न्यूयोर्कको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न अदालतको आदेश



प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार


अमेरिकाको न्यूयोर्कमा रहेको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न संघीय न्यायाधीशले आदेश दिएका छन्। हिरासत अत्यन्तै फोहोर, दुर्गन्धित र भीडभाड भएको गुनासोका आधारमा संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई तत्काल सुधार गर्न आदेश दिएका हुन्।

न्यायाधीश लुइस ए. काप्लानले हिरासतमा रहेका आप्रवासीहरूको तर्फबाट दायर मुद्दामा अस्थायी प्रतिबन्ध आदेश जारी गर्दै अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा आइस लाई यो आदेश दिएका हुन्।

उनले २६ फेडरल प्लाजा भवनको ‘होल्ड रुम’ मा क्षमता सीमित गर्न, सरसफाइ कायम राख्न र सुत्नका लागि म्याट उपलब्ध गराउन निर्देशन दिएका छन्।

गत महिनामा कैदीहरूले खिचेको मोबाइल भिडियोमा चारवटा होल्ड रुममध्ये एउटामा करिब दुई दर्जन पुरुष भुइँमा थर्मल ब्ल्याङ्केट मात्र ओढेर सुतेको देखिएको थियो। उनीहरू म्याट वा गद्दाबिना नै सुतेको उक्त भिडियोमा देखिन्छ।

अदालतमा दायर कागजातअनुसार, कैदीहरूलाई साबुन, ब्रसजस्ता सरसफाइका सामान पनि दिइएको छैन। खुला शौचालयका कारण पसिना, पिसाब र दिसाको दुर्गन्ध उनीहरूले सहनुपर्थ्यो।

महिनावारी भएका महिलाहरूलाई आवश्यक सामग्रीको अभाव रहेको देखिएको छ। कसैलाई दुईवटा मात्र प्याड दिइएको र सबैले बाँडेर प्रयोग गर्नुपरेको कैदीहरूको गुनासो छ।

न्यायाधीश काप्लानले प्रत्येक व्यक्तिलाई ५० वर्गफुट स्थान उपलब्ध गराउन आदेश दिएका छन्। जसअनुसार सबैभन्दा ठूलो होल्ड रुमको क्षमता करिब १५ जनामा सीमित हुनेछ। अहिले त्यहाँ ४० भन्दा बढी बन्दी राखिएको छ।

उक्त भवनमा आप्रवासन अदालत र एफबीआईको न्युयोर्क फिल्ड अफिस पनि छन्। यो राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासनविरुद्धको कडा कारबाहीको केन्द्र बनेको छ।

न्यूयोर्कको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न अदालतको आदेश

न्यायाधीशले कोठाहरू दिनमा तीनपटक सफा गर्न, पर्याप्त सरसफाइका सामान उपलब्ध गराउन र वकिलसँग गोप्य फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएका छन्।

यो मुद्दा ‘मेक द रोड न्युयोर्क’, ‘न्युयोर्क सिभिल लिबर्टिज युनियन’ र ‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ ले दायर गरेका हुन्।





Source link

Leave a Comment