News Summary
Generated by OK AI. Editorially reviewed.
- आगामी ४८ टोली सहभागी हुने फिफा विश्वकपमा केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डनले पहिलो पटक सहभागिता जनाउने भएका छन् ।
- पूर्व सोभियत संघबाट स्वतन्त्र भएको ३६ वर्षपछि उज्वेकिस्तानले पहिलो पटक विश्वकप फुटबलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
- मात्र डेढ लाख जनसंख्या भएको कुराकाओ विश्वकप २०२६ मा छनोट हुने क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा सानो राष्ट्र बनेको छ ।
२९ जेठ, काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्याइँदा यसपालि ४ नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने पक्का गरेका छन् ।
अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकपमार्फत ‘डेब्यू’ जनाउने तयारीमा रहेका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन ।
विश्वकपको ९६ वर्ष र २२ संस्करणको इतिहासमा अहिलेसम्म ८० देशले यो प्रतियोगिता खेलिसकेका थिए । यसपालीबाट यी ४ टिम थपिएसँगै त्यो संख्या ८४ पुग्ने भएको छ ।
विश्वकपमा डेब्यु गर्न लागेका चार नयाँ टोली यस्ता छन् ।
केप भेर्डे
सहारा मरुभुमिभन्दा दक्षिणी भागमा लगभग साढे दुई लाख जनसंख्या र ४ हजार बर्गकिलोमिटर क्षेत्रफल रहेका ससाना टापुहरुको एउटा सानो देश केप भेर्डे इतिहासकै सबभन्दा ठूलो फिफा विश्वकपलाई छानिनु आफैमा उनीहरुका लागि एउटा ठूलो उपलब्धि हो ।
सन् १९७५ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको टोलीले तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको यात्रा सुरु गरेको थियो । तर फुटबलको निक्कै संवृद्ध संस्कार भएको एउटा अफ्रिकी देश हुनाको नाताले केप भेर्डेसँग अन्तर्राष्ट्रिय स्तरमा प्रभाव छोड्ने क्षमता चाहिँ सधैं थियो ।
बुबिस्टा उपनामले परिचित प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटोको नेतृत्वले पछिल्लो समय त्यहाँको फुटबल संस्कारलाई सही आकार दिँदा यो सानो देशले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक उपस्थिति जनाएको हो । छनोट चरणमा एकरुपको प्रदर्शन र हार नखाने खालको मानसिकता प्रस्तुत गरेर यो सानो अफ्रिकी देशले उत्तर अमेरिकाको टिकट काट्न सफल भएको थियो ।
४६ वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा आफूलाई प्रस्तुत गर्दै आएको केप भेर्डेले यसअघि पनि फिफा विश्वकपमा छनोटको प्रयास गरेको थियो । तर सफल भएको भने यसपाली पहिलो पटक हो ।
चार वर्षअघि कतार विश्वकपका लागि पनि केप भेर्डेले अन्तिम समयसम्म छनोट प्रतियोगितामा प्रयास गरेको थियो । तर अफ्रिकी फुटबलको महारथी नाइजेरिरयासँग समूह चरणको अन्तिम खेलमा १–१ को बराबरीमा सीमित भएपछि टोलीको पहिलो विश्वकप खेल्ने लक्ष्य कम्तिमा चार वर्षका लागि पछि धकेलिएको थियो ।
त्यतिबेला निक्कै मेहनत गर्नाका बावजुद आफ्नो देशलाई कतारको लायक बनाउन असफल रहेका कप्तान रायन मेन्डेस, गोलकिपर भेजिन्हा र रक्षक लोबर्टो लोपेजजस्ता खेलाडीको समूहले यसपाली भने पूरा देशले लामो समयदेखि गरेको प्रतिक्षामा पूर्णविराम लगाइछाडे ।
बुबिस्टा केप भेर्डेका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले खेलाडीको रुपमा स्पेन, पोर्चुगल र अंगोलाका क्लबहरुबाट व्यावसायिक फुटबल खेले । सन् २०२० देखि केप भेर्डेको मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी लिएका बुबिस्टाले भेजिन्हा, मेन्डेस, लोपेज र स्ट्राइकर डेलोन लिभ्रामेन्टोजस्ता खेलाडीहरुको समूहलाई विश्वस्तरमा प्रतिस्पर्धाका लागि सक्षम बनाए । त्यसैको परिणामस्वरुप टोली अहिले विश्वकपमा छ ।
घरेलु मैदानमा निक्कै उत्कृष्ट फर्मलाई कायम राख्ने क्रममा केप भेर्डेले घरमा खेलेका सबै ५ खेलमा जित हासिल गरेको थियो । त्यसक्रममा टोलीले एउटा गोल पनि खाएको थिएन । केप भेर्डे पहिलो पटक विश्वकपलाई छनोट हुनुमा घरेलु मेदानमा खेलेका तिनै खेलको भूमिका सबभन्दा बढि थियो । एकै गोल नखाई ५ खेलमा सबै जित हासिल गर्दै विश्वकपलाई छनोट भयो ।
विश्वकप छनोट प्रतियोगितामा केप भेर्डेले आफ्नो समूहमा क्यामरुन जस्तो महारथी र अंगोलाजस्तो बलियो टिमलाई पछि पारेको थियो । केप भेर्डे विजेताका रुपमा अगाडि बढ्दा ४ अंकले पछि परेको क्यामरुन समूहको उपविजेतामा सीमित भएको थियो । केप भेर्डे फिफा विश्व वरियताको ६७औं स्थानमा छ ।
जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपमा पहिलो पाइला राख्ने केप भेर्डेले समूह ‘एच’ को दोस्रो खेल उरुग्वेसँग जुन २२ मा तथा अन्तिम खेल जुन २७ मा साउदी अरेबियासँग खेल्नेछ ।
उज्वेकिस्तान
पूर्व सोभियत संघबाट स्वतन्त्र भएको ३६ वर्षमा ७ पटकको प्रयासपछि उज्वेकिस्तानले फिफा विश्वकप खेल्ने गन्तव्य अन्तत हासिल गरेको छ । विश्वकप २०२६ मा सहभागी हुने ४८ मध्ये ४ नयाँ टिममा उज्वेकिस्तान एक हो ।
पछिल्ला संस्करणहरुमा राम्रो प्रदर्शनका बावजुद भाग्यबाट ठगिँदै आएको उज्वेकिस्तानलाई विश्वकप खेल्ने सपना पूरा गर्न यसपाली प्रतियोगिताको आकार ३२ बाट बढाएर ४८ पुर्याउने फिफाको निर्णयले पनि फाइदा पुग्यो । तथापि टोलीले आफ्नो सपना साकार पार्नका लागि एसियाली छनोटको दोस्रो र तेस्रो चरणमा एकरुपको उच्च प्रदर्शन गरेको थियो ।
दोस्रो चरणमा इरान, तुर्कमेनिस्तान र हङकङ रहेको समूहमा ६ खेलमा ४ जित हासिल गर्दै गोलअन्तरमा मात्र इरानभन्दा पछाडि रहेर उपविजेताका रुपमा उज्वेकिस्तान तेस्रो चरणका लागि छानिएको थियो । तेस्रो चरणमा पनि मध्य एसियाली टोलीको लय कायम रहयो । जहाँ समूह ‘ए’ बाट १० खेलमा ६ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै उपविजेता भएर टोली सोझै विश्वकपलाई छानियो । टोलीले भोगेको एकमात्र हार कतारविरुद्ध थियो । युएईसँग अबुधाबीमा खेलेको बराबरीले टोलीको उत्तर अमेरिकाको टिकट पक्का भएको थियो ।
तेस्रो चरणमा पनि उज्वेकिस्तान उपविजेता हुँदा समूहबाट इरान विजेता बनेको थियो । तेस्रो चरणमा उज्वेकिस्तान रहेको समूहमा युएई, कतार, किर्गिस्तान र उत्तर कोरिया पनि थिए । यसअघि अवे गोल पद्धतिमा बहराइनसँग पराजित हुँदा विश्वकप २००६ को एसियाली छनोटको पाँचौं चरणमा टोली निराश बन्नुपरेको थियो । त्यो खेल उज्वेकिस्तानका लागि यसकारण पनि थप पीडादायी छ की, टोलीले जितिसकेको खेल रेफ्रीको गल्तीका कारण पुनः खेलाइँदा मध्य एसियाली देश निराश बन्नुपरेको थियो ।
त्यसको ८ वर्षपछि फेरि उज्वेकिस्तान एसियाली छनोटको पाँचौं चरणमा त्यसैगरि निराश बन्नुपरेको थियो । जोर्डनविरुद्ध दुवै लेगको खेलमा बराबरी नतिजा भएपछि पेनाल्टी सुटआउटमा पराजित हुँदा टोली अन्तरमहादेशीय प्लेअफलाई छानिनबाट वञ्चित भएको थियो ।
तर पहिलो ९ प्रयास असफल भए पनि यसपाली विश्वकपलाई छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सेर्भर डिजापारोभ, ओडिल अहमेडोभ र इग्नाटी नेस्टेरोभजस्ता खेलाडीहरुको समूहले उत्तर अमेरिकामा पनि उज्वेक टिमका लागि स्मरणीय प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
फिफा विश्व वरियताको ५० औं स्थानमा रहेको उज्वेकिस्तानका मुख्य प्रशिक्षक सन् २००६ मा इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो हुन् ।
उज्वेकिस्तानको पहिलो विश्वकप यात्रा समूह ‘के’ मा जुन १८ मा कोलम्बियाविरुद्धको खेलसँग सुरु हुनेछ । टोलीले समूहको दोस्रो खेलमा जुन २३ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल तथा अन्तिम खेलमा जुन २८ मा कंगोसँग प्रतिस्पर्धा गर्नेछ ।
कुराकाओ
विश्वकप २०२६ मा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये कुराकाओ जनसंख्या र क्षेत्रफल दुवै हिसाबले सबभन्दा सानो राष्ट्र हो । मात्र १ लाख ५० हजार जनसंख्या तथा २७६ बर्गकिलोमिटर क्षेत्रफल भएको देश विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिनु आफैमा ठूलो उपलब्धिमुलक सफलता हो ।
कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा किङस्टनमा जमैकासँग गोलरहित बराबरी नतिजा निकालेपछि कुराकाओले समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै फिफा विश्वकपको टिकट पक्का गरेको थियो ।
नेदरल्यान्ड्सको पूर्व उपनिवेश भएको नाताले कुराकाओको टोलीमा धेरैजसो डच मुलका खेलाडीको बाहुल्य छ । नेदरल्यान्ड्समा जन्मेहुर्केका वा त्यहाँबाटै फुटबल करियर अघि बढाएका खेलाडीको बाहुल्य रहेको कुराकाओ सन् २०११ मा मात्र नेदरल्यान्ड्सबाट स्वतन्त्र भएको थियो ।
फिफा विश्व वरियताको ८२ औं स्थानमा रहेको कुराकाओका प्रशिक्षक पनि नेदरल्यान्ड्सकै डिक एड्भोकेट हुन् । कन्काकाफ छनोटको तेस्रो चरणमा जमैका, ट्रिनिडाड एन्ड टोबागो र बर्मुडा रहेको समूहका ६ मध्ये ३ खेलमा जित र ३ बराबरी नतिजा निकाल्दै कुराकाओ शीर्ष स्थानमा रहेर विश्वकपलाई छानिएको थियो । ३ जित, २ बराबरी र १ हार भोगेको जमैका अन्तरमहादेशीय प्लेअफमा धकेलिएको थियो ।
कुराकाओले पहिलो पटक सन् २०१४ को विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो ।
समूह ‘इ’ मा परेको कुराकाओले विश्वकपको पहिलो खेल जर्मनीसँग जुन १४ मा खेल्नेछ । टोलीको दोस्रो खेल इक्वेडरविरुद्ध जुन २१ तथा तेस्रो खेल आइभोरी कोष्टसँग जुन २६ मा रहेका छन् ।
जोर्डन
सन् १९८६ को विश्वकपदेखि नियमित रुपमा छनोट प्रतियोगिता खेल्दै आए पनि मध्यपूर्वको देश जोर्डनले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्ने सौभाग्य यसअघि कहिल्यै पाउन सकेको थिएन । तर गतवर्ष जुन ५ मा ओमानमाथि ३–० को जित हासिल गरेपछि भने टोलीले पहिलो पटक विश्वकप खेल्ने पक्का गर्यो ।
विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा समूह ‘जी’ मा साउदी अरेबिया, ताजिकिस्तान रा पाकिस्तानलाई पछि पार्दै विजेताका रुपमा अगाडि बढेको टोलीले तेस्रो चरणमा पनि त्यही लय कायम राख्न सफल भएको थियो ।
तेस्रो चरणको समूह ‘बी’ मा परेको टोली उपविजेता बन्दै सोझै विश्वकपलाई छानिएको थियो । दक्षिण कोरिया १० खेलमा ६ जित र ४ बराबरी नतिजासहित विजेता बनेको समूहमा जोर्डनले ४ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो । त्यही समूहमा तेस्रो भएको इराकले पाँचौं चरणमा युएईलाई दुई लेगको प्रतिस्पर्धामा ३–२ ले हराउँदै अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई निराश पारेर उत्तर अमेरिकाको टिकट काटेको थियो ।
उक्त समूहमा ओमान, प्यालेस्टाइन र कुवेतको पनि चुनौती थियो ।
फिफा विश्व वरियताको ६३औं स्थानमा रहेको जोर्डनले समूह ‘जे’ मा जुन १ मा अस्ट्रियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ । समूहको दोस्रो खेलमा टोलीले जुन २२ मा ६ अल्जेरिया तथा अन्तिम खेलमा जुन २७ मा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
