प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

Photo by Victor He
न्युयोर्क सिटी प्रहरीले सन् २०२६ को पहिलो पाँच महिनामा न्युयोर्कको इतिहासमै सबैभन्दा कम हत्या, गोलीकाण्ड र गोली प्रहारबाट घाइते हुने घटनाहरू रेकर्ड गरिएको जनाएको छ। प्रहरी कमिश्नर जेसिका एस टिसले सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार मे महिनामा मात्रै सहरभरको समग्र अपराध १०.६ प्रतिशतले घटेको छ।
न्युयोर्क प्रहरी तथ्याङ्क अनुसार यस वर्षको मे महिनासम्म हत्याका घटनाहरूमा २०.९ प्रतिशतले कमी आएको छ। गत वर्षको सोही अवधिमा १२९ वटा हत्या भएका थिए भने यस वर्ष १०२ वटा मात्र भएका छन्। यो न्युयोर्कको इतिहासमै पहिलो पाँच महिनाको सबैभन्दा न्यून संख्या हो, जसले यसअघि सन् २०१४ र २०१७ मा कायम भएको ११३ को रेकर्डलाई समेत तोडेको छ।
यसैगरी गोलीकाण्डका घटनाहरू ५.७ प्रतिशत अर्थात् २४७ घटना र गोली प्रहारबाट घाइते हुनेहरूको संख्या ७.१ प्रतिशत अर्थात् २८९ पीडितले कमी आएको छ। मे महिनामा मात्रै ९,६६२ वटा प्रमुख अपराधका घटना दर्ता भएका छन्, जुन गत वर्षको मे महिनाको १०,८०९ को तुलनामा १,१४७ ले कम हो।

न्युयोर्कका सार्वजनिक आवास क्षेत्रहरूमा पनि इतिहासकै सबैभन्दा सुरक्षित सुरुवात देखिएको छ। पाँच महिनाको अवधिमा सार्वजनिक आवास क्षेत्रमा हत्या ४६.७ प्रतिशत, गोलीकाण्ड २४.५ प्रतिशत र डकैती २४.३ प्रतिशतले घटेको छ। सबवे प्रणालीमा पनि मे महिनामा अपराध ६.५ प्रतिशतले घटेको छ र सो महिनाभर सबवेभित्र कुनै पनि गोलीकाण्ड वा गोली प्रहारका घटना भएका छैनन्।
अपराधका विभिन्न श्रेणीअनुसार मे २०२६ मा हत्यामा ४.५ प्रतिशतले सामान्य वृद्धि देखिएको छ भने जबरजस्ती करणीमा १०.४ प्रतिशतले कमी आएको छ। डकैतीमा १८.१ प्रतिशत, आक्रमणमा ०.४ प्रतिशत, चोरी तथा घरफोडमा १९.५ प्रतिशत, ठूलो चोरीमा १२.४ प्रतिशत र गाडी चोरीमा १३.० प्रतिशतले कमी आएको छ।
प्रहरी कमिश्नर जेसिका एस टिसले न्युयोर्क प्रहरी विभागले सर्वसाधारणलाई सुरक्षित राख्ने आफ्नो लक्ष्य सफलतापूर्वक पूरा गरिरहेको बताउनुभएको छ। उहाँका अनुसार हत्या र गोलीकाण्डमा ऐतिहासिक कमी, सबवे अपराधमा लगातारको गिरावट र सार्वजनिक आवास क्षेत्रमा देखिएको सुधारले न्युयोर्कवासीलाई प्रत्यक्ष लाभ पुगेको छ र प्रहरीले तथ्याङ्क तथा रणनीतिक योजना अनुसार हतियार र आपराधिक समूहविरुद्ध केन्द्रित रूपमा काम गरिरहेको छ।
अपराधका धेरै श्रेणी घटे पनि न्युयोर्कमा घृणाजन्य अपराध भने बढेको छ। मे २०२६ मा ६८ वटा घटना घृणाजन्य अपराधका रूपमा प्रमाणित भएका छन्, जुन गत वर्षको मे महिनाको ३९ घटनाको तुलनामा ७४.४ प्रतिशतले बढी हो।
प्रमाणित घटनामध्ये ६०.३ प्रतिशत अर्थात् ४१ वटा यहुदी विरोधी रहेका छन्। प्रहरी विभागले हालै सुरु गरेको ग्रीष्मकालीन हिंसा न्यूनीकरण योजनाअन्तर्गत ७२ वटा संवेदनशील क्षेत्रमा ३,८०० भन्दा बढी प्रहरी परिचालन गरी गस्ती तीव्र बनाएको जनाएको छ।
