न्याय अनुभूति


पुस्तक पढ्न त्यति जाँगरिलो मान्छे त होइन म। केही ऐतिहासिक, राजनीतिक, खोजमूलक एवं मन पर्ने व्यक्तिका संस्मरण पुस्तक भने बेलाबखत पढ्ने गर्छु। अनुपराज शर्मा मरो मन–मस्तिकमा आदरणीय छवि बनाउनुभएका एक असल तथा शालीन व्यक्तिले लेख्नुभएको ‘को अनुप?’ पुस्तकले आकर्षण नगर्ने त कुरै भएन।

ललितपुरको एक पुस्तक विमोचनमा शर्माले बोलाउनुभयो। विशेषगरी पूर्वप्रधानन्याधीशत्रय मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस्तक र शर्मासँगका अनुभव चर्चा गरेको सुन्न पाएँ, जुन पुस्तकमा भेटिँदैन। विविध क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको न्यायमूर्तिले खुलेर प्रशंसा गरे। अन्तिम वक्ता शर्मा थिए। पुस्तकमा जस्तो लेखन शैली छ, त्यही भाषामा सरल र वस्तुपरक छोटो सटिक मन्तव्य दिए।

पुस्तक विमोचनमा हात परे पनि पढ्ने समय जुरेको थिएन। जब पढ्न सुरु गरेँ, यसलाई छोड्न सकिनँ। लाग्छ, अनुप दाइसँग साक्षात्कार भइराखेको छ, राष्ट्रिय मानव अधिकार आयोगको कार्यकक्षमा मनग्य समय लिएर। उनका विगतका देखाइ, भोगाइ, विश्लेषण र अनुभूति सुन्दै छु।

बाल्यकाल, मामाघर, असन–इन्द्रचोकको लुकेका इतिहास, बाबाप्रतिको लगाव, आमा र दिदीको जेलयात्रा, कालो झन्डाको भित्री कथा ध्यानले सुन्दै छु। २०१७ साल पुस १ गतेपछिका राजनीतिक उतारचडाव, कृतघ्न शाहावंश, निरङ्कुश राजतन्त्र, जफत सम्पत्ति, काठमाडौं दशपुस्तेको डेरा बास, भारत उडिसा रैराखोल यात्रा, राइजिङ नेपालमा नपाएको जागिर, कानुनी लडाइँ, गणेशमानजीको बयान, चाख्सीबारीप्रतिको मोहभङ्ग, टुँडीखेलको अजङ्ग खरीबोटको इतिहासले थप रोचक बनाएको महसुस गरेँ।

२०४६ सालमा प्रजातन्त्र पुनरबहालीपछि कृष्णप्रसाद भट्टराई सरकारले संविधान जारी गर्‍यो। आमनिर्वाचनको तयारीमा शर्माका एक सेवाग्राहीको फोन संवादको सन्दर्भमा लेख्छन्– ‘यसैबिच मलाई त्यो डिस्टलेरी महाप्रबन्धक (एमडी) ले फोन गर्‍यो र भन्यो– ‘मैले गणेशमानजीलाई फोन गरेँ। अनुपले पाँच लाख रूपैयाँ लिएर आउँदै छ।

गणेशमानजीले सोध्नुभएछ ‘को अनुप ?’ भनेर। मलाई अति नै आश्चर्य लाग्यो। जुन व्यक्तिले एक दाम पनि नलिई सित्तैमा उहाँका मुद्दा जीवनभर लडिदियो, जो व्यक्तिको घरमा मर्निङवाक सिध्याएर प्रायः छिर्नुहुन्थ्यो, उही व्यक्ति को अनुप ? भयो। लौहपुरुषको यो चाला देखेर शर्मालाई चाक्सीबारी र नेपाली कांग्रेसप्रति वितृष्णा जाग्यो। उनलाई गहिरो चोट लाग्यो।’

दोस्रो आघातको घटना– आदर्श बाबा पिँडालीको पञ्चायतलाई समर्थन। प्रधानमन्त्री बिपी कोइरालाको स्वकीय सचिव र २०१७ सालपछि निर्वासन जीवनमा पार्टीको जुझारु कांग्रसी थिए उनी। २०२६ सालको आममाफीमा नेपाल फर्केपछि पनि रूपचन्द विष्टको कविता विमर्शमा छापेवापत थुनामा परेका राजनीतिक योद्धा कसरी निरङ्कुश शासनलाई समर्थन गर्न पुगे, बुझ्न सकेनन् शर्माले।

‘यो २०३० सालको कुरा हो, मेरो मन खिन्न भयो। मेरो मनमा अपराधको भावना नराम्ररी बस्यो। पञ्चायतलाई समर्थन नै गर्नु थियो भने किन पञ्चायतलाई यतिका वर्ष विरोध गर्दै विरोधीका रूपमा कार्य गरेको? बाबाको यो कदम मलाई एकदमै अवसरवादी लाग्यो,’ शर्माले लेखेका छन्।

२०१७ साल पुस २ गतेको बिहान जिपमा बसेर मार्सलजुलुम शाक्यले ‘प्रजातन्त्रका हत्यारा महेन्द्र मुर्दावाद !’ भन्दै असन इन्द्रचोकमा माइकिङ गर्दा पक्राउ परेको धेरैलाई थाहा छ। त्यही साल फागुन ७ गते ‘कालो झन्डा पर्व’ अनुपराज शर्मासमेत त्रिचन्द्र र पद्यकन्याका विद्यार्थीले गरेको कमैलाई ज्ञात छ। यसको योजना शर्माले तक्षबहाल, असन डेराको भान्छा कोठामा बनाएको बताएका छन्।

शैलजा आचार्य, विजया, कुन्दन (शर्माकी दिदी) र अरू दुईतीन जनाले कालो पछ्यौरी ओड्ने, ठिक साढे एघार बजे टुँडिखेलको खरीको बोटमा जुलुसमा सामेल भएर कालो झन्डा देखाउने र महेन्द्रविरुद्ध नारा लगाउने निर्णय भएको थियो।

योजनाबमोजिम जुुलुस राजा महेन्द्रको अघि पुगेपछि पद्यकन्याका चारपाँच जना छात्राले पछ्यौरी हटाई कालो झन्डा देखाएर ‘राजा महेन्द्र मर्दावाद !, प्रजातन्त्रका हत्यारा राजा मुर्दावाद !’ नारा लगाए। भागदौड मच्चियो। यस घटनापछि राजा भागेर दरबारतिर लागे। खरी रुखको मञ्च खाली भयो र त्यहीं पुनः भेला भई शर्मालगायतले भाषण गरे। तर भिडबाट चिरञ्जीवीदत्त तिवारीको समूहले ‘कांग्रेसी रन्डी मुर्दावाद !’को नारा लगाए। विडम्बना, बहुदल पुनर्वहालीपछि टिकट पाई तिनै तिवारीले चुनाव लडे। ‘हाम्रो राजनीतिक चरित्रको एउटा विद्रूप रूप थियो यो,’ शर्माको कथन छ।

आमा राजबाला शर्मा र मंगलादेवी सिंह ‘जनाना जेल’मा सँगै थिए। शर्मालाई गणेशमान सिंहको मुद्दा लड्न मङ्गलादेवीले भनेकी हुन्। करिब एघार वटा वारदातमा विशेष अदालतमा सरकारले मुद्दा चलायो। जनकमान श्रेष्ठ न्यायाधीश थिए। बयानमा गणेशमानले ‘राजाले भने’ भनेपछि न्यायाधीशले ‘हजुर यसमा श्री ५ बाट भनिबक्स्यो लेखौं?’ भनेर सोधे।

 ‘यो बयान मेरो कि तपाईंको?’ भनेर गणेशमानले प्रतिप्रश्न गरे। ‘यो बयान हजुरको हो’ न्यायाधीशको जवाफ आयो। त्यसपछि ‘त्यसो भए म जे भन्छु त्यही लेख्नुहोस्’ भनेको प्रसङ्ग रोचक छ। ‘लौहपुरुष उनी त्यसै भएका होइनन्,’ शर्माले देखाएका छन्।

मामा मधु शर्मासँग ल फर्म खोल्न तयारी छाडेर घिमिरे एन्ड कम्पनीमै बस्ने निधो जीवनको सबभन्दा ठुलो गल्ती भएको शर्माको भनाइ छ। ‘राइजिङ नेपाल’ अंगे्रजी पत्रिकामा जागिर पक्का भए पनि ‘अराष्ट्रिय तत्त्व’को छोरा भएबाट नपाएको (दरबारियाका दबाबमा) शर्माले लेखेका छन्। उनको यो घटना जीवनको अहम् घुम्ती बन्यो। उनले एक कुशल प्रधानन्यायाधीश र सफल आयोग अध्यक्ष भएर देखाए।

न्यायाधीशहरूले जीवनभर ‘श्रीमान्’ ‘श्रीमान्’ मात्र सुनेका हुन्छन्। आलोचना सुन्दैनन् र सहँदैनन् पनि। शर्मा रामाआको अध्यक्ष भएपछि एक स्वागत कार्यक्रममा मैले भनेँ– ‘तपाईं त श्रीमान्को सम्मान मात्र सुन्ने मान्छे, गाली खाने ठाउँमा आइपुग्नुभएको छ। कसरी झेल्नुहुन्छ ?’

जवाफमा उनले भने– म त तपाईंजस्तै नागरिक समाजबाट न्यायाधीश भएको व्यक्ति हुँ। म आत्तिने र भाग्ने मान्छे होइन।

शर्माको रामाआको कार्यकाल सहज थिएन। चारतिर फर्केका सदस्यको टिम थियो। कहिलेकाहीं त अध्यक्षलाई एक्लै पार्थे। प्रधानमन्त्री केपी शर्मा ओली आयोगलाई सरकारको पिछलग्गु बनाउन चाहन्थे। तथापि आयोगका सबै निर्णय एकमतले गराउन सके। नागरिक समाजको पूर्ण साथले सरकारको रणनीति फेल गराए। आयोगको गरिमा जोगाउन सफल भए। एक सफल अध्यक्ष बने।

म साहित्यकार होइन भने पनि नरेन्द्र प्रसाईंको ‘इन्ट्री’ले साहित्यमाथि उनको ज्ञानभण्डार खुलेको छ।  साहित्य र मानव अधिकारबिच अन्योन्याश्रित सम्बन्धको व्याख्या छ। नागरिक समाजको शिथिलता र विभाजनप्रति चिन्ता छ। गंगामाया (अधिकारी)ले न्याय नपाएको कारण यो पनि भएको ठहर छ। संक्रमणकालीन न्यायलाई सम्बोधन गर्नुपर्ने अपरिहार्यता र त्यसको निदानको पनि यस पुस्तकमा सुझाव छ।

यस पुस्तकको आवरणको सहिदगेट तस्बिरमा राजा त्रिभुवनको मूर्ति स्मृति न्यौपाने (जीवन न्यौपानेकी छोरी) बालशैली सिर्जनामा अटाएकी छन्। भोग विलासमा डुब्ने राजा त्रिभुवनको सालिक सहिदको शिरमा राख्न नहुने शर्माको भावनालाई कदर गरेकी छन्।

प्रसिद्ध साहित्यकारद्वय डा. अभि सुवेदी र कृष्ण धारावासीका पृथक् धारका दृष्टिकोणले पुस्तकको ओज बढाएको छ। जीवन न्यौपानेले पुस्तकको लेखनदेखि छपाइसम्मको यात्रा समेटेको शुभकामना सन्देशले ‘व्यक्ति शर्मा’लाई बुझ्न सजिलो बनाएको छ।

शर्मा लेख्छन्– विकास तलबाट आउँछ, भ्रष्टचार माथिबाट। त्यसैले माथि शुद्धीकरण भयो भने तल भ्रष्टाचार नै हुँदैन।  

प्रकाशित: ९ चैत्र २०८१ ०७:५५ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School