नेपाली संगीतमा आशाको अमिट छाप


भारतीय विश्वविख्यात पार्श्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनले अन्तिम सास फेरेकी हुन्।

विगत केही समयदेखि स्वास्थ्य समस्या झेल्दै आएकी भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पतालका चिकित्सक डा. प्रतीत समदानीका अनुसार भोसलेको निधन मल्टि अर्गान फेलियरका कारण भएको हो।

‘अत्यन्तै दुःखद क्षण। उहाँलाई धेरै किसिमका स्वास्थ्य जटिलताहरू थिए र अन्ततः शरीरका धेरै अंगहरूले काम गर्न छाडेपछि उहाँको निधन भयो,’ डा. समदानीले सञ्चारमाध्यसँग भनेका थिए।

गायिका भोसलेको पार्थिव शरीरलाई सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तिम दर्शनका लागि लोअर परेलस्थित उनको निवासमा राखिनेछ। त्यसपश्चात् अपराह्न ४ बजे मुम्बईको ऐतिहासिक शिवाजी पार्कमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने महाराष्ट्रका क्याबिनेट मन्त्री आशीष शेलारले जानकारी दिए।

‘आज पूरा देश र महाराष्ट्रले एक युगको अन्त्यमा शोक मनाइरहेको छ।’ उनले भने, ‘उहाँको संगीतले विश्वलाई खुसी दिएको छ। उहाँलाई सरकारले पूर्ण राजकीय सम्मानका साथ बिदाइ गर्नेछ।’

नेपाली संगीतमा आशाको अमिट छाप

आशा भोसलेको निधनले भारतीय संगीतलाई मात्र नभई नेपाली संगीत क्षेत्रलाई पनि अपूरणीय क्षति पुर्‍याएको छ। नेपाली गीत-संगीतसँग उनको नाता निकै पुरानो र प्रगाढ छ।

उनले गाएका नेपाली गीतहरू आज पनि हरेक नेपालीको मनमुटुमा जीवित छन्। खासगरि नेपाली चलचित्रको स्वर्ण युग मानिने समयमा उनले दिएका कालजयी स्वरहरूले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्‍याएको थियो।

नेपाली चलचित्र ‘माइतीघर’ मा उनले गाएको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ बोलको गीत नेपालको सांस्कृतिक पहिचानजस्तै बनेको छ।

यो गीत आज पनि प्रवासमा रहेका वा स्वदेशमै रहेका नेपालीहरूका लागि राष्ट्रभक्ति र भावनाको प्रतीक मानिन्छ। संगीतकार जयदेवको संगीतमा उनले गाएको यो गीतले नेपाली संगीतको स्तरलाई उचाइमा पुर्‍याएको थियो।

नेपाली संगीतका स्वर सम्राट नारायण गोपालसँग उनले गाएको युगल गीत ‘मोहनी लाग्ला है’ नेपाली संगीत इतिहासकै सबैभन्दा चर्चित र लोकप्रिय गीतमध्ये एक हो।

यी दुई महान् कलाकारको स्वरको जादुले गर्दा यो गीत दशकौँसम्म पनि नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छ। त्यस्तै, ‘आऊ न आऊ तिम्रै कसम’, ‘झझल्को लिएर आएछ सावन’, ‘किन बढ्दै छ ढुकढुकी’, ‘यस्तै रहेछ यहाँको चलन’ जस्ता दर्जनौँ नेपाली गीतहरूमा आशाको स्वर सुन्न सकिन्छ।

उनले अम्बर गुरुङ, नातिकाजी, शिवशंकर जस्ता नेपाली संगीतका हस्तीहरूसँग सहकार्य गरेकी थिइन्। नेपाली भाषा प्रतिको उनको लगाव र स्पष्ट उच्चारणका कारण उनले गाएका गीतहरू सुन्दा कुनै विदेशी गायिकाले गाएको जस्तो महसुस हुँदैनथ्यो।

नेपाल र नेपाली संगीतप्रति उनको अगाध प्रेम सधैँ प्रशंसनीय रह्यो।

नेपाली संगीतमा आशाको अमिट छाप

भोसलेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै उनलाई बहुमुखी आवाजकी धनी भनेका छन्।

मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतकी सबैभन्दा प्रतिष्ठित र बहुमुखी आवाजहरूमध्येकी एक आशा भोसलेजीको निधनले म स्तब्ध छु। उहाँको असाधारण संगीत यात्रा दशकौँसम्म चल्यो, त्यसले हाम्रो सांस्कृतिक विरासतलाई समृद्ध बनायो र विश्वभरका अनगिनत हृदयहरूलाई छोयो।’

प्रधानमन्त्री मोदीले उनीसँगका व्यक्तिगत भेटघाटहरूलाई स्मरण गर्दै अगाडि थपेका छन्, ‘चाहे उहाँका भावपूर्ण धुनहरू हुन् वा जीवन्त रचनाहरू, उहाँको आवाजमा एउटा कालातीत चमक थियो। म उहाँसँगका भेटहरूलाई सधैँ सँगालेर राख्नेछु। उहाँका गीतहरू सधैँ मानिसको जीवनमा गुञ्जिरहनेछन्।’

९ वर्षको उमेरदेखि सुरु भएको थियो संघर्षमय यात्रा

सन् १९३३ सेप्टेम्बर ८ मा सांगली (महाराष्ट्र) मा जन्मिएकी आशा भोसले प्रख्यात शास्त्रीय गायक तथा थिएटर कलाकार दीनानाथ मंगेशकरकी छोरी हुन्।

उनी स्वर कोकिला लता मंगेशकरकी कान्छी बहिनी हुन्। आशा ९ वर्षकी हुँदा उनका पिताको निधन भयो। पिताको छत्रछाया गुमेपछि परिवारको आर्थिक अवस्था निकै कमजोर बन्यो।

यस्तो विषम परिस्थितिमा परिवारलाई सहारा दिन उनले दिदी लतासँग मिलेर सानै उमेरदेखि गायन र अभिनय सुरु गरेकी थिइन्। उनले आफ्नो पहिलो गीत सन् १९४३ मा मराठी चलचित्र ‘माझा बाल’ का लागि गाएकी थिइन्।

मुम्बई सरेपछि उनले हिन्दी चलचित्रमा संघर्ष सुरु गरिन्। सुरुमा उनलाई दिदी लता वा गीता दत्तले अस्वीकार गरेका गीतहरू गाउन दिइन्थ्यो। तर, आफ्नो मेहनत र विशिष्ट गायन शैलीका कारण उनले छिट्टै आफ्नै पहिचान बनाइन्।

१४ भाषा, १२ हजारभन्दा बढी गीत

आशा भोसलेको सांगीतिक करियर जति लामो छ उति नै विविधतापूर्ण पनि छ। उनले आफ्नो करियरमा हिन्दी, मराठी, नेपाली, बंगाली, गुजराती, पञ्जाबी, तमिल, तेलुगुसहित १४ भन्दा बढी भाषाहरूमा १२ हजारभन्दा बढी गीत गाएकी छन्।

उनको नाम विश्वमा सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाका रूपमा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ मा समेत दर्ता छ। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’, ‘चुरा लिया है तुमने जो दिल को’, ‘इन आंखों की मस्ती’, ‘दिल चीज क्या है’ जस्ता गीतहरूले उनलाई भर्सटाइल गायिकाका रूपमा स्थापित गरे। उनले शास्त्रीय संगीतदेखि पप, क्याबरेट र गजलसम्मका विधामा आफ्नो स्वरको जादु छरिन्।

आरडी बर्मनसँगको प्रेम

आशा भोसलेको निजी जीवन भने निकै संघर्षपूर्ण रह्यो। उनले १६ वर्षको कलिलो उमेरमा परिवारको इच्छाविपरीत दिदी लताका सेक्रेटरी गणपतराव भोसलेसँग भागरे विवाह गरेकी थिइन्। तर, यो विवाह सफल हुन सकेन। उनले घरेलु हिंसाको सामना गर्नुपर्‍यो र अन्ततः १९६० मा तीन छोराछोरीसहित श्रीमानको घर छाडेर माइती फर्किइन्।

त्यसपछि उनको जीवनमा संगीतकार आरडी बर्मनको प्रवेश भयो। उनीहरूबीचको व्यावसायिक सहकार्य बिस्तारै प्रेममा परिणत भयो। आरडी बर्मनले आशालाई विवाहको प्रस्ताव राख्दा बर्मनकी आमाले विरोध गरेकी थिइन्।

आशा आफूभन्दा ६ वर्ष जेठी भएको र तीन सन्तानकी आमा भएकाले आमाको विरोध थियो। तर, सन् १९८० मा उनीहरूले विवाह गरे। आरडी बर्मन र आशाको जोडीले संगीत क्षेत्रमा नयाँ क्रान्ति नै ल्यायो। सन् १९९४ मा बर्मनको निधन नभएसम्म उनीहरू सँगै रहे।

‘खराब आवाज’ भन्दै निकालिएको त्यो क्षण

आज विश्वले पुज्ने आशाको आवाजलाई करियरको सुरुवाती दिनमा खराब भन्दै रिजेक्ट गरिएको थियो। उनले एक अन्तर्वार्तामा भने अनुसार सन् १९४७ मा उनी र किशोर कुमारलाई संगीत निर्देशक खेमचंद प्रकाशको रेकर्डिङबाट निकालिएको थियो।

साउन्ड रेकर्डिस्ट रोबिन चटर्जीले बंगाली भाषामा ‘यिनीहरूको आवाज माइकमा राम्रो सुनिँदैन, अर्को गायक खोज्नुस्’ भनेपछि उनीहरूले स्टुडियो छाड्नुपरेको थियो। तर, त्यही खराब भनिएको आवाज पछि विश्व संगीतको गहना बन्यो।

आशा भोसलेको निधनसँगै एक स्वर्णिम अध्यायको अन्त्य भएको छ। यद्यपि, उनले छाडेर गएका हजारौँ गीतहरूले उनलाई आगामी कैयौँ पुस्तासम्म अमर राख्नेछन्।

प्रकाशित: २९ चैत्र २०८२ १५:३२ आइतबार





Source link

Leave a Comment