतिहासिक मतदान गरेको छ।
बिहीबार राति इस्ट हार्लेमस्थित ‘एल मुजियो डेल बारियो’ मा भाडावालाहरूको ठूलो उपस्थितिबीच बोर्डले ७-१ को बहुमतले यो निर्णय पारित गरेको हो। निर्णय सार्वजनिक भएसँगै त्यहाँ उपस्थित सर्वसाधारणले खुसीयाली मनाएका थिए।
लामो समयदेखि संघर्ष गरिरहेका स्थानीय भाडावाला लेक्स राउन्ट्रीले खुसी व्यक्त गर्दै भने, अब यो शहर धनीहरूको खेलमैदान मात्र रहेन। यो शहर यहाँका श्रमजीवी जनताको पनि हो जसले यसलाई चलाइरहेका छन्। वर्षौंदेखिको संघर्ष र गुजारा चलाउने पिरलोपछि अन्ततः हामीले यो सफलता पाएका छौँ।
बोर्डले यसअघि तीन पटकसम्म एक-वर्षीय बहाल अवधिमा भाडा बढाउन रोके पनि दुई-वर्षीय अवधिका लागि भने इतिहासमै पहिलोपटक यस्तो निर्णय गरेको हो। ‘टेनेन्ट ब्लक’ का सदस्य के. अग्बेबियीले यसलाई भाडावालाहरूको शक्तिको नयाँ युग भन्दै अब घरबेटीहरूको मनपरी अन्त्य भएको दाबी गरे।
यो निर्णयसँगै न्यूयोर्कका मेयर जोहरान माम्दानीको चुनावी प्रतिवद्धता पूरा भएको छ। ९ सदस्यीय यस बोर्डमा उनले नै आधा दर्जन सदस्यहरू नियुक्त गरेका थिए। मेयर माम्दानीले विज्ञप्ति जारी गर्दै भने, “यो न्यूयोर्कका भाडावालाहरूको ऐतिहासिक जित हो। बोर्डले स्थलगत तथ्याङ्क र जनताको आवाज सुनेर यो न्यायोचित निर्णय लिएको छ।
मेयरले घरबेटीहरूले यो आर्थिक भार थाम्न सक्ने दाबी गरे पनि घरबेटीहरूले भने यसको तीव्र विरोध गरेका छन्। इन्धन, तेल र बीमा जस्ता क्षेत्रमा लागत बढिरहेका बेला भाडा बढाउन नपाउँदा भवनहरूको मर्मतसम्भार गर्न कठिन हुने उनीहरूको तर्क छ।
घरबेटी हम्बर्टो लोपेसले भने, यो एउटा व्यवसाय हो, सित्तैमा समाजसेवा होइन। अब हामीले खर्च कटौती गर्नैपर्छ, जसका कारण भवनका सुपरभाइजर र कामदारहरूलाई कामबाट निकाल्नुपर्ने अवस्था आउनेछ।
त्यस्तै, ‘रियल इस्टेट बोर्ड अफ न्यूयोर्क’ का अध्यक्ष जेम्स ह्विलन र ‘न्यूयोर्क अपार्टमेन्ट एसोसिएसन’ का सीईओ केनी बर्गोसले यो निर्णय राजनीतिक रूपमा लोकप्रिय देखिए पनि यसले न्यूयोर्कको आवास संकटलाई झन् बिगार्ने र सर्वसाधारणको जीवनस्तर कमजोर बनाउने चेतावनी दिएका छन्।
यस मतदान प्रक्रिया निष्पक्ष नभएको भन्दै बिहीबार बिहान घरबेटीहरूको तर्फबाट बोर्डमा नियुक्त सदस्य क्रिस्टिना स्मिथले राजीनामा दिएकी थिइन्। उनले भनिन्, “यो बोर्ड अब तथ्यमा चल्न छाडिसक्यो, यो सबै नाटक मात्र थियो। निर्णय पहिले नै तय भइसकेको थियो।” यद्यपि, मेयर माम्दानीले भने बोर्ड पूर्ण रूपमा स्वतन्त्र रहेको दाबी गरिरहेका छन्।
पछिल्लो समय एडम्स प्रशासनको पालामा घरबेटीहरूको खुद सञ्चालन आम्दानी ३० प्रतिशतले बढ्दा भाडावालाहरूले १२ प्रतिशतसम्म भाडा वृद्धिको मार खेप्नुपरेको थियो। चर्को महँगी खेपिरहेका सर्वसाधारणले भने भाडा बढाउनुको साटो उल्टै घटाउनुपर्ने माग राख्दै आएका थिए।
