नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लेखकले नयाँ दिल्लीबाट उडेको जहाजले हिमालयको कञ्चन आकाशमा उड्ने अनुभव र लद्दाखको प्राकृतिक सौन्दर्य वर्णन गरे।
  • उहाँले भारत–पाकिस्तान युद्धको सम्भावना र विपश्यना ध्यान शिविरको अनुभव साझा गरे, साथै मानवता र दया सिकाउने शिक्षालाई जोड दिए।
  • लेखले जसस क्राइस्ट र बुद्धको जीवनकथा र दया, क्षमाका शिक्षालाई मुख्य विषय बनाएको छ।

नयाँ दिल्ली विमानस्थलबाट उडेको जहाज सिधै उत्तर हान्नियो । सुरूमा त प्रदूषणको बाक्लो तुँवालोका कारण टर्बुलेन्स आइरहेको थियो । तर, केही मिनेटमै जहाज हिमालय माथिको कञ्चन आकाशमा उड्न थाल्यो- पूरै स्थिर भएर ।

झ्यालको सिट रोजेको होइन, पाएको हो । झ्यालबाट तल चिहाउन खोजेँ, हामी हिउँको सेतो समुद्रमाथि उडिरहेका थियौँ । पश्चिमोत्तर भारतका फुच्चे हिमालहरू हिउँले पूरै ढाकिएका थिए- सेताम्य संसार । अनन्त सेतो सुन्दरता ।

मैले आफू उडिरहेको उचाइ सम्झिएँ । यसरी उचाइमा डर लाग्दा किन पैताला पोल्दो हो? अचम्म लाग्छ । तर,पैतालाको छटपटी मैले महसुस गरिरहेको थिएँ ।

एकैछिनमा जहाज यो सेतो मरूभूमि पार गरेर खैरो मरूभूमिमा प्रवेश गर्यो । एउटा विशाल नदीको उत्तरतर्फ फैलिएको सुन्दर तर मरूभूमिमय उपत्यका दृश्यमा देखा पर्यो ।

यो लद्दाखको राजधानी लेह उपत्यका थियो ।

यतिबेला भारत र पाकिस्तान सम्भावित युद्धको संघारमा थिए । जम्मु-काश्मिर प्रदेशको पहलगाममा आतंकवादीले एक नेपाली सहित २६ पर्यटकको हत्या गरेको एक साता पनि गुज्रिएको थिएन । समाचार, सामाजिक सञ्जाल सबै सम्भावित युद्धको आकांक्षामा उद्वेलित थिए । यसलाई हिन्दी टेलिभिजन र युट्युब च्यानलले यसरी अतिरञ्जित गरेका थिए कि मानौं केही बेरमा नै न्युक्लियर युद्ध सुरू हुँदै छ ।

लद्दाखको राजधानी लेह उपत्यका

बाहिर युद्धको बादल मडारिइरहेको बेला म आन्तरिक शान्ति खोज्न लद्दाख उडेको थिएँ । अप्रिल १ देखि १२ सम्म हुने विपश्यना ध्यान शिविरमा भाग लिन म यहाँ आएको थिएँ । विपश्यनाले अन्तर्मुखी भएर आफ्नो मनको बादल हटाउन सिकाउँछ। बौद्ध दर्शन र परम्परामा विकसित यो ध्यानविधिले शान्ति, दया र करूणाको पाठ पढाउँछ ।

२६ सय वर्षअघि बुद्धले विहार गरेको, दया र करूणाको ज्ञानले सिञ्चित गरेको यो भूमिमा मानिसहरू आज किन यति युद्धपिपाशु छन्? म अनुत्तरित छु ।

म चाहन्छु- ती हिन्दी च्यानलका प्रस्तोता-निर्माता तथा युट्युब च्यानलका प्रस्तोताहरूले विपश्यना गरून् । शान्तिको शक्ति थाहा पाऊन् । थाहा पाउन्- युद्धको व्यर्थता ।

लद्दाख मेरो लागि स्वप्न देश थियो । जहाजको टिकट किन्नु अघिसम्म पनि मलाई यति चाँडै म लद्दाख गइहाल्छु भन्ने थिएन । तर, जब दिल्लीबाट जहाज उड्यो- लद्दाख पुग्न कति पनि समय लागेन । लगभग डेढ घण्टामा म लद्दाख विमानस्थल आइपुगेको थिएँ ।

०००

लद्दाख यात्रामा मैले रूसी खोजयात्री तथा पत्रकार निकालस नोटोविचलाई सम्झिरहेको थिएँ ।

मभन्दा लगभग एक सय ३० वर्षअघि उनले लद्दाख यात्रा गरेका थिए । उनको समयमा यसरी जहाजमा उड्ने सुविधा थिएन । कतै रेल चढ्दै, कतै हिंड्दै, कतै घोडा चढ्दै यात्रा गरेका थिए । रूसबाट महिनौं लामो यात्रापछि मध्य एशियाली देशहरू, अफगानिस्तान, अनि वर्तमान पाकिस्तान पार गर्दै उनी लद्दाख आइपुगेका थिए । त्यो बेला पाकिस्तानको अवधारणा थिएन । त्यसैले उनी देशको नाम भन्दा अफगानिस्तानपछि सिन्ध र पन्जाब अनि काश्मिरको कुरा गर्छन् । अफगान यताको भूमि समग्रमा उनका लागि ‘इन्डिया’ हो ।

उनी पन्जाबबाट सिन्धु र यसका सहायक पछ्याउँदै काश्मिर पुगेका थिए । र, यहीँबाट लद्दाख गएका थिए । यो यात्राबारे उनले गरेको वर्णन रोमाञ्चक र दर्दनाक छ । अँध्यारोमा आँखैअघि चितुवाले भरिया खाएकोदेखि जंगलमा चितुवाको डरले रातभरी नसुती सेन्ट्री गरेका अनेक कहानी उनको किताबमा छन् ।

नोटोभिच सम्झिएपछि दुई हजार वर्ष पुरानो अर्को यात्रा सम्झिनुपर्ने हुन्छ ।

आजभन्दा दुई हजार वर्षअघि १३ वर्षे यहुदी ठिटो आत्मिक शान्तिको खोजीमा जेरूसलेम छोडेर हिंड्छ । यहुदी परम्परमा १३ वर्ष भएपछि मान्छे वयस्क हुन्छ । त्यसबेला १३ वर्षमा विवाह गरिदिने प्रचलन रहेछ । उसलाई विवाह गर्नु थिएन, उसलाई जीवनको गुह्य सत्य थाहा पाउनु थियो । दुःखबाट मुक्तिको मार्ग खोज्नु थियो ।

त्यसैले ऊ प्यालेस्टाइनको आफ्नो घरबाट निस्किन्छ र भारतीय व्यापारीहरूको पछिपछि पूर्वतिर लाग्छ । आत्मिक शान्तिको खोजीमा निस्किएको चिन्तनशील र करूण हृदयधारी त्यो युवक पनि बिस्तारै लद्दाख पुग्छ । तर, उसलाई लद्दाख पुग्न वर्षौं लागेको थियो ।

प्यालेस्टाइनबाट अरब, पर्सिया, सिन्ध हुँदै ऊ जैन धर्मको व्यापक प्रभाव रहेको वर्तमान गुजरात प्रदेश आइपुग्छ । यहाँबाट निरन्तर पूर्व यात्रा गरेर ऊ उडिसा पुग्छ र जगन्नाथ (पूरी)मा वेद तथा उपनिषदको शिक्षा लिन थाल्छ । वर्तमान उडिसमा पर्ने यो ठाउँ आज भन्दा दुई हजार वर्षअघि संस्कृत शिक्षाको प्रसिद्ध केन्द्र थियो । भारतका विभिन्न भागबाट मानिसहरू अध्ययनका लागि पुरी जान्थे ।

सम्भवत: त्यो यहुदी केटो त्यहाँ टुपी बाँधेर जनै भिरेर वेदका ऋचा र उपनिषदका श्लोक पाठ गर्दो हो । गुरूलाई बारम्बार अर्थ सोध्दो हो । बहस गर्दो हो ।

लेहको विमानस्थल बाहिर उभिएर म दुई हजार वर्षअघिको भारतमा यात्रा गर्नु कस्तो हुँदो हो भन्ने कल्पना गर्न थाल्छु ।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट
साँझको समयमा लेह उपत्यका

यतिबेलै एउटा लोकल बस आइपुग्यो । म हतारहतार त्यो बसमा उक्लिएँ । बस कता जान्छ, म कहाँ जानु पर्ने हो भन्ने केही थाहा थिएन । सँगैको सिटमा बसेकी रैथानी युवतीलाई सोधेँ – ये बस कहाँ तक जाएगा?

नेपालीले हिन्दी बोलेजस्तै सुनिने लद्दाखी लवजमा उनले जवाफ फर्काइन्- ये तो मेन मार्केट तक जाएगा । आपको कहाँ जाना है ?

उनको प्रश्नले मलाई रनभूल्ल बनायो । केहीबेर सोचमग्न भएँ अनि भने- पता नहीँ ।

ती युवती छक्क परिन् ।

म बसको अन्तिम बिसौनीमा उत्रिएँ । एकजना बुढी आमैको दोकानमा चिया पिएँ । नजिकै एउटा ठिकैको रेष्टुरेन्ट फेला पर्‍यो । त्यहाँ लगेर झोला बिसाएँ, अनि खाजा खाएँ ।

लद्दाख भारत भन्नु मात्रै- भारतकै फोन चल्दैन । यहाँका एयरटेल र बिएसएनएलको पोष्टपेड फोन मात्रै चल्ने रहेछ । मसँग भएको एयरटेल प्रिपेड यहाँ नेपालको नमस्ते सिम बराबर थियो ।

धन्न त्यही रेष्टुरेन्टमा भेटिए- नन्दी । नन्दी आफ्नो घर नेपाल बताउँछन् र हिन्दी मिसिएको लवजमा नेपाली पनि बोल्छन् । कुरा गर्दै जाँदा थाहा भयो, उनी उत्तराखण्डमै जन्मिहुर्किएका रहेछन् । बाबुआमाले पहिले नै नेपाल छोडेका रहेछन् ।

नन्दीले उनको मोबाइलबाट हटस्पट दिए, मोबाइलमा घोरिएर बास खोज्न थालेँ ।

पहिले गुगल म्यापमा लेह सरहको नक्सा हेर्न थालेँ । यो शहर हिमालयको उत्तरी पाटोमा, मानसरोवर नजिकैबाट उत्तरपश्चिम बग्दै आउने सिन्धु नदीको किनारमा बसेको विशाल उपत्यका रहेछ । यही सिन्धु नदी हो, जो ऋगवेदको रचनाकालदेखि आजसम्म सदैव चर्चामा छ । पहलगाम घटनापछि भारतले पाकिस्तानसँग सिन्धु पानी सम्झौता (इन्डस वाटर ट्रिटी) रद्द गरेपछि यो नदीको नाम अहिले चर्चामा छ ।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट
सिन्धु नदी

मलाई लेह शहरको केन्द्रमा भन्दा पनि अलि दक्षिणतिर गएर सिन्धु किनारमा बस्न मन लाग्यो । तर, सिन्धु नदी आसपास महँगा रिजोर्ट मात्रै थिए, यता शहरमा दुई-तीन सय रूपैयाँमा रात होस्टल उपलब्ध थिए । सिन्धु किनारका रिजोर्ट पाँच-छ हजारदेखि रातकै ४० हजारसम्म मूल्य देखाइरहेको थियो गुगलले ।

अन्तत: एउटा होमस्टेको नम्बरमा फोन लगाएँ ।

होमस्टे सञ्चालकले सोधे- हिमालयन होमस्टे तो लद्दाख के कइ जगह में हैं । आप कहाँ के लिए पुछ रहे हैं?

मैले लेहका लागि फोन गरेको बताएँ । उनले यो सिजनमा होमस्टे सुरू गरिनसकेको बताए । कुरा हुँदै जाँदा मैले त्यहाँबाट विपश्यना ध्यान केन्द्रको दुरी कति छ भनेर सोधेँ ।

‘यहाँबाट दुई तीन किलोमिटर मात्रै हो, तपाईं विपश्यनाका लागि आउनु भएको हो?’ उनको प्रश्न लद्दाखी हिन्दीमा नै थियो ।

जब उनले म विपश्यनाका लागि आएको भन्ने थाहा पाए, दिल खोलेर स्वागत गरे । उनले एक रातका लागि निशुल्क बास दिने भए । उनी आफैं पनि विपश्यना साधक मात्रै रहेनछन्, यहाँको विपश्यना ट्रस्टका ट्रस्टी समेत रहेछन् ।

उनको घर मेन मार्केटबाट लगभग ८ किलोमिटर टाढा रहेछ । त्यहाँसम्म जाने कसरी ?

योजना बनाउनु अघि मैले लेहको मेन मार्केट एक फेरो लगाएँ । अनि शहरमाथि भित्तामा रहेको शान्ति स्तुपा चढेर शहरको दृश्यावलोकन गरेँ । एउटा क्याफेको छतमा बसेर हिमशृङ्खलाको दृश्य हेर्दै कफी पिएँ । अनि, सामान राखेको अघिकै रेष्टुरेन्टमा पुगेँ ।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट
शान्ति स्तुपा

म जाम्पा (जहाँ मेरो बास तय थियो) जाने ट्याक्सीबारे सोध्दै थिएँ, रेष्टुरेन्टमा चिया पिइरहेकी युवतीले भनिन्, ‘जाम्पा तो बस जाता है, में भी उधर ही जा रही हुँ ।’

उनको पछिपछी लागेर म बसमा उक्लिएँ । उनी बाटोमा कतै ओर्लिइन् । अहिले सम्झिँदा लाग्छ- शिबु गाउँ आसपास उनी उत्रिएकी थिइन् । उत्रिँदै गर्दा भनिन्- अन्तिम स्टपमा ओर्लिनु ।

जाम्पा त पुगेँ तर होमस्टे पत्ता लगाउनु कसरी । सिन्धु नदीको पुल छेवैको चिया पसलमा छिरेँ र कालो चिया मगाएँ । चियासँगै हटस्पट मागेँ र होमस्टेका सञ्चालकलाई फोन गरेँ । उनी मलाई लिन त्यहीँ आइपुगे ।

उनले आफ्नो नाम दया बताए, यो बैंग्लोरमा पढ्दा गुरूजीले दिएको नाम थियो । उनलाई सबैले दया भनेर नै चिन्छन् । दयालु दयाको पारिवारिक नाम भने छेवाङ दोर्जे रहेछ ।

बेलुकी दयाको घरमा बास बसेर भोलिपल्ट म विपश्यना शिविरमा पुगेँ ।

हिमाञ्चलको प्रसिद्ध पर्यटकिय शहर मनालीबाट लेह आउने सडक दयाकै घर अगाडिबाट जान्छ । सायद नोटोविच आफ्नो यात्राको क्रममा यही बाटो घोडा चढेर गएका थिए होला ।

जुन बाटो नोटोविच लद्दाख आएका थिए- त्यो क्षेत्र अहिले सांकेतिक युद्धमा थियो । म विपश्यनामा रहेकै बेला भारत र पाकिस्तान दुवै देशले एकअर्काविरूद्ध सांकेतिक आक्रमण गरेर युद्धका लागि तयार रहेको संकेत दिएका रहेछन् । सीमा क्षेत्रमा मानिसहरू ज्यान कसरी जोगाउने भन्ने चिन्तामा रहँदा बाँकी भारतमा युद्ध उन्माद मडारिइरहेको थियो ।

एक सय ३० वर्ष अघि नोटोविच यो बाटो हिंड्दा भारत-पाकिस्तान दुश्मनी थिएन । उनका लागि सम्पूर्ण क्षेत्र भारत थियो । उनी रावलपिण्डीबाट काश्मिरतिर उक्लिन्छन् । त्यतिबेला काश्मिर आफ्नो पूर्णतामा थियो । अविभाजित । शान्त । खासमा उनी तिब्बत जाने सपना बोकेर हिंडेका थिए ।

झेलम नदीको किनाराको बाटो हुँदै उनी श्रीनगर आइपुग्छन् । त्यसपछि झोजि ला पार गरेर कार्गिल हुँदै लद्दाख आइपुग्छन् । लद्दाखमा एक लामाले उनलाई सुनाउँछन्- यहाँको कुनै गुम्बामा जिसस क्राइस्टको जीवनी लेखिएको किताब छ ।

एक ‘अर्थोडक्स’ क्रिश्चियनका लागि यो सूचनाले मनमा कुन सनसनी सिर्जना गर्यो होला- अनुमान मात्रै गर्न सकिन्छ । नोटोविच आफैंले पनि त्यो अनुभूतिलाई शब्दमा उतार्न सकेका थिएनन् ।

नोटोविच एकजना लामासँग संवादमा हुन्छन् । लामा उनलाई भनिरहेका हुन्छन्- ‘क्रिश्चियानिटी पनि बौद्ध शिक्षामा नै आधारित छ तर उनीहरूले अर्कै दलाई लामा खडा गरे र बौद्ध मार्गबाट अलग भए ।’

‘कुन अर्कै दलाई लामा ?’ चकित नोटोविच सोध्छन्, ‘हाम्रो त एक मात्र ‘परमेश्वरका पुत्र’ हुनुहुन्छ, जसलाई हामी प्रार्थना गर्छौं। हामी उहाँकै शरण लिन्छौं ताकि उहाँले हाम्रो तर्फबाट परमेश्वरसमक्ष मध्यस्थता गर्न सकून्।’

नोटोविचसँग उक्त लामाले भन्छ, ‘मैले उनको कुरा गरेको होइन, साहेब । तपाईंहरू जसलाई परमेश्वरको पुत्र भन्नु हुन्छ, उनलाई त हामी पनि श्रद्धा गर्छौं…।’ वास्तवमा जिससले बुद्धकै शिक्षा पश्चिमा दुनियाँमा फैलाएको ती लामाले बताउँछन् ।

यति सुनेपछि नोटोविचलाई थाहा हुन्छ, ती लामाले भनेका अर्कै दलाई लामा क्याथोलिक पोप रहेछन् । जब नोटोविचले उनलाई जिससबारे थप सोध्छन्, क्राइस्टको तारिफ गर्दै बिचमा ती लामा भन्छन्, ‘…उहाँको नाम र कर्मबारे हाम्रो किताबमा पनि लेखिएको छ…।’

जिसस क्राइस्टको काम र जीवनबारे लेखिएको बौद्ध पुस्तक ? नोटोविच पुस्तक खोज्न निस्किन्छन् ।

नेपाल र भारतका विभिन्न ठाउँमा विभिन्न समयमा लेखिएको यो पुस्तक ल्हासामा रहेको र त्यसको एउटा तिब्बती अनुवाद लद्दाखको एउटा गुम्बामा रहेको ती लामाले बताउँछन् ।

विपश्यना सकेपछि केही दिन लेह सहर आसपास घुमेर बित्यो । यहाँको मध्य एशियाली संग्राहलय, लेह दरबार, नामग्याल गुम्बा, शान्ति स्तुपा, नेजर गुम्बा र बुद्ध मुर्ति, ग्याङलेस गाउँ र गुम्बा, यिनै ठाउँहरू घुमेर केही दिन बित्यो ।

भारत-पाकिस्तान तनावका कारण हवाइ उडान बन्द भएकाले प्रायजसो विपश्यना साधकहरू लेहमै रोकिएका थिए । त्यसैले विपश्यना शिविरपछि उनीहरूसँगै घुम्ने र घुलमिल हुने अवसर मिलेको थियो । शिविर सकिँदा अमेरिकी दबावपछी भारत र पाकिस्तानले युद्धविराम गरिसकेका थिए । र, दुई दिनपछि विमानस्थल खुला भयो ।

केही साथीहरू बाइक भाडामा लिएर प्योङयोङ त्सो (ताल), त्सो मोरिरी, हान्ले घुम्न निस्किए । केही घर फर्किन थाले । म हेमिज गुम्बा जाने साथी खोजिरहेको थिएँ । हेमिज अदितिको पनि घुम्ने सूचीमा रहेछ ।

म बसेको होमस्टे अर्थात दयाको घर लेह शहरबाट ८ किलोमिटर टाढा छ । लेहबाट हेमिज जाने बाटो पनि यही हो । लगभग दश बजेतिर अदिति यहाँ आइपुगिन् । ट्याक्सी चालक मेत्ता यहीँ भेट भए, उनी मेरो साथी बनिसकेका थिए । मेत्ताको ट्याक्सीमा हामी शे, थिक्से, कारू हुँदै सिन्धु तरेर हेमिज गयौं । जहाँ एक सय ३० वर्षअघि नोटोविच पुगेका थिए ।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट
हेमिज गुम्बा

जिसस क्राइस्टको बारेमा लेखिएको किताब खोज्दै नोटोविच एउटा गुम्बामा जान्छन् । गुम्बाका लामाले उनलाई लेहबाट एक दिनको बाटो हिंडेपछि कठीन पहाडी चट्टानको बीचमा एउटा ठूलो गुम्बा रहेको र त्यस्तो किताब त्यहीँ हुनसक्ने बताउँछन् ।

नोटोविच लामाको सुझाव अनुसार त्यो गुम्बामा पुग्छन्, नोटोविच पुगेको गुम्बा यही हेमिज गुम्बा थियो ।

नोटोविच यहाँ आइपुग्दा लेहको जनसंख्या लगभग पाँच हजार रहेछ । अहिले डेढ लाख जति छ ।

वास्तवमा लेह मैले कल्पना गरेको भन्दा निकै ठूलो उपत्यका र शहर रहेछ । हिमाली क्षेत्रमा यति विशाल उपत्यका र यति विशाल शहर मैले कल्पना गरेको थिइनँ ।

लेह उपत्यकाको सुन्दरता शब्दातीत छ । म यी सीमायुक्त शब्दहरू प्रयोग गरेर अधुरो वर्णन गर्न चाहन्नँ । आँखाले जे देख्छ, मनले जे अनुभूत गर्छ, त्यो भाषामा उतार्न सकिन्नँ ।

बाटोमा म अदिति र मेत्तालाई जिसस नोटोविचको यही यात्राको वृत्तान्त सुनाइरहेको थिएँ र नोटोविचले यहाँ जिससबारे लेखिएको किताब फेला पारेका थिए भन्ने सुनाइरहेको थिएँ । यसले हाम्रो यात्रालाई थप रोमाञ्चक बनाएको थियो ।

वास्तवमा हेमिज नोटोविचले उल्लेख गरेजस्तै विशाल र पुरानो गुम्बा थियो । हेमिज लद्दाखको सबैभन्दा ठूलो गुम्बा पनि रहेछ । तिब्बती महायान बौद्ध परम्पराका विभिन्न सम्प्रदाय मध्ये यो गुम्बा ड्रुक्पा अर्थात ड्रागन सम्प्रदायको रहेछ ।

ड्रुक्पा सम्प्रदायका संस्थापक ग्याल्वाङ दोर्जे ड्रुक्पाका शिष्य तथा महान् योगी साङ्पा ग्यारे दोर्जीले १२औं शताब्दीमा यहाँको गुफामा आएर तपस्या गरेका थिए र त्यहाँ गुम्बा स्थापना गरेका थिए । पछि १६औं शताब्दीमा लद्दाखी राजा सेंगे नाम्ग्यालले गुफा भन्दा तल विशाल गुम्बा बनाउनुका साथै तिब्बतबाट लामा ताक्साङ रास्पा (जसलाई ताक्साङ शम्भुनाथ पनि भनेर चिनिन्छ) लाई बोलाए । गुम्बाको अधिकांश वर्तमान संरचना उनै नाम्ग्यालले बनाउन लगाएका हुन् ।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट
नाम्ग्याल गुफा

यहाँका भित्तामा असाध्यै सुन्दर चित्रहरू छन् तर गुम्बाभित्र तस्बिर र भिडियो खिच्न निषेधित रहेछ । म लामाहरूलाई ती चित्रहरूका अर्थ सोधिरहेको छु । डाकिनी, देवी आदिका विभिन्न मुद्राका चित्रहरू भित्तामा छन् भने शाक्यमुनि बुद्ध, गुरू पद्मसम्भव, प्रथम ड्रुक्पा ग्याल्वाङ दोर्जे लगायतका मुर्तिहरू राखिएका छन् । साथै यहाँको संग्राहलय पनि घुम्न योग्य छ ।

गुम्बा घुम्दै गर्दा लामा जिम्मी छोसाङसँग म गफ गर्दै थिएँ । उनका अनुसार यहाँ साढे तीन सय लामा बस्छन् ।

सायद सन् १८८८को कुनै दिन नोटोविच पनि यही गुम्बामा यसैगरी लामासँग कुरा गर्दै घुमिरहेका थिए होला ।

त्यहाँ पुगेर मूल लामालाई जिसस क्राइस्टबारे लेखिएको किताबबारे सोध्छन् । लामा प्रार्थनाको समय भयो भन्दै तर्किन्छन् ।

लामाहरू कम बोल्छन्, दोहोरो सवालजवाफ अझ गर्दैगर्दैनन् ।

यसपछि नोटोविच निराश भएर घोडा चढेर लेह तिर फर्किन्छन् । उनी यहाँबाट ल्हासा गएर जिससबारे लेखिएको पाण्डुलिपि खोज्ने सोच बनाएर निस्किएका हुन्छन् ।

कहिलेकाँही असाध्यै नराम्रो घटनाले पनि राम्रो परिणाम दिन्छ । गुम्बाबाट निस्किएर केही तल आउनेबित्तिकै नोटोविचलाई घोडाले फाल्दिन्छ । घोडाबाट झरेर उनको खुट्टा भाँचिन्छ । केही स्थानीयले उठाएर उनलाई फेरि गुम्बामा लैजान्छन् । उनको खुट्टाको उपचार गुम्बामै हुन्छ ।

बिरामीका रूपमा उनले गुम्बामा उपचार र आतिथ्य दुवै पाउँछन् । घाइते भएर बसेकै बेला उनले यहाँको प्रसिद्ध हेमिज पर्व पनि अवलोकन गर्ने अवसर पाउँछन् । हेमिज पर्वका बारेमा उनले गरेको बयान लोभलाग्दो छ । लद्दाख आएको बेला मलाई पनि एकपटक हेमिज पर्व हेर्न मन छ । तर, यसका लागि अझै एकदेखि डेढ महिना पर्खिनुपर्छ ।

यही बेला उनले लामालाई फेरि जिसस क्राइस्टवाला कुरा सम्झाउँछन् । यसबेला लामाले उनलाई निराश बनाउँदैनन् । लामाले किताबबाट पढेर सुनाएको कुरा नोटोविचको दोभाषेले उल्था गर्छ। नोटोविच आफ्नो नोटबुकमा टिप्छन् । नोटोविचको चर्चित र विवादास्पद किताब ‘द अननोन लाइफ अफ जिसस क्राइस्ट’ यसैको उपज हो ।

बाइबलमा क्राइस्टको १३ देखि २९ वर्षको उमेरबारे केही उल्लेख छैन । उनी १३ वर्षको उमेरमा मरूभूमित तिर गए भनिएको छ र एकैपटक ३० वर्षको उमेरमा उनले मानिसहरूलाई शिक्षा दिन थाले भनिएको छ । नोटोविचको यो किताबले उनको यही १३ देखि ३० वर्षबीचको उमेरको कथा सुनाउँछ ।

नोटोविचको किताब अनुसार पुरीमा क्राइस्टले केही वर्षमा संस्कृत साहित्यको गहिरो ज्ञान हासिल गर्छन् । तर, यहुदी धर्मको पृष्ठभूमि र इजरायलबाट आएको उनलाई जातका आधारमा गरिएको विभेद अस्वभाविक लाग्छ । शुद्रले धर्मशास्त्र सुन्नु हुन्न भन्ने कुरामा उनलाई विश्वास लाग्दैन । उनी शुद्रहरूलाई जम्मा पार्दै वेद र उपनिषद सुनाउन थाल्छन् ।

यसपछि उनी पुरीमा बसिरहन सक्दैनन् । उच्च जातिका मानिसहरूको आँखाको तारो बनेपछि उनी भाग्न बाध्य हुन्छन् । शिक्षाबाट वञ्चित शुद्र वर्णका मानिसहरू जम्मा पार्दै, ज्ञान बाँड्दै, ज्यान जोगाएर भाग्दै उनी वनारस आइपुग्छन् । यहाँबाट उनका शिष्यहरूले भगाएर कपिलवस्तु पुर्याउँछन् । पाली भाषा राम्रोसँग बोल्न सक्ने भएका इशाले बुद्धका शिक्षाहरू कण्ठ पार्न थाल्छन् । छोटो समयमा नै उनी यसमा पारङ्गत हुन्छन्।

नोटोविचको विवादास्पद पुस्तकको दाबी- नेपाल आएका थिए जिसस क्राइस्ट

यसैबीच उनले नेपालको यात्रा गरेको नोटोविचले आफ्नो किताबमा लेखेका छन्, ‘त्यसपछि उनी नेपाल र हिमालय पार गर्दै राजपुतन उपत्यका तिर गए र मानिसहरूलाई ज्ञान बाँड्दै पश्चिमतिर लागे ।’

बुद्धले सिकाएको दया र करूणाको पाठ पढाउँदै उनी पर्सिया पुग्छन् र ३० वर्षको उमेरमा इजरायल पुग्छन् ।

जिसस क्राइस्टको यो कथा नोटोविचको किताब ‘द अननोन लाइफ अफ जिसस क्राइस्ट’मा वर्णित कथा हो ।

जब नोटोविच यो किताबको पाण्डुलिपि लिएर युरोप पुग्छन्, कुनै पनि प्रकाशक उनको किताब छाप्न तयार हुँदैनन् । किताब छाप्न गर्नुपरेको संघर्षबारे उनले भूमिकामा निकै व्याख्या गरेका छन् ।

उनको किताबलाई युरोपमा सकेसम्म उपेक्षा गरिन्छ, तर पनि बिस्तारै मानिसहरूको चासो बढ्दै जान्छ। यो फ्रेन्चमा अनि अंग्रेजी लगायतका युरोपेली भाषामा पनि अनुवाद भएर प्रकाशित हुन्छ ।

१९२१मा पण्डित स्वामी अभेदानन्दले आफ्नो काश्मिर र तिब्बको यात्रा वृत्तान्तको पुस्तकमा पनि हेमिजमा पाण्डुलिपी पढेको बन्दै यही विवरणको किताब छपाउँछन् । नोटोविच र अभेदानन्दको किताबको लगभग सबै कुरा मिल्छ । यसअघि सन् १९०८मा अहमदिया मुस्लिम सम्प्रदायका संस्थापक मिर्जा गुलाम अहमदको किताब ‘जिसस इन इन्डिया’ प्रकाशित हुन्छ ।

नोटोविचको लद्दाख भ्रमणको लगभग एक सय वर्षपछि सन् १९८३ होल्गर क्रेस्टेनको किताब आउँछ, ‘जिसस लिभ्ड इन इन्डिया: हिज अननोन लाइफ बिफोर एन्ड आफ्टर क्रुसीफिकेसन’ । यस्तै अमेरिकी लेखक इडवार्ट टी मार्टिनको किताब ‘किङ अफ ट्राभलर: जिसस लस्ट इयर्स इन इन्डिया’ मा आधारित भएर बनाइएको वृतचित्र ‘जिसस इन इन्डिया’ २००८मा बिबिसीमा प्रशारण हुन्छ । यो किताब सन् १९९९मा बजारमा आएको थियो ।

बाइवलमा वर्णन नभएको जीवनखण्ड जिससले भारतमा बिताएका थिए भन्ने कुरामा विश्वास गर्ने मानिसहरूको संख्या आज निकै ठूलो छ तर नोटोविचको समयमा यस्तो दाबी गर्नु निकै कठिन थियो । आज जिसस १३ देखि ३० वर्षको अवधिमा मात्रै होइन, क्रुसिफिकेसन पछि पनि भारत आएको कुरामा विश्वास गर्ने मानिसहरूको संख्या निकै धेरै छ । बिबिसीको डकुमेन्ट्रीले काश्मिरको श्रीनगरमा क्राइस्टको चिहान रहेको विश्वास गर्ने मानिसहरू रहेको बताएपछि यो चिहान हेर्न आउने मानिसहरूको संख्या उल्लेख्य रूपमा बढेको थियो ।

अहिलेसम्म काश्मिर जान नपाए पनि हेमिजमा मलाई त्यो पाण्डुलिपिको सोधीखोजी गर्नु थियो । लामा जिम्मी छोसाङसँग लगभग आधा घण्टा हेमिज, लामाको जीवन तथा ध्यान साधनाबारे कुरा गरेपछि मैले कुरा उक्काएँ र त्यस्तो पाण्डुलिपि छ कि छैन भनेर सोधेँ ।

‘थुप्रै टुरिस्टहरूले पनि यो कुरा सोध्छ, यसबारे हामीलाई थाहा छैन,’ लामा जिम्मी छुसाङले सुनाए, ‘मैले मुल लामालाई पनि सोधेको थिएँ, उहाँले पनि यसबारे केही बताउनु भएन ।’

हेमिजमा सयौं पाण्डुलिपि रहेको र त्यसमध्ये लगभग १० प्रतिशत मात्रै अध्ययन गरेर सङ्ग्राहलयमा राखिएको उनले बताए । के थाहा, भण्डार कोठामा थन्किएको कुनै पाण्डुलिपिले आज पनि जिससको जीवनकथा सुनाइरहेको छ कि ?

अहिले भने मेरो खोजी पुरा हुन सकेन । यो असफलतामा म निराश छैन । बौद्धमार्गले समता सिकाउँछ । के नोटोविचलाई जस्तै कुनै दुर्घटनाले मलाई त्यो पाण्डुलिपिसम्म पुर्‍याउला ? बुद्ध भन्छन्, ‘आकांक्षा दुखको कारण हो ।’

नोटोविचको किताबलाई प्राय: पश्चिमा विद्वानहरूले फिक्सन भनेर खारेज गर्ने गरेका छन् । हेमिजमा साँच्चिकै त्यस्तो पाण्डुलिपि थियो कि थिएन, आज हामीलाई थाहा छैन । तिब्बती भाषाको ज्ञान भएका अन्वेषकहरूले हेमिजको भण्डार खोतले भने केही निस्किन सक्छ ।

तर, जिसस हुन् वा बुद्ध, उनीहरूले मानिसलाई एउटै शिक्षा दिएका छन्- दया र करूणा । उनीहरूले सिकाएका थिए- संसारका सबै प्राणलीलाई प्रेम गर ।

जिसस भारत-नेपाल आएका हुन् वा नहुन्, उनले क्षमा गर्न सिकाए । उनले भने, ‘यदि कसैले तिम्रो गालामा थप्पड हान्छ भने अर्को गाला थापिदेऊ ।’

जिससबारे चर्चा गर्दै ओशो भन्छन्, ‘जिससले सात पटकसम्म गाला थापिराख भनेको आठौं पटक थप्पड फर्काउ भनेको होइन । सात पटक भनेको ७७ पटक हो र ७७७ पटक पनि हो ।’

क्षमाका लागि यो भन्दा ठूलो अभिव्यक्ति अर्को के हुन सक्ला र?

बुद्धले पनि क्षमा गर्न सिकाएका थिए । विपश्यना ध्यान सिक्न थालेपछि म बौद्ध दर्शनप्रति आकर्षित भएको छु र अहिले बुझ्न सक्छु बुद्धले किन क्षमा सिकाएका थिए । क्षमा गर्ने मानिसले आफ्नो मनलाई अर्को मानिसको दुष्कर्मबाट मुक्त गर्न सक्छ । जसले क्षमा गर्दैन, उसले दुष्कर्म गर्ने मानिसले भन्दा बढी आफ्नो मनलाई व्याकुल बनाउँछ। अरूलाई क्षमा गर्नु आफ्नो हितमा रहेछ ।

तर, क्षमा गर्नु सहज छैन । समताको लामो अभ्यासले मात्रै मानिसलाई क्षमा गर्न सक्षम बनाउने रहेछ ।

सबैभन्दा कठीन त आफैंलाई क्षमा गर्नु रहेछ । एकपटक आफूलाई क्षमा गर्न सक्ने मानिसले यो धर्तीका सबैलाई क्षमा गर्न सक्छ ।

भवतु सब्ब मंगलम् !





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School