नाइजरको सबैभन्दा ठूलो विमानस्थलमा हमला, सर्वसाधारणसहित ३५ जनाको मृत्यु



प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार

नाइजरको सबैभन्दा ठूलो विमानस्थलमा हमला, सर्वसाधारणसहित ३५ जनाको मृत्यु

नाइजरको सबैभन्दा ठूलो विमानस्थलमा सशस्त्र हमला हुँदा ३५ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूका अनुसार पाँच महिनाभित्र उक्त विमानस्थलमा भएको यो दोस्रो ठूलो हमला हो।

मुस्लिम बाहुल्य राष्ट्र नाइजरका बासिन्दाहरूले बिहानको नमाज सकेर घर फर्किएका बेला राजधानी नियामेस्थित ‘डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थल’ क्षेत्रबाट विस्फोट र गोलीबारीको आवाज सुनिएको बताएका छन्। यो विमानस्थल नाइजरको प्रमुख नागरिक उड्डयन केन्द्रका साथै सैन्य आधारस्थल  पनि हो।

नाइजरको रक्षा मन्त्रालयले जारी गरेको विवरणअनुसार घटनामा २२ जना आक्रमणकारी, ११ जना सैनिक र दुई जना सर्वसाधारणको मृत्यु भएको छ। साथै चार जना आक्रमणकारी घाइते भएका छन् भने २० जना संदिग्धलाई पक्राउ गरिएको छ।

अल-कायदासँग आबद्ध उग्रवादी समूह ‘जमाअत नुसरत अल-इस्लाम वाल-मुस्लिमिन’ ले यस आक्रमणको जिम्मेवारी लिएको छ। नाइजर विगत एक दशकदेखि इस्लामवादी विद्रोहसँग सङ्घर्षरत छ। यसअघि गत जनवरीमा इस्लामिक स्टेट समूहसँग सम्बन्धित एक सङ्गठनले यही विमानस्थलमा भएको अर्को हमलाको जिम्मेवारी लिएको थियो।

रक्षा मन्त्रालयका अनुसार घटनास्थलबाट आरपीजी–७ रकेट लन्चर, एके–४७ राइफल, विस्फोटक पदार्थ, ग्रिनेड, सञ्चार उपकरण तथा हजारौँ राउन्ड गोली बरामद गरिएको छ। आक्रमणकारीहरू स्थानीय जनतासँग मिसिएका कारण उनीहरूलाई तत्काल पहिचान गर्न कठिन भएको मन्त्रालयले जनाएको छ।

नाइजरको सबैभन्दा ठूलो विमानस्थलमा हमला, सर्वसाधारणसहित ३५ जनाको मृत्यु

डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थल नाइजरको सबैभन्दा संवेदनशील सुरक्षा संरचनामध्ये एक मानिन्छ। यो नागरिक उड्डयन सेवासँगै सैन्य गतिविधिको प्रमुख केन्द्र त हो नै, साथै यहाँ नाइजर, माली र बुर्किना फासो सम्मिलित ‘एलायन्स अफ साहेल स्टेट्स’ सँग सम्बन्धित संरचनाहरू पनि रहेका छन्।

यी तीनवटै देश हाल सैनिक शासनद्वारा सञ्चालित छन्। क्षेत्रीय रूपमा बढ्दो जिहादी हिंसालाई नियन्त्रण गर्न असफल भएको आरोप लागिरहेका बेला ती देशहरूमा सैनिक नेतृत्वले सत्ता कब्जा गरेको थियो।





Source link

Leave a Comment