प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गोल्डेन पेजर उपहार दिएका छन । ह्वाइट हाउसमा भएको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहूले ‘गोल्डेन पेजर’ उपहार दिएको बताइएको छ ।
सन् २०२४ को सेप्टेम्बरमा हिज्बुल्लाहविरुद्धको युद्धको टर्निङ प्वाइन्टको प्रतीकका रुपमा यो उपहार प्रदान गरिएको नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“यो रणनीतिक अभियानले इजरायलको शक्ति, प्राविधिक श्रेष्ठता र आफ्ना शत्रुहरूविरुद्ध चातुर्य प्रदर्शन गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
लेबनानी अधिकारीहरूका अनुसार इजरायलले एकै दिन एकै चोटी ‘पेजर आक्रमण’ गरी हिजबुल्लाहलाई स्तब्ध बनाएको थियो ।
आक्रमणमा पेजर र वाकी–टकीमा विस्फोट हुँदा दर्जनौं लडाकू मारिएका थिए । हजारौँ घाइते भएका थिए । गत सेप्टेम्बरको अन्त्यतिर इजरायलले हिजबुल्लाहलाई सीमाबाट पछाडि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानमा स्थलआक्रमण सुरु गरेको थियो ।
एक वर्षभन्दा बढी समयदेखिको इजरायली बमबारी र दक्षिणी लेबनानमा आक्रमणमा परिणत युद्धको अन्त्य गर्दै नोभेम्बरको अन्त्यमा इजरायल र हिजबुल्लाह युद्धविराम गर्न सहमत भए ।
यद्यपि, इजरायली सेना अझै पनि छिमेकी देशका केही भागमा सक्रिय छन् । युद्धविराम लागू गर्न तीन महिनाको समयावधि जनवरी २६ मा समाप्त भएको छ ।
तर इजरायली सेनाले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्ने समयसीमामा सेना फिर्ता गरेको छैन । अब फेब्रुअरी १८ सम्म सेना फिर्ता गर्ने मिति तोकिएको छ ।