नियमित काममा रमाइरहेका बालेन

नियमित काममा रमाइरहेका बालेन


३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यसअघि ८९ बुँदामा चालु आर्थिक वर्ष २०८०/८१ को उपलब्धिहरू सुनाए, जसमा कतिपय महानगरले वर्षौंदेखि गरिरहेको दैनिक र नियमित सेवा प्रवाहका विषय छन् ।

बालेन स्वतन्त्र उम्मेदवारका रुपमा १२ जेठ २०७९ मा काठमाडौंको मेयर निर्वाचित भएका थिए । पहिलो वर्ष मापदण्ड विपरीतका संरचनाहरूमा डोजर चलाएर निरन्तर चर्चामा रहेका उनले यो वर्ष पनि केही पहल लिएका छन् । त्यसलाई प्राथमिकताका साथ उपलब्धिको सूचीमा राखेका छन् ।

धेरैले सराहना गरेको संस्थागत विद्यालयमा करिब २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिलाउन गरेको कामलाई मेयर बालेनले उपलब्धिको पहिलो नम्बरमा राखेका छन् । सामुदायिक विद्यालयहरूमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम चलाएको तथा ९ र १० कक्षाका विद्यार्थीलाई ९० घण्टाको तालिम सीपसम्बन्धी तालिम प्रदान गर्नुलाई पनि उपलब्धिको सूचीमा राखिएको छ ।

बालेनले पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई संघ सरकारले दिने १५ रुपैयाँको खाजा खर्चमा महानगरले १५ रुपैयाँ थप दिनुलाई पनि उपलब्धिमा गनेका छन् ।

दिवा खाजाको रकम वृद्धिले विद्यार्थीहरू टिकाउन त मद्धत गरेको छ, तर सामुदायिक स्कुलको सबभन्दा ठूलो समस्या शैक्षिक गुणस्तर (सिकाइ उपलब्धि) कमजोर हुनु हो । यसमा महानगरले उपलब्धि देखिने गरी काम गर्न सकेको छैन ।

काठमाडौं महानगर भित्रका ५२ वटा अस्पतालसँग सहकार्य गरेर विपन्न, असहाय र बेवारिसे अवस्थाका बिरामीहरूलाई ३७४ शय्या (कुल शय्याको १० प्रतिशत) निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइएको महानगरको प्रगति विवरणमा उल्लेख छ ।

५ वटा स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाएको, २६१ वटा फार्मेसीको अनुगमन गरिएको, निःशुल्क एम्बुलेन्स सेवा दिएको, वडामा स्वास्थ्य शिविर सञ्चालन गरेर महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरेको पनि महानगरको वर्ष दिनको प्रगति विवरणमा छ ।

हरेक वडामा सुविधासम्पन्न सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र काठमाडौं महागरको आवश्यकता हो । कतिपय स्थानीय तहले यसमा उल्लेख्य काम गरेको छ । स्रोत साधान सम्पन्न भएरपनि काठमाडौंले यसमा अपेक्षाकृत काम गर्न सकेको छैन ।

यसैगरी प्राचीन शहर हाँडीगाउँको रैथाने नेवार बस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न एक किलोमिटर सडकमा प्रत्येक शनिबार केही घण्टा सवारीमुक्त बनाइएको छ । भित्री शहरको जनजीवन र संस्कृतिलाई पर्यटनसँग जोड्न महानगरले थालेको यस्तो पहलको धेरैले स्वागत गर्दै आएका छन् ।

तर रैथाने नेवार बस्तीहरूलाई जगाउने योजना नै अगाडि बढाउन सकेको छैन । १ हजार ४०० वर्गमिटर पर्खालमा कलात्मक चित्र बनाएको, ४० वटा मन्दिर, सत्तल, बिहार, गुठीघर योजनाहरु सकिएको जस्ता विषय पनि उपलब्धि विवरणमा छ । १४० वटा मन्दिर, विहार, चैत्य, पाटी, फल्चाहरु र २८ वटा ढुंगेधारा तथा पोखरीहरुको सरसफाइ र सौन्दर्यकरण गरेको बताएका छन् ।

महानगरले जात्रा, पर्व, परम्पारगत गुठी, बाजा, भाषा, कला तथा संस्कृतिको जगेर्ना गर्न क्रियाशील २०० खलः, पुचः, संघ संस्थाहरुलाई अनुदान वितरण गरेको छ, जुन विगत धेरै वर्षअघिदेखि नै महानगरले गर्दै आएको थियो ।

बाजा प्रतियोगिता गरिएको, डबली, दवूहरुको प्रारम्भिक अभिलेख संकलन गरिएको, विभिन्न पुराना बस्तीहरुको मौलिक नामको संकलन, अध्ययन तथा अनुसन्धान कार्य गरिएको, चलचित्र सम्वाद गरिएको जस्ता विषय पनि विवरणमा छन् ।

महानगरले आयोजना गरेको सीपमेलामा पनि खासगरी युवाको ठूलो आकर्षण देखिएको थियो । ६९ हजारले आवेदन दिएकोमा २ हजार ७१५ जनालाई १५ देखि ३० दिनको सिपमुलक तालिम दिनुका साथै १५ वटा वडामा उद्यमशिलता कार्यक्रम सञ्चालन गरिएको महानगरको उपलब्धी विवरणमा उल्लेख छ ।

तर बालेनले उपलब्धिका रुपमा गनाएका धेरै काम महानगरको नियमित हुन् । काठमाडौं महानगरका शहरी योजना आयोगका पूर्वउपाध्यक्ष सरोज बस्नेत निरन्तरतामै रमाइरहेको बालेन शैलीलाई नौलो मान्दैनन् । विगतमा विद्यासुन्दर शाक्य मेयर भएका बेला आयोगले बनाएका १५० भन्दा बढी आयोजनाहरुमध्ये अहिले पार्क निर्माण, सम्पदा पुनर्निर्माण लगायतका धेरैवटा अघि बढाइएको भन्दै उनले त्यसबाट भविष्यमा शहरले लाभ लिने बताए ।

विगतमा कार्यान्वयनमा जान नसकेका आयोजना अघि बढाउनुको विकल्प नभएको बस्तेतको भनाइ छ । महानगरको विगतको नेतृत्वले सुरु गरेका धेरै काम, कार्यक्रमसहित तयार गरेका योजनाहरुलाई निरन्तरता दिएर महानगरपालिकाको वर्तमान नेतृत्व सकारात्मक ढंगले अघि बढेको बस्नेत बताउँछन् ।

‘वर्तमान मेयरको नियतमा शंका गर्ने ठाउँ छैन, जोशिलो शैलीमा काम गर्दा कतिपय ठाउँमा अन्याय भएको छ, कार्यशैलीमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘विगतमा महानगरले लिएका धेरै नीतिहरुकै आधारमा अघि बढेर उहाँले कतिपय सन्दर्भमा नियमित कामबाटै नतिजा दिन खोज्नु भएको देखिन्छ ।’

साना उपलब्धिमै सन्तुष्ट बालेन

पूर्वउपाध्यक्ष बस्नेत शहरी व्यवस्थापन र सेवा प्रवाहको सुधार काठमाडौंका मेयरका लागि चुनौतीपूर्ण काम मान्छन् ।

‘यहाँ अत्यावश्यक भएको मास ट्रान्जिटको विकास लगायतका ठूला काम गर्न संघ सरकार र अन्य सारेकारवालासँग भर पर्नपर्ने हुन्छ,’ उनले भने, ‘आफूले मात्र नसक्ने काम गराउन पहल त गर्नुपर्छ, तर अहिले मेयरले गर्ने मुख्य काम शहरी पूर्वाधारको व्यवस्थापन र संवैधानिक अधिकार क्षेत्रभित्र सुधारका सकारात्मक पहल नै हो ।’

मेयर बालेनका अनुसार पछिल्लो वर्ष महानगरभित्र ३०.०३ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने २२.६ किलोमिटर फूटपाथ बनेको छ ८.०७ किलोमिटर बाटो ढलान गर्नुका साथै १३०० वर्गमिटर चोकमा ढुंगा छापिएको छ । ७.६६ किलोमिटर ढल बनाएको महानगरले २.९ किलोमिटर रिटेनिङ वाल निर्माण गरेको छ ।

४ सामुदायिक भवन, २ शहरी स्वास्थ्य क्लिनिक भवन, ४ वटा कलेज तथा स्कूल भवन, एउटा सार्वजनिक शौचालय, २ फल्चा बस स्टप, २ पाटी र १० पार्कको निर्माण भएको छ ।

पूर्वाधार एम्बुलेन्समार्फत १९ हजार वर्गमिटर सडकको खाल्डामा गिटी भरेको छ भने विद्या सुन्दर शाक्य मेयर हुँदा विद्युत प्राधिरकणसँग सम्झौता भएको महानगर क्षेत्रभित्र २ हजार ८९ वटा स्मार्ट सडक बत्ती जोड्ने काम यो वर्ष सकिएको छ ।

अतिक्रमित ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा महानगर अन्तरगत ल्याएको र ३५१ वटा अवैध भौतिक संरचना हटाएको मेयर बालेनले जानकारी दिए । दमकल जान नसक्ने केही साँघुरा सहरी गल्लीहरुमा फायर हाइड्रेन्ड जोडिएको छ ।

महानगरले ५, १०, १२ २४, २५ र २७ नम्बर वडामा फोहरलाई श्रोतमा वर्गीकरण गर्न थालेको बताएको छ । जबकी बालेनले मेयरमा निर्वाचित भएर आएदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका थिए । महागरले सबै वडामा फोहरलाई श्रोतमा वर्गीकरण गर्ने निर्णय पनि गरेको थियो ।

विद्यालयका छात्राहरुका निःशुल्क सेनेटरी वितरण, कक्षा १ देखि कक्षा ८ सम्म नेपाल भाषामा पठनपाठनलाई निरन्तरता, विद्यार्थी र शिक्षकाका वातावरण तथा शिक्षणसम्बन्धी तालिम दिएको पनि एक वर्षको उपलब्धि विवरणमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा कम्पोस्ट मल बनाउ थालिएको, टेकुमा कुहिने फोहरबाट सञ्चालित वायोग्याँस प्लान्ट चलाएको, ३२० जना सरसफाइ कर्मचारीलाई स्वास्थ्य सुरक्षा तालिम प्रदान दिएको विषय समेत प्रगति विवरणमा छ ।

बिष्णुमती, धोबीखोला, चखुंचाखुशी, भचाखुशी नदीहरुबाट २ हजार ९५३ टन र ढल, नाला सफा गरेर ३ हजार ८६२ टन फोहर संकलन तथा व्यवस्थापन गरेको महानगरको दाबी छ ।

महानगरले १ हजार ९७२ थान कम्पोस्ट बिन सहुलियत दरमा बेचेको, ४० टन नकुहिने सुख्खा फोहरको व्यवस्थापनको बिक्री प्रक्रिया अघि बढेको, २४० जना विद्याार्थीलाई फोहरमैला व्यवस्थापनबारे सचेतना र प्रांगारिक मल बनाउने तालिम दिएको जस्ता विवरण पनि उपलब्धिका रुपमा सार्वजनिक भनेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ हजार ३०० जनाभन्दा बढीलाई केही दिनको रोजगारी दिएको महानगरले बताएको छ ।

मेयर बालेनका अनुसार पछिल्लो वर्ष महानगरले १ अर्ब ३० करोड बेरुजु फर्छस्योट गरेको छ । ६ वटा पेमेन्ट गेटवेमार्फत राजस्व अनलाइन भुक्तानी प्रणाली चलाएको छ भने बालाजु पार्क, रत्नपार्कमा बैक काउण्टरमार्फत शुल्क संकलन, प्रि–बुकिङ स्क्यान–टु–पेको सुविधा उपलब्ध गराएको छ ।

३५ हजार ६६६ करदाता संख्या थप भएको र २७ जेठ २०८० सम्मको तुलनामा २७ जेठ २०८१ सम्म १३ करोड ४४ लाख आन्तरिक राजस्व बढेको छ । १२ ऐन, २ नियमावली, ३ निर्देशिका, १७ कार्यविधि, २ मापदण्ड गरी ३६ वटा कानून स्वीकृत गरी कार्यान्वयनमा ल्याएको मेयर बालेनले बताएका छन् ।

बालश्रम तथा हिंसामा परेका ४१ जना बालबालिकाको उद्धार गरेको, अपांगता भएका १०० जनालाई व्हीलचेयर, कमोडचियर, वाकर र सेतो छडी बाँडेको, असहाय तथा बेवारिसे अवस्थामा रहेका ३५ जनालाई मानव सेवा आश्रम पठाएको पनि मेयर बालेनले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।

५ हजार ४६४ सामुदायिक कुकुर र विरालोको वन्ध्याकरण गरिएको र १ हजार ८४० वटा मृत जीवजन्तुको व्यवस्थापन गरिएको समेत विवरणमा उल्लेख छ । पानी, डेरी, वधशाला, तरकारी फलफुल, मासु बजार तथा मिठाइ, किराना पसलको अनुगमन गरिएको पनि मेयर बालेनले बताएका छन् ।

महानगरका १४० स्थानमा ३५ हजार रूख बिरूवा रोपिएको बालेनले जानकारी दिएका छन् ।
३०० जनालाई योग तथा जीम प्रशिक्षकको क्षमता अभिबृद्धि तालिम, २४० जनालाई मनोसामाजिक परामर्श तालिम दिएको महानगरले १ हजार ३५५ जनालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराएको पनि बालेनको उपलब्ध सूचीमा छ ।

महानगर क्षेत्रमा १३८ सीसी क्यामेरा जडान गरेर महानगरको आफ्नै डाटा सेन्टर स्थापना गर्न लागिएको र फोहर ढुवानी गर्न वैकल्पिक इन्धनबाट चल्ने साना सवारी साधन किन्न लागिएको पनि मेयर बालेनले उपलब्धिमा समेमेटेका छन् ।

कालोपत्रे सडकमा भएको पार्किङ खाली गरिएको र सडक क्षेत्रमा चलेका २६० वटा वर्कसप हटाएको अनधिकृत पार्किङ गरिएका १५ हजार ७७१ वटा सवारीलाई कारवाही गरेको पनि महानगरको प्रगति विवरणमा समेटिएको छ ।

१५० भन्दा धेरै रेस्टुरेन्ट, बैंकलगायतको शौचालय सार्वजनिक प्रयोगमा ल्याएको महानगरले बताएको छ । बालेन मेयर निर्वाचित भएर आएलगतै यो अभियान थालेका थिए, तर अहिले पनि यो अभियानमा उल्लेख संख्या बढ्न सकेको छैन ।

महानगरले आफैंले सार्वजनिक शौचालय बनाउने कामले भने अपेक्षाकृति गति लिन सकेको छैन ।

काठमाडौं जिल्ला अदालत नजिकै ‘पेलिकन क्रसिङ’ स्थापना गरिएको छ भने यो वर्ष आकाशे पुलहरुको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । ग्रेटर ठमेलको अवधारणामा सडक सूचीकरण गरेको पनि महानगरले जनाएको छ । मेयर बालेनका अनुसार महानगरको २० वर्षे रणनीतिक विकास योजना सहितको ‘मिसन २१०० स्वर्णिम योजना’को अवधारणा पत्र भएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School