प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको गहना पसलमा लुटपाट भएको छ । शुक्रबार साँझ उक्त लुटपाट भएको र घटनापछि लुटपाटमा संलग्न भएको आंशका गरिएका कालो कपडा लगाएका कम्तीमा तीन जना सेतो जिपमा भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ७४ स्ट्रीट ज्याक्सनहाइटमा रहेको एबीड ज्वेलर्समा उक्त घटना भएको हो ।
प्रहरीका अनुशार घटना बेलुका ६ बजेर २० मिनेटतिर भएको हो । अगाडिको झ्यालको सिसा तोडेर तीन जना अपरिचित व्यक्तिले जबरजस्ती पसलमा प्रवेश गरेका र उनीहरुले लगभग ८ लाख डलर मूल्यको गहना लुटपाट गरेको प्रहरीमा रिपोर्ट गरिएको प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।
त्यसपछि ती व्यक्तिहरू सेतो एसयूभीमा ७४ स्ट्रिटको पूर्वी भागमा भागेका थिए। एसयूभी ७२ स्ट्रीट र ३५ एभिन्यूमा खाली ठाउँमा बरामद गरिएको थियो। यस समयमा कुनै संदिग्ध विवरणहरू उपलब्ध नभएको र कोहीपनि पक्राउ नपरेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।
घटनापछि ठूलो संख्यामा प्रहरीको टोली एबीड ज्वेलर्समा पुगेको थियो । लुटेराहरुले हथौडाले पसलको सिसा तोडेर लुटेको प्रत्यक्षदर्शीले बताएका छन् । बेलुका अबेरसम्म घटनास्थलमा प्रहरीको टोली देखिएको थियो ।
ज्याक्सनहाइट र आसपासमा दक्षिण एसियालीबाट संचालित व्यवसायहरुमा लुटपाटका घटनामा बृद्धि भएको देखिएको छ । गतमार्चको अन्तिमसाता ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको थियो ।
पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको थियो । बेलुका साढे ८ बजे २ जना अज्ञात बन्दुकधारीहरु पसलभित्र पसेर लुटपाट गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको थियो ।
न्युयोर्कको ज्याक्सनहाइटमा यस अगाडि पनि नेपाली र नेपालीभाषीहरुका स्टोरहरुमा पटकटक लुटपाट हुने गरेको छ । यसअगाडि नै ज्याक्सनहाइटमा नै रहेको नेपालीको मोबाइल पसलमा समेत लुटपाट भएको थियो ।