नेपालमा मुख स्वास्थ्य: आरनका चिम्टाले दाँत निकाल्नेदेखि कालोबोको काट्नेसम्मका अभ्यास



प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

a person in blue gloves holding a toothbrush

नेपालमा मुख स्वास्थ्यको इतिहासलाई फर्केर हेर्दा, आजभन्दा २० वर्ष पहिलेको अवस्था सम्झँदा म भक्कानिन पुग्छु। न जनचेतना थियो, न त आधारभूत उपचारको पहुँच। स्वास्थ्यकर्मीहरूबीच “डेन्टल साइन्स” भन्नाले के बुझाउँछ भन्ने ज्ञान नै थिएन। ग्रामीण भेगमा मुख स्वास्थ्यको अवस्थालाई दन्त चिकित्सकहरूको अभावले मात्र होइन, गलत धारणाले पनि थप जटिल बनाएको थियो।

ती दिनमा, मुख स्वास्थ्यको समस्या भए भारतबाट तालिमबिना आएका व्यक्तिहरूले क्लिनिक खोल्थे। ग्रामीण भेगका मानिसहरू आरनका चिम्टाले दाँत निकाल्ने वा धामीझाँक्रीका पुजारीकहाँ जाने गर्थे। राजधानी काठमाडौँमै “किला गाड” नाम गरेको ठाउँमा दाँत दुख्यो भने किला गाड्दा सन्चो हुन्छ भन्ने विश्वास थियो। म दन्त अध्ययन गर्दाका दिनमा यो ठाउँ आफैं हेर्न पुगेको थिएँ।

एक पटक, दैलेखको गाउँमा क्याम्प गर्दा मैले देखेको दृश्य कहिल्यै बिर्सन सक्दिनँ। एउटा बालकको दाँत किराले खाएर दुखिरहेको थियो। उसको परिवारले “दाँत दुखेपछि कालो बोको काट्नुपर्छ” भन्ने परम्परा पालना गरिरहेको थियो। उपचारको सट्टा, उनीहरू पूजापाठमा लागेका थिए। यो दृश्यले मेरो जीवनभरको सोच परिवर्तन गरिदियो।

२०६० सालमा बुटवल आएर मैले आधुनिक दन्त चिकित्सा सेवा सुरु गरें। त्यतिबेला बुटवलमा प्रशिक्षित चिकित्सक ज्योति आत्रेयज्यूबाहेक अरू कोही थिएनन्। बाँकी स्वास्थ्यकर्मीहरूले भारत वा युनाइटेड मिसनबाट केही तालिम लिएर काम गर्दै आएका थिए। बिरामीलाई बुझाउन र विश्वास दिलाउन निकै गाह्रो थियो।

बिरामीहरू दाँत दुखेको देखाउन आउँथे तर उनीहरूका सबै समस्या “दाँत निकाल्नुपर्छ” भन्ने धारणामा अडिएको हुन्थ्यो। म सम्झन्छु, राम्रो दाँत पनि बिरामीको आग्रहमा निकाल्नुपरेको दिनहरू। त्यतिखेर फोनको सुविधा पनि थिएन। अघिल्लो दिन निकालेको दाँतको अवस्था बुझ्न बिहानै क्लिनिकमा बिरामीको प्रतीक्षा गर्नुपर्थ्यो।

२० वर्षको यो यात्रामा मैले नेपालका ६४ जिल्लामा काम गर्ने मौका पाएँ। कतै रातभर जाग्राम बसेर दाँत निकालेँ, त कतै स्थानीय जनतालाई चेतना जगाउने कार्यक्रम चलाएँ। मलाई बुझेको एउटा महत्वपूर्ण कुरा के हो भने, उपचारभन्दा रोकथाम धेरै महत्वपूर्ण छ।

गत वर्ष मैले “खाना पछि सही तरिकाले ब्रस गर्ने बानीको विकास गरौं” भन्ने अभियान सुरु गरें। यो अभियानअन्तर्गत, १ लाखभन्दा बढी विद्यार्थीको मुख स्वास्थ्य परीक्षण गरियो। हाम्रा बिद्यालयहरूमा खाना खानुअघि हात धुने बानीको शिक्षा त छ, तर खाना खाएपछि ब्रस गर्ने आदतको शिक्षा कहीँ पनि दिइएको छैन।

मुख स्वास्थ्य सुधारका लागि विद्यालयस्तरमा व्यापक रूपमा काम गर्न आवश्यक छ। हाल ८०% बालबालिकामा दाँत किराले खाने समस्या देखिन्छ। यो समस्या बाल्यकालमै सुधार्न नसके, दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पर्छ।

नेपालमा मुख स्वास्थ्य: आरनका चिम्टाले दाँत निकाल्नेदेखि कालोबोको काट्नेसम्मका अभ्यास

मलाई लाग्छ, चिकित्सकको काम बिरामीको विश्वास जित्नु हो। विश्वास विना, उपचारले प्रभावकारीता पाउँदैन। मैले यो पेशालाई केवल आयआर्जनको माध्यम बनाएन। समुदायमा स्वास्थ्य सेवा पुर्‍याउने, जनचेतना जगाउने र कमजोरलाई सेवा गर्ने मूल भावना मैले कहिल्यै छोडिनँ।

एकचोटि, संखुवासभाको विकट गाउँमा क्याम्प चलाउँदा मैले देखेको घटना मेरो लागि प्रेरणादायक रह्यो। एउटा बिरामीले भनिन्, “डाक्टरसाब, तपाईं हाम्रो लागि भगवान हुनुहुन्छ। तपाईं नआएको भए, मेरो छोरो आज पनि पीडामा बाँचिरहेको हुन्थ्यो।” यस्ता शब्दहरूले मेरो सेवा भावना अझ बलियो बनायो।

आज नेपालमा ४२०० दन्त चिकित्सक र ३५०० डेन्टल हाइजेनिस्ट छन्। शहरहरूमा अत्याधुनिक उपकरण र विशेषज्ञहरूको सहज पहुँचले उपचारमा सहजता ल्याएको छ। तर, ग्रामीण क्षेत्रमा अझै पनि सेवाको पहुँच अभाव छ।

मुख स्वास्थ्यको विषयलाई सामान्य मान्नु ठूलो भूल हो। मुख क्यान्सरजस्ता समस्या तीव्र गतिमा बढ्दै छन्। जहाँ पहिले वर्षमा एकजना क्यान्सर बिरामी भेटिन्थे, अहिले हप्तामा एकजना भेटिन्छ। मुख स्वास्थ्यले केवल दाँतको समस्या मात्र होइन, मुटु रोग, मधुमेहजस्ता जटिल समस्यालाई पनि निम्त्याउँछ।

नेपालमा मुख स्वास्थ्यको यात्रा सहज थिएन। कठिनाईहरू र अन्धविश्वासलाई चिर्दै, आज यो क्षेत्रमा सुधार आएको छ। तर, अझै धेरै गर्न बाँकी छ।

मुख स्वास्थ्य सुधारका लागि हामीले उपचारको भन्दा रोकथामको संस्कृति विकास गर्नुपर्छ। “खाना पछि सही तरिकाले ब्रस गर्ने बानीको विकास गरौं” भन्ने नाराले हरेक नेपालीलाई स्वस्थ र खुसी बनाउन सक्नेछ। अन्तमा मुख स्वास्थ्य अभियानमा हातेमालो गर्न पनि सबैलाइ अनुरोध गर्दछु ।

भुसाल डेण्टल हाइजेनिस्ट तथा मुख स्वास्थ्य अभियान्ता हुन् ।





Source link

Leave a Comment