प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

न्यू जर्सीको फेयर लनमा आगामी जुन ६ मा आयोजना हुन लागेको दोस्रो नेपाल डे न्यू जर्सीको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नेपाली खानाका परिकार, कला–संस्कृतिको प्रदर्शनी तथा चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकहरूले बताएका छन्। नेपाल डे न्यू जर्सीका अध्यक्ष राजेन्द्र श्रेष्ठसँग नेपाल डे न्यू जर्सीको तयारी, कार्यक्रमको उद्देश्य, स्थानीय सरकारको सहयोग, अपेक्षित सहभागिता तथा यस वर्षका विशेष आकर्षणबारे राजन काफ्लेले गरेको कुराकानीको सम्पादित अंश।
गत वर्षको अनुभवका आधारमा यस वर्षको नेपाल डे न्यू जर्सीको तयारी कस्तो छ?
गत वर्ष कार्यक्रम गर्दा सबै कुरा नयाँ थियो। नयाँ साथीहरू, नयाँ सुरुवात र नयाँ अवधारणासँग काम गर्दा केही अन्योल र चुनौतीहरू पनि थिए। कार्यक्रम सञ्चालन गर्ने तरिका, दर्शकलाई अझ राम्रो सेवा र सुविधा दिने विषयमा केही कमजोरीहरू महसुस भएका थिए।
तर गत वर्षको कार्यक्रमको सकारात्मक पक्ष भनेको उपस्थिति राम्रो हुनु थियो। यस वर्ष हामीले गत वर्षका कमजोरीहरूलाई सुधार गर्ने प्रयास गरेका छौं। ती अनुभवहरूबाट सिकेर कार्यक्रमलाई अझ सफल बनाउन करिब दुई महिनाअघि नै तयारी सुरु गरेका थियौं।
अहिले हामी अन्तिम चरणको तयारीमा छौं। मेलाको व्यवस्थापन, स्टेज तयारी, वक्ताहरूको व्यवस्थापन तथा आर्थिक पक्षका अधिकांश काम अन्तिम चरणमा पुगेका छन्। त्यसैले यस वर्षको तयारी निकै व्यवस्थित र सुदृढ भएको महसुस गरेका छौं।
नेपाल डे न्यू जर्सी कार्यक्रमको मुख्य आयोजक संस्था कुन हो? साथै यसको मुख्य उद्देश्य के हो?
‘नेपाल डे न्यू जर्सी’ आधिकारिक रूपमा न्यू जर्सीमा दर्ता भएको संस्था हो, र यही संस्था कार्यक्रमको मुख्य आयोजक हो। यसका साथै नेपालका लागि न्यूयोर्कस्थित महावाणिज्यदूतावास र एनआरएनए अमेरिकाको न्यू जर्सी च्याप्टर सह–आयोजकका रूपमा रहेका छन्।
यसका अतिरिक्त न्यू जर्सीमा विधिवत् दर्ता भएका विभिन्न नेपाली संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रमलाई अगाडि बढाइएको छ। समग्रमा यो एक साझा प्रयास र सहकार्यको परिणाम हो। कार्यक्रमको मुख्य उद्देश्य नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्नु हो। हामी आफ्नो जन्मभूमि नेपालबाट टाढा अमेरिकामा बसिरहेका छौं। त्यसैले हाम्रो संस्कृति, परम्परा र मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आवश्यक छ।
साथै गैर–नेपाली समुदायलाई पनि नेपाली संस्कृति, परम्परा, पर्यटन र नेपालको परिचय गराउनु कार्यक्रमको अर्को प्रमुख उद्देश्य हो। यदि यस कार्यक्रममार्फत केही मानिसलाई मात्र पनि नेपालको बारेमा सकारात्मक जानकारी दिन सकियो भने त्यो हाम्रो लागि ठूलो उपलब्धि हुनेछ।
न्यूयोर्क, पेन्सिलभेनिया लगायतका स्थानमा हुने नेपाल डे परेड र नेपाल डे न्यू जर्सीबीच के फरक छ?
न्यूयोर्क र पेन्सिलभेनियामा ठूलो नेपाली समुदाय छ, र न्यूयोर्कको नेपाल डे परेड २०१६ देखि निरन्तर सञ्चालन हुँदै आएको स्थापित कार्यक्रम हो। हाम्रो नेपाल डे न्यू जर्सी भने दोस्रो संस्करणमा प्रवेश गर्दैछ। यस कार्यक्रममा न्यूयोर्क, न्यू जर्सी, ट्राइ–स्टेट क्षेत्र, पेन्सिलभेनिया, डेलावेयर तथा मेरिल्यान्डबाट समेत सहभागीहरू आउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न जातीय झाँकीहरू, सांस्कृतिक प्रस्तुति, नेपाली कला र संस्कृतिको प्रदर्शन हुनेछ। साथै चर्चित गायक कृष्ण काफ्ले र जेम्स प्रधानको प्रस्तुति रहनेछ। कार्यक्रमस्थलमा नेपाली परिकारहरू जस्तै मम, सेलरोटी, चाउमिन लगायतका विभिन्न नेपाली खानाका स्टलहरू रहनेछन्। नेपाली हस्तकला, कला–संस्कृति र अन्य प्रदर्शनीहरू पनि राखिनेछन्। गत वर्षको तुलनामा यस वर्ष तयारी धेरै राम्रो भएको छ र करिब एक हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरेका छौं।
करिब एक हजार सहभागीमध्ये नेपाली समुदाय बाहेक अन्य समुदायको सहभागिता पनि रहने अपेक्षा छ?
धेरैजसो सहभागी नेपाली समुदायबाट हुनेछन्। तर स्थानीय अमेरिकी समुदायको सहभागिता पनि बढाउने प्रयास गरेका छौं। यसका लागि स्थानीय पुस्तकालय, विद्यालय, गैरनाफामूलक संस्था, रोटरी क्लब तथा विभिन्न व्यवसायिक संस्थाहरूसँग समन्वय गरिएको छ। विभिन्न व्यवसाय र रेस्टुरेन्टहरूमा फ्लायर वितरण गरेर प्रचार–प्रसार पनि गरिएको छ। हाम्रो विश्वास छ कि नेपाली समुदायसँगै स्थानीय समुदायको पनि उल्लेखनीय सहभागिता रहनेछ।
पार्किङ, खानेपानी तथा अन्य आधारभूत सुविधाको व्यवस्था कस्तो छ?
कार्यक्रमस्थलमा २००–३०० भन्दा बढी सवारीसाधन पार्क गर्न सकिने पर्याप्त पार्किङ सुविधा उपलब्ध छ। खानेपानीको व्यवस्थाका लागि निःशुल्क पानी वितरण केन्द्र राखिएको छ। हिमालयन फ्रेश वाटरसँगको सहकार्यमा पानी डिस्पेन्सरहरू राखिनेछन् र चिसो पानी निःशुल्क उपलब्ध हुनेछ। यसका अतिरिक्त स्थानीय साथीहरूको सहयोगमा पानीका बोतलहरूको व्यवस्था पनि गरिएको छ। शौचालयको सुविधा नजिकै उपलब्ध हुनेछ, र टाउनले पनि यसमा सहयोग गरेको छ।
कार्यक्रममा प्रवेश शुल्क छ कि निःशुल्क हो?
यो पूर्ण रूपमा निःशुल्क कार्यक्रम हो। सामान्यतया यस्ता चर्चित कलाकारहरू सहभागी हुने कार्यक्रममा टिकट शुल्क लाग्ने गर्छ। तर नेपाल डे न्यू जर्सीमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ। सहभागीहरूले निःशुल्क रूपमा सांगीतिक प्रस्तुति र मनोरञ्जनको आनन्द लिन सक्नेछन्। खाना, कपडा वा अन्य सामग्री खरिद गर्न चाहनेहरूले भने सम्बन्धित विक्रेताबाट खरिद गर्न सक्नेछन्।
कार्यक्रममा कस्ता कलाकारहरूको प्रस्तुति रहनेछ?
कार्यक्रममा चर्चित गायक कृष्ण काफ्ले र जेम्स प्रधानको प्रस्तुति रहनेछ। साथै लोक तथा दोहोरी गायिका अम्बिका बानियाँको प्रस्तुति पनि हुनेछ। त्यसैगरी स्थानीय कलाकारहरूको सहभागिता रहनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति दिँदै आएका विभिन्न नृत्य समूहहरूले नेवारी, गुरुङ, मगर, राई, थारु, मैथिली र शेर्पा झाँकी तथा नृत्य प्रस्तुत गर्नेछन्। यसरी संगीत, नृत्य, संस्कृति र मनोरञ्जनलाई समेटेर कार्यक्रमलाई ‘अल–इन–वन’ स्वरूपमा आयोजना गरिएको छ।
स्थानीय सरकारको सहयोग कस्तो रहेको छ?
स्थानीय सरकारले कार्यक्रमलाई निकै सकारात्मक रूपमा सहयोग गरेको छ। सुरक्षा, सरसफाइ, व्यवस्थापन तथा अन्य प्रशासनिक पक्षमा टाउनको प्रत्यक्ष संलग्नता रहेको छ। यदि यी सबै सुविधा आफैंले व्यवस्थापन गर्नुपरेको भए हजारौं डलर अतिरिक्त खर्च हुने थियो। टाउनको सहयोगका कारण कार्यक्रम सञ्चालनमा ठूलो सहजता भएको छ। हामीलाई विश्वास छ कि कार्यक्रमका अवसरमा स्थानीय सरकारबाट औपचारिक मान्यता समेत प्राप्त हुन सक्छ। यसले नेपाली समुदायलाई थप उत्साहित बनाएको छ।
अन्त्यमा सहभागीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
हाम्रो मुख्य उद्देश्य नेपाली संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्नुका साथै नेपाललाई विश्वसामु चिनाउनु हो। सम्भव भएसम्म सबै सहभागीलाई नेपाल र अमेरिकाको झण्डा लिएर आउन अनुरोध गर्दछौं। आफ्ना जातीय वा सांस्कृतिक पहिरनमा सहभागी हुन सके अझ राम्रो हुनेछ। कार्यक्रममा आएर विभिन्न नेपाली परिकारको स्वाद लिनुहोस्, सांस्कृतिक कार्यक्रमको आनन्द लिनुहोस्, गीत–संगीतमा रमाउनुहोस् र नेपाली समुदायको एकताको उत्सव मनाउनुहोस्। यही नै हाम्रो सबैभन्दा ठूलो खुशी हुनेछ।
