नेपालका ‘कमाउनिस्ट’हरू : RajdhaniDaily.com



कम्युनिस्टहरू सिद्धान्तवादी हुन्छन्, आप्mनो निष्ठा छोड्दैनन् । तिनले सुशासन दिन्छन् । सर्वहाराको नेतृत्व गर्छन्, कम्युनिस्ट देशमा कोही गरिब हुन्न । भोकै कोही हुन्न । सबैले रोजगारी पाउँछन् । योग्यताअनुसारको कामले आम जनता व्यस्त हुन्छन्, देश उत्पादनशील हुन्छ । श्रमको कदर हुन्छ । तिनको उचित मूल्य र मान्यता हुन्छ । कोही कसैबाट हेपिनु पर्दैन । प्रताडित हुनु पर्दैन । सम्पत्तिमा सबैको भोगाधिकार रहन्छ, पुँजी कसैको एकाधिकार हुन्न, समान वितरण, समतामूलक समाज, द्वन्द्वरहित समाज, ईष्र्यारहित समाजको निर्माण हुन्छ । कमाइएको सम्पत्ति ट्रिक्कल डाउन हुन्छ । चुहिएको रसले पनि तलकाको पेट भरिन्छ भन्ने हो ।

माक्र्स, माओ, लेनिनहरूको त्यसैले पूजा गर्छन् मानिसहरू, कोठामा फोटा सजाउँछन् । माक्र्सको दास क्यापिटल नपढ्ने र त्यसको व्यावहारिक प्रयोग नगर्ने मानिस कम्युनिस्ट हुनै सक्दैन भनिएको छ, शोषरणहित समाज, वर्गीय हित र संरक्षण, न्यायपूर्ण समाज यस्तो फराकिलो अवधारणा हो कम्युनिज्मको र गरिब देशहरूमा त कम्युनिज्मले यति धेरै प्रश्रय पाएको छ कि यसैबाट भौतिक प्रगति हुन्छ । आमजनाताका अभीष्ट पूरा हुन्छन्, राज्यको सबै सम्पत्तिमा जनताको राज हुन्छ । जनता सर्वेसवा हुन्छन् भनिएको छ, तानाशाहीहरू टिक्दैनन् । अधिनायकवादीहरू पोषित हुन्नन् र परम्परागत, दैवी बा वंशानुगत शासकहरू टिक्दैनन् । स्वभावैले कम्युनिस्टहरू देव पूजा बा ईश्वर, धर्मलाई विश्वास गर्दैनन् । माक्र्सले त भनेकै हुन् धर्म अफिम हो भनेर, धर्मभीरुहरू रुढीवादी हुन्छन् । कसैको बहकाउमा आप्mनो मनोमानी गर्छन् र द्वन्द्वात्मक भौतिकवाद तिनको आदर्श हो, निष्ठा हो । तर, हाम्रा प्रजातन्त्रवादी भनिएका दल बा कम्युनिस्ट भन्नेहरूको आदर्श र चरित्र धेरै पृथक् छ ।

हामीकहाँ कमाउनिस्टहरू धेरै छन्, देशलाई धर्मनिरपेक्ष भन्छन् । घरघरमा माला लाउँदै हिँड्छन् । कुमारीथानमा आशीर्वाद लिन जान्छन् । दसैंमा राजसी शैलीमा टीका थाप्न बोलाउँछन् । तलेजु भवानी, मनोकामना, गोरखकाली, पशुपति, लुम्बिनी, बौद्ध, स्वयम्भूमा प्रमुख अतिथि भएर जान्छन् । भोटोजात्रामा यिनको उपस्थिति, हनुमानढोका दसैंघरमा यिनको उपस्थिति, पशुपतिमा क्विन्टल सुन अर्पण, त्यसभित्र आप्mनै नाम लेखाउने होडबाजी गर्छन् । छिमेकीले बोलाए पण्डा बन्छन् । गेरुवस्त्र धारण गर्छन् । भैंसी पूजा गर्छन्, भैंसी–राँगाहरू दान लिन्छन् । जनकपुरमा विदेशी आए भने उस्तै गेरुवस्त्रमा हुन्छन् । छालाको जुत्ता लगाएर भवनको शिलान्यास गर्छन् । बाबु मरे काजकिरिया छोडेर छालाको जुत्तामा सजिएर म प्रधानमन्त्रीका लागि योग्य छु भन्दै काजकिरिया नगरी दाम राख्न दरबार पुग्छन्, धर्मनिरपेक्षको संविधानमा गौरव गर्दै विदेशतिर जाँदा विदेशमय हुन्छन्, यहाँ कालो बिरालाले बाटो काटे दिनभरि काम नबन्ने अपशकुन सोच्छन्, तर्सन्छन् । नदीमाथिको पुल तर्दा नदीमा सिक्का खसाल्छन् । बिहानभरि भद्रकालीमा चण्डीपाठ गर्छन् । दिउसो निधारको टीका पुछेर सिंहदरबार छिरी घुम्ने मेचमा बसेर अगाडि वालमा रहेको माओ, लेनिनलाई ढोग्छन् । कार्यालयमा सुकेनास किसानको फोटो राख्छन् । पाँचतारे होटलमा बफे डिनरमा हुन्छन् । विदेशीले भन्यो भने तारे होटलमा बसेर होलीवाइनमय हुन्छन्, बैठक हुन्जेल सोल्टी डेरा सर्छन् ।

घरमा पुरेत लगाएर पूजा गर्छन्, आशीर्वाद लिन्छन् । सबैभन्दा जान्ने ज्योतिष खोजेर आफ्ना भवनहरूमा वास्तु पूजा गराउँछन् । सन्ततिको चिना, टिपन सबै पुरेत, ज्योतिषले बनाइदिएको हुन्छ । तिनले दिएको सल्लाहमा कालोबोको लिएर दक्षिणकालीतिर पनि जान्छन् । कसैलै श्राद्ध, तर्पण आफन्तका नाममा पिण्डपानी पनि दिएका हुन्छन् । अनि त्यस्तो संस्कृति बोकेको चाडबाड आए स्थानीयहरूले छुट्टै सार्वजनिक बिदा आफैं घोषणा गर्छन् ।

बजेटमा मठ, मन्दिर निर्माण, जीर्णोद्धार, पाटी, पौवा, चौतारी, नदी संरक्षण भन्दै थुप्रै बजेटको जोहो पनि गर्छन् । र, बाहिर भन्छन्, म अरूले जस्तो देउता मान्ने मान्छे होइन । भएभरका गुरुकुल ध्वस्त पार्छन् । संस्कृतका पुस्तक जलाउँछन् । नेपाली भाषा, व्याकरण, वर्ण विन्यासलाई सिध्याइदिन्छन् । मठ मन्दिर भत्काउँछन् । काजकिरियामा बसेकालाई भित्तोमा पुग्ने गरी दुःख दिन्छन् । गाईको हत्या गरी आन्द्राको माला लगाउँछन् । मासुका टुक्रा कोच्याउँछन् । निजी जमिनमा लालकिल्ला भन्दै झन्डा गाड्छन् । सुकुम्बासी भन्दै भोट बैंक बनाउँछन्् । तिनकै सहारामा महानगरविरुद्ध खुँडा खुकुरी बर्सन्छ । नदी किनारामा अदालतले थप २० मिटर छोड्न आदेश दिन्छ तर हाम्राहरू भ्याकेटमा जान्छन् । वृद्धहरूलाई दुःख नदेऊ पेन्सनधारीलाई नेसनल आईडी किन चाहियो ? अदालतले पटकपटक आदेश दिन्छ तर हाम्राहरू त्यसलाई लागू गराउनै व्यस्त हुन्छन् । निरीह वृद्धहरू रुन्छन् । जिन्दगीभर प्यारालाइसिस व्यक्ति ५ जनाको सहाराले वडामा फोटो खिचाउन जानुपर्छ । घरदैलोमा सरकार छ भन्छन् हाम्राहरू, सिँहदरबार गाउँमा आयो भन्दै चिच्याउँदा लामालामा नंग्रा भएका सिंहहरू गाउँगाउँ घुम्छन् । घर चिथोर्छन्, वन बुटेन पनि डोजरका नाममा, माटो छोप्ने विकासको नौटंकीले इतिहासमै ठूलो बाढी, पहिरो धनजनको क्षति हुन्छ ।

मूलबाटामै बस डुब्छ, पानी आउँदा बाटो हुन्न सबै जलमग्न भइसक्छ । यसैलाई जलवायु परिवर्तनको संज्ञा दिएर ठूलै भिक्षा माग्न कहिले कहाँ, कहिले कहाँ धाउँछन् । विदेशीले ओइराएको डलर बालुवामा हालेको पानीसरह हुन्छ । प्रकृतिको हराभरा क्षेत्रमा भ्युटावर भनिन्छ । भ्युटावरले गरिबी देख्न सकेको हुन्न, नेतृत्वमा पुस्तान्तरण कहिल्यै हुन्न । नयाँ पुस्तालाई देश जिम्मा दिन्नन् बरु अरूसँग मिल्छन् । आप्mनो घर भत्काएर खरानीको टीका लाउन प्रयत्न गर्छन् । वरिष्ठ वरिष्ठहरू पाखा लाइदिन्छन्, भित्तामा पु-याउँछन् । बाहिरिएकाहरू ठूलै स्वरले गर्जन्छन् राष्ट्रिय पार्टी बन्न सक्दैनन् । असाध्यै नराम्रो साँठगाँठ हुन्छ, दलमा पढेका, विश्लेषक नाम चलेका डा.हरू पाखा लाग्छन् । एमसीसीतिर जान्छन्, हजुर तपाईंकै हौं भन्छन् । बीआरआईतिर जन्छन् हो नि हजुरको दया, माया भन्छन् । मदन भण्डारी, पुष्पलाल, मनमोहनहरू कमाउनिस्ट थिएनन्, तिनको आदर्शमा पहिरो गएको हुन्छ । जसरी रूखवालाले बीपी, गणेशमान, कृष्णप्रसादहरूलाई सहन सकेन, कमाउनिस्टहरूले आप्mना गुरुहरूलाई सम्झन सकेनन् । वार्षिकीमा तिनको माल्यार्पण हुन्छ । तिनका नाममा राखिएको राष्ट्रिय गुठी मोटै हुन्छ । अहिलेकाले राम्रो भजाउँछन् । उस्तै परे उच्च तह राष्ट्रपतिमा पुगेको व्यक्तिलाई दलको पद दिएर दुनो सोभ्mयाउन पनि बिर्सन्नन् ।

यहाँ श्री ३ हरू छन् । बूढानीलकण्ठ छ, बालकोट छ खुमल्टार छ । बाँकीले केही काम गरे भने त त्यो गोरु ब्याएसरह मात्र हुन्छ । भन्छौ संघीयता छ देशमा, तिम्रा मान्छे पदस्थापन हुन मात्र संघीयता छ । जनता जति निस्किसके, अबको एक दशकमा को हुन्छ यहा“ र कोमथि गर्छौ शासन ?

करोडको घडी, लाखको जुत्ता, लाख बढीको पलङ, करोडको कार्पेट, अर्बको हेलिकप्टर आडैमा राख्नुपर्छ । आपूmले भ्याएर आप्mना सबै, नातागोता, साला, साली, गर्ल फ्रेन्ड, ब्वाई फ्रेन्डहरूलाई उच्च तहको नियुक्ति, करोडौंका गाडी, आलिसान महल र धेरै ठूलो सुरक्षाको ताँती नै हुन्छ । गरिबमाथि करको भार थोपर्छन्, प्रसूतिगृहदेखि अर्यघाटसम्म दरो मुटु राखेर कर असुल्छन् । करको सदुपयोग हुन्न । सेवा प्रवाहमा लापरबाही गर्छन् । जताततै आप्mनै मान्छे नियुक्ति हुन्छ । अदालत पनि चोखो हुन्न, दान लिनु हुन्न भन्ने माक्र्सको सिद्धान्तविपरीत कार्यालय, भवन भन्दै अर्बौंअर्बको जग्गा दान, भवन धेरै जोड्छन् । घरानियाँ व्यापारी उनका वरिपरि घुम्छन्, उस्तै परे विश्वकै धनाढ्य एलेन मस्कसँग फोन पनि लगाउँछन् । आप्mनो नक्सा के हो थाहा हुन्न, १० वर्ष लगाएर विदेशीले आप्mनो भूमिमा बाटो बनाइसकेर उद्घाटन भई आम सञ्चारमा समाचार आएपछि ए हो र मैले त यादै गरेनछु भन्छन् । देशलाई २५ खर्ब बढीको ऋण लगाउँछन् । उच्च व्यापार घाटामा राख्छन् । उद्योगधन्दाहरू सुक्दै जान्छन् । खेतीयोग्य जमिन प्लटिङमा दिन्छन् । किसानले उत्पादनको उचित मूल्य पाउँदैन । उखु किसानी धर्ना दिन सुदूरदेखि राजधानी आउँछ । दूधको भुक्तानी नहुँदा किसान डीडीसी घेर्न पुग्छ । उव्जा गर्ने हात, श्रम तमाम खाडीतिर धकेलिन्छन् । मर्दा मलामी र बिहेमा जन्ती हुन्नन् । गाउँ रित्तो हुन्छ । बेरोजगारीका कारण सहरमा कुकर्म र अपराधका शृंखला बढ्छन् । दसैंमा सहर सुनसान हुँदा पनि प्रहरीले सुरक्षा योजना बनाउनुपर्छ । आय आर्जन भनेको भन्सार राजस्व अनि सवारीबाट जरिमाना हुन्छ । देशमा रोजगारी हुन्न, बर्सेनि ८ लाखले विदेशी रोजगारी खोज्दै भौतान्छिन् । धेरै उतै बस्छन्, सयौं लासहरू घाटमा बाकसमा फर्कन्छन् ।

राष्ट्रियता दरो पारेको भन्छन् । जनताको घर गोठ अँध्यारो पार्छन् । बत्ती, बिजुली नहुँदा र खानाका सामान नहुँदा भोकै अन्धकारमा राख्छन् हाम्रा कमाउनिस्टहरू, बजार अनियन्त्रित हुँदा दुई–चारवटा व्यापारी समातेको देखाउँछन् । अनुगमन फितलो हुन्छ । कर्मचारी, राष्ट्रसेवकहरूलाई आप्mना कामदार सम्झन्छन् । ताक परे राम्रो ठाउँमा सार्छन् नभए बरन्डामा घाम तपाउँछन् । स्थायी सरकार निजामती सेवा इतिहासमै पंगु बन्छ । कार्यालय सहयोगीले सचिवको जागिर गिराइदिन सक्छन् । द्वैधचरित्र हुन्छ, पूर्वीय धर्म दर्शनले मानेको एक मात्र ईश्वर सूर्यको चुनाव चिह्न लिन्छन् । मौका परे हँसिया हथौडा हाम्रो पुख्र्यौली सम्पत्ति हो भन्छन् । रूखतिर गएर भोट हाल्छन्, । सत्ताका लगि अप्राकृतिक गठबन्धन गर्छन् । चुनावी क्षेत्रमा तालमेल हुन्छ, विजातिले पनि सघाउँछन् । दलीय व्यवस्था भन्छन् निर्दलीय चरित्र देखाउँछन् । चुनावमा व्यापरीसंग गला जोड्छन् । उस्तै परे मासु, चिउरा, मदिराको वितरण हुन्छ । चुनावी घोषणपत्रलाई ख्याल गर्दैनन् । आपूm जोगिन ठूला दुई भनिएकाको अन्तरंग घुलमिल हुन्छ, । सत्ता आलोपालो गर्छन् । बाहिर भन्छन्— मूल कानुन संशोधन गर्ने र यसैले देशमा समृद्धि दिने हो । साढे तीन दशकदेखि आपसी सत्ता बाँडफाँटमै व्यस्त हुन्छन् । देश भने गरिबी बढेको, बेरोजगारी बढेको, महँगीले सातो लिएको हुन्छ ।

अन्त्यमा, धेरै गन्थन गर्नु छैन, देश तिम्रो हो हामी प्रतिस्पर्धी होइनौं । देखेका कुरा ओकल्ने मात्रै हौं । बाँची खान देऊ । बाँकी धेरै काम तिमीहरूबाट आशा मरिसक्यो । रूखले एक्लै देश बोक, सूर्यले एक्लै बोक, हँसिया हथौंडाले एक्लै बोक, अरू बेला सत्तोश्राप गर्छौ सत्ता जाँदा सबै गहुँतले नुहाइदिन्छौं । स्वतन्त्रले पनि एक्लै बोक देश, नो नट एगेन भनेर चुनावमा गएका किन अरूको जुठो खाएको, दुई महिना सिंहदरबार नगएको भए चौरासीमा एक्लै देश बोक्ने लहर आइसकेको थियो । धैर्य गर्न सकेनौ अब भित्तामै पुगिसक्यौ । मतदातामा कुन मुखले जाने घरीघरी ? वैकल्पिक शक्ति बनिसकेको २१ सिट आइसकेको तिम्रो भविष्य राम्रो थियो चौरासी बा त्योभन्दा अगावै । विदेशमा यस्तो गठबन्धन गरेर सत्ता, सिनो लिने काम हुन्न र त सुशासन छ । मानवअधिकार छ । विधिको शासन छ । अनुशासन छ । निष्ठा छ । त्याग छ । समर्पण छ । जवाफदेहिता छ । जिम्मेवारीबोध छ । राज्यका संयन्त्रहरू सक्रिय छन् । यहाँ के छ भन त, यहाँ श्री ३ हरू छन् । बूढानीलकण्ठ छ, बालकोट छ खुमल्टार छ । बाँकीले केही काम गरे भने त त्यो गोरु ब्याएसरह मात्र हुन्छ । भन्छौ संघीयता छ देशमा, तिम्रा मान्छे पदस्थापन हुन मात्र संघीयता छ । जनता जति निस्किसके, अबको एक दशकमा को हुन्छ यहाँ र कोमथि गर्छौ शासन ?

The post नेपालका ‘कमाउनिस्ट’हरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment