नेकपा एसमा दोहोरिने नेपालको चाहना : खनाल र भुसाल पनि आकांक्षी

नेकपा एसमा दोहोरिने नेपालको चाहना : खनाल र भुसाल पनि आकांक्षी


नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन तयारी तीव्र पारिएको छ। एमालेबाट विभाजन भई गठन भएको तीन वर्षपछि नेकपा एसको महाधिवेशन पहिलोपटक असार तेस्रो साता काठमाडौंमा हुँदै छ।

महाधिवेशन तयारीसँगै नेतृत्वका लागि पनि जोडघटाउ सुरु भएको छ। वर्तमान अध्यक्ष माधवकुमार नेपालले फेरि पनि नेतृत्वमा दोहोरिन चाहेका छन्। त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष पदका लागि तयारी थालेका छन्। महासचिव घनश्याम भुसालले पनि अध्यक्ष पदमा दाबी गरिरहेका छन्।

एमालेबाट विद्रोह गरी नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्ने अवस्था आएको बताउँदै अध्यक्ष नेपालले महाधिवेशन तयारीमा जुट्न पार्टी पंक्तिलाई आग्रह गरिसकेका छन्। महाधिवेशनसँगै नेकपा एसभित्र जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर विवाद उत्पन्न भएको छ। वरिष्ठ नेता खनालले जबजलाई नमान्ने भनेपछि विवाद भएको हो।

नेतृत्वमा रहिरहन नेपाल र पुग्न खनाल र भुसालले आ-आफ्नै किसिमको तयारी गरेका छन्। अध्यक्ष नेपालले भने पार्टीले जबज मान्ने र नेतृत्व पनि सर्वसम्मत चयन हुने बताइसकेका छन्।

‘पार्टीको तल्ला कमिटी तथा सातवटै प्रदेश कमिटीहरूले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्। हामीले कार्यकर्ताहरूको भावनाअनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने छौं। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता पार्टीमा अझै पनि उत्तिकै छ’, अध्यक्ष नेपालले भने।

उनले कम्युनिस्टभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने भएकाले जबज पार्टीको कार्यक्रम भएको बताए। ‘कम्युनिस्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताका आधारमा नेतृत्वमा पुग्नेलगायत विषय सान्दर्भिक छन्। जबज पार्टीको कार्यक्रम हो,’ उनले भने।

नेता खनालले नेतृत्वमा पुग्न पार्टी तल्लो तहका कार्यकर्तालाई निवासमा बोलाउँदै लबिइङ थालेका छन्। उनले काठमाडैंमा रहेका र जिल्लाबाट आएका कार्यकर्तालाई निवासमा बोलाएर आफू कुनै पनि हालतमा अध्यक्षको उम्मेदवार हुने भएकाले सहयोग गर्न भनिरहेका छन्।

त्यस्तै महासचिवमा प्रचार विभाग प्रमुख एवं हालका उपमहासचिव जगन्नाथ खतिवडाले चाहना देखाएका छन्। उनले आफू महासचिव बन्ने तयारीमा लागेको जानकारी अध्यक्ष नेपाललाई गराइसकेका छन्। देशव्यापी जनसम्पर्क भएकाले पनि खतिवडाका लागि महासचिव बन्न सहज हुने कार्यकर्ताहरूको दाबी छ।

वैचारिक रूपमा सक्षम र स्पष्ट तथा विद्यार्थी मोर्चाबाट उदाएका नेता भएकाले पार्टीभित्र खतिवडालाई रुचाउने धेरै भएको बताइन्छ। यसैगरी प्रकाश ज्वालाले पनि आफू महासचिवको तयारीमा लागेको बताउँदै आएका छन्। उनले पनि यसबारे अध्यक्ष नेपाललाई जानकारी गराएका छन्। यी दुवैजना अध्यक्ष नेपाल नजिक मानिन्छन्।

पार्टी नेतृत्व र सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन्। पार्टीको तल्लोदेखि माथिल्लो तहका नेता सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान भएकाले महाधिवेशनमा पेस गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठनिक दस्ताबेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ।

जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ। महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीसँग पार्टीले जानकारी लिएको छ। ‘सुझावहरू आउने क्रम जारी छ’, पार्टी प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य शम्भु श्रेष्ठले भने।

राजनीतिक, समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठानिक दस्ताबेजलाई एउटै प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी भएको जानकारी पनि श्रेष्ठले दिए। उनका अनुसार महाधिवेशनका लागि पार्टी केन्द्रले लोगोसमेत निर्माण गरेको छ।

नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ। ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौैं, समाजवादी बाटोमा अगाडि बढौं’ भन्ने नारा लोगोमा लेखिएको छ।

महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्नेकार्यक्रम छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा मूल व्यवस्थापन कमिटी र अन्य १४ वटा कमिटी निर्माण गरिएको जानकारी श्रेष्ठले दिए।

उमेर हदबन्दी हट्यो

नेकपा एसले महाधिवेशन तयारीसँगै नेताहरूको चाहनालाई ध्यानमा राखेर उमेरको हदबन्दी हटाएको छ। महाधिवेशनमा कम्युनिस्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरूलाई ध्यानमा राखेर उमेर हदबन्दी हटाइएको उसले जनाएको छ। उमेर हदबन्दी हटेपछि पहिलो पुस्ताका नेता पनि विभिन्न पदमा प्रतिस्पर्धा गर्न पाउने छन्।

‘अग्रज नेताहरूले पार्टीमा योगदान गर्नुभएको छ, अझै योगदान गर्ने र पार्टी निर्माणमा लाग्ने उत्साह देखाउनुभएको छ। यो भावनालाई हामीले ध्यान दिनुपर्छ’, प्रचार विभाग प्रमुख खतिवडाले भने। यसअघि पार्टीले ७० वर्ष उमेर कटेका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था गरेको थियो। यो व्यवस्था एमालेमा रहँदा नै थियो। एमालेले पनि उमेरहदलाई खुकुलो बनाएको छ।

प्रतिनिधि हुन एमालेकै सदस्यता कायम

नेकपा एसले महाधिवेशनमा प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ। २०७८ साल भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन भएको हो। नेकपा एसले महाधिवेशनमा प्रतिनिधि छनोटका लागि एमालेकै सदस्यतालाई कायम गरेको छ। महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे तीन वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव संगठन विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले राखेका छन्।

नेकपा एसले अन्तरपार्टी निर्देशन जारी गरी देशभर संगठित सदस्यको संख्या एक लाख ४६ हजार ७१७ रहेको जनाएको छ। तिनै सदस्यबाट एक हजार सात सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। यिनै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन्। र, आफू पनि उम्मेदवार बन्न पाउनेछन्।

अध्यक्ष नेपालले बिहीबार अन्तरपार्टी निर्देशन (अपानि–१४) जारी गर्दै दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका– २०८१ मार्फत प्रतिनिधिको योग्यता तोकेका हुन्। निर्देशिकामा असार ५ गते देशभर एकैपटक प्रतिनिधि चयन गर्न भनिएको छ।

प्रतिनिधि छनोट गर्दा भूगोलका संघीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेशअन्तर्गतका जिल्ला कमिटीका कार्य क्षेत्रबाट १२५ संगठित पार्टी सदस्य बराबर एक प्रतिनिधिका दरले प्रतिनिधि छनोट हुनेछन्। थप संख्या आउनका लागि कुल सदस्य संख्यालाई १२५ ले भाग गर्दा शेष भाग कम्तीमा शून्य प्वाइन्ट पाँच (०.५) रहेको हुनुपर्ने व्यवस्था गरिएको छ।

‘दसौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित सदस्यता प्राप्त गरी कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने छ, संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ। योग्यता नपुगेका व्यक्ति प्रतिनिधि छनोट भएमा प्रतिनिधि रद्द हुनेछ,’ अपानीमा लेखिएको छ। पूर्ववर्ती पार्टी भन्नाले नेकपा एमाले रहेको नेकपा एसका नेताले जनाएका छन्।

एक हजार ७ सय ७८ प्रतिनिधि

नेकपा एसले महाधिवेशनमा एक हजार सात सय ७८ जना प्रतिनिधि सहभागी हुने जनाएको छ। जसमध्ये ३४६ जना केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका पदाधिकारी र सदस्य गरी ४५० जना स्वतः प्रतिनिधि चयन हुनेछन्।

यीबाहेक एक हजार ३२८ जना निर्वाचित भएर आउनेछन्, जसमध्ये कोसी प्रदेशबाट १४३, मधेस प्रदेशबाट २९६, बागमती प्रदेशबाट २०५, गण्डकी प्रदेशबाट ७०, लुम्बिनी प्रदेशबाट १३०, कर्णाली प्रदेशबाट १७१ जना प्रतिनिधि निर्वाचित हुनेछन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट १४२, उपत्यका प्रदेशबाट २३, सम्पर्क प्रदेशबाट २२, भारत प्रवासबाट ८, अन्य प्रवासबाट १५, मजदुर विशेष आरक्षणबाट २०, विभाग तथा फाँटबाट ३२ र महासंघबाट ८५ जना प्रतिनिधि चुनिने छन्। त्यस्तै जनसंगठनबाट ५६, परिषद् तथा ज्येष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सल्लाहकारबाट १० जना प्रतिनिधि चयन हुनेछन्। त्यसमा महिला ४२५, दलित १५० र खुला एक हजार ३०३ जना हुनेछन्।

प्रकाशित: १ असार २०८१ ०६:२५ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School