तनहुँमा विरासतको लडाइँ काम सम्झाउँदै भगवती, आस देखाउँदै स्वर्णिम–गोविन्द
तनहुँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार भने कोही विगतको काम सम्झाउँदै छन् त कोही आउँदो कार्यकालको लागि आशा बाँड्दैछन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राप्रपालगायतका दलहरूको सक्रियताले निर्वाचन परिणाम तलमाथि पार्नसक्ने मतदाताहरूले टिप्पणी गरेका छन् ।
रास्वपाले ‘बालेन सरकार’को अर्थमन्त्री प्रस्तावित गरेका स्वर्णिम वाग्लेले गत निर्वाचनमा जितेको यस क्षेत्रमा रास्वपालाई विरासत जोगाउने चुनौती छ भने एमाले र नेपाली कांग्रेसलाई विरासत फर्काउने चुनौती छ । २०७४ मा एमालेले जितेको यस क्षेत्रमा २०७९ मा नेपाली कांग्रेस र २०८० को उपनिर्वाचनमा रास्वपाले जितेको हो ।
गत प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भई संसद् सदस्य भएका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि २०८० मा भएको उपनिर्वाचनमा रास्वपाका वाग्ले संघीय सांसद निर्वाचित भएका थिए । वाग्लेलाई २१ फागुनको निर्वाचनमा एमालेकी भगवती न्यौपाने र नेपाली कांग्रेसका गोविन्द भट्टराईले टक्कर दिने दृश्य देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल पनि बलियै उम्मेदवार भएको निर्वाचन क्षेत्रमा चर्चा छ ।
जेनजी आन्दोलनपछि नयाँ र युवालाई अवसर दिइनुपर्ने भन्ने प्रचार भएसँगै तनहुँ क्षेत्र नम्बर–१ को निर्वाचनमा कांग्रेस, एमाले, रास्वपा र नेकपाका उम्मेदवारमध्ये एमाले उम्मेदवार न्यौपाने नै सबैभन्दा कम उमेरकी छिन् भने प्रतिनिधिसभा सदस्यको हिसाबले पहिलो पटक उम्मेदवार बनेकी हुन् ।
उमेरका हिसाबले कांग्रेसका भट्टराई ६२, नेकपाका ढकाल ६५, रास्वपाका वाग्ले ५१ र एमालेकी न्यौपाने ४९ वर्षकी हुन् । तनहुँ १ मा १३ राजनीतिक दलका तर्फबाट र ३ स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
तनहुँ क्षेत्र नम्बर–१ मा १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेका छन् । २६ देखि ४० वर्ष उमेर समूहका युवा मतदाता सबैभन्दा धेरै ३५ प्रतिशत रहेको यस क्षेत्रमा ३३ प्रतिशत ४१ देखि ६० वर्ष उमेर समूहका र २३ प्रतिशत ६० वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । जेनजी उमेर समूहमा पर्ने १८ देखि २५ वर्ष उमेर समूहका ७ प्रतिशत रहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५४ दशमलव ०३ प्रतिशत मत खसेको यस क्षेत्रमा आसन्न निर्वाचनमा मत खस्ने सम्भावित प्रतिशत केही बढ्ने अनुमान गरिएको छ ।
कोही काम भजाउँदै, कोही आस देखाउँदै
तनहुँ क्षेत्र नम्बर–१ का मतदातामाझ जाँदा एमालेकी उम्मेदवार भगवती न्यौपानेले छोटो अवधि मन्त्री भएका समयको कामको प्रचारलाई तीव्र बनाएकी छन् । राष्ट्रिय सभा सदस्य भएर संघीय संसदमा पुगेपछि एकपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएको बेलामा देशको सामान्य प्रशासन क्षेत्रमा गरेका सुधारका अभ्यासले सुशासनमा आसलाग्दो काम गरेको प्रतिक्रिया पाएकी छन् ।
न्यौपानेले स्थानीय तह घोषणा भएदेखि पूर्णरूपमा प्रमुख प्रशासकीय अधिकृत नपाएका स्थानीय तहहरूमा सबैमा प्रमुख प्रशासकीय अधिकृत खटाएर निमित्तको अवस्था अन्त्य गरेकी थिइन् । कर्मचारी सरुवा मापदण्ड लागू गर्नेदेखि धेरै प्रशासनिक सुधार गरेकी न्यौपानेले छोटो समयमै निर्वाचन क्षेत्रमा बजेट व्यवस्था गर्न विभिन्न मन्त्रालयमा समन्वय गरेको पनि निर्वाचनका बेलामा मतदातामाझ अन्तरक्रिया गरिरहेकी छन् ।
एमालेकी न्यौपानेले सुशासन र विकासको परिणाम र मोडल दिँदै गर्दा निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा शानदार जित हात पारेका रास्वपाका वाग्ले र कांग्रेसका भट्टराईलगायत अन्य उम्मेदवारले भने आश्वासन मात्रै बाँडिरहेका छन् । पुराना दलहरूले सिन्को नभाँचेको आरोप लगाउँदै अघिल्लो चुनाव जितेका वाग्लेले भने आगामी सरकारमा आफू अर्थमन्त्री भएर काम गर्ने आश्वासन बाँडिरहेका छन् ।
चुनावी घरदैलो अभियानमा वाग्लेले आफू अर्थमन्त्री भएर देशैभर हेर्नुपर्ने भन्दै आफूहरूको काम निर्वाचन क्षेत्रमा केन्द्रित भएर सानातिना काममा अल्झिने नभएको भन्दै पन्छिएका छन् । गोरखा स्थायी ठेगाना भएका वाग्ले निर्वाचन लड्नका लागि तनहु ँ आएको भन्दै स्थानीयहरूले ‘टुरिष्ट’ उम्मेदवार भनेको गुनासोसमेत गर्दै वाग्लेले निर्वाचन क्षेत्रका सबै टोलमा पुगेर गफगाफ गर्नमात्रै दुई वर्षभन्दा बढी लाग्ने रहेछ भनेर अन्तर्वार्ता दिएको भिडियो चर्चामा छ ।
चुनाव जितेपछि निर्वाचन क्षेत्र नफर्केको भन्दै आलोचना भएपछि वाग्लेको यस्तो प्रस्टीकरण शैलीको अन्तरवार्ता सार्वजनिक भएको हो । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले भने पौडेल राष्ट्रपति निर्वाचित भएका कारण प्रतिष्ठा बढेको र विकास भएको भन्दै कांग्रेसलाई भोट मागिरहेका छन् ।
विगत निर्वाचनको अंकगणित
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले ३४ हजार ४ सय ९२ मत ल्याएर जितेको यो क्षेत्रमा उनले रामचन्द्र पौडेललाई २७ हजार ६ सय ९० मतमा रोकेका थिए । यो मतको रेसियो २०७९ को निर्वाचनमा आइपुग्दा बदलियो । एमाले विभाजन भएर निर्वाचित सांसद श्रेष्ठ नेकपा एकीकृत समाजवादीतिर पुगे ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतको बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भयो । गठबन्धनका तर्फबाट उम्मेदवार भएका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत पाएर विजयी भए भने एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याए । यो निर्वाचनमा नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार भएका विकास सिग्देलले ६ हजार ४४ मत पाए ।
कांग्रेस पृष्ठभूमि र लामो राजनीतिक विरासत भएका गोविन्दराज जोशीले स्वतन्त्र रूपमा कांग्रेसको बागी उम्मेदवार बनेर ६ हजार ८ सय ८६ मत ल्याएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदा रास्वपाबाट स्वर्णिम वाग्लेले चुनाव जिते ।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएर जित्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत र एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याए । २०७४ मा ३४ हजार ४ सय ९२ मत ल्याएको एमाले २०८० मा उपनिर्वाचन हुँदा ८ हजार ४ सय ८८ मतमा सीमित भयो ।
नयाँ र युवा उम्मेदवारले बदल्न सक्छन् मुस्ताङी जनमत
चिसो नसेलाउँदै एक मात्र निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला मुस्ताङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हालैमात्र प्रधानमन्त्री सुशीला कार्की प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न पुगेपछि सुस्ताएका मतदातासमेत निर्वाचनका पक्षमा जाग्न थालेका छन् । मतदाता जागेसँगै उम्मेदवार परिणाम आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त छन् । तराई मधेशका एउटै निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्, जहाँ सामान्यतया १० हजार भन्दा बढी मतान्तरले हारजित हुन्छ ।
तर, मुस्ताङजस्ता हिमाली जिल्लामा भने १० हजार मतदाताले परिणामको छिनोफानो गर्छन् । मुस्ताङको प्रवेश बिन्दु भनेर चिनिने थासाङदेखि उपल्लो मुस्ताङको लोमन्थाङसम्म पुगेर उम्मेदवारले मत मागिरहेका छन् । मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीचमा प्रतिस्पर्धा हुँदै आएको छ । यहाँ विगतमा एमाले र कांग्रेस नै एकअर्काको प्रतिस्पर्धी पार्टी हुन् ।
तर यसपटक यो जिल्लामा रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारको बलियो उपस्थिति परम्परागत दलका उम्मेदवारका लागि चुनौती बन्ने देखिएको छ । मुस्ताङमा कांग्रेसबाट योगेश गौचन थकाली र एमालेबाट इन्द्रधारा विष्ट प्रतिस्पर्धामा छन् । नेपाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नुडुक गुरुङ, रास्वपाबाट अधितीयचन्द्र थकाली, उज्यालो नेपाल पार्टीबाट डा.सुुरेन्द्र शेरचन, आम जनता पार्टी (आजपा)बाट अजय विक र राप्रपाबाट कमला लालचन उम्मेदवार छन् । यसैगरी मंगोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।
अन्य पार्टीहरूले पुरुष उम्मेदवार उठाए पनि राप्रपाबाट एकमात्र महिला उम्मेदवार छिन् । निवर्तमान सांसद योगेश गौचन यसपटक पनि कांग्रेसका उम्मेदवार छन् । उनी पूर्वसांसद रोमी गौचनका छोरा हुन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले आफू नै विजयी हुने दावी गरेका छन् । गौचन परिवारको पुख्र्यौली थलो तल्लो मुस्ताङको थासाङ हो । उपल्लो मुस्ताङका मतदाताले कांग्रेसले हरेकपटक तल्लो मुस्ताङबाट उम्मेदवार बनाउने गरेको भन्दै प्रश्न उठाउन थालेका छन् ।
’cause, माथिल्लो मुस्ताङबाट प्रतिनिधिसभामा अहिलेसम्म प्रतिनिधित्व हुन सकेको छैन । तर यसपटक माथिल्लो मुस्ताङबाट पनि उम्मेदवार छन् । एमाले उम्मेदवार इन्द्रधारा विष्ट उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा हुन् । आफूले पहिलोपटक संसद्मा उपल्लो मुस्ताङको आवाज उठाउने भन्दै विष्टले ‘पहिचान र न्याय’को नारा दिएका छन् । गण्डकी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका विष्टको उमेदवारीलाई लिएर उपल्लो मुस्ताङका मतदाता उत्साही छन् ।
तर मुस्ताङको राजनीतिमा तल्लो भेग र थकाली समुदायको वर्चस्व रहँदै आएको छ । मतदाता पनि तल्लो क्षेत्रबाट धेरै छन् । यसपटक विष्टबाहेक अन्य सबै सात उम्मेदवार तल्लो मुस्ताङकै छन् । यसपटक रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारको व्यीक्तगत चर्चा र क्रेज मात्र होइन, ती दलप्रतिको आम आकर्षणले पनि हिमाली जिल्लाले कसलाई चुन्छ भनेर अनुमान लगाउन नसकिने स्थानीयवासी बताउँछन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र शेरचन पेशाले चिकित्सक हुन् । उनी अहिले यो क्षेत्रमा बलिाये उम्मेदवारका रुपमाम आफु रहेको बताउँछन् । मुस्ताङको विकासमा उनले ६ वटा आधार स्तम्भ तय गरेको बताएका छन् । स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषि क्षेत्र, पर्यटन, उद्योग–उद्यमशीलता र रोजगारी निर्माण नै आफ्नो मुल ध्येय भएको उनी बताउँछन् ।
मुस्ताङ गाउँपालिका मञ्चको नयाँ अवधारणालाई स्थानीयले मनपराएको बताउँदै उनले यो अवधारणालो जिल्लाको विकास, संस्कृति, सम्पदामा कायापलट हुने दाबीसमेत गरे । यसअघि, २०७९ सालको आमनिर्वाचनमा कांग्रेसका योगेश गौचन तीन हजार ९९२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेम तुलाचनले तीन हजार ७८ मत ल्याएका थिए ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार, मुस्ताङमा यसपटक ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता छन् । तल्लो मुस्ताङ थकाली बहुल क्षेत्र हो । यहाँ दलित र अन्य समुदायको मत पनि उल्लेख्य छ । तल्लो क्षेत्रमा बाँडिने मत कांग्रेस र एमाले दुवै उम्मेदवारका लागि निर्णायक बन्न सक्ने घरपझोङ गाउँपालिकाका स्थानीयवासी बताउँछन् ।
अहिले कांग्रेस र एमालेले आफूलाई बलियो बनाउन विभिन्न मुद्दा अगाडि सारेका छन् । एमालेले मुस्ताङमा सडक पु¥याएको जस लिने प्रयास गरिरहेको छ । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रमअन्तर्गत सोझै साविकका गाविसमा आएको रकमले उपल्लो मुस्ताङवासीले लोमन्थाङबाट सडक खन्न थालेका थिए ।
यही बाटो अहिले चुनावी नारा बनेको हो । मुस्ताङमा मात्र हैन छिमेकी म्याग्दी र गण्डकी प्रदेशको राजधानी कास्कीमा समेत अहिले कोरला नाका चुनावी अजेन्डा बनेको छ । कोरला नाकालाई विशेष भू–बन्दरगाहको रूपमा विकास गर्ने, कोरला नाकाबाट मानसरोवरसम्म जाने गरी धार्मिक पर्यटन भित्र्याउने विषय सबै उम्मेदवारले चुनावी मुद्दा बनाएका छन् ।
त्यस्तै, गुम्बा शिक्षालाई प्रविधिमैत्री बनाउने, अर्धनिषेधित उपल्लो मुस्ताङलाई खुला गर्न कूटनीतिक पहल गर्ने, कालीगण्डकी करिडोरको सडक पक्की गरी १२ महिना नै चल्ने बनाउने मुद्दा पनि चुनावी नारा बनेका छन् । कालीगण्डकीमा बाढी नियन्त्रण, कृषि र जलवायु अनुकूलनजस्ता विषयसमेत उम्मेदवारका एजेन्डा बनेका छन् ।
चुनावमा उम्मेदवारले काठमाडौं, पोखरा जस्ता शहरमा बस्ने मतदातालाई बस र हेलिकोप्टरमा राखेर मतदानस्थलसम्म लैजाने गरेकामा यसपटक कुन उम्मेदवारले मतदाता कसरी ओसार्छन् भन्ने विषयले पनि यहाँको निर्वाचन परिणामलाइृ असर पार्ने स्थानीयवासीको भनाइ छ ।
(Visited 17 times, 1 visits today)
