न्युयोर्कका मेयर माम्दानीको निवासबाहिरबाट पक्राउ परेका दुई युवालाई हत्या अभियोग लगाइने



प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

न्युयोर्कका मेयर माम्दानीको निवासबाहिरबाट पक्राउ परेका दुई युवालाई हत्या अभियोग लगाइने

अमेरिकाको न्युयोर्कमा पक्राउ परेका दुई युवालाई हत्या अभियोग लगाइएको छ। न्युयोर्क सहरका मेयरको निवासबाहिर बम विस्फोट गराउने प्रयास गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई संघीय अभियोजकहरूले हत्याको अभियोग लगाएका हुन्। उनीहरूमाथि इस्लामिक स्टेट को नाममा दर्जनौँ मानिसको हत्या गर्ने योजना बनाएको आरोप लगाइएको छ।

अभियोगपत्रअनुसार १८ वर्षीय अमिर बालाट र १९ वर्षीय इब्राहिम कायुमीलाई न्युयोर्क सहरका मेयर जोहोरान माम्दानीको आधिकारिक निवास ‘ग्रेसी म्यान्सन’ बाहिर विस्फोट गराउने प्रयास गरेको आरोप लगाइएको हो। यो घटना मार्च ७ मा इस्लाम विरोधी प्रदर्शनका क्रममा भएको थियो। सौभाग्यवश, कुनै पनि बम विस्फोट भएन र कोही पनि घाइते भएनन्।

प्रहरीका अनुसार उनीहरूले सन् २०१३ को बोस्टन म्याराथन बम आक्रमणभन्दा पनि ठूलो हमला गर्ने योजना बनाएका थिए। उक्त हमलामा तीन जनाको मृत्यु भएको थियो।अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेको गाडीबाट एउटा नोटबुक, तीन दिनको ड्यासक्याम भिडियो तथा अडियो र थप एउटा बम फेला परेको थियो।

नोटबुकमा घरमै बनाइने बम तयार गर्ने र विस्फोट गराउने तरिकाबारे विस्तृत विवरण उल्लेख गरिएको थियो। साथै, उत्सव, परेड, प्रदर्शन वा अन्य भीडभाड हुने स्थानमा गाडी प्रयोग गरेर आक्रमण गर्ने वैकल्पिक योजना पनि समावेश गरिएको थियो।

ड्यासक्याम भिडियोमा उनीहरूबीच भएको कुराकानीसमेत रेकर्ड भएको छ। अभियोगपत्रअनुसार, उनीहरूमध्ये एकले ८ देखि १६ जनासम्म वा भीड बढी भएमा ३० देखि ६० जनासम्म मार्ने योजना बनाएको बताएका थिए।

गिरफ्तारीपछि दुवैले मौन रहने आफ्नो संवैधानिक अधिकार त्यागेका थिए। बालाटले कागजमा इस्लामिक स्टेटप्रति निष्ठा व्यक्त गर्दै गैर-इस्लामहरूलाई मार्न आह्वान गरेको बताइएको छ। कायुमीले पनि इस्लामिक स्टेटसँग सम्बन्धित सामग्री हेर्ने गरेको र त्यसबाट प्रेरित भएको स्वीकार गरेका छन्।

घटनाको भिडियो फुटेजमा एक जना संदिग्धलाई बम सल्काउने प्रयास गरेलगत्तै पक्राउ गरिएको देखिन्छ। तर, उक्त बम भने विस्फोट हुन सकेको देखिएन। उक्त समयमा मेयर माम्दानी र उनकी पत्नी घरमा नभएको सुरक्षा अधिकारीहरूले बताएका छन्।





Source link

Leave a Comment